७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
कला

मनैदेखि लेखिएका पारदर्शी कविता

कवि माया गुरुङ विदेशी भूमिमा बसेर नेपाली भाषा साहित्यको मनैदेखि कदर अनि सेवा गर्ने साहित्यकार हुन्। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, बेलायत च्याप्टरकी उपाध्यक्ष गुरुङको कर्म थलो बेलायत हो। यद्यपि उनको मन जन्मभूमिको माया, नारीका वेदना, जिन्दगीको यथार्थ, बिदेसिँदाका पीडाजस्ता कुराहरूले दर्विलो बनाइराखेको देखिन्छ। यही कुरालाई पुष्टि गर्ने कवितासङ्ग्रह हो– ‘जिन्दगी’।

‘जिन्दगी’ कवितासङ्ग्रहभित्र मनका कविता छन्, जन्मभूमिका कविता छन्, नारीका कविता छन्, जिन्दगीका कविता छन् अनि नेपालीहरू बिदेसिँदाका पीडा कवितामा छचल्किएका छन्। प्रस्तुत कृतिभित्र रहेका कविताहरूमा कतै देश दुखेको छ, कतै राष्ट्रप्रेम छचल्किएको छ। ‘जिन्दगी’ भित्र वर्तमान समयमा नेपाली समाजले भोग्दै आएका विसङ्गत परिस्थिति, घात–प्रतिघात, प्रेम–घृणा अनि उतारचढावको सुबोध प्रस्तुति छ। ‘जिन्दगी’ पारदर्शी छ, कतै ढाकछोप अनि जालझेल छैन। कविताको अन्तर्य सबैले देख्न सक्छन्, सबैले मनैदेखि अनुभूत गर्न सक्छन्।

अहिले धेरै साहित्यकारहरू जटिलतामा रमाउने गरेको पाइन्छ। धेरै साहित्यकारहरू पाठकको बोधगत क्लिष्टतालाई आफ्नो अहम्को विषय बनाउने गर्छन्। यसका विपरीत कवि गुरुङको अभिव्यक्तिगत शक्ति भनेकै सरलताभित्र गहन प्रस्तुति हो। यस्तै सुबोध प्रस्तुति समसामयिक माग पनि हो।

‘जिन्दगी’ भित्रका धेरै कविता कवि गुरुङको जन्मभूमि स्याङ्जाको पञ्चमूल, सिरुबारीप्रति समर्पित छन्। एउटा भावुक मन भएको कवि आफ्नो जन्मभूमिलाई कर्मभूमि बनाउन नपाउँदा अनि सात समुद्रपारिको माटोलाई कर्मभूमि बनाउनुपर्दा कसरी पग्लिएर अक्षररूपमा पोखिन्छ भन्ने कुरा ‘जिन्दगी’ भित्रका धेरै कविताले व्यक्त गरेका छन्। कवि गुरुङको जन्मभूमि पञ्चमूल, सिरुबारीकै सन्दर्भमा लेखिएका ‘पञ्चमूल’, ‘गम्भीर सिंह बुबा’, ‘डहरे देउराली’, ‘शुभकामना’, ‘आमा’, ‘मेरो गाउँ’ शीर्षकका कविताभित्र आफू जन्मेहुर्केको ठाउँ, आफूले पढेको विद्यालय, आफूलाई पढाउने गुरु अनि बाल्यकालमा आफू रमाएका पाखाचौरप्रतिको मायाभाव सरस तरिकाले व्यक्त गरिएको छ।

‘मेरो गाउँ’ शीर्षकको कवितामा कवि गुरुङले आफ्नो बाल्यकाल बिताएको गाउँ सुन्दर रहेको तर समयक्रमसँगै अहिले आफ्नो गाउँ यान्त्रिक बनिसकेको, स्वार्थी बनिसकेको विचार व्यक्त गरेकी छन्।

गाउँका मुखिया बा

कडा मिजासका भएर

के भो त

मुखिनी बज्यै

उज्याली थिइन्

मायाकी खानी थिइन्

गाउँकी रानी थिइन्...

अहिले मेरो गाउँ

मेरो गाउँजस्तै लाग्दैन

आफ्नो ठाउँ जस्तै लाग्दैन

बिरानो भएको छ

‘शुभकामना’ शीर्षकको कवितामा कवि गुरुङले आफू जन्मेहुर्केको गाउँ पञ्चमूल सिरुबारीलाई शुभकामना दिएकी छन् :

टाढा छु म परदेशमा

टाढै भए पनि

परिस्थिति र समयले

भूगोलको जुनै भागमा  

रहनुपरे पनि

तिम्रो माया र आस्थाका

सुकिलो र न्यानो

तप महसुस गर्दै छु म

त्यसैले आज

चढाउँदै छु म

हृदयभरिको माया र

शुभकामना तिमीलाई

गौरवले नतमस्तक छु म

सधैँ पञ्चमूल तिमीलाई

उही पुण्यभूमिलाई

मेरो प्यारो जन्मभूमिलाई।

आफ्नो गाउँ पञ्चमूलस्थित विद्यालय श्री त्रि–सहिद नमुना माविका संस्थापक गम्भीरसिंह गुरुङको योगदान उल्लेख गर्दै स्व. गुरुङप्रति श्रद्धाञ्जली अर्पण गरिएको कविता हो ‘गम्भीरसिंह बुबा’। पञ्चमूल सिरुबारीको शिरमा रहेको उच्च डाँडामा विराजमान देवी डहरे देउरालीप्रति भक्तिभाव प्रकट गरिएको कविता हो ‘डहरे देउराली’। स्थानीय परिवेश प्रस्तुत गरिएको ‘डहरे देउराली’ कविताको एक अंश :

पञ्चमूल सिरुबारीलाई डहरेको शिर

जङ्गलको घुम्टो हाली लजाएझैं भिर  

यसरी कवि माया गुरुङको ‘जिन्दगी’ कवितासङ्ग्रहभित्रका कवितामा जन्मभूमिप्रतिको प्रेमभाव सुबोध शैलीमा प्रस्तुत भएको पाइन्छ।

‘जिन्दगी’ कवितासङ्ग्रहभित्र शीर्षकमा मन शब्द नै राखेर धेरै कवितामा मनकै अभिव्यक्ति व्यक्त गरिएको छ। ‘दुखेको मन’, ‘मन’, ‘मनको छहारी’, ‘उदासी मन’, ‘मनको खुसी’ शीर्षकमै मन राखेर मनका कोमल भाव प्रस्तुत गरिएका कविता हुन्। कविताभित्र ‘मन’ शब्द त कयौं पटक आएका छन्। कवि गुरुङका कविता दिमागले पढ्ने खालका छैनन्, मनले पढ्ने खालका छन्।  

कति पटक ?

आखिर कति पटक ?

जोडूँ म चुँडिएको यो मन

मनभित्रका घायल

ती भावनाहरू

कसरी बुझाऊँ यो मनलाई

अनि कहाँ लुकाऊँ

मनभित्रका व्यथा र  

यति धेरै बेचैनीहरू।

(उदास मन)

कवितामा कवि गुरुङ प्रेम, बिछोड, सपना र मनभित्रका फाँटहरूमा आफैलाई खोज्दै चहारिरहेकी हुन्छिन्। सायद नेपाली सामाजिक परिवेशमा बिदेसिने वा लाहुरे परिवेशको पीडालाई आफैले अनुभव गरेकी हुनाले इमानदारिताका साथ यस्तो पीडालाई कवितामा प्रस्तुत गछिन्। त्यस्तै ‘छाउपडी निर्मूल पारौं’ शीर्षकको कवितामा उनले नेपाली समाजमा नारी उत्पीडनबारे सबैलाई सचेत गरेकी छन्।  

महिनावारी भयो भनी

बस्न गोठमा पठाउँछन्

संस्कार मान्ने हो भनी

छाउपडीमा राखिदिन्छन्।

कुप्रथा हो जान्नू सबले

नझुक्नू तिमी फगत्

एक भई हटाऔं सबले  

सभ्य बनाऔं जगत्

(छाउपडी निर्मूल गरौं)

कवि माया गुरुङको यो पहिलो कविताकृति भएको हुँदा कतैकतै भाषागत, शुद्धतागत तथा गहनतागत कमजोरीहरू भेटिन्छन्। विदेशी भूमि अनि लाहुरे पारिवारिक पृष्ठभूमिमा रहेर नेपाली भाषा–साहित्यलाई निरन्तर मलजल गर्नु महत्वपूर्ण कुरा हो। जुन कवि माया गुरुङबाट निर्धक्क रूपमा भइराखेको छ।

समग्रमा ‘जिन्दगी’ कवितासङ्ग्रहभित्र रहेका ५३ वटा कविताहरूमा कतै देश दुखेको छ, कतै जन्मभूमि छचल्किएको छ। कुनै कविता आमाप्रति समर्पित छन्, कुनै कविता महिलाका पीडाव्यथा ओकल्नमा केन्द्रित छन्। कवितामा कतै प्रेमको वर्षा बर्साइएको छ, कतै भुइँचालोले नेपालीलाई दिएको पीडालाई देखाइएको छ। कतै छाउपडी र छुवाछुतजस्ता विभेदकारी विषयको गाम्भीर्यलाई उठाइएको छ भने कतै आफ्ना गुरुहरूप्रति श्रद्धा प्रकट गरिएको छ। ‘जिन्दगी’ मनले लेखिएको सरल, बफादार अनि स्वच्छ अभिव्यक्तिको लयात्मक प्रस्तति हो।  

प्रकाशित: ४ भाद्र २०७९ ०४:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App