रावाबेँसी र ऐँसेलुखर्कको
हरियाली काखमा
छङ्छङ गुञ्जिँदै अनवरत
बगिरहेकी छन् रावा।
न ऊनी थाक्छिन् न रोकिन्छिन्
ऋतु फेरिन्छन् र किनारा पनि
तर उनको आरोह-अवरोह
उस्तैउस्तै रहिरहन्छ।
किनारामा शालिग्राम बनेर उभिएका
अनगिन्ती ढुङ्गाहरू
वर्षौंको पानी, बाढी, पहिरो
र हिउँद वर्षाको प्रहार सहँदै
झन् तिखारिएका छन्।
तिनलाई नजिकैबाट छुँदा लाग्छ
दुःखले मानिसलाई पनि
यसरी नै तिखारिरहेको छ।
उर्लिएको साउने भेल आफ्नै वेगमा
ढुंगासँग संवाद गर्दै बगिरहेकी थिइन् रावा
मेरो मनले धेरै पटक भन्यो छालसँगै बगौँ
तर शरीरले कहाँ मान्छ र हामफाल्न
जीवन रहर र भावनाभन्दा ठूलो हुन्छ।
त्यही समयमा निर्मल जललाई चिर्दै
माछाहरू उकालोतिर उक्लिरहेका थिए।
न उनीहरू भेलसँग डराउँथे
न छाल र प्रवाहसँग हार मान्थे।
मलाई लाग्थ्यो संघर्षको साँचो अर्थ
यिनैले बुझेका छन्।
रावाको वारिपारि किसानका हातले
धानको विउँ छुपुछुपु रोपिरहेका
हिलोले लतपतिएका खुट्टा र हातमा
माटोप्रतिको प्रेम र समर्पणसँगै
आशाका टुसाहरू अंकुरित हुँदै थिए।
कतै धानका गाजहरू फैलिएर
हरियाली र आशाका मुस्कान बनेका थिए
कतै नयाँ रोपिएका बिरुवाहरू
वर्षाको समयमा विस्तारी-विस्तारी
जरा गाडिरहेका थिए।
हरियो सारीमा सजिएकी दुलहीझैँ
मनै लोभ्याउने देखिन्थ्यो वातावरण
तापखोला र रावा खोलाको दोभानमा
अकमक्क भएर म धेरैबेर टोलाएँ।
सानो पानीको भेल
रावाको उर्लिंदो प्रवाहमा मिसिँदा
ताप खोलाको अस्तित्व हराएको थियो
तर पानी प्रवाह भने थपिएको थियो।
आफ्नो प्रवाह कतै मिसिनु
अस्तित्व हराउनु होइन बरु
आफूभन्दा विशाल उद्देश्यमा
रूपान्तरित हुनु हो।
रावा! तिमी खोला मात्र होइनौ।
तिमी खोटाङको इतिहास हौ,
भूगोल र सभ्यता पनि त हौ।
जैविक विविधता र हाम्रो पहिचान हौ
आशा र भरोसाको केन्द्र हौ तिमी
तिम्रो किनारामा कति पुस्ताले
बाल्यकालमा पौडी खेल्दै नुहाए होला
कति युवाले भोलिका सपना देखे
कति वृद्धहरूले जीवनका कथा सुनाए होला
ती सबै विगत इतिहास बनिसके।
तिमीले पहाडको माटो बगाएर
भेलसँगै समथरतिर पुर्याउँछ्यौ
तर हाम्रो निश्चल मनमा रोपेका
स्मृतिका बीउ बगाएर लैजान सक्दिनौ।
आज म तिम्रो किनारामा उभिएर
म आफूलाई खोजिरहेको छु
छालहरू मसँग केही भन्न खोज्छन्,
शालिग्रामहरू मौन ध्यानमा देखिन्छन्
मेरो भने रावाको यात्रा अझै सकिएको छैन।
तापखोलासँगको तिम्रो आलिङ्गन
मलाई भन्छ मिलन भनेको
कसैलाई हराउनु होइन,
एक अर्कालाई अझ बृहत् बनाउनु हो
मानिसको जीवनयात्रा मलाई उस्तै लाग्छ
प्रवाह विपरीत पौडिन सक्नेले
आफ्नो गन्तव्य मेटाउँदो रहेछ।
आज म तिम्रो किनारामा उभिएर
आफ्नै मनलाई सोध्छु
यदि नदीहरू आफ्नो यात्रा नरोकी
सदियौँदेखि बग्न सक्छन् भने
मानिस किन सानातिना दुःखमा
आफ्नो आशा र भरोसा हराउँछ?
रावा!
तिमी निरन्तर बगिरहनू
तिम्रो छङ्छङ आवाज
पुस्तौँ पुस्ता सम्म गुञ्जिरहोस्।
तिम्रो छालसँगै खोटाङको इतिहास
संस्कृति, सभ्यता र हाम्रो आत्मीयता
सधैँ सलल बगिरहोस्
यही कामना र भावना छ मेरो।
(माक्पा, विश्वनाथ निरौला निवासबाट)
प्रकाशित: २० असार २०८३ ०९:५० शनिबार





