नेपाली आधुनिक संगीतको इतिहासमा अमिट छाप छाडेकी ७५ वर्षीया वरिष्ठ गायिका ज्ञानु राणाले सयौं कालजयी गीत गाएकी छन्, तर उनलाई ती गीतमध्ये सबैभन्दा बढी मन पर्छ, ‘कसैले बुझेन मेरो मनको बहलाई।’ यही गीत आफूले गाएका सयौं गीतमध्ये सबैभन्दा धेरै मनपर्ने गीत हो भन्दै उनले आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा यही गीत गाएर सबैलाई सुनाइन्।
नेवा: साधना कला केन्द्र काठमाडौं नेपालले सोमबार राजधानीमा विजया दशमी २०८२ का अवसरमा गरेको शुभकामना आदानप्रदान कार्यक्रमकी प्रमुख अतिथि राणाले आफूले गाएका दर्जन गीत कार्यक्रममा सुनाएकी थिइन्। ‘मान्छेको माया यहाँ’, ‘खोलाको पानी जस्तै’, ‘शिरिमा शिरी नि कान्छा बतास चल्यो’ लगायतका आफ्ना सदाबहार गीत गाएकी थिइन्। कार्यक्रम एक हिसाबले उनको एकल साँझजस्तै थियो।
राणाले नारायण गोपाल, गोपाल योञ्जन, प्रेमध्वज प्रधान, अरुणा लामा, भक्तराज आचार्य, कुमार बस्नेतजस्ता कलाकारसँग सहकार्य गरेकी छन्। ती दिनलाई नेपाली आधुनिक संगीतको सुनौलो युगका रूपमा चिनिन्छ भन्छिन् उनी। राणाको स्वरले आधुनिक गीतलाई स्तरीयता र आत्मीयता प्रदान गरेको थियो। साँचो अर्थमा राणा नेपाली आधुनिक गीतकी जीवित किंवदन्ती हुन्।
बुढेसकालका कारण धेरैजसो गीत बसेरै गाएको त्यो कार्यक्रममा सहभागी विभिन्न गायकगायिकाले उनैद्वारा गाइएका गीतहरू गाएका थिए। उनी आफूले गाएका गीतहरू अरुको आवाजबाट प्रत्यक्ष सुन्दा मन्त्रमुग्ध देखिरहेकी थिइन्। ‘ज्ञानु राणा दिदी वास्तवमा नेपालकी लतामंगेशकर हुन्’, कार्यक्रम आयोजक नेवा: साधना कला केन्द्रका अध्यक्ष सुन्दरमान श्रेष्ठले कार्यक्रममा भने।
कार्यक्रममा वरिष्ठ रेडियोकर्मी कुसुम बज्राचार्यले गायिका राणा अहिलेका सबैजना गायकगायिकाको शिक्षिका रहेको स्मरण गरिन्। मैले रेडियो नेपालमा स्वर परीक्षण गराउँदा उहाँ नै निर्णायकमा रहनुभएको थियो, उनले नजिकै रहेकी गायिका राणासमक्ष नतमस्तक हुँदै भनिन्, ‘मेरो मात्रै होइन, म जस्ता सयौंका उहाँ गुरुआमा हुनुहुन्छ।’
रेडियो नेपालको प्रारम्भिक समयमै आफ्नो गायन यात्रा सुरु गरेकी राणाले आफ्नो मधुर स्वर, सरल प्रस्तुति र भावनात्मक गायनका कारण छोटो समयमै श्रोतामाझ लोकप्रियता कमाएकी थिइन्। उनको स्वरले २०१० र २०२० को दशकमा नेपाली संगीतलाई नयाँ पहिचान दिलाएको थियो। गायिका राणाका धेरै गीत आज पनि नेपालीका मनमनमा गुन्जिरहेको छ। उनका गीतमा भावनात्मक गहिराइ, प्रेम र नेपालीपन अभिव्यक्त भएको पाइन्छ।
‘आज पनि नेपाली संगीतप्रेमीका मनमा समानरूपमा प्रिय र सम्मानित नाम हुन् ज्ञानु राणा’, गायिका शुद्धलक्ष्मी श्रेष्ठले भनिन्। उनका अनुसार दशकौंदेखि नेपाली संगीतको सेवा र समर्पणमा सक्रिय राणालाई नेपाली आधुनिक गीतकी जीवित किंवदन्तीका रूपमा चिनिन्छ अहिले पनि। लामो समयसम्म नेपाली संगीत क्षेत्रमा योगदान पुर्याउँदै आएकी राणाले संगीत क्षेत्रमा पुर्याएको योगदानको कदरस्वरूप विभिन्न पुरस्कार र सम्मान प्राप्त गरेकी छिन्।
तीमध्ये रेडियो नेपाल सम्मान, लोक तथा आधुनिक संगीत प्रज्ञा पुरस्कार र जीवन उपलब्धि सम्मान प्रमुख छन्। ‘संगीतसँगै ज्ञानु राणाको विनम्र र सरल व्यक्तित्वले पनि उनी सबै पुस्ताका कलाकार र श्रोतामाझ प्रिय हुन पुगेकी छन्। उनको गायनमा केवल सुर र ताल मात्र होइन, एउटा आत्मीयता र नेपाली मनको भावना प्रकट हुन्छ’, कार्यक्रममा उनका गीत गाएका गायकगायिकाले भने।
आज पनि उनका गीतहरू रेडियो, टेलिभिजन र सामाजिक सञ्जालमा निरन्तर गुञ्जिरहेका छन्। नयाँ पुस्ताका कलाकारले उनलाई नेपाली संगीतको प्रेरणाको प्रतीकका रूपमा लिन्छन्। वरिष्ठ गायिका राणाको संगीत यात्रा केवल व्यक्तिगत उपलब्धिको कथा होइन, यो नेपाली आधुनिक संगीतको इतिहासकै गौरवपूर्ण अध्याय हो, जसले नेपालीपन, प्रेम र भावना सबैलाई एउटै स्वरमा बाँधिदिएको छ। कार्यक्रमको अन्त्यमा राणाले सबै श्रोतासमक्ष भनिन्, ‘नमरुञ्जेल गीत गाइरहन्छु। ’
कार्यक्रमका क्रममा आयोजक नेवा: साधना कला केन्द्रले तीन महिनाभित्रै ज्ञानु राणा एकल साँझ कार्यक्रम राख्ने निर्णय गर्यो। यसका लागि नेवा कला केन्द्रले गायिका राणासँग अनुमति लिएको थियो।
प्रकाशित: २१ आश्विन २०८२ ११:१५ मंगलबार





