८ जेष्ठ २०८३ शुक्रबार
image/svg+xml
कला

कस्तो छ हलमा प्रदर्शन भइरहेको ‘लाखे’ ?

शुक्रबारबाट फिल्म ‘लाखे’ प्रदर्शनरत छ। यसमा सौगात मल्ल, अनुप विक्रम शाही, आर्यन अधिकारी, सुशील सिटौला, प्रशान्त ताम्राकार, रोहित रुम्बा, अर्पण थापा, सिस्टम भण्डारी, बर्षा राउत लगायतका कलाकारहरूले अभिनय गरेका छन्।  

छायाङ्कन र द्वन्द्वको पक्षबाट प्रशंसा बटुलिरहेको फिल्मलाई सम्राट बस्नेतले निर्देशन गरेका हुन्। सिजन अर्यालले तयार गरेको कथा बदलाको भावमा छ।  

समीर महर्जन (सौगात) एक बैंकमा म्यानेजर हुँदा बैंकिङ कसुरमा फसाइन्छ। त्यसले उनको श्रीमती सीमा ९वर्षा० र छोरी सिमरन (सिस्टम)सँग अलग बनाउँछ। जेलमा समीरको भेट रकी (आर्यन) र मेटल (अनुप)सँग हुन्छ। त्यहीँबाट बैंक लुटेर आफूलाई फसाइएको बदला लिने योजना समीरले बनाउँछन्। यी दुईसँगै उनले ह्याकर प्रिन्स (सुशील) र अप्पा (रोहित)सँग बैंक लुटेर त्यहाँको पैसा एक जङ्गलमा लगेर काठमा लुकाउँछन्।  

नेपाल प्रहरीले यो अपराधी समाउन नसकेपछि सीआईबीका मनोज भण्डारी (अर्पण)लाई केस आउँछ। जनक अग्रवाल ९प्रशान्त० को बैंकबाट लुटेको पैसा अचानक राखिएको ठाउँबाट हराउँछ। साथै, अप्पा पनि गायब भएपछि समीरले बुनेको योजनामा विभिन्न कठिनाइ आउँछ।  

के पैसा मनोजले लुकाएको ? उनी जनककै सहयोगी हो ? वा समीरले नै नयाँ योजना बनाएको हो ? लाखेसँग फिल्मको कथा कसरी जोडिएको छ ? यी सब प्रश्नको जवाफ फिल्म हेर्दा नै पाइन्छ।  

विशेषतः फिल्मको क्लाइमेक्स चर्चा भएको छ। हिमाली सुन्दरताको क्लाइमेक्स मनोरन्जक रहेको अभिनेता विनय श्रेष्ठले बताउँछन्। “फिल्म मेकिङमा निकै मेहनत गरिएको छ। सबै आ-आफ्नो भूमिकामा फिट छन”, विशेष शोमा फिल्म हेर्न आएका अभिनेता श्रेष्ठले भने, “यो प्रकारको द्वन्द्व कमै नेपाली फिल्ममा देख्न पाइन्छ। किनकि हामीलाई बजेट र प्रविधिले सहयोग गर्दैन।”

फिल्म ‘लाखे’ का निर्देशक बस्नेतले आफू द्वन्द्व निर्देशक समेत रहेकाले यसमा प्रयास गरेको बताउँछन्। “विदेशी फिल्मको एक्सनमा लोभिने दर्शकलाई नेपाली प्रविधिबाटै केही देखाउन खोजेको छु। उनीहरूको आकर्षण बढेमा हामीले मेकिङ अझैँ खर्च गर्न सक्छौँ”, निर्देशक बस्नेतले भने।  

करिब तीन करोड लगानीमा फिल्ममा सुसन प्रजापतिको छायाङ्कन, कविराज गहतराजको कोरियोग्राफी, अर्जुन जिसीको सम्पादन, आकाश बरालको पटकथा, अनुप न्यौपाने र आकाश बरालको संवाद लेखन छ। फिल्म नेपालभरका हलमा कात्तिक १८ देखि प्रदर्शन भइरहेको छ।रासस

प्रकाशित: १९ कार्तिक २०७९ ०६:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App