१६ मंसिर २०७९ शुक्रबार
कला

जीवन र जिन्दगी

कविता

पौडेलप्रसाद केशव

कहिले जीवन गणित बनेर बस्यो

वर्ष एक, वर्ष दुई, वर्ष तीन...

कहिले जीवन कागजको खोस्टो

रूपैयाँ एक,रूपैयाँ दुई, रूपैयाँ तीन...

कहिले जीवन सम्बन्ध बनेर गाँसियो

बुबाआमा, दाजुभाइ, दिदीबहिनी

आहा जीवन कहिले उमंगै उमंग

खुसी–सुख, सन्तुष्टि–आनन्द, मायाममता...

कहिले जीवन श्रमिकमा रमियो

हली–खेताला, अर्मपर्म, जागिर–पेशा–व्यवसाय...

कहिले जीवन निरासै निरासमा बिताइयो

दुःखकष्ट, पीरपीडा, रोगव्याधि, घाउचोट..

प्रकृतिसँगै आइदिन्छ कहिले जीवन

घामपानी, दिनरात, उकालीओराली...

समयसँगै आइदिन्छ जिन्दगी

शिशुवाला, बैंस–युवा, बुढो–वृद्ध...

मित्र भेटिए मित्र भइदियो जीवन

शत्रु भेटिए शत्रु भइदियो जीवन

राम्रा भेटिए राम्रो भइदियो जीवन

खराब भेटिए खराब भइदियो जीवन

आफू जस्तो बनाइदियो त्यस्तो होइन

अर्को जस्तो छ त्यस्तो भइदियो जीवन

आफूले आफू जस्तो बनाउन नसक्दा

अर्काले अर्कै जस्तो बनाइदियो जीवन

नागरिक हुँदा आफूजस्तो जीवन

कर्मचारी हुँदा तोकादेश जस्तो भो

जनता हुँदा आफू जस्तो जीवन

कार्यकर्ता हुँदा आदेश जस्तो भो

आफू हुँदा तजविजी आफ्नै चल्थ्यो

आफू नहुँदा अर्कैको तजविजी प्रयोग भयो जीवन

विद्यावारिधिको प्रमाणपत्र हातमा लिएर

मालिक हैन नोकरीमा रमाउने नोकर भो जिन्दगी

कुचिकार भो जिन्दगी प्रमाणपत्र नहुँदा

प्रमाणपत्र हुँदा मुख्य पदीय नोकर भयो जिन्दगी

नोकर हुन खोज्ने र नोकर बन्न नसकेको पीडामा

इहलिला नै समाप्त गर्ने आत्मनिषेधक भयो जिन्दगी

बस यतिका लागि कहिले

ठुलाठुला विश्वविद्यालय दौडियो जिन्दगी

ठूलाठूला शहर डुल्यो जिन्दगी

ठूलाठूला देशका ठूलाठूला पाठशाला धायो जिन्दगी

आत्मरतिका लागि चाप्लुसी गरी पदक पायो जिन्दगी

सर्वज्ञ बन्ने नाममा कहानीलाई

कथा लेख्न लगाएर

कथाकार भयो जिन्दगी

खेस्रालाई कविता बनाउन लगाएर

कवि भयो जिन्दगी

अर्कैले लेखिदिएको यात्रालाई न्वारन गरी

नियात्राकार भयो जिन्दगी

अर्कैले सच्याइदिएको ह्रस्व दीर्घ र भाषालाई

सच्याउँदै भाष्यकार भयो जिन्दगी

बस यतिमै सर्वस्व र सर्वज्ञ ठान्दै रमायो जिन्दगी

थाहा छैन कहिले म अनि मेरो बन्छ जिन्दगी

मलाई सम्मान गरिदेन भन्दै चाकडीमा

सम्मानित भयो कहिले जिन्दगी

मलाई खुसी देन भन्दै पाएको खुसीमा

आल्हादित भयो जिन्दगी

कतिका यस्ता जिन्दगी लेखौ यसरी

हराउँदै गएको आफ्नै जिन्दगीको खोजीमा

रति र आत्मरतिको

आलोचना र समालोचनाको

कटाक्ष र पुर्वाग्रहको यो दुनियामा

कसको कस्तो जीवन कहानी लेखौ

थाहा छैन कति छन यी र यस्तै जिन्दगी

थाहा छैन कहिले आफू बन्छ जिन्दगी

हो त्यसपछि चै साँच्चै था छ

म साँच्चै जान्दछु जिन्दगी

म साँच्चै बाँच्दछु जिन्दगी। 

प्रकाशित: ३० कार्तिक २०७९ १०:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App