२३ चैत्र २०८२ सोमबार
image/svg+xml
कला/साहित्य

आयुष भन्छन्, ‘राम नाम सत्यपछि निरन्तर फिल्ममा काम गर्छु’

टिकटकमा लोकप्रिय फलोअर्स र दर्शकको माया कमाएका टिकटकर आयुष सिंह ठकुरी अब नेपाली फिल्मको पर्दामा पनि देखिदैछन्। माइकल चन्दको लेखन तथा निर्देशनमा तयार भएको फिल्म ‘राम नाम सत्य’बाट आयुषले डेब्यू गर्दै छन्। यो फिल्म चैत्रको २७ गते अर्थात शुक्रबारबाट देशभरका हलमा रिलिजमा आउँदैछ।

फिल्मको रिलिजको एक केही दिनअघि आयुष मिडियासँगको अन्तरक्रियामा उपस्थित भए।

आयुष यो फिल्मलाई लिएर निकै उत्साहित सुनिए। उनले भने, ‘यो फिल्मको कथावस्तु मन परेका कारण नै मैले काम गरेको हुँ। मलाई धेरै फिल्मको अफर नआएको होइन तर राम नाम सत्यको कथाले तान्यो र काम गर्न तयार भएँ।’

फिल्म भित्र आफ्नो भूमिका दर्शकका लागि सरप्राइज हुने आयुषको तर्क छ। आयुष भन्छन्, ‘मैले बोलेका एउटा संवाद ट्रेलरमा समावेश छ। यो ट्रेलर आउँदा मेरो परिवार र आफन्तले नै मेरो बोली चिन्नु भएन। पछि मैले नै यो संवाद मेरो हो भनेर भन्दा धेरै छक्क पर्नुभएको थियो। फिल्मका लागि निकै मिहिनेत गरेको छु।’

आयुषले अहिले नै आफूले फिल्मको व्यापारबारे नसोचेको तर्क गर्छन्। उनले, दर्शकले सुरुवातमा आफ्नो काम मन पराउन आवश्यक रहेको बताए। टिकटकमा लाखौ फलोअर्स कमाएका आयुषलाई ती दर्शक हलसम्म तान्ने चुनौती छ।

यो विषयमा आयुष भन्छन्–‘विदेशमा बस्ने धेरै नेपालीहरुले पनि नेपालमा रहेका आफन्त र साथीभाइका लागि टिकट खरिद गरिदिने, हल बुक गरिदिने भन्नुभएको छ। दर्शक फिल्मप्रति नै उत्साहित रहेको पाएको छु।’

आयुषले फिल्मको सिक्वेल बन्ने जानकारी दिए। भने–‘राम नाम सत्य’ को सिक्वेल पनि बन्दैछ। सिक्वेलमा मेरो भूमिका के हुन्छ भन्ने बुझ्न पनि दर्शकले राम नाम सत्यको पहिलो भाग छुटाउन हुँदैन।’

आयुषले यो फिल्मका लागि आफूले शतप्रतिशत मिहिनेत गरेको सुनाए। फिल्ममा कथावस्तु बलियो रहेको, सस्पेन्स–थ्रिलर कथा रोचक रहेको सुनाउँदै आयुषले हरेक कोणबाट फिल्मले दर्शकलाई मनोरञ्जन दिने तर्क गरे।

आयुषले अब निरन्तर फिल्म क्षेत्रमा काम गर्ने संकेत गरे। उनले भने–‘मैले अझै मिहिनेत गर्नु छ। आफूलाई तयार गर्नु छ। यसैले हतार गरेर काम गरिहाल्छु भन्दिनँ तर अब निरन्तर यही क्षेत्रमा अगाडि भने बढ्छु।’

उपेन्द्र शाही र स्वेता विमलीको निर्माणमा तयार भएको यो फिल्ममा विराज भट्ट, सुशील श्रेष्ठ, आयुष सिंह ठकुरी, सुपुष्पा भट्ट, दिव्या रायमाझी, सुनील थापा, प्रशान्त ताम्राकार, खुशी कार्की लगायतका कलाकारहरुको अभिनय छ। नयाँ वर्षमा सोलो रिलिज हुन लागेको फिल्मले बम्पर ओपनिङ गर्ने विश्लेषण वितरकको छ।  

प्रकाशित: २३ चैत्र २०८२ १३:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App