आइतबार दिउँसो सिरहाकोे गोलबजार नगरपालिका–७ पशुबजारस्थित खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको छ। रौतहट जिल्लाको झिंगहर्वा–२ घर भई हाल गोलबजारको चोहर्वामा डेरा गरी बस्दै आएका अवास शेखका छोरीहरू १२ वर्षीया सबनम खातुन, १० वर्षीया रुविना खातुन र ८ वर्षीय छोरा साफुल शेखको डुबेर मृत्यु भएको हो।
आइतबार तीनै भाइबहिनी खेल्नका लागि डेराबाट पशुहाट बजारपरिसर पुगेका थिए। परिसरभित्र पशुका लागि पानी खान खनिएको खाल्डोमा नुहाउने क्रममा उनीहरूको डुबेर मृत्यु भएको गोलबजार नगरपालिका–७ का वडाध्यक्ष हरिशरण ठाकुरले जानकारी दिए। उनका अनुसार अवास शेख रौतहटमा बस्दै आएका थिए भने उनकी श्रीमती छोराछोरीसँग चौहर्वामा बसेर कवाड संकलन गर्दै आएकी छन्। वडाध्यक्ष ठाकुरका अनुसार त्यहाँ किसानले किनबेचका लागि ल्याइने पशुका लागि पानी खान सुरुदेखि नै खाल्डो खनेका थिए। यसपालि पनि त्यहाँबाट माटो खनेर बाटो बनाइएको छ। खाल्डो नयाँ होइन, पुरानै हो।
त्यस्तै आइतबार साँझ सप्तरीको कञ्चनपुर नगरपालिका–८ का रवीन्द्र प्रमाणीका १० वर्षीय छोरा पंकज प्रमाणीको नहरमा डुबेर मृत्यु भएको छ। साथीहरूसँग नहरमा नुहाउने क्रममा उनको डुबेर मृत्यु भएको हो। घटनापछि विपद् व्यवस्थापन बेस भारदहका सशस्त्र प्रहरी निरीक्षक महेशकुमार कार्कीको नेतृत्वमा उद्धार तथा खोजी टोली परिचालन गरेको थियो। खोजीका क्रममा बालक डुबेको स्थानभन्दा करिब ७५ मिटर दक्षिणतर्फ उनको शव फेला परेको थियो।
नौं महिनाअगाडि धनुषामा पनि एकै परिवारको दुईजना बालकको खाल्डोमा डुबेर मृत्यु भएको थियो। कमला नगरपालिका–२ सराबेस्थित निर्माणाधीन कृषि सडकका लागि खनिएको खाल्डोमा डुबेर स्थानीय रामबाबु साहका सात वर्षीय छोरा रीति साह र उनकै श्यामबाबु साहका पाँच वर्षीय छोरा रीतिश साहको मृत्यु भएको थियो।
चालु आर्थिक वर्षमा मधेस प्रदेशमा ५७ जना बालक र ५४ बालिका गरी १११ जना बालबालिकाको डुबेर मृत्यु भएको मधेस प्रदेश प्रहरीको तथ्यांकमा उल्लेख छ। त्यस्तै आर्थिक वर्ष २०८१/८२ मा ९६ बालक र ५४ बालिकाको डुबेर मृत्यु भएको छ।
प्रदेश प्रहरीको तथ्यांकअनुसार चालु आर्थिक वर्षमा सिरहामा २१, सप्तरी १६, धनुषा ३०, महोत्तरी २९, सर्लाही १९, रौतटह १८, बारा ७ र पर्सामा १० बालबालिकाको डुबेर मृत्यु भएको छ। पछिल्लो आर्थिक वर्षमा सप्तरीमा १७, सिरहा १६, धनुषा १३, महोत्तरी १२, सर्लाही १३, रौतहट २४ र बारा ११ जना बालबालिकाको ज्यान गएको छ। त्यस्तै पर्सामा ५ बालकको डुबेर मृत्यु भएको छ।
मधेस प्रदेशका डिआइजी ओमप्रसाद अधिकारीका अनुसार मृतकमध्ये अधिकांश बालबालिका घरनजिकैका खाल्डा र पोखरीमा डुबेर ज्यान गुमाएका छन्। कृषि सडक वा अन्य कुनै प्रयोजनका लागि खनिएका खाल्डोले निम्त्याउने सक्ने जोखिमका बारेमा सम्बन्धित निकायले पूर्व तयारी नगर्दा यस्ता घटना भइरहको डिआइजी अधिकारी बताउँछन्। उनले भने, ‘बर्खायाम जताततै खाल्डोमा पानी जमेको हुन्छ, त्यस्तो अवस्थामा अभिभावकले नै आफ्ना बालबालिकालाई ख्याल गर्नुपर्छ। हामीले समुदाय–प्रहरी साझेदारी कार्यक्रममार्फत टोल–टोलमा माइकिङ गरी सचेतना सन्देश दिइरहेका छौं।’
स्थानीय तहले किसानलाई खेतमा आवतजावतमा सहज हुने उद्देश्यले कृषि सडक बनाउने गरेका छन्, तर माटो बाहिरबाट ल्याउनुको सट्टा त्यहाँ छेउबाटै माटो निकाल्दा हुने खाल्डो र त्यसमा जमिने पानीमा डुबेर बालबालिकाको ज्यान जाने जोखिम बढाइएको छ।
प्रकाशित: ३० असार २०८३ ०७:५१ मंगलबार


-600x400.jpg)


