यो विश्व ब्रह्माण्डमा बुद्ध धर्म मान्नेहरू अरबौंको संख्यामा पुगिसकेका हुनुपर्छ। उनीहरू सबैले बुद्धको झन्डा र खादा प्रयोग गर्दै आइरहेका छन्। बुद्धको झन्डा र खादाको प्रयोग कहिलेदेखि सुरुवात भयो भन्ने सन्दर्भमा अध्ययन गरी हेर्दा सबैभन्दा पहिला ७ औं शताब्दीका तिव्बती राजा स्रङचङ गम्पोको पालामा राम्रो काम गर्ने इमान्दार सरकारी कर्मचारी वा नागरिकलाई बाघ, चितुवाका छाला दिएर सम्मान गर्ने गरिन्थ्यो। पछि रानी भृकुटीलाई बिहे गरिसकेपछि भृकुटीले यसरी पुरस्कार दिन जनावर मार्नुपर्ने र त्यो कर्म बुद्ध धर्मको अहिंसा सिद्धान्तको विपरीत भएकाले अन्य उपाय खोज्न सुझाव दिइन्। त्यसपछि ८ औं शताब्दीमा राजा त्रिसोङ डोएट्सन गुरु रिम्पोचेले जनावरको छाला दिने चलन खारेज गरेर खादा दिने चलन चलाएका हुन् भनिन्छ।
प्रायः धेरैजसो यो खादाको प्रयोग तिव्बत, नेपाल, भुटान, भारत र मंगोलियामा व्यापक रूपमा भइरहेको देखिन्छ भने विश्वका अन्य विभिन्न देशका बौद्धहरूले पनि उस्तै प्रकारले बौद्ध खादा प्रयोग गर्दै आइरहेका छन्। खादा विभिन्न रङ अनि प्रकारका देखिन्छन्। त्यसमा पनि सबैभन्दा धेरै प्रयोगमा आइरहेको खादाको रङ भने सेतो रङ नै हो। खादाका विभिन्न किसिमका रङ देखिनुमा पनि अर्थ छ। विशेष गरेर पाँच रङका खादाहरू देखिन्छ। यस्मा सेतो, रातो, निलो, पहेंलो र हरियो पाँचवटा रङका खादा देखिनाले यसलाई पञ्चतŒवको प्रतीकका रूपमा पनि लिइराखेको हो भनिन्छ। जस्तो कि सेतो रङ जलतŒव, रातो अग्नितŒव, निलो आकाश, हरियो वायु र पहेंलो पृथ्वीतŒवको प्रतीकका रूपमा लिइएको हो। यसरी पञ्चतत्वले भरिएको खादाको प्रयोग नेपाल, भारत, तिव्बत, श्रीलंका, थाइल्यान्डका साथै विश्वका विभिन्न देशमा व्यापक रूपमा हुँदै आएको छ।
बुद्ध धर्मको संस्कारको रूपमा देखिएको यो खादाको चलन शुभ–मंगल असल कार्यमा बढी मात्रामा प्रयोग गरिरहेको देखिन्छ। बौद्धहरूमा जन्मेदेखि मृत्युसम्म प्रयोग गरिने यो खादाको अत्यन्तै महत्वछ। खादाको प्रयोग जन्मोत्सव, व्रतबन्ध, विवाह र विभिन्न किसिमका उपलक्ष्यमा गरिन्छ भने पाहुनाहरूको स्वागत सत्कार गर्दा वा बिदाई समारोहमा पनि सम्मान गर्ने रूपमा खादा लगाइदिने संस्कार छ। त्यस्तै ठूल्ठूला पूजा पाठ, परित्राणजस्ता पाठ गराइँदा र बुद्ध पूजा गराइँदा पनि खादा प्रयोग गरिन्छ। खादा चढाएर वा लगाइदिएर भिक्षु, भिक्षुणी र बौद्ध गुरुहरूलाई सम्मान गर्ने गरिन्छ। त्यस्तै दुःखद् समयमा पनि खादा प्रयोग गरिन्छ। मृत शरीरमा खादा चढाएर श्रद्धाञ्जली अर्पण गरिन्छ र दिवंगत आत्माको चीर शान्तिका लागि प्रार्थना पनि गरिन्छ।
बुद्ध पूजा गर्दा बुद्धको मूर्तिमा खादा लगाइदिई सकेपछि भिक्षुणीहरूलाई पनि खादा लगाइदिएर सम्मान गरेर भोजन गराउने गरिन्छ। यसरी भक्तजन अर्थात् उपासक उपासिकाहरूले बुद्ध पूजा गरी सकेपछि अनि भोजन गराएका भिक्षु र भिक्षुणीहरूले पनि विभिन्न किसिमका बुद्ध वचन पाठ गरेर शान्ति स्वस्ति गरेर सबै उपासक उपासिकाहरूलाई आर्शीवाद दिइने गरिन्छ।
महत्वपूर्ण विशेषताले भरिएको अष्टमङ्गलको चिह्न खादामा कोरिएको हुन्छ। अष्टमङ्गल चिह्नमा दैवी शक्ति हुने भएकाले खादा लगाउने मानिसको शरीरमा नयाँ किसिमको स्फूर्ति आउने विश्वास गरिन्छ। शुभमंगल चिन्ह अष्टमङ्गललाई बौद्धहरूले मात्र होइन, हिन्दुहरूले पनि उत्तिकै मान्दै आइरहेको छ। सबैलाई सुस्वास्थ्य, समृद्धि, सुख शान्ति, दीर्घायु र चीरकाल पर्यन्त समृद्धि प्रदान गर्ने शुभमंगलका रूपमा खादालाई लिइएको छ। त्यसैले सबैले खादा लगाउने र लगाइदिने गरिँदै आएको हो भनिन्छ।
खादामा भएको उक्त अष्टमंगलको प्रतीक चिह्नको विशेष गरेर खोतलेर हेर्ने हो भने बौद्ध स्तुपको गजुर जसलाई सुमेरु पर्वतको प्रतीकका रूपमा पनि लिइन्छ भने त्यसको मुनि अर्थात् गजुरको मुनि छत्रावली स्तुपको संरक्षकका प्रतीक, घन्ट शुभ अथुर्भको प्रतीक, कमलको फूल १३ वटा तहको खण्ड भएको वोधिसत्वबाट पार भएर जाने भुवन।
त्यस्तै चारौं भागमा कमलको फूलको बुद्ध धर्ममा अत्यन्तै महत्वपूर्ण रहिआएको छ। कमलको फूलले मन, वचन, शरीर, मस्तिष्कलाई स्वतन्त्र रूपमा सत्कर्म गराएर दिव्य ज्ञानको विकासमा टेवा दिइरहन्छ। पाँचौं चिन्ह शंखले शंख ध्वनिका प्रभावले बुद्ध धर्मका सबैलाई धर्मको ज्ञान र जगत् कल्याणका लागि प्रेरणा दिइरहन्छ। छैठौं श्रीवत्सको चिह्न अनन्त गाँठो डोरीको विभिन्न गाँठोका बुट्टा राखेर अन्तर सम्बन्ध राखेर बनाइराखेको हुन्छ।
सातौं चिह्नमा झन्डा हो– बुद्ध झन्डा। यो झन्डालाई विजयध्वज पनि भनिन्छ। यसमा बुद्ध धर्मको सूत्रले जन्म, मृत्यु, अज्ञानता, विश्वमा देखिएका विकृति र नकारात्मकबाट विजयी हुन शक्ति प्राप्त हुनेको रूपमा लिइएको छ। अष्टमंगलको आठौं चिह्न धर्मचक्र हो। यो दिव्य चिह्न अष्टमंगलले सिद्धार्थ गौतमले दिव्य ज्ञान प्राप्त गरेको कुरा प्रष्ट्याइरहेको छ। यही महान् दिनमा सृष्टिका भगवान् ब्रह्मा प्रकट भएर सिद्धार्थ गौतमलाई वरदानका रूपमा धर्मचक्र दिनु भएर विश्वमा बुद्ध धर्मको प्रचारप्रसार गरेर लोक कल्याणको मार्गमा जान अपिल गर्नुभयो।
बुद्ध झन्डाको विषयमा पनि अनौठो खालको कुरा छ। हाल हामीले प्रयोग गरिरहेको बुद्ध झन्डा कसले बनाएको भन्नुपर्दा सन् १८८० मा एकजना अंग्रेजी पत्रकार कर्णेल हेनरी स्टिल ओलकरले बनाएका हुन्। सबैभन्दा पहिला बुद्ध झन्डाको झन्डोत्तलन १८८५ मा श्रीलंकामा भएको हो।
बुद्ध झन्डामा ५ वटा रंगहरू छन्। निलो, पहेंलो, रातो, सेतो र केसरी। यी पाँच रङ पाँचवटै विशेषताले भरिएका छन्। जस्तै निलो रङले शान्ति र सहानुभूति, पहेंलो रङले त्याग, रातो रङले धर्म र मर्यादा, सेतो रङले शुद्धता र आत्मा शुद्धि र स्वतन्त्रता अनि केसरी रङले बुद्धको ज्ञानको संकेत गरिरहन्छ। यसरी विभिन्न विशेषताले गर्दा बुद्धको झन्डा अत्यन्तै महत्वपूर्ण बनेको हो। सबैका मान्यवर भगवान् बुद्धका विभिन्न किसिमका ज्ञान, शान्ति, स्नेह, सहानुभूति, करुणा, दया, ममताले भरिएको मानवता र अहिंसाजस्ता गुण ग्रहणयोग्य छन्। हामीले कतिसम्म ज्ञान लिन सकेका छौं, त्यो त हाम्रै स्वविवेकमा भर पर्छ।
प्रकाशित: २९ आश्विन २०७९ ०२:५२ शनिबार