१३ मंसिर २०७९ मंगलबार
कला

नारीलाई लेख्न त्यत्ति सहज छैन

संवार्ता

मन गहिरे पत्रकारिता र साहित्यमा उत्तिकै सक्रिय छन्। उनका मनका कथा (कथासंग्रह,२०७०) र परिभाषित समय (कवितासंग्रह, २०७३) प्रकाशित छन्। विविध विधामा कलम चलाउने गहिरे ‘पाल्पा टाइम्स’ साप्ताहिकका सहसम्पादक हुन्।

उनी नारी साहित्य तथा सांस्कृतिक प्रतिष्ठान पाल्पाका अध्यक्ष, अनेसास लुम्बिनी प्रदेश उपाध्यक्ष, लघुकथा समाज लुम्बिनी प्रदेश कोषाध्यक्ष, महिला जागरण तथा कल्याण केन्द्र,पाल्पाका अध्यक्ष रहेका छन्।

यस्ता विभिन्न संघसंस्थामा आबद्ध गहिरे देवीभक्त चोलाकुमारी सामाजिक सेवा पत्रकारिता पुरस्कार,२०६४, उत्कृष्ट पत्रकारिता पुरस्कार २०६९ (पत्रकार महासंघ पाल्पा),विश्व नारी साहित्यक पदक २०७१ (त्रिमूर्ति निकेतन), राधा बद्री अम्बिका स्मृति प्रतिभा पुरस्कार २०७२, सत्यमोहन जोशी शताब्दी पदक २०७१ र ‘मनका कथा’ मा सकला वाङ्मय वर्ष पुरस्कार सिद्धार्थ साहित्य परिषद रुपन्देही २०७१ बाट सम्मानित छन्।

लामो समयदेखि साहित्य र पत्रकारितामा आबद्ध गहिरेसँगका संक्षिप्त कुराकानी:

१) नारी स्रष्टालाई लेख्न कतिको सजिलो छ?

 -नारीलाई लेख्न त्यत्ति सहज छैन। लेखन कार्यलाई स्वयंले व्यवस्थापन गर्नुपर्ने हुन्छ।

२) तपाईले घरपरिवार(श्रीमान) बाट कतिको साथ-सहयोग पाउनुभएको छ?

-घर-परिवार र श्रीमानको साथसहयोग त हुन्छ नै तर लेखन कार्यका लागि भने समय पाउन निकै गाह्रो छ।

३) नारी र पुरुषको लेखाइमा फरक पाइन्छ कि?

- बौद्धिक रूपमा नारी पनि अब्बल छन्। नारीले पुरुषभन्दा संवेदनशील भएर लेख्न सक्छन्।

४) समाजमा नारी लेखकप्रति कस्तो व्यवहार पाउनुभएको छ?

 -राम्रो लेख्न सके सम्मानजनक स्थिति छ।

५) नारी लेखकमा कतिको निरन्तरता पाउनुभएको छ?

 -केही औलामा गन्न सकिनेबाहेक खासै निरन्तरता दिएको पाइँदैन।

६) तपाई साहित्य क्षेत्रमा कसरी लाग्नुभयो?

-मेरो रुचि त सानैदेखि थियो। इतिहासकार एवं संस्कृतिविद् कालीभक्त पन्त हाम्रो घरमा आउनुहुन्थ्यो। उहाँले पाण्डुलिपि देखाउँदै मान्छे मरेर गए पनि यी कृतिहरूले पछिसम्म चिनाउँछ भन्नुहुन्थ्यो। त्यो देखेर मलाई लेख्नेतिर मन गयो। लेख्न छोडिन।

पत्रपत्रिकामा फुटकर रचना छापिन्थ्यो। पुस्तक निकाल्न सकेकी थिइनँ। २०६९ सालमा विश्व नारी साहित्य सम्मेलनको आयोजना नरेन्द्रराज प्रसाईं र इन्दिरा प्रसाईंको पहलमा त्रिमूर्ति निकेतनले कार्यक्रम देश-विदेशमा रहेका नारी साहित्यकारहरूको खोजी गर्ने काम भयो त्यतिबेला कम्तीमा एउटा कृति प्रकाशित गरेका नारी साहित्यकारलाई मात्र उक्त सम्मेलनमा सहभागी हुन पाउने छ महिनाअघि सूचना निकालिएको थियो। त्यसपछि एउटा कृति नभए त त्यो विश्व नारी साहित्य सम्मेलनमा भाग लिन पनि नपाइने भएकाले तत्काल म पनि पुस्तक प्रकाशित गर्नेतर्फ लागे र मनका कथासंग्रह प्रकाशित भयो।

त्रिमूर्ति निकेतन हुँदैन्थ्यो। विश्व नारी सम्मेलन हुँदैन्थ्यो त मेरा पाण्डुलिपि झोलामै हुन्थे होला। त्यसपछि अर्को कृति परिभाषित समय कवितासंग्रह प्रकाशित भयो।

यसरी यो साहित्य क्षेत्रमा आउन र सक्रिय रहन नरेन्द्रराज प्रसाईं र इन्दिरा प्रसाईको देन छ। जसरी साहित्य क्षेत्रमा लागेर आज राज्यले गर्नुपर्ने काम उहाँहरू र संस्थाले गरिहेको छ भने हामी पनि आफूले सकेको साहित्य भाषा,कला,संस्कृतिका लागि केही गर्नुपर्छ भन्ने लाग्यो अनि काम गर्दै गइयो।

७) तपाई लामो समयदेखि पत्रकारितामा पनि संलग्न हुनुहुन्छ। साहित्य र पत्रकारितामा के फरक पाइन्छ?

-साहित्य जीवन-जगतका संवेदना,अनुभूति र वैचारिक प्रतिक्रियाको परिणाम हो जसले कल्पनाको प्रयोग गरी विविध शैलीमा लेखिएको कृति वा रचनालाई बुझाउँछ।

कुनै नयाँ कुराको सिर्जना गर्नु पनि साहित्य हो जुन शून्यबाट सुरु हुन्छ भने पत्रकारिता सूचना प्रवाह  गर्ने माध्यम हो जसले विभिन्न परिवेश र घटनाहरू सम्प्रेषण गर्दछ। यो सत्य र तथ्यमा आधारित हुन्छ।

८) नेपाली साहित्यको बजार कस्तो छ?

-अरू विधाभन्दा आख्यान विधाको बजार राम्रो छ। तर,मोफसलमा भने साहित्यको बजार शून्य छ। लेखकले पुस्तक प्रकाशन गर्न समय र पैसाको लगानी गर्ने मात्र हो जस्तो देखिएको छ।

प्रकाशित: ४ भाद्र २०७९ १२:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App