२३ पुस २०८२ बुधबार
image/svg+xml
कला/साहित्य

भ्रष्टाचार र बेथितिविरुद्धको ‘विद्रोही’ कथा: ‘झरीपछिको इन्द्रेणी’

पर्दामा दर्शकलाई हसाएर मनोरञ्जन दिँदै आएका हाँस्य कलाकार अर्जुन घिमिरे ‘पाँडे’ यसपटक भने समाजका गम्भीर मुद्दा लिएर दर्शकमाझ आउने भएका छन्।

उनको निर्देशनमा बनेको चलचित्र ‘झरीपछिको इन्द्रेणी’ ले मनोरञ्जन मात्र नभई भ्रष्टाचार र सामाजिक बेथितिविरुद्धको विद्रोही आवाज बोल्ने निर्माण पक्षले जनाएको छ।

नागराज इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यो चलचित्र यही पुस ४ गते शुक्रबारदेखि देशभर प्रदर्शनमा आउँदैछ।

बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा निर्देशक घिमिरेले चलचित्रको कथावस्तु समसामयिक राजनीतिक र सामाजिक परिवेशसँग ठ्याक्कै मेल खाने दाबी गरे।

‘हामीले जेन्जी आन्दोलन सुरु हुनु अगाडि नै छायाङ्कन सकेका थियौँ, तर संयोगले चलचित्रले अहिलेको सडकको आवाज र युवाहरूको आक्रोशलाई नै बोकेको छ,’ घिमिरेले भने, ‘भ्रष्टाचार, बेथिति र विसङ्गतिविरुद्धको आवाजलाई चलचित्रमार्फत् उजागर गर्ने प्रयास गरेका छौँ।’

उनले चलचित्रकर्मीको दायित्व केवल हसाउनु मात्र नभई समाजलाई सही बाटो देखाउनु पनि रहेको जिकिर गरे। ‘देशभक्त नागरिकले सोच्ने कोणबाट यो चलचित्र तयार पारिएको छ। यसलाई ‘झरीपछिको इन्द्रेणी’ अर्थात् अध्यारोपछिको उज्यालोको बिम्बका रूपमा बुझिदिन आग्रह गर्दछु,’ उनले थपे।

चलचित्रमा यसपटक पुराना स्टारदेखि नयाँ पुस्तासम्मको समिश्रण छ। लामो समयपछि ठूलो पर्दामा देखिएका अभिनेता रमेश उप्रेतीले चलचित्रले अहिलेको समग्र देशको अवस्था चित्रण गरेको बताए।

‘आम नागरिकको कथालाई न्याय गरिएको महसुस भएपछि मैले यो चलचित्रमा काम गरेको हुँ,’ उनले भने।

यस्तै, नव–कलाकार विमोचन दवाडीले चलचित्रमा आफ्नो पुस्ताको कथा समेटिएको बताए। ‘अहिले युवाहरूका लागि नेपाल बस्नु रहर नभई बाध्यता जस्तो भएको छ। साथीहरू विदेश पलायन भइरहेको यो अवस्था र त्यसको समाधानको पाटोलाई चलचित्रले उजागर गरेको छ,’ दवाडीले भने।

चलचित्रमा गणेश उप्रेती, रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, सरिता गिरी, देशभक्त खनाल, निर्मल शर्मा लगायतका अनुभवी कलाकारका साथै विमोचन दवाडी, जेसिका पोखरेल, प्रियना आचार्य (मुन्नी) लगायतका नयाँ कलाकारहरूको अभिनय रहेको छ।

चलचित्रको कथा निर्देशक घिमिरे स्वयंले लेखेका हुन् भने पटकथा गणेश कार्की र विशाल घिमिरेको तथा छायाङ्कन बुद्ध थापाको रहेको छ।

प्रकाशित: २ पुस २०८२ १६:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App