४ जेष्ठ २०८३ सोमबार
image/svg+xml
स्वास्थ्य

कङ्गो र युगाण्डामा इबोला फैलिँयो, जनस्वास्थ्य संकटकाल घोषणा

विश्व स्वास्थ्य संगठनले कङ्गो लोकतान्त्रिक गणराज्य र युगाण्डाका विभिन्न क्षेत्रमा इबोला संक्रमण फैलिँदै गएपछि विश्वव्यापी जनस्वास्थ्य संकटकाल घोषणा गरेको छ। संगठनले मे १७ मा आधिकारिक वक्तव्य जारी गर्दै संक्रमणको जोखिम उच्च रहेको जनाएको हो।

डब्लुएचओका अनुसार कङ्गोमा मे १६ सम्म इबोलासँग मिल्दोजुल्दो लक्षण देखिएका ८९ जनाको मृत्यु भइसकेको छ भने २४६ जना शंकास्पद संक्रमित फेला परेका छन्। युगाण्डामा पुष्टि भएका दुई संक्रमितमध्ये एक जनाको मृत्यु भएको छ। मृत्यु भएका व्यक्ति केही दिनअघि कङ्गोको इटुरी क्षेत्रबाट युगाण्डा पुगेका थिए।

कङ्गोको बुन्निया, रोआमपुरा र मंगोलियालगायत क्षेत्रमा संक्रमण फैलिएको छ भने युगाण्डाको राजधानी कम्पालामा पनि संक्रमण पुष्टि भएको संगठनले जनाएको छ।

डब्लुएचओका अनुसार कङ्गोको इटुरी क्षेत्रमा अचानक समूहगत मृत्युका घटना देखिएका छन्, जसका लक्षण इबोलासँग मेल खाने खालका छन्। मृत्यु हुनेमध्ये चार जना स्वास्थ्यकर्मी रहेका छन्। अस्पतालभित्रै संक्रमण फैलिएको तथा संक्रमण नियन्त्रणका उपाय कमजोर भएको संकेत यसले गरेको संगठनको भनाइ छ।

विशेषज्ञहरूका अनुसार ‘बण्डिबुग्यो’ नामक इबोला भाइरसको संक्रमण भएपछि करिब तीन सातापछि लक्षण देखिन सुरु हुन्छ। संक्रमित व्यक्तिमा उच्च ज्वरो, टाउको दुख्ने, भोक नलाग्ने, वान्ता हुने, पखाला लाग्ने, मांसपेशी दुख्ने तथा आन्तरिक र बाह्य रक्तस्राव हुनेजस्ता समस्या देखिन्छन्।

इबोला संक्रमित व्यक्तिको रगत, थुक, पसिना, वीर्य वा अन्य शारीरिक तरल पदार्थको सम्पर्कबाट अर्को व्यक्तिमा सर्ने गर्दछ। संक्रमित व्यक्तिको शव छोएर पनि संक्रमण फैलिन सक्छ। साथै संक्रमित जंगली जनावर वा चमेरोसँग सम्पर्क हुँदा पनि रोग सर्ने जोखिम रहने चिकित्सकहरूले बताएका छन्। समयमै उपचार र निगरानी भए संक्रमण नियन्त्रण सम्भव हुने विज्ञहरूको भनाइ छ।

डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस एड्हानोम गेब्रेयसस्‌ले इबोला नियन्त्रणका लागि कङ्गो र युगाण्डाले गरिरहेको प्रयासको प्रशंसा गरेका छन्। उनले संक्रमणको सम्भावित विश्वव्यापी असरलाई ध्यानमा राख्दै समयमै तयारी गर्न अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेका छन्।

गेब्रेयसका अनुसार कङ्गो र युगाण्डाबाट प्राप्त विवरण, वैज्ञानिक प्रमाण, रोगको फैलावट, मानव स्वास्थ्यमा पर्ने जोखिम तथा अन्तर्राष्ट्रिय आवागमनमा पर्न सक्ने असरको मूल्यांकनपछि जनस्वास्थ्य संकटकाल घोषणा गरिएको हो।

उनले संक्रमितको वास्तविक संख्या अझै स्पष्ट नभएको, संक्रमण फैलिएको क्षेत्रबारे पर्याप्त सूचना अभाव रहेको तथा संक्रमित व्यक्तिको सम्पर्क पहिचान गर्न कठिन भइरहेको बताएका छन्। प्रारम्भिक परीक्षण गरिएकामध्ये आठ जनामा संक्रमण पुष्टि भइसकेको र शंकास्पद संक्रमितको मृत्यु क्रम जारी रहेकाले ठूलो महामारीको जोखिम देखिएको उनको भनाइ छ।

संगठनले असुरक्षा, मानवीय संकट, उच्च जनआवागमन, सहरी तथा अर्धसहरी क्षेत्रमा संक्रमण फैलिनु र अनौपचारिक स्वास्थ्य संस्थाको व्यापक सञ्जालका कारण जोखिम अझ बढेको जनाएको छ।

डब्लुएचओले सन् २०१८–२०१९ मा उत्तर किभु र इटुरी क्षेत्रमा फैलिएको भीषण इबोला महामारीको स्मरण गर्दै अहिलेको अवस्था पनि चुनौतीपूर्ण रहेको उल्लेख गरेको छ। हालसम्म यस भाइरसविरुद्ध पूर्ण रूपमा स्वीकृत प्रभावकारी खोप उपलब्ध नभएकाले जोखिम थप गम्भीर बनेको संगठनको निष्कर्ष छ।

संगठनले इबोला अन्तर्राष्ट्रिय रूपमा फैलिन सक्ने जोखिम उच्च रहेको चेतावनी दिएको छ। विशेषगरी कङ्गोसँग सीमा जोडिएका देशहरू जनसंख्याको आवागमन, व्यापार, यात्रा र महामारीसम्बन्धी अनिश्चितताका कारण बढी जोखिममा रहेको जनाइएको छ।

डब्लुएचओले प्रभावित देशहरूलाई निगरानी प्रणाली सुदृढ गर्न, आपतकालीन तयारी बढाउन, उपचार सेवा विस्तार गर्न तथा नियन्त्रणका उपाय प्रभावकारी रूपमा लागू गर्न निर्देशन दिइसकेको जनाएको छ।

महासचिव घेब्रेयसले छिट्टै आपतकालीन समितिको बैठक बोलाइने जानकारी दिएका छन्। उक्त बैठकपछि सदस्य राष्ट्रहरूलाई थप पूर्वतयारी र सतर्कतासम्बन्धी निर्देशन जारी गरिने बताइएको छ।

प्रकाशित: ३ जेष्ठ २०८३ १६:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App