२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
कला

अदृश्य शब्दहरू

कविता

गंगा दाहाल न्यौपाने

प्रायः

विचलित भैरहने तिम्रो मन

सपनाहरूमा झस्किरहने तिम्रो तन

यसको अर्थ

आजसम्म कसैले सोधेको छैन

र सोध्न चाहेको पनि छैन

मात्र एकान्तमा

विचलित हुने तिमी

जसले हजारौंलाई हँसाएको देख्छु

हो, मैले पनि तिमी हाँसेको र हँसाएको मात्र देख्छु

दुख नामको

कालो बादलदेखि

बेपत्तासँग

तिमी लुक्न खोजेको

कसैले देखेकै छैन

हेर्न चाहेको पनि छैन।

बारम्बार

सयौंको हालचाल सोध्ने तिमी

जसले हजारौंको घाउमा

मलम लगाएको देख्छु

आफ्नो हाल छोपेर राखेको

कसैले देखेकै छैन

हेर्न चाहेको पनि छैन।

साँच्चै!  

तिम्रो मौन भाषाले  

मलाइ पनि खुशी दिएको छ

सन्तुष्टि दिएको छ

तिम्रो महान हृदयले

मेरो स्वार्थी हृदयलाई

साथ दिएको छ

तर कसैलाई थाहै छैन

तिमी त पिंधमा पुगेर

टाउकाको भर्‍याङ उकाल्ने मान्छे

अवसरको प्वाल खोज्ने

आदर्शको काँध दिने मान्छे

उसका असन्तुष्टिको

नालीबेली बताउँदा

आफ्नो सन्तुष्टि

लुटाउने मान्छे

बाध्यता नामको पासोमा परेर

आफ्ना इच्छा र चाहना

मारिसकेको मान्छे

तर अझै कसैले देखेको छैन

हेर्न चाहेको पनि छैन

तिम्रा अदृश्य शब्दहरू।

प्रकाशित: २३ भाद्र २०७९ ०४:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App