coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

भूत बंगलामा पहिलो रात

संस्मरण

गंगा कर्माचार्य पौडेल

‘जागिर खाने भए अवकाशपछि पेन्सन आउने ठाउँमा(सरकारी अड्डा अफिस) मात्र खानु’ भनेर धेरै जनाले भनेका थिए। मेरो हित चाहने मेरा घरपरिवार, साथीभाइ, इष्टमित्र सबैको इच्छा थियो,म सरकारी जागिरे भएको हेर्ने। तर,मेरो विचार उहाँहरूको भन्दा भिन्दै थियो। म चाहन्थें, जागिर खाएर पैसा कमाउने मात्रै होइन। आफूले गरेको कामबाट धेरैभन्दा धेरै जना मानिसको सेवा गर्न पाइयोस्। मेरो सेवाबाट समाजका गरिव, दुःखी, असहाय, टुहुरा बालबालिका तथा अरू पनि पिछडिएका वर्ग लाभान्वित होऊन्। त्यसकारण उहाँहरूमध्ये कसैको पनि सुझावमा मेरो ध्यान गएन। धेरै पैसा आउने,पेन्सन खान पाइने जागिरभन्दा सेवामूलक काममै म आकर्षित भएँ अनि २०३६ साल चैत्र २६ गते तत्कालीन सामाजिक सेवा राष्ट्रिय समन्वय परिषदअन्तर्गत नारी सेवा समन्वय समिति भुकुटीमण्डपमा अस्थायी सुब्बा पदबाट  सेवा आरम्भ गरें। त्यतिबेला मेरो मासिक तलव ४५०।- रुपियाँ थियो।

उक्त समितिका सभापति सम्माननीय कमल राणाज्यू हुनुहन्थ्यो। दश महिनासम्म त्यहाँ बसेर काम गर्दा मैले धेरै कुरा सिक्ने अवसर पाएँ। केही अनुभव बटुलें र कामको जिम्मेवारी पनि बुझें।

समाजसेवा गर्न रहरले मात्र पुग्दैन रैछ। तन,मन र धन पनि बलियो हुनुपर्ने रहेछ। मसँग त मन मात्र दरो थियो। तन र धनमा म दुर्बल थिएँ। तापनि मन सबैभन्दा ठूलो कुरा रहेछ। त्यसकरण सामाजिक क्षेत्रमै जागिर खाएर समाजमा सक्दो सेवा पु¥याउने अठोट गरें मैले।

म नारी सेवा समन्वय समिति भृकुटी मण्डपमा सेवारत छँदै २०३७ साल मंसिरमा नेपाल कुष्ठरोग निवारण संघद्वारा सञ्चालित शान्तिबालिका छात्रावासका लागि अधिकृत तृतीय श्रेणी छात्रावास प्रमुख(हाउस मदर) पदको विज्ञापन खुलेको पत्रिकामा देखें। मनमनै सोचें, ‘शैक्षिक योग्यता अनुसारको पद र धेरै जनाको सेवा गर्न पाइने यो अवसर आएको छ। यसलाई गुमाउनु हुन्न।’

मैले सम्माननीय कमल राणाज्यूसमक्ष आफ्नो कुरा राखें, ‘निवेदन दिऊँ कि नदिऊँ होला?’

उहाँले मेरो कुरा सुनेर खुसी हुँदै भन्नुभयो, ‘तपाईको सेवाभावदेखि परिचित छु। ती कुष्ठरोगीका छोरीहरू तपाईको अभिभावकत्व पाएर समाजमा असल नागरिक बन्नेछन् तर कामचाहिं सजिलो छैन। त्यहाँ धेरै चुनौती छन्। धैर्य राख्नुहोला। केही परे मलाई सम्झिनु। त्यो संस्थाको अध्यक्ष अधिराजकुमारी शान्ति सिंह सरकार होइबक्सिन्छ। तपाईको विषयमा म पनि सरकारसमक्ष विन्ती चढाऊँला।’

उहाँको मप्रतिको स्नेह र उदारभावदेखि कृतज्ञ भएँ। उपचारदेखि जागिरसम्म नै कमलराणाज्यूले नबिर्सने गुन लगाउनुभएको थियो। मैले दायाँबायाँ केही नसोची, कसैलाई नसोधी त्यही दिन उहाँसँग अलि छिटो छुट्टी मागेर भृकुटीमण्डपबाट माहाराजगञ्जतिर लागेंं। त्यहाँ पुगेपछि अफिस कता छ भनेर चारैतिर आँखा डुलाएँ। चौबाटाकै दाहिनेतिर आगडि नै सानो घरमा निःसहाय सेवा समितिको कार्यालय थियो। त्यहीं नजिकै पूर्वपट्टि पहेंलो रङ्गको ठूलो दुई तले भवन थियो। त्यसलाई भूत बंगला भन्थे। त्यसैमा थियो बालिका छात्रावास। जसमा ५० बालिकाले आवास सुविधा पाइरहेका थिए। त्यहीछेउमा तल तीन कोठामाथि तीन कोठा भएको दुईतले भवनमा कुष्ठरोग निवारण संघको केन्द्रीय कार्यालय थियो। म त्यही कार्यलयमा गई दरखास्त दिएँ।

दुई महिनापछि नतिजा प्राप्त भयो। मैले दरखास्त दिएको पदका लागि मेरोबाहेक कसैको दरखास्त परेकै रैनछ। त्यसपछि संघको महासचिव डा. खगेन्द्र श्रेष्ठ र प्रशासकीय अधिकृत कुलबहादुर खड्का सरले सामान्य अन्तर्वार्ता लिएर २०३७ साल माघ १ गतेदेखि लागु हुने गरी तलव ६ सय रुपैयाँ तोकिएको नियुक्तिपत्र दिइयो।

म नेपाल कुष्ठरोग निवारण संघद्वारा संचालित बालिका छात्रावासमा आवासीय कर्मचारी भई जान लागेको कुरा घरपरिवारले थाहा पाएपछि कोही पनि खुसी भएनन्। कुष्ठरोग जसलाई महारोग भनिन्छ। त्यो रोग लागेका मान्छेलाई छुन त हुँदैन। त्यस्ताको सन्तान सँगसँगै बस्न जाने? भोभो जानु पर्दैन पनि भने। कसैले  बडामहारानी ऐश्वर्य सरकारले तिमीलाई चिनिबक्सेको छ। गोडाको उपचार त गराइबक्स्यो भने जागिर नदिने कुरै भएन? बरु उहाँलाई भनेर कुनै अड्डा, अफिस, बैंकमा जागिर खाए भैहाल्यो नि। कसैले भने ‘आफ्नै बच्चाहरू साना छन्। घरै नबसेर के काम गर्न जान्छ्यौ भने। कसैले जागिरै खाने भए मैले चिनको अफिसमा भनिदिऊँला भनेर विकल्प अघि सारे।

अन्तमा मैले श्रीमानको मुखमा हेरें। उहाँले ‘तिमीले जाने निर्णय नै गरिसकेकी छ्यौ भने म जाऊ पनि भन्दिनँ र नजाऊ भन्दिनँ’ भनेर एकातिर फर्कनुभयो। त्यसपछि भने म बडा असमञ्जस्यमा परें।

साँझ खाना खाने बेलामा मैले श्रीमानलाई आफ्नो उद्देश्य प्रकाश पार्दे भने तलबका लागि मात्र जागिर खाने हो भने मैल अन्त पनि पाउँछु तर मेरो उद्देश्य सेवा पनि हो। त्यसकारण मेरा लागि त्यहीं ठाउँ उपयुक्त छ। रह्यो कुष्ठरोगको कुरा। त्यो रोग सरुवा होइन।

अहिलेसम्म त्यहाँ काम गर्ने कुनै कर्मचारीलाई रोग सरेको रेकर्ड छैन। मैले सबै कुरा बुझेर आएको छु। हजुर जस्तो शिक्षित र बुज्झकी मान्छेले कृपया नकारात्मक सोच नराखिदिनुस् भनेर हात जोडेपछि उहाँले,‘हुुन्छ जाऊ, अरूले जे भने पनि म तिम्रो पक्षमा हुन्छु’भन्नुभयो। श्रीमानको अनुमति पाएपछि म औधी खुसी भएँ।

हुन पनि त्यतिबेला कुष्ठरोगप्रति समाजले हेर्ने दृष्टिकोण,गरिने व्यवहार अति नै दयनीय थियो। कुष्ठरोग लागेका व्यक्तिलाई छिछि र दूरदूर गर्थे। रोगप्रतिको अज्ञानताले कुष्ठरोग महारोग हो र पूर्व जन्मको पापले मानिसलाई कुष्ठरोग लाग्छ भन्ने व्यापक जनधारणा थियो। कुष्ठरोग पीडित व्यक्तिलाई उसको नागरिक हकबाट समेत वञ्चित गरी घरपरिवारबाट अलग्याउने,मानव बस्तीभन्दा पर बारीको पाटो छाप्रो बनाएर वा जंगलको छेउ, ढुंगाको ओडारमा लगेर राख्ने गर्दथे। उनीहरूलाई कुनै पनि सामाजिक भूमिकामा सहभागी गराइँदनैथ्यो।

त्यसैगरी कुष्ठरोगीका बालबालिकालाई पनि अरू सामान्य नागरिकका छोराछोरीसरह व्यवहार गरिदैंनथ्यो। उनीहरूलाई हेय भावले हेरिन्थ्यो। त्यस्तो अवस्थामा मेरा घरपरिवार, आफन्तजनलाई कुष्ठरोगीका छोरीहरू राख्ने छात्रावासमा उनीहरूसँगै बस्ने गरी काम गर्न जान लागेको मन नपर्नु अस्वाभाविक थिएन। मलाई चाहिं सेवा नै धर्म हो, काम नै पूजा हो,सबै मान्छे एकै हुन् भन्ने मन्त्र कण्ठ थियो। किनभने म सानी छँदा बुवाले गरिव दुखीहरूलाई रुपैयाँपैसा, अन्न र वस्त्र दिएर सक्दो सहयोग गरेको देखेकी थिएँ।

हाम्रो घरमा सहयोगको अपेक्षा राखी आएका कोही पनि विमुख भएर फर्केको मैले देखेकी थिइन। आमाले जहिले पनि भात पकाउँदा कसौडीमा एकजनाको भाग चामल थपेर पकाउनुहुन्थ्यो। दिनकै कोही न कोही आएर खाएकै हुन्थे। आमा भन्नुहुन्थ्यो, ‘आफूले एक गाँस कम खाएर केही हुन्न। भोको मान्छेलाई खान दिएर सम्पत्ति घट्दैन बरु बढ्छ, धर्म हुन्छ। आमाका ती अमृतवाणी सम्झिंदा मेरो आत्मबल बढेर आउँथ्यो।

मैले गाउँमा देखेकी थिएँ, कोही धनी मान्छे पनि व्यवहार बिग्रिएर पछि गरिव भएको। कोही गरिव मान्छे पनि मेहनत गरेर धनी भएको। कोही पहिला हट्टाकट्टा बलियो भएका बेला गाउँमा सोझा सबैलाई थर्काएर हिंड्ने गरेको पछि उसैलाई  क्षयरोग लागेर लिखुरे भएको मान्छे,कोही पहिला सद्दे पछि रुखबाट खसेर ढाड भाँचिएर सधैंका लागि ओछयान परेको। यस्ता अनेकौ घटना देखेर म त्यसबाट प्रभावित भएकी थिएँ।

आफैं पनि जन्मिएको तीन वर्षपछि देब्रे गोडामा लागेको  पोलियोबाट ग्रसित थिएँ। त्यसकारण दिन सधैं कसैको पनि एकनास हुँदैन। जन्मिएर नमरुन्जेल कतिखेर कसलाई के हुन्छ भन्न सकिंदैन।

आज कुष्ठरोग पीडितका बालबच्चा पनि उचित लालनपालन र शिक्षादीक्षा पाए भोलि ठूला मान्छे बन्न सक्छन् भन्ने मेरो धारणा थियो। त्यसमा पनि बच्चा भनेका सबै एउटै हुन् कुष्ठरोगीका हुन् वा अरूका। त्यसकारण जसले जे भने पनि म आफ्नो निर्णयबाट पछि हटिन।

मेरो नियुक्ति-पत्रमा २०३७ साल माघ १ गते लेखिएको भए पनि  माघ २५ गते मात्र छात्रावासमा बस्ने गरी गएकी  थिएँ। कारण विद्यार्थीहरू जाडोको दुई महिने विदामा घर गएका थिए। माघ २४ गते मात्र उनीहरू छात्रावास फर्किएका थिए। त्यतिन्जेल कहिलेकाहीं केन्द्रिय कार्यालयमा गएर हाजिर गर्थे। अधिकृत कुलबहादुर खड्का सरले छात्रावास सञ्चालनसम्बन्धी धेरै कुरा सिकाउनुभएको थियो। किनभने त्यहाँ बालिकाहरू मात्र नभई शिक्षिका, आया भान्छे चौकिदार सहित ७ जना स्टाफ पनि थिए। उनीहरूको उपस्थिति पुस्तीका,बालिकाहरूको व्यक्तिगत विवरण राख्नेदेखि स्वास्थ्य,शिक्षा जस्ता सम्पूर्ण जिम्मेवारीको बारेमा सम्झाउनुभएको थियो।

२५ गते छात्रावासमा पुग्दा दिनको तीन बजेको थियो। मलाई देखेर भएभरका बालिकाहरू गुरुरुरु दौडिंदै आए। अनि मेरो वरिपरि घेरा हालेर उभिए। म त्यहीं चउरमा थ्याच्च बसें। उनीहरू पनि बसे। मैले ल अब परिचय गरौं। तिमीहरू आआफ्नो नाम, कक्षा र उमेर भन अनि लास्टमा म भनौला।

एकजना छात्राले प्वाक्क भनी, ‘ओहो, तपाई कति बाठो मान्छे। पहिला तपाईको नाम भन्नु न।’

‘ए हो। ल मै भन्छु। मेरो नाम गंगा पौडेल। घर बत्तीसपुतली काठमाडौं।’

एउटी बालिकाले सोधी,‘तपाईले कति पढ्नुभएको छ नि?’

मैले भनें,‘बिए पास गरेकी छु। अधिकृत पदमा काम गर्न बिए गरेको हुनुपर्छ नि।’

एउटीले ‘अँ होला नि? घ्याम्पे मामीले एसएलसी पास त गर्नु भाको छैन रे।’ अर्कीले भनी, ‘हो के धेरै पढ्नुभको छैन रे।’

उनीहरूले त्यसो किन र कसलाई भनेका हुन्? मैले बुझिन। त्यसपछि ‘ल अब तिमीहरूको नाम भन्ने पालो भने। बालिकाहरूले क्रमश: आफ्नो नाम, उमेर र कक्षा बताउँदै गए। त्यहाँ नर्सरी कक्षमा पढ्ने छ वर्षकी फुलमाया परियारदेखि १० कक्षामा पढ्ने १९ वर्षकी राधा क्षेत्री पनि थिइन्। उमेर अनुसारको पढाइ भएका नर्सरीदेखि १० कक्षा पढ्ने विभिन्न उमेरका ५० जना बालिका थिए त्यहाँ। मायालाग्दा अनुहार, चम्किला आँखा भएका ती बालिकाहरू देखेर मलाई मेरै छोरीहरू जस्तो लाग्यो। अझ झन् मसँगै टाँसिएर बसेका साना नानीहरूको न्यानो मायाले मेरो वात्सल्य छल्केर आयो। एउटीले त मेरो काखमा टाउको बिसाएर लाडे स्वरमा भनिन्, ‘तपाई अबदेखि हामीसंगै बस्नुहुन्छ हो?’

मैले उनको कपाल मुसार्दै भनें, ‘तिमीहरूले बस्न दिए बस्छु,नदिए घरै फर्कनुपर्ला।’

त्यहाँ बसेका बालिका सबैले  एकस्वरमा भनें,‘अहो बस्न दिइहाल्छौं नि।’

एउटीले प्वाक्क भनी, ‘बरु तपाई पो बस्नु हुन्न।’

अर्कीले थपी, ‘हो त तपाई बस्न हुन्न।’

अलिपर बसेकी एउटी जुरुक्क उठेर मेरा अगाडि नै आएर भनी, ‘अस्ति न एकजना मिस आउनुभएको थियो। एकहप्तापछि घर गएर आउँछु भनेर जानुभयो अनि फर्केर आउनु भएन।’

अर्कीले थपी, ‘हो वाई, आउँछु भनेर नआउने त्यो मिस त कस्तो ढँटुवी रैछे।’

एउटी १० वर्ष जति उमेरकी बालिकाले मेरो हात समातेर भनी, ‘विद्यानाश बस्छु भन्नु त अनि बल्ल पत्याउँछौं।’

मलाई कसम खुवाउने प्रयास गरे उनीहरूले। मलाई के भनौभनौ भयो। त्यसपछि एकछिन नबोली बसें। म नबोलेको देखेर उनीहरूले ममाथि शंकाउँदै भने, ‘हो तपाई हामीसँग बस्नु हुन्न। विद्यानाश त भन्नुभएन।’

बालिकाहरूलाई मैले विश्वास दिलाउनु थियो तर कसमै खाने पक्षमा म थिइनँ। त्यसैले एउटा जुक्ति निकालेर भनें, ‘अस्तिको मिसले विद्यानाश बस्छु भनेर कसम खानुभएको रहेछ, होइन?’

‘हो नि खानुभएको थियो। विद्यानाश मात्रै हो र? सत्यसत्य धरोधर्म पनि भन्नुभाथ्यो हगि?’समर्थनको अपेक्षा राखेर एउटी बालिकाले अरूहरूतिर हेरेर भनी। सबै जनाले होहो भने। उनीहरूको कुरा सुनिसकेपछि मैले फेरि भनें ‘हो, कसम खाने, मान्छेले बोलेको कुरा पूरा गर्दैन। त्यसैले म कसम खान्न तर तिमीहरूसितै बस्छु। नपत्याए हेरिराख न भोलिपर्सि थाहा पाइहाल्छौ नि।’

मेरो कुरा सुनेपछि कोही ङिच्च हाँसे। कोही उठेर गए।

बाहिर चिसो बढ्न थाल्यो।

मैले भनें, ‘मलाई भित्र नलाने?’

सबै जनाको एउटै स्वर गुञ्जियो,‘लाने नि।’

म उठेर भित्र पस्नेबेला बालिकाहरू कोही कता लागे कोही कता लागे तापनि ६ कक्षाका दुई जनाले मलाई छोडेका थिएनन्। आया दिदीले कोठा देखाउन लगिन्। ती दुई बालिका सहित म काठको भर्‍याङ उक्लेर माथि जाँदै गर्दा भान्छाबाट ह्वास्स अनौठो किसिमको गन्ध आएर नाकमा ठोकियो। मैले त्यता नहेरी माथि पुगेपछि चारैतिर आँखा डुलाएर हेरें। बायाँतिर थोत्रा देखिने चौकास सहितका खापा भएका लाइनै झ्यालहरू थिए। प्यासेजका दायाँतिर भने दुई ओटा ठूला कोठा थिए। कोठामा लाइनै राखिएका खाट र त्यसमाथिको ओछ्यान खैरो कम्मलले बेरिएको देखेर कस्तोकस्तो लाग्यो।

भुईमा हेरें, काठ किराले खाएर ठाउँठाउँमा भ्वाङ परेको थियो। भित्ताको गारामा लिउनको पाप्रा उप्किएर निकै थोप्रो देखिन्थ्यो कोठा। खासमा मान्छे बस्नलायक थिएन त्यो ठाउँ। मन एकतमासको भयो मेरो। आयाले प्यासेजबाट सोझै दक्षिणतिरको कोठाको ताल्चा खोलिन् र ढोका खोलेर मलाई देखाउँदै भनिन्, ‘मिसको कोठा यहीं हो।’

म ढोकभित्र छिर्नासाथ ढुसी गन्हाएको नमिठो गन्ध आयो। त्यो कोठाको भुई पनि अघि हेरेको कोठा जस्तै ठाउँठाउँमा भ्वाङ परेको थियो। भित्तातिर एउटा खाट त्यसमा खोल तन्ना नभएको दुई ओटा डसना र दुई ओटा खैरो कम्मल अनि सिरानीको पनि खोल थिएन। म कोठाभित्र पसेंं र खोल्न मिल्ने सबै झ्याल खोलें। मसँग गएका दुई जना बालिका कोठाभित्र नछिरेर ढोकाबाटै मलाई च्याएर हेरिरहेका थिए।

मैले ‘भित्र आऊ न’ भनेपछि बल्ल उनीहरू पसे। हामी खाटमा बस्यौं। एकछिनपछि आया दिदी पनि भित्रै आइन्। एउटी बालिकाले कोठाको चारैतिर आँखा डुलाएर प्वाक्क भनिहाली, ‘यहाँ त राति भूत आएर हामीलाई तर्साउँछ। यो घरलाई त भूतबंगला भन्छन् नि, थाहा छ तपाईलाई?’

म ढोकाभित्र छिरेदेखि नै त्यहाँ देखिएको दृश्यले मन एकतमासको भइरहेको बेला ती बालिकाले भनेको सुुनेर म त खङ्ग्रङै भएँ। डरले मुटु ढुकढुक गर्न थाल्यो। तापनि म उनीहरूको अगाडि आफू डराएको देखाउन चाहन्नथें। त्यसैले उनीहरूको कुरामा अविश्वास गर्दै भनें, ‘नचाहिने कुरा, मान्छे बस्ने घरभित्र पनि भूत बस्छन् कतै? लौ त्यो भूत आइहाल्यो भने पनि त्यो एउटाले के नै गर्न सक्छ र? हामी यति धेरै छौं। त्यसलाई समातेर गोद्न सकिहाल्छौं नि।’

मैले यसरी निडरपन प्रस्तुत गरें। मैले म भूतसुत केहीसँग डराउँदिनँ पनि भनें।

अर्की बालिकाले भनी, ‘ओहो यो घरमा भूत किन नहुनु नि। छ बाबै, राति हामी सुतेपछि खुट्टा मुसार्न आउँछ। त्यसको हातभरि रौं नै रौं छ।’

उनको भनाइलाई समर्थन गर्दै आया दिदीले पनि भनिन्, ‘हो मिस, यो घरमा भूत छ। कहिले मध्यरातमा आएर तलको ढोकामा ड्याम्म लात्ताले हिर्काउँछ। त्यसपछि भर्‍याङ उक्लेर जुत्ता बजार्दै ट्याकट्याक गरी हलमा हिंड्छ। कति केटीका खुट्टा तानिसक्यो भूतले।’

अब भने म साँच्चिकै डराएँ। के गरूँ?के भन्नुभएको थियो। त्यहीबेला एकजना बालिका आएर ढोकाबाटै बोलाएर भनिन्, ‘भात खान आउनु रे भान्से दिदीले भन्या।’

खाना खानेबेला भएछ भनेर हामी चारै जना कोठाबाट बाहिर निस्कियौंं र तल गयौं। बालिकाहरू थाल बोकेर लाइनमा उभिए। मैले एकएक गरी नियालें।

सबैभन्दा अगाडि सानासाना बालिका थिए। त्यसपछि अलि ठूला र सबैभन्दा पछाडि ठूला बालिकाहरू उभिएका थिए। मैले उनीहरू सबैको अनुहार मायालाग्दो देखें। बालिकाहहरू मुसुमुसु हाँस्दै मलाई हेरिहेका थिए। म पनि त्यसै गरी हाँसें। उनीहरू सबै सुकुलमा बसेर खान थालेपछि म पनि भान्छाभित्र पसें र थुचुक्क काठको पिर्कामा बसें अनि भान्छाको चारैतिर हेरें। भान्छाको भित्ता पूरै ध्वाँसाले भरिएको हुँदा त्यो भित्ता पहिला कुन रङ्गको थियो भन्ने कुरा भेउ पाउन सकिनँ। ३ नंको ३ ओटा स्टोभमा सिलावरको ठूलो डेक्चीमा भात, फलामे कराहीमा दाल,मझौला साइजको सिलावरकै डेक्चीमा आलु र प्याजको तरकारी पाकेको थियो।

एउटी पाको उमेरकी भान्छे दिदीले सिलावरको थालभरि भात राखिन्। सिलवारकै कचौरामा बिहान पकाएको अहिले तताको दाल भरिन् अनि बोक्रासहितको आलु र प्याजको तरकारी डाडुले थालको एकछेउमा खन्याइन्। त्यसपछि थाल मतिर सारेर भनिन्, ‘मिसले घरमा मसिनो चामलको भात खानुहुन्थ्यो होला। यी यहाँ त उसिना चामको भात छ। कसरी निल्नुहुन्छ कुिन्न?’

उनको मप्रतिको हेराइ र बोलीव्यवहारबाट यस्तो लाग्थ्यो, म आएको उनलाई पटक्कै मन परेको छैन।

मैले थालको भाततिर संकेत गर्दै भनें, ‘भात धेरै हुन्छ दिदी। थोरै मात्र राखेर अरू सबै झिकिदिनुस्।’

‘खाको खानुस्, नखाको ढ्वाङमा लगेर मिल्काउनु। भोलि जोगीको गाईले खान्छ। पस्किसकेको भात झिक्न हुन्न।’

उनको बोली रुखो लाग्यो मलाई। भात फाल्न पटक्कै मन नलागेर फेरि अनुरोध गर्दै भने, ‘झिकिदिनु न दिदी चोखो छँदै। झिके अरूलाई  दिन हुन्छ। अन्न किन खेर फाल्नु?’

मेरो अनुरोध लत्याएर उनी नबोली बाहिर निस्किन्। मैले यसो भाँडा राख्ने ठाउँमा हेंरे र त्यहाँबाट एउटा सिलावरको थाल झिकेर बढी हुने जति भात झिकेर राखिदिएँ। बाँकी रहेको भातमा दाल खन्याएर मुछ्न थालें तर दाल त भातको सीतामा लपक्क लागेन। मुखमा गाँस हाल्न खोज्दा भातको बास्नाले भित्र पस्नुको सट्टा भित्रको नि बाहिर फर्किएला जस्तो पो भयो। अब के गर्ने होला? भान्छे दिदीले अघि भनेको ठिकै रहेछ। बानी नपरेकालाई उसिना चामलको भात खान मुिस्कल पर्ने रहेछ मनमनै भनें।

फेरि सोचें ती बालिकाहरूले खाइरहेकै छन्। मैले मात्र खान किन नसक्नु भनेर चपाईचपाई मसिनो पारेर घुटुक्क निलें। केहीबेरपछि भान्छे दिदी भित्र पसिन् र भनिन्, ‘खानुस् मिस खानुस्, सुरुसुरुमा मलाई नि त्यस्तै भाथ्यो। बानी पर्दै गएपछि ठिक हुन्छ।’

मैले ससानो गाँस राखेर अलिकति खाएर उठें अनि भने तपाई भात पकाउन सिपालु हुनुहुँदो रैछ। मलाई त खाना औधी मिठो लाग्यो भनेर ट्वाक्क जिभ्रो पड्काएँ। उनी थोते दाँत देखाएर हाहाहाहा गरी मजाले हाँसिन्।

अघिका ती दुई जना बालिकाले मभन्दा छिटो भात खाइसकेछन् र भान्छाको ढोकाबाट मुलुक्क च्याएर मलाई हेरे। मलाई उनीहरू आफ्नै घरका केटाकेटी जस्तो लग्यो।

मनमनै भनें, ‘यिनीहरू मेरै कोठामा सुते नि हुन्थ्यो।’

बाहिर धारामा मुख चुठेर माथि जान लाग्दा उनीहरू फेरि पनि मसँगै भर्‍याङ उक्लिए। हामी सरासर अघिकै कोठामा गयौं। साँझ अब रातमा परिणत भइसकेको थियो। नौ बजेसम्म हामी कुरा गरेर बस्यौं। ती दुई जना बालिकाबाट भूत बंगलाको बारेमा, चौकीदार कृष्णबहादुर पाँडे, आमै(भान्छे) चम्फा दिदी(भान्छे) लगायत केही ठूला केटीहरूको आनीबानीबारे र छात्रावासमा बेलाबेलामा हुने गरेका कार्यक्रमबारे पनि विस्तृत रूपमा जानकारी पाएँ।

मेरो मनमा भूतको डर पसिसकेको थियो। कोठामा एक्लै कसरी सुत्ने भनेर चिन्ता पनि लागको थियो। त्यसकारण ती दुई बालिकालाई भनें,‘आज तिमीहरू पनि यही कोठामा सुत न है।’

उनीहरू खुसी भएर हस् भने अनि आफ्नो ओछ्यान ल्याएर त्यहीं सुते।

एकछिनपछि बालिकाहरू भुुसुक्कै निदाए। मेरो मनमा भने अनेक कुरा खेलेकाले पटक्कै निद्रा लागेन। यो कुनाबाट फुत्त निस्कने हो कि भूत। त्यो कुनाबाट निस्कने हो जस्तो लागिरह्यो।

मैले झोलामा किताब ल्याएकी थिएँ। झिकेर पढ्न थालें। पाना पल्टाउँदै गएँ तर के पढें पत्तै पाइरहेकी थिइनँ। एक्कासि ढोकामा कसैले लात्ताले हानेको जस्तो ढ्याम्म आवाज आयो। म त नराम्रोसँग तर्से। ढोकामा हेरें केही देखिनँ। बालिकाहरू मस्त निदाइरहेका थिए। उठाऊँ कि जस्तो लाग्यो तर उठाइन। किनभने म डराएको थाहा नपाऊन् भन्ने चाहन्थें। उनीहरूले थाहा पाए भने म डरछेरुवा ठहरिन्थे। त्यसपछि त्यहाँ भएका सम्पूर्ण बालिका स्टाफहरूको अगाडि म डरछेरुवा कहलिन्थें। त्यसकारण भूतसित डराउनुभन्दा पनि बालिकाहरूसँग डराएँ म त्यत्तिबेला। अनि पछि ओछ्यानमा पल्टिएर बलजफ्ती निदाउन खोजें।

निद्रा नलागेर घरि दाहिने कोल्टो घरि देब्रे कोल्टो फेदै पल्टिंदा पट्यार लागिरहेको थियो पर कतै ‘कुखुरी काँ’ गरी भाले बासेको सुनें। अब उज्यालो भएछ भनेर खुसी लाग्याथ्यो। घडी हेर्दा त १२ बजेको रहेछ। यो कुखुरा बास्ने समय त होइन। भूतले कुखराको आवाजमा करायो कि क्या हो भनेर म झन् डराएँ। अब कसरी रात कटाउने होला भनेर चिन्ता लाग्यो।

फेरि पढ्नुपर्‍यो भनेर किताबको पाना पल्टाउँदै थिए। बाहिर बालिकाहरू सुतेको कोठाबाट कल्याङमल्याङ आवाज आयो। के हो  भनेर म त्यहाँ हेर्न गएँ। कोही बालिकाहरू फुइँफुइँ निदाइरहेका थिए भने कोही बिउँझेका थिए। एकजनाले ‘अब्बुुई भूतले खुट्टामा काउकुती लायो। म यहाँ सुत्दिनँ’ भनेर रोइरहेकी थिई।

मैले मन बलियो बनाएर ओछयान वरिपरि यसो हेरेंं। ती बालिका सुतेको खाटको तलतिर आधा पाकेट जति बिस्कुट भुईमा झरेको देखेंं। त्यसैलाई आधार बनाएर भूत होइन बिस्कुट खान मुसाचाहिं पक्कै आएको हुनुपर्छ। नपत्याए हेर, यो बिस्कुट भनेर हातमा उठाएर देखाएँ।

वरपर बेडका बिउँझिएका दुईचार बालिका त्यहीं आए। एउटीले होलाहोला यहाँ त ठुल्ठूला मुसाहरू छन् भनी। उनको यो वाक्यले मेरो भनाइलाई थप बल पुग्यो। अर्कीले प्वाक्क भनी, ‘यिनीहरू धेरै जनाले ओछ्यानमा बिस्कुट राख्छन्। आया दिदीले भनेकै मान्दैनन्।’

अब भने मैले अघि भनेको कुरालाई अझै बल पुग्यो र ‘भोलिदेखि ओछ्यानमा कसैले पनि खानेकुरा नराखी सुत्नु अनि त भूत आउँदै आउँदैन। ल नडराई सुत है।’ भनेर म आफ्नो कोठामा आएँ। त्यसपछि सिरानीको आड लाएर पल्टिएँ। मनमा डर त छँदै थियो। त्यसमा पनि भान्छाको दृश्य, भातको बास्ना, खोल तन्नाबिनाका सुत्ने ओछ्यानको देखेर विरक्त लाग्योे। त्यत्तिबेला परिवारजनले भनेको कुरा नमानेर मैल गल्ती गरें कि भनेजस्तो पनि नलागेको होइन।

रात घट्दै गएको भए पनि उज्यालो हुन प्रहर अझ बाँकी नै रहेकाले बलजप्ती निदाउन खोजें। त्यहीबेला हलमा कोही हिंडेजस्ता टकटक आवाज आएको सुनेर मेरो सातो पुत्लो उड्यो। त्यसपछि त झन् के निद्रा लाग्नु र?आँखै झिमिक्क नगरी कट्यो भूतबंगलामा पहिलो रात।

प्रकाशित: ५ आश्विन २०७९ ०८:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App