३० असार २०८३ मंगलबार
image/svg+xml
राजनीति

विवादमा सरकार : नागरिकको मुख थुनेर सत्ता चलाउने चाल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वको सरकार एकपछि अर्को गर्दै विवादमा तानिएको छ। पछिल्लो पटक त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका मुगुका गणेश नेपालीको उपचारका क्रममा भएको मृत्यु, होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासी डुबानमा परेपछि सरकार थप आलोचित बनेको छ। सरकारको कार्यशैलीलाई लिएर विपक्षी राजनीतिक दल मात्र होइन, रास्वपाकै सांसद् आलोचनामा उत्रिएका छन्।

पार्टीभित्र र बाहिरबाट आलोचना र विरोध खेपिरहेको सरकार सोमबार बिहानदेखि थप विवादमा तानिएको छ। केही सञ्चारगृह र राजनीतिक दलका नेताका निवासअघि पार्किङ गरी राखिएका गाडीका कारण सरकार थप  विवादमा तानिएको हो। विभिन्न स्थानमा बिहानैदेखि पार्किङ गरिएका निजी सवारीसाधन सत्तारुढ रास्वपानिकट व्यक्तिहरूका भएको खुल्न आएपछि सरकारमाथि पछिल्ला घटनाक्रमलाई विषयान्तर गर्न खोजेको आरोप लागेको छ। लोकतान्त्रिक शासन व्यवस्थाबाट प्रधानमन्त्री विस्तारै ‘डिरेल’ हुन लागेका बेला सञ्चारमाध्यमको मुख थुन्न र तिनलाई आतंकित पार्न सरकार नै लागिपरेको नेपाल पत्रकार महासंघ र विपक्षी दलहरूको आरोप छ।

महासंघका महासचिव रामप्रसाद दाहालले सोमबार जारी गरेको विज्ञप्तिमा सञ्चारमाध्यमका कार्यालय गेटमै शंकास्पद रूपमा गाडी पार्किङ गरी कार्यरत पत्रकारलाई सञ्चारकर्ममा जान अवरोध र आतंक सिर्जना गरिएको जनाइएको छ। महासंघले सञ्चारमाध्यम र पत्रकारको अधिकार उपभोगमा अवरोध पुर्‍याउने यो निन्दनीय र रहस्यमय घटनाको तत्काल छानबिन गर्न र दोषीमाथि आवश्यक कानुनी कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएको छ।

सरकारको कार्यशैलीलाई लिएर विपक्षी दल मात्र होइन, रास्वपाकै सांसद आलोचनामा उत्रिएका छन्। पार्टीभित्र र बाहिरबाट आलोचना र विरोध खेपिरहेको सरकार सोमबार बिहानदेखि थप विवादमा तानिएको छ। केही सञ्चारगृह र दलका नेताका निवासअघि पार्किङ गरी राखिएका गाडीका कारण सरकार थप विवादमा तानिएको हो।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राज्य नागरिकको मुख थुनेर अधिनायकवादी सत्ता चलाउन लागेको आरोप लगाएका छन्। ४४औं बिपी स्मृति दिवसको तयारीका लागि केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको बैठकमा थापाले भने, ‘पार्टीका नेताका घर, मिडियाका कार्यालय र व्यवसायीका व्यापारिक क्षेत्रमा गाडी तेर्साएर नागरिकको निजी सम्पत्ति, आर्जन र जीवनमाथि क्षति पुर्‍याउने कुनै अधिकार राज्यले राख्दैन, राज्यलाई हुँदैन।’

सुकुम्बासी समस्यालाई दलीयकरण गर्ने कांग्रेसको नीति नरहेको प्रष्ट पार्दै थापाले भने, ‘सरकार हरेक नागरिकको अभिभावक र संरक्षक बन्न सक्नुपर्नेमा मानव जीवनको रक्षाबाट विमुख र करुणाविहीन भयो।’

त्यस्तै एमालेका महासचिव शंकर पोखरेले सञ्चारमाध्यमका गेटअगाडि शंकास्पद गाडी पार्किङको विषयमा ‘विनाशकाले विपरीत बुद्धि’ भन्ने टिप्पणी गरेका छन्। फेसबुकमा सोमबार टिप्पणी सम्प्रेषण गर्दै उनले भनेका छन्, ‘विनाशकाले विपरीत बुद्धि। सञ्चार प्रतिष्ठानको बाटो छेक्नेगरी रहस्यमय गाडी पार्किङ, सञ्चारमाध्यम र समाजलाई भयभित बनाउने बचकाना खेल।’

यसैबिच रास्वपाले मिडिया हाउसहरूको गेटमा गाडी पार्किङ गरी अवरोध गर्ने कार्यमा संलग्नलाई तत्काल पहिचान गरी कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएको छ। महामन्त्री विपिनकुमार आचार्यले विज्ञप्ति जारी गर्दै स्वतन्त्र र भयरहित पत्रकारिता नै लोकतन्त्रको प्राण वायु भएको जनाएका छन्। ‘यसको रक्षार्थ राष्ट्रिय स्वतन्त्र पार्टी सदैव कटिबद्ध छ। तसर्थ प्रेस क्षेत्रलाई त्रसित बनाउने उद्देश्यबाट प्रेरित यस्ता र अन्य जुन कुनै कदमहरूको राष्ट्रिय स्वतन्त्र पार्टी भर्त्सना गर्छ,’ विज्ञप्तिमा लेखिएको छ।

राज्यको चौथो अंगका रूपमा स्थापित आमसञ्चारमाध्यम र सञ्चारकर्मीहरूले निर्भीक रूपमा कार्य गर्ने वातावरणमाथि धावा बोल्ने वा उनीहरूलाई मनोवैज्ञानिक दबाबमा राख्ने आशयले गरिएका शंकास्पद र रहस्यमय गतिविधि लोकतान्त्रिक मूल्य–मान्यताको ठाडो उल्लंघन रहेको रास्वपाको ठहर छ। ‘कुनै पनि बहानामा सूचना तथा सञ्चार स्वतन्त्रता हनन गर्ने, सञ्चारगृहहरूमा त्रासको वातावरण सिर्जना गर्ने र चौथो अंगलाई संकुचित पार्न खोज्ने जुनसुकै प्रवृत्तिका अवाञ्छित क्रियाकलापहरू राष्ट्रिय स्वतन्त्र पार्टीलाई किमार्थ स्वीकार्य छैनन् भन्ने स्पष्ट पार्न चाहन्छौं।’

प्रकाशित: ३० असार २०८३ ०८:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App