कांग्रेस नेता पूर्णबहादुर खड्कालाई नेपाली कांग्रेसभित्र देखिएको आन्तरिक विवाद समाधान गरी पार्टी विभाजन रोक्न कर्णालीका जिल्ला सभापतिहरूले दबाब दिएका छन्।
नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापतिसमेत रहेका खड्काले शनिबारदेखि आफ्नै गृह जिल्ला सुर्खेतमा कर्णाली प्रदेशस्तरीय भेला आयोजना गरेका छन्। भेलालाई कांग्रेसको देउवा समूहको शक्ति प्रदर्शनका रूपमा समेत हेरिएको छ।
कर्णाली प्रदेश समितिमा देउवा समूहको प्रभाव बलियो रहेका बेला खड्काले प्रदेश समितिमार्फत गुटगत भेला आयोजना गरेका हुन्। कार्यक्रममा सहभागी नेताहरूका अनुसार उद्घाटन मन्तव्यका क्रममा खड्काले पार्टी विभाजनको संघारमा पुगेको संकेत गर्ने अभिव्यक्ति दिएका थिए, जसले कर्णालीका कांग्रेस नेताहरूलाई थप चिन्तित बनाएको छ।
सुर्खेत पुगेपछि खड्काले प्रदेश तथा जिल्ला तहका नेताहरूसँग छुट्टाछुट्टै छलफल गर्दै कांग्रेसभित्रको विवाद गम्भीर बनेको र नेतृत्व तह त्यसको समाधानप्रति पर्याप्त संवेदनशील नभएको ‘ब्रिफिङ’ गरेका थिए।
भेटमा सहभागी एक जिल्ला सभापतिका अनुसार खड्काले नेतृत्वको अहमता र एकपक्षीय व्यवहारका कारण पार्टी एकता जोगाउन कठिन बन्दै गएको धारणा राखेका थिए।
‘पार्टीमा योगदान गरेका नेता–कार्यकर्ताको अपमान गरेर कब्जाको राजनीतितर्फ अघि बढ्ने प्रवृत्ति देखियो,’ ती सभापतिले खड्काको भनाइ उद्धृत गर्दै भने, ‘यस्तो अवस्थामा अपमान सहेर मात्रै पार्टीमा बसिरहन गाह्रो भइरहेको उहाँको संकेत थियो।’
यद्यपि, अधिकांश जिल्ला सभापतिहरूले भने पार्टी फुटको दिशातर्फ जानुभन्दा विवाद समाधान गरी १५औँ महाधिवेशनलाई एकताको महाधिवेशन बनाउन आग्रह गरेका छन्।
कर्णालीका नेताहरूले दुवै पक्षले लचकता अपनाएर पार्टीलाई थप ध्रुवीकरणबाट जोगाउनुपर्ने सुझाव दिएका छन्।
कार्यक्रममा वेदराज सिंहले कांग्रेसभित्रको आन्तरिक विवादले अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा पार्टीले ठूलो राजनीतिक क्षति व्यहोरेको स्मरण गराउँदै अब पनि नेतृत्व नसचेतिए परिणाम अझ गम्भीर हुन सक्ने चेतावनी दिए।
उनले भदौ २३ गतेको ‘जोजी विद्रोह’ र त्यसपछिको घटनाक्रमको प्रसंग उल्लेख गर्दै राजनीतिक असन्तुष्टि समयमै सम्बोधन गर्न नसक्नुमा कांग्रेस पनि जिम्मेवार रहेको टिप्पणी गरे।
‘नागरिकका असन्तुष्टि बेलैमा सम्बोधन गर्न कांग्रेस चुकेको सत्य हो,’ उनले भने, ‘अब पार्टीभित्रको विवाद साँघुरो बनाउँदै बृहत् एकताका साथ अघि बढ्नुपर्छ।’
खड्कासँग भेट गरेका अधिकांश नेताहरूले पार्टीलाई गुटगत ध्रुवीकरणबाट जोगाउन नेतृत्व तह जिम्मेवार बन्नुपर्ने धारणा राखेका छन्। कांग्रेसभित्र गुटहरू संस्थागत बन्दै गएको भन्दै कार्यकर्ताहरूले पनि चिन्ता व्यक्त गरेका छन्।
भेटका क्रममा खड्काले पार्टी अप्ठ्यारो अवस्थामा पुगेकाले सबै तहका नेता–कार्यकर्ताको सुझाव संकलन गर्न देशभर प्रदेशस्तरीय भेला आयोजना गरिएको बताएका थिए। तल्लो तहबाट प्राप्त सुझावका आधारमा आफ्नो समूहले आगामी रणनीति तय गर्ने उनको भनाइ थियो।
कांग्रेसभित्र पछिल्लो समय नेतृत्व, संगठन विस्तार, महाधिवेशनको तयारी र शक्ति सन्तुलनलाई लिएर विभिन्न समूहबीच दूरी बढ्दै गएको छ। यही पृष्ठभूमिमा कर्णालीमा आयोजित भेलालाई आगामी महाधिवेशन केन्द्रित शक्ति परीक्षणका रूपमा पनि हेरिएको छ।
प्रकाशित: ३ जेष्ठ २०८३ १६:५९ आइतबार





