शरद् ऋतुको आकाश आफ्नै विशेष पहिचान बोकेको हुन्छ। बिहानैदेखि नीलगगनमा फाटफुट्ट हिउँजस्तै सेता बादलहरू ओइरिएका देखिन्छन्। कहिले ती बादलहरू घामको सुनौलो किरणले सुनौलिएका हुन्छन्, कहिले मनलाई उदास बनाउने गरी हल्का धुवाँ कुइरोमा लुकेका देखिन्छन्। त्यसबेला जिन्दगी पनि यस्तै रहेछ, उज्यालो र छायाको स्पष्टता र कुइरोको संगमजस्तो लाग्छ।
शारदीय आकाश हेर्छु - धुवाँको कुइरी मण्डल बिस्तारै फैलिँदैछ। त्यो कुइरो कुनै चुल्होको धुवाँ मात्र होइन, हजारौं जीवनका पीडाको प्रतीक हो, जो आकाशतिर उक्लिन्छ। तर अन्ततः फेरि वायुमण्डलमै हराउँछ। कलकारखानाको धुवाँ, दाउराको चुल्हो, चियापसलको धुवाँ सबै मिलेर एउटा सामूहिक आभास दिन्छन्। वास्तवमा सबै मानिस संघर्षमा छन्। जिन्दगी धुवाँजस्तै क्षणभङ्गुर छ। धर्तीबाट त्यो बिस्तारै आकासिन्छ र बिलाउँदै जान्छ।
शरद्को विशेषता भन्नु त्यो कुइरोले पनि एउटा सौन्दर्य बोकेको हुन्छ। बिहानैको ओसजस्तो पारदर्शी धुवाँले आकाशलाई चित्रकारको क्यानभासमा घोलिएको हल्का रङझैं सजाउँछ। हावाको सानो झोक्का आउँछ र त्यो कुइरो बिस्तारै फाट्दै जान्छ, नीलगगन फेरि प्रकट हुन्छ। यो दृश्यले जीवनको गहिरो दार्शनिक पक्ष बताउँछ। दुःख, पीडा, समस्या धुवाँझैं अस्थायी हुन्। अन्ततः त्यही सफा आकाशको दृश्यमय उपस्थितिले न्यानोपन, आत्मीयता र खुसीको उज्यालो मौसम ल्याउँछ।
कसैको मनभित्र पनि यस्तै कुइरी मण्डल भयावह अन्धकार हुन्छ। निराशाको धुवाँले भरिएको, भविष्य अस्पष्ट देखिने तर समयसँगै त्यो धुवाँ फाट्छ, मनमा पुनः आशाको आकाश खुल्छ। त्यसैले शरद्को आकाश मौसमको घटनासँगै जीवनको उपमा पनि हो।
हुन त हरेक वर्ष हामीले कुनै न कुनै अप्रिय घटनाको सिकार बन्नु परिरहेको छ। भूकम्प, कोरोना र गत वर्षको बाढी प्रकोपले भर्खरै तङ्ग्रिन लागेको देशले फेरि यो वर्ष अर्को विपत्ति भोग्नुपरेको छ। प्राकृतिक र दैवी विपत्तिले थिल्थिलो हुँदै यस वर्ष मानवीय अविवेकीले हामी प्रताडित छौं। निजी र सार्वजनिक सम्पत्ति जलेर खण्डहर भएका खरानी र धुवाँको कुइरी मण्डल मुस्लो पन्छाउँदै रमाउनुपर्ने बाध्यता छ।
धुवाँको कुइरोमा लुकिएको आकाश हेर्दा सम्झिन्छु– जीवनमा सबै कुरा स्पष्ट हुँदैन, कहिलेकाहीं कुइरोमै बाटो खोज्नुपर्ने हुन्छ। तर त्यही कुइरोको रहस्य, त्यही बुझाइले नै हाम्रो जीवनलाई गहिरो, सुन्दर र कलात्मक बनाउँछ। हामी धुवाँमा गुम्सिएर होइन धुवाँ, बादलबाट निस्किएर जीवनको स्वर्णिम दिनलाई साथ लिएर गन्तव्य हिँड्न सक्नुपर्छ।
शारदीय आकाशमा फैलिएको धुवाँको कुइरो जीवनको कविता हो। त्यहाँ अनिश्चित समयको अगणित पीडा छ, तर सौन्दर्य पनि छ, त्यहाँ अस्थिरता छ तर आशा पनि छ। त्यो कुइरोमा हामी आफ्ना सपना कोर्छौं, आफ्ना पीडा पगाल्छौं। अनि निलो आकाशले हामीलाई फेरि अँगालोमा बेर्छ। जीवन्त जीवनको मिठो आभास गराउँछ। अतः धुवाँको कुइरोमा हराएको शारदीय आकाश आफैंमा खोजको यात्रा पनि हुन सक्छ। शरद् ऋतु सामान्यतया उज्यालो मौसम हो। निलगगन र फाटफुट्ट सेता बादलहरूको रमणीय मेल हो। तर यस वर्षको शारदीय आकाशको निलोपन कतै हराएको छ, सुनौलोपन मैलिएको अवस्था छ। आकाशतिर फैलिएको धुवाँको कुइरी मण्डलले त्यो सुन्दरता ढाकिदिएको छ।
धुवाँको त्यो कुइरो मौसमको खेलसँगै त्यो हाम्रो इतिहासको दाग हो, हाम्रो समयको आँसु हो। शरद्का चन्द्रमालोकित रातहरूमा, त्यो कुइरो देख्दा लाग्छ - देश नै जलेर खरानी भएको छ र डडेर त्यसैबाट निस्किएको कालोमुस्लो डरलाग्दो धुवाँको कुइरी मण्डल आकाशमा लुटपुटिँदैछ। यो धुवाँ चुल्होको धुवाँ होइन, पातपतिङ्गर बालेर वा मसानघाटबाट निस्किएको धुवाँ पनि होइन। यो त जलिरहेको सपनाको धुवाँ हो, सम्पत्ति सर्वनाश गरी खरानीमा परिणत भएको आशाको मुस्लो हो। सार्वजनिक र निजी हाम्रै सम्पत्ति ध्वस्त पारी गरिएको अप्रिय घटनाको अकल्पनीय चोटको पीडा हो।
मान्छेका आँखामा उज्यालोभन्दा बढी धुवाँको तुवाँलो छ। यो कुइरो जीवनका आकाङ्क्षाहरू भासिएको सामूहिक धुवाँ हो। यद्यपि शरद् ऋतुमा धुवाँको कुइरो फाट्न सक्छ, आकाश फेरि खुल्न सक्छ। कालो मुस्लोको त्यो अन्धकारले पनि देशलाई अझै पुनर्निर्माण गर्न, खरानीमाथि पनि हरियो बिरुवा फलाउन सकिन्छ भन्ने सन्देश दिन्छ। त्यसैले शारदीय आकाशमा फैलिएको धुवाँको कुइरी मण्डल दुःखको प्रतीकसँगै पुनर्जन्मको संकेत पनि हो। धुवाँले ढाकेको आकाशभित्र अझै जीवनको सम्भावना छ, अझै आशाको उज्यालो छ।
यो दृश्यले भन्छ– ‘देश डढेर खरानी बने पनि मान्छेका सपना, भावना र सिर्जनाहरू जल्दैनन्। तिनलाई फेरि नीलो आकाशले अँगाल्न सक्छ। धुवाँले ढाकेको आजको आकाश भोलिको उज्यालो आकाशको प्रस्तावना मात्र हो।’
जतिसुकै कष्ट, पीडा र तनाव भए पनि बडादसैं मिलन र उल्लासको पर्व हो। झुलेका बाली, फुलेका फूल र मनभित्र रोएर पनि हाँसेका मुहार। यी सबै प्रकृतिले उपहार स्वरूप दिएका शारदीय सौन्दर्यका दृश्य हुन्। शरद् ऋतुमा धानका बालीहरू सुनजस्तो बनिरहँदा, आकाश नीलमणिझैं उज्यालो देखिरहँदा र हावा पनि चञ्चल भएर मन रमाउने गीत गाइरहँदा, हामी सबैलाई एउटै सन्देश दिइरहेका हुन्छन्– ‘नेपालीहरूको महान पर्व बडादसैं नजिकिँदैछ।’
बडादसैं पर्व मात्र होइन, त्यो मिलनको क्षण पनि हो। टाढा बसेका आफन्तहरू घर फर्किन्छन्। बसपार्क र बाटोमा भिड हुन्छ, तर त्यो भिड पनि खुसीको प्रतीक बनिदिन्छ। गाउँका आँगनहरूमा रमाइरहेका बालबालिकाहरू, हातमा चङ्गा समातेका किशोरहरू र घर फर्किएका छोराछोरीलाई स्वागत गरिरहेका बुबाआमा, बाजेबज्यैलाई देख्दा लाग्छ– यस पर्वले टुटेका दुरीलाई पुनः जोडिदिन्छ।
बडादसैं प्रकृति र संस्कृतिको एकरूपता हो। सुनौलो बाली काट्न तयार खेत, रङ्गीन फूल र हाँसोले सजिएको घरआँगन यी सबै जीवनका उत्सव हुन्। दसैंमा टीका र जमरा मात्र लाग्दैन, मनहरूमा आशिष् लाग्छ। यो पर्व पापमाथि पुण्य, असत्यमाथि सत्य र अधर्ममाथि धर्मको विजयको प्रतीक बनेर आउँछ। त्यसैले दसैंसँगै आशा, आस्था र उमङ्ग पनि जन्मिन्छ।
यसबेला गाउँका घरदैलाहरूमा मयूरका पखेटा जस्तै रङ्गीन सुन्दरताको लिपपोत गरिन्छ। परदेशमा बसेकाले पनि गाउँ फर्किंदा, आफ्नै घरको माटोको सुवाससँग दसैंको मौलिक स्वाद पाउँछन्। पुराना साथीभाइ, आफन्तसँगको पुनर्मिलनको खुसीले आनन्दित पार्छ। बडादसैं जीवनमा खुसीको गाथा हो। यसले भन्छ, ‘जहाँ परिवारसँग मिलन हुन्छ, त्यहाँ उत्सव हुन्छ। जहाँ बालबालिकाको हाँसो हुन्छ, त्यहाँ जीवन सुन्दर हुन्छ। जहाँ प्रेम र आशीर्वाद हुन्छ, त्यहाँ दसैं सदैव जीवित रहन्छ।’
यो पर्वले हामीलाई धनको भन्दा पनि सम्बन्धको मूल्य ठुलो हुन्छ भनी सम्झाउँछ। आशीर्वादको शक्ति अमूल्य हुन्छ। र, टाढापनको भन्दा पनि नजिकपना नै जीवनको असली आनन्द हो भन्ने शाश्वत सत्यको बोध गराउँछ।
बडादसैंमा सुनौलो सपना हुन्छ। मिलनको चङ्गा उडिरहेको हुन्छ। हर्षको उल्लास पिङको मच्चाइसँगै बाँसको लिङ्गो छुने चेष्टामा हुन्छ। बालबालिकाले उडाएका चङ्गा आकाशमा नाच्छन्। त्यो चङ्गा मात्र रङ्गीन कागज होइन, त्यो त मुक्त आकाङ्क्षाको प्रतीक हो। जसरी चङ्गा हावासँग खेल्दै उचालिन्छ, त्यस्तै दसैंमा हरेक मन आकाङ्क्षाको आकाशमा उचालिन्छ। चङ्गाको डोरीले जसरी धर्ती र आकाशलाई जोड्छ, दसैंले त्यस्तै टाढा र नजिकका आत्माहरूलाई प्रेम र संस्कृतिको डोरीले नजिक ल्याएर बाँधिदिन्छ।
धान, कोदोका बाली हावामा लहरिँदै झुल्छन्। मानौं सुनौला सपनाहरू धर्तीमा उम्रिएका हुन्। आकाशको नीलिमा तिनको सौन्दर्यलाई अँगाल्छ। सूर्यका किरणहरूले ती सपनाहरूलाई उज्यालोले भरिदिन्छन् । यही सुनौलोपन, यही उज्यालोपन, यही मिलनको हर्षोल्लास नै बडादसैंको सुन्दर सन्देश हो।
फूलहरू फुल्नु र तिनको रङ मात्र फूलको जीवन होइन, त्यो त जीवनभित्रको उमङ्ग र आशाको दिव्य रङ–सौन्दर्य पनि हो। जसरी अनेकौं रङको चम्किलोपनसँगै सुगन्धमय मुस्कान लिएर प्रकृतिको अनुहार उज्यालो पार्छ। फूल हरेक मिलनमा उत्सवको आनन्द प्रदान गर्ने सगुनको प्रतीक पनि हो। त्यसैले नेपालीहरूको महान् चाड बडादसैं पर्वसँगै यो जीवनको सौन्दर्य पनि हो । यो धर्तीमा मनाइने पर्व र प्रत्येक नेपालीको हृदयमा बज्ने मिलनको सुमधुर ‘माल्सिरी धुन’ पनि हो।
धानको बालीले सुनौलो सपना सुनाउँछ। फूलहरूले खुसीको बगैंचा सजाउँछन्। चङ्गाले आकाङ्क्षालाई आकाशमा उडाउँछ। पिङ खेल्दा एकपट धर्ती छोड्नुपर्ने सन्देश दिन्छ। र, आफन्तहरूको आगमनले मिलनको उत्सव बनाउँछ । त्यसैले यो पर्वले भन्छ– ‘सम्बन्धभन्दा ठुलो सम्पत्ति केही छैन। आफन्त र तिनको आशीर्वादभन्दा ठुलो धन केही छैन। प्रेमभन्दा सुन्दर उत्सव पनि केही छैन।’
सबैभन्दा महत्त्वपूर्ण कुरा यी सबै सौन्दर्यमाथि खुलेको स्वच्छ, स्निग्ध आकाशमुनि हराभरा धराधामको दृश्यले एक अलौकिक शान्ति प्रदान गर्छ। एकातिर आपसी भेटघाट, अर्कोतिर प्रकृति कतै बाली भएर अन्न–ऐश्वर्यको स्वरूपमा हुन्छ, कतै फूलहरूको ढकमक्क फुलाइमा आकाशको सफा र नीलो रङले मनको सबै तनाव र चिन्तालाई मेटाइदिन्छ। पृथ्वीमा छरिएको हरियालीले जीवनको निरन्तरता र आशाको सन्देश दिन्छ। यसले हामीलाई सधैं सकारात्मक रहन र सुन्दरतालाई जीवनको हरेक क्षणमा खोज्न प्रेरित गर्छ।
शारदीय सौन्दर्य मौसमी परिवर्तन र यौटा अनुभव हो। यसले हामीलाई प्रकृतिको शक्ति र मानिसको भावनासँग जोड्छ। यो समयले हामीलाई जीवनको सबैभन्दा सुन्दर पक्षलाई अँगाल्न र हरेक सानो कुरामा पनि खुसी खोज्न सिकाउँछ।
परन्तु देश अहिले शोकको घडीमा छ। उत्सव मनाउने उत्साह छैन। डढेका भग्नावशेष पन्छाउँदै खरानीबाट उठ्नुपर्ने अवस्था छ। आँसुको आहालमा डुबेर भए पनि हाँसेर बाँच्नलाई प्रेरणा लिनु नै अहिलेको अलिकति खुसी हुने उपाय हो। किनभने शारदीय आकाशमा धुवाँको कुइरी मण्डल बिस्तारै पखालिँदै गइरहेछ।
प्रकाशित: २५ आश्विन २०८२ ०८:५६ शनिबार





