१३ श्रावण २०८३ बुधबार
image/svg+xml
कला/साहित्य

अभिनेता सुनील आनन्दको ७० वर्षमा निधन

 बलिउडका दिवंगत दिग्गज अभिनेता देव आनन्दका छोरा तथा ७० वर्षीय अभिनेता–निर्देशक सुनील आनन्दको जुलाई २६ को बिहान लन्डनमा निधन भएको छ। पारिवारिक स्रोतका अनुसार हृदयघात भएपछि उनलाई उपचारका लागि त्यही अस्पताल लगिएको थियो, जहाँ सन् २०११ मा उनका पिता देव आनन्दको पनि निधन भएको थियो। उपचारकै क्रममा उनले अन्तिम श्वास फेरे।

सुनील आनन्दको निधनबारे उनकी भतिजी जीना नारङले परिवारका तर्फबाट आधिकारिक जानकारी दिएकी छन्।  

यद्यपि परिवारले हालसम्म अन्त्येष्टिसम्बन्धी कुनै जानकारी सार्वजनिक गरेको छैन।

सुनील आनन्दले सन् १९८४ मा आफ्ना पिता देव आनन्दको निर्देशनमा बनेको फिल्म आनन्द और आनन्द’बाट अभिनय यात्रा सुरु गरेका थिए। त्यसपछि उनले ‘कार थीफ’ र ‘मैं तेरे लिए’ लगायतका फिल्ममा अभिनय गरे। तर, उनले आफ्ना पिताजस्तै सफलता र लोकप्रियता हासिल गर्न सकेनन्। पछि उनले अभिनयभन्दा पर्दापछाडिको काममा ध्यान केन्द्रित गरे।

अभिनयमा अपेक्षित सफलता नपाएपछि सुनील आनन्दले परिवारको प्रतिष्ठित प्रोडक्सन कम्पनी नवकेतन फिल्म्सको जिम्मेवारी सम्हाले। उनले लामो समयसम्म कम्पनीको व्यवस्थापन गर्दै देव आनन्दको सिनेमागत विरासतलाई जोगाउन र अगाडि बढाउन महत्वपूर्ण भूमिका निर्वाह गरे।

सुनील आनन्दका परिवारमा उनकी ९४ वर्षीया आमा तथा पूर्व अभिनेत्री कल्पना कार्तिक र बहिनी देविकाछन्। उनीहरू हाल तमिलनाडुको ऊटीमा बसोबास गर्दै आएका छन्। सुनील आनन्द देव आनन्द र कल्पना कार्तिकका एक्ला छोरा थिए।

प्रकाशित: १३ श्रावण २०८३ ११:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App