१५ चैत्र २०८० बिहीबार
कला

चापागाईंको आदिभूमिमा पुग्दा

नियात्रा

योगप्रसाद उपाध्याय चापागाईं

सिञ्जा शासक अशोक चल्लका मन्त्रीमण्डलमा अत्रि ब्राह्मण पुर्खा मन्त्री रहेको कुरा चापागाईं वंशावलीमा उल्लेख छ। संखुवासभाका खड्गबहादुर चापागाईं (पूर्व प्रमुख जिल्ला अधिकारी)ले प्रकाश गरेको खाँदबारीय चापागाईं वंशावलीमा यस कुराको पुष्टि गरिएको छ। अशोकले चापागाईं पुर्खा अत्रि ब्राह्मणलाई मन्त्री बनाउनुका साथै दैलेखको वर्तमान विन्द्रासैनी नगरपालिका वडा १ को चापागाउँ दिएको भनिएको छ। अन्य थर गोत्रावली पुस्तकहरूमा पनि यस विषयमा प्रष्ट लेखिएको छ। पुस्तकहरूमा चापागाई थरको आदिभूमि दैलेखको चापागाउँ भनेर तालिकामा राखिएको छ।

२०७८ साल काठमाडौंबाट प्रकाशित मेरो खोजमूलक पुस्तक ‘चापागाईं वंशावली परिचय’ मा चापागाईं थरको आदिभूमिको परिचय दिंदा विन्द्रासैनी नगरपालिका वडा १ को चापागाउँलाई चापागाईं थरको आदिभूमि उल्लेख गरेको छ।

२०७९ जेठ २४ गते मंगलबार विन्द्रासैनी नगरपालिका वडा १ हुलाकी राजमार्ग र वडा जाने चोकबाटोमा अत्रि अनुशूया ऋृषिकुल चापागाईं बन्धु र स्थानीय बुद्धिजीवी गाउँबासीको उपस्थितिमा चापागाईंको आदिभूमि चापागाउँमा फलामको बोर्ड राखी चिन्हारी कार्यक्रम सम्पन्न गरिएको थियो। सुर्खेत विरेन्द्रनगरका भिमराज चपाईले चिन्हारी बोर्ड सार्वजनीन गरेका थिए।

म आफूले चिन्हारीबारे बोल्ने अवसर लिनु साथै अतिथि वक्ताका रूपमा डम्बरबहादुर तामाङ, लक्ष्मी केसी, रत्नाखर जैसीले यस कार्यक्रमलाई ऐतिहासिक र गौरवपूर्ण बताएका थिए।

कुशापानी मानमाका कृष्णप्रसाद चपाईले हामीलाई सघाउनुसम्म सघाएका थिए। भिमराज चपाई (इत्राम सुर्खेत)का कनिष्ठ पुत्र जनक चपाईले यस कार्यक्रमको सबै खर्च बेहोरेका थिए।

२०७९ जेठ २४ गते मंगलबार सुर्खेतबाट दैलेखको चापागाउँ गएर स्थानीय वडाबासीको सहयोगमा २/३ फिट व्यास राखी ८ फिट अग्लो बोर्ड बनाई चापागाईं/चपाई थरको आदिभूमि चापागाउँ नामले परिचय राखिएको थियो।

विन्द्रासैनी चापागाउँको यो यात्रा मेरो दोस्रो यात्रा थियो। नेपाल प्रज्ञाप्रतिष्ठानका सदस्य सचिव जगतप्रसाद उपाध्यायज्यूसँग भेट हुनु मेरा लागि मात्र नभएर सबै चापागाईंका लागि अहोभाग्य थियो। प्रज्ञाप्रतिष्ठानलाई चापागाईं वंशावली परिचय दिन गएको दिन मैले दिएको सो पुस्तक हातले समाएर नै उपाध्यायज्यूले प्रफुल्ल मुद्रामा सोध्नुभएको थियो, ‘तपाईंको अनुसन्धानमा चापागाईं बन्धुहरूको आदिभूमि कहाँ भेट्नुभयो?’

मैले तुरन्तै भनेको थिएँ, ‘दैलेख जिल्लाको चामुण्डाको चापागाउँ।’

मेरा कुरा सुनेर उपाध्यायज्यू धेरै खुशी हुनुभयो। उहाँले सयौं वर्ष अघिदेखिका पुर्खा सन्तति हामीहरूको भेट भएको छ प्रज्ञाको सचिवालयमा र उहाँले खुशी व्यक्त गर्दै भन्नुभयो, ‘धेरै क्षत्री-ब्राह्मणहरूको प्राचीनथलो आदिभूमि हो दैलेख। मेरो गाउँको नजिकै चापागाईं बन्धुको पुर्ख्यौली थलो चापागाउँ थियो। यस पुस्तकमा दैलेखको चापागाउँलाई आदिभूमि परिचय राख्नुभयो कि छैन?’

म गदगद भएँ र भनें, ‘राखेको छु। अत्रिले यसअघि डोटीको सिलगढी नजिकको चापागाउँमा दूध्या मस्टो पुजेका रहेछन्।’

यहीबाट मलाई औडाहा चलेको थियो, दैलेख गएर अरूअरू थर वंशको जसरी चापागाईं बन्धुको आदिभूमिमा एउटा सइनबोर्ड टाँग्नु।

यसका लागि स्थानीय प्रशासनिक काम कृष्णले मिलाइसकेका थिए। हामी म र भिमराज चपाई कुम्लो-कुटुरो बोकेर चापागाउँ लागेका थियौं। तर यस्ता प्राचीनकालका सत्य इतिहास हिजोआजका पाठ्यक्रमसम्बन्धी रचिएका इतिहासमा विरलै पाइन्छ। पछि मैले यस विषयमा पुस्तक निकाल्न खोज्दा मलाई एक्लो सिद्धान्त लिन बाध्य गराएको थियो। वर्तमान इतिहास लेखनमा प्रमाण पुर्‍याउन अनिवार्य गरिएको छ।

इतिहासको पुस्तक प्रकाश गर्दा लेखिएको इतिहासको प्रमाणसँगै राखिने गरिन्छ। वंशावली खोज कार्य जसले गरेको हुन्छ खोजकर्ता आफूमा इतिहास बनिसकेको हुन्छ र खोजकर्ता नै त्यस विषयको जानकार हुनाले वंशावलीमा अरू कसैले भनेको लिनु वा नलिनु खोजकर्ताको कुरा हो भन्ने मलाई लाग्यो। योगी नरहरिनाथ यस विषयका शीर्ष पुरुष हुन्। राष्ट्रका प्रसिद्ध इतिहासकार बालकृष्ण पोख्रेलले पनि योगी नरहरिनाथलई पथद्रष्टा हैसियतले राखेर पोख्रेलले इतिहास रचना गरेको देखिन्छ।

वंशावलीहरू इतिहासका पितृ हुन्, सृष्टि हुन्। वंशावलीमा वंशको सत्यसत्य वर्णन गरिएको हुन्छ। वंशावलीका छेउमा इतिहास बच्चा हो। यही कारण वंशालीमा प्राचीनका कथा, अवशेष र वर्तमान राखिएको हुन्छ जसमा पाठ्यक्रमसम्बन्धी रचिएका इतिहासको पुष्टि भरिरहनु आवश्यक रहँदैन।

दैलेखमा यति धेरै थर वंशको इतिहास पाइन्छ जुन इतिहास आजसम्म खोजेर निकाल्न सकेको छैन। पहिलोपल्ट जब म चामुण्डाको चापागाउँ पुगेको थिएँ। चापागाउँ टेक्नलाग्दा नै आँखाले दुईचार सय वर्षअघिको प्राकृतिक दूर्योगले खण्डग्रास गरेको गाउँ रहेछ भन्ने लाग्यो चापागाउँ।

पहाडमाथिबाट तल खसेका बडेबडे ढुंगा पछिको यात्रामा मैले डोल्पा र रुकुमको सिमानामा एउटा बजार देखेको थिएँ। बजारको नाम रहेछ तल्लुबगर। तल्लुबगर र यहाँको ढुंगाको दृश्य मिल्दो थियो। तर भूमिको फरक। कृषि उब्जाउ माटाको फरक। चापागाउँ कृषिको लागि उर्वर भूमि। धान फल्ने खेतले ढाकेको चापागाउँमा तोरी पहेंलपुर देखिन्थ्यो।

चापागाईं पुर्खाले छोडेपछि चापागाउँ ब्याघ्रारण्य भएछ। वन सयौं वर्ष रहेछ। डेढ/दुई सय वर्षअघि तामाङहरू गएर भस्मे फाँडेर बस्ती बसाएछन्। तर पनि विशाल क्षेत्र यो चापागाउँमा चापागाउँको अस्तित्व बँचाएर बसेका गाउँलेहरू एकछेउ बसी आएका थिए भन्ने लाग्छ।

दुल्ल दरबारबाट कुशापानीतिर जाने बाटो वनजंगल र झाडीले ढाकेको छ। गाउँलेहरू वनजंगल र झाडीमा अतीतका थुप्रै अभिलेख छन् भन्दै थिए। तर यस समय त्यहाँ जाने कुरा नगरे हुन्छ। त्यता त आजकल बाघ मात्र बसेका छन्। हिजो एउटी घँसेनीलाई बाघले चिथोर्‍यो। काल आएको रैनछ र बाँचेछिन्। सुत्केरी बाघ शिकारको खोजीमा आएर गाउँकै नजिकै बच्चा लिएर बसेको रहेछ। म जानुपर्ने बाटो त्यहीं हुँदा म डरले थरथरी काँप्दै बाटो कटेको छु। यस अवस्थामा त्यहाँतिरका अभिलेख खोज्ने कुरा सोच्न पनि सकिन।

चाल्लिसभन्दा धेरै थरका क्षत्री-ब्राह्मणको आदिभूमि रहेछ दैलेख। चापागाईं बन्धुको पुर्ख्यौली इतिहास सिञ्जादेखि कास्की हुँदै गोर्खा र काठमाडौं आएको रहेछ। यति धेरै गौरव बोकेको पुर्ख्यौली इतिहास किन नखोज्ने?

प्रकाशित: २८ श्रावण २०७९ ०६:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App