१७ आश्विन २०७९ सोमबार
कला

त्यो सम्झौता

कथा

कृष्णश्री राई

जबजब थामखर्क विमानस्थलमा फन्को मारेर जहाज बस्छ, तबतब उनको मनभित्र एउटा आशाको मुना पलाउँछ–‘कतै ऊ पनि आयो कि’ भन्ने। भञ्ज्याङमा उनको पाहुना घरको आँगन भएर जाने हरेक पैदल यात्रीतिर पनि उनका आँखा तेर्सिन्छन्। तर उनले यात्रीको लहरमा खाजेको आकृति पाउँदिनन्। मन खिस्रिक्क हुन्छ। अरू बेला पनि आफ्नै पाहुना घर अगाडि पोलेथिनको रातो मेचमा बसेर पाहुनाहरूको कम र बढी उसकै पर्खाइमा दिन बिताइरहेकी हुन्छिन् उनी अर्थात् दिलसरा। दुई वर्षदेखि यो उनको दिनचर्याजस्तै बनेको छ।

जाडो मौसमले बिदा लिंदै गर्दा रोक्सिङ भञ्ज्याङ, सोलढुंगा, भाले बास्ने ढुंगा, पारुहाङ-सुम्निमा पार्क, सेल्मे गुराँस पार्क, मुलडाँडा, शहीद स्मृति पार्क, कपासे भञ्ज्याङ जस्ता रमणीय ठाउँहरू हेर्न आन्तरिक पर्यटक बनेर देशका विभिन्न ठाउँबाट मानिसहरू आउने गर्दछन्। अझ सेल्मे र टेम्के हाइटबाट आँखै अगाडि देखिने उत्तरी हिमश्रृंखला र दक्षिणी समथर भूगोलको अनुपम दृश्य अवलोकन गर्न त झन् पर्यटकहरू दोहोरिएर आइरहन्छन्। ऊ पनि पर्यटक भएर नै आएको थियो त्यो बेला।

यसपालि पनि फागुन महिना आइसकेको छ। बिस्तारै चिसो हराउन लाग्दैछ। दिन छ्याङ्ग भएर नजानिंदो लम्बिदैछ। उराठ देखिने वनका कंकाल रूखमा नयाँ रंगीविरंगी मुजुरा पलाउन थालेका छन्। फूलका कोपिलाहरू हाँगाहाँगामा कोथाउँदै छन्। चराहरू आङ फुकाएर उड्दै हुलमा रमाउन तम्सिएका छन्। जोडी बाँधिएर एउटा वनबाट अर्को वनमा रमण गर्दै मिलनको आनन्द साटिरहेका छन्। गीतमा ‘कुहुकुहु’ र ‘काफल पाक्यो’ भाकाले प्रेम उरालिरहेका छन्। पोखरी, खोला र छाँगा अझ सुन्दर र मनमोहक भएका छन्। पर्यटक घुमघामको सिजन सुरु भैसकेको छ। मानिस आशाले बाँचेको हुन्छ। यो साल पनि दिलसराले आश मारेकी छैनन्। ऊ यस्तै सिजनमा आएको थियो। मनलाई चित्त बुझाउँदै भन्छिन्,‘ऊ आउँछ होला!’

दुई वर्ष पहिले नै दिलसरा बयालिसकी थिइन्। दिलसरालाई आफ्नो उमेर थाहै नपाई खपत भएकोमा धेरै गुनासो थिएन। जवानीमा पनि सामान्य केटी। ठिक्कैकी राम्री। आधुनिक परिधान र सिंगारपटारमा कहिल्यै रुचि भएन। आमाबुवाको हातगोडा चलुञ्जेल उनले प्रमाणपत्र तहसम्म पढिन्। त्यो बेलाको ढकमक्क उमेरमा नौजवानहरूले प्रेमको प्रस्ताव नराखेका पनि हैनन्। तर, खै किन हो उनको दिलमा प्रेम आकर्षणको वस्तु बनेन। एउटा कारण रोगी बाबुआमा पनि हुन सक्थ्यो। दुई ठाउँबाट विवाहको मगनी पनि आएको थियो। आमाबुवाले स्वीकृति पनि दिएका थिए। आफू एक्ली छोरी। बाबुआमाकी सहारा।

सोचिन्-उनीहरूलाई साथ दिनु सन्तानको उच्च कर्तव्य हो। आमाबुवाको दाम्पत्य प्रेम राम्रो रहेछ। सात सालअघि नै एक महिनाको फरकमा उनीहरू दिलसरालाई छोडी महाप्रस्थान भएका थिए।

संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछि बनेको स्थानीय सरकारले आफ्नो ठाउँको राम्रै प्रचारप्रसार गर्‍यो। हाम्रो ठाउँ मन बहलाउन चाहनेहरूका लागि गन्तव्यस्थल बन्यो। प्रकृतिसँग खेल्न र रमाउन मन पराउनेहरू कोही उडेर, कोही गुडेर र कोही हिंडेर यो क्षेत्रमा आउन थाले। टाढाकाहरू भने सबैजसो उडेर नै आउँछन्। मनोरम प्राकृतिक छटाको विचरणले मनमस्तिष्कलाई ताजापन दिन्छ। जीवन भरिएर आउँछ। स्फूर्ति र नयाँ ऊर्जा मिल्छ। दिक्कलाग्दो हैन, जीवन उत्सव बन्छ। ऊ पनि प्रकृतिको सुन्दरतालाई स्पर्श गर्दै हृदयसँग रोमाञ्चित हुन आकाशमार्ग भएर त्यहाँ झरेको थियो। ऊ संयोगले दिलसराको पाहुना घरमा आइपुगेको थियो परदेशी बनेर। ऊ त्यहाँ आइपुग्दा अपराह्न्न दुई बज्न लाग्दै थियो।

दिलसराः भञ्ज्याङ पाहुना घरमा भाइलाई स्वागत?

ऊः धन्यवाद आन्टी।

काया हेरी उमेर र उमेर हेरी साइनो लाएर अपरिचितलाई परिचित बनाउन सकिन्छ। त्यो उसले गर्‍यो। भाइ सम्बोधन गर्दागर्दै उसले आन्टी साइनो लगायो। त्यो सम्बोधनले तत्काल त बिजुलीको करेन्टले शरीरको कतै कुनै भागमा झड्का लागेझैं महसुस गरिन् दिलसराले। तर तुरुन्त पछि सम्हालिइन् किनकि ऊ वयःसन्धि उमेरको ठिटौलो केटो देखिन्थ्यो। त्यो कुरा उसको माथिल्लो ओठमा कोरिएको जुँगाको रेखीले पनि बताइरहेको थियो।

दिलसराः घर कहाँ होला?

ठिटोः घर सिन्धुली। काठमाडौं बस्छु।

दिलसराः कति कामले आउनु भा’ होला?

ठिटोः यतिकै, घुमघाम।

दिलसराः तपाईं एक्लै हो?

ठिटोः हजुर, सिंगल।

दिलसराः किन नि?

ठिटोः मलाई एक्लै पनि रमाइलो लाग्छ।

दिलसराः अनि के गर्नुहुन्छ नि?

ठिटोः प्लस टु भर्खर सकाएको छु। पत्रकारिता र घुमफिरमा रुचि छ।

दिलसराले पनि आफ्नो शैक्षिक योग्यता सम्झिइन्। उनलाई त्यो बताउने इच्छा जाग्यो।

दिलसराः मैले पनि पहिल्यै कला संकायबाट प्रमाणपत्र तह सकेको नि!

ठिटोः ए हे! शिक्षित हुनुहुँदो रहेछ। खुसी लाग्यो आन्टी।

ठिटाले आन्टी सम्बोधन फेरि दोहोर्‍यायो। दिलसरालाई यो सम्बोधनले बिझाएन। बरु कताकता आफ्नै सन्तानले बोलेझैं लाग्यो। छैनन् तैपनि दिदीको छोरा, दाजुको छोरा....बिहे भएन तैपनि आफ्नै छोराजस्तो।

ठिटोः घरमा अरू को हुनुहुन्छ नि?

दिलसराः म मात्रै हो। बाआमा बितिसक्नुभयो।

ठिटोः अनि अंकल!

दिलसराः मेरो त बिहे नै भएको छैन।

त्यो अन्तिम वाक्य सुन्दै गर्दा ठिटाले दिलसरालाई पलभर ट्वाल्ल परेर हेर्‍यो। दिलसराले थाहा नपाएझैं गरिन्। पाहुना घर हो, यस्ता घटना प्रायः भइ नै रहन्छन्। बरु मुसुक्क मुस्काइन्। उसले किन बिहे नगर्नु भ’को भनेर थप सोधेन।

आराम गर्न दिलसराले उसलाई माथिल्लो तलाको एउटा चिटिक्क गाउँले ढाँचाको मझौला पाहुना कोठामा राखिदिइन्। त्यहाँ एउटा सानो चिया टेबिल थियो। उसले त्यही टेबिलमा आफूसँगै ल्याएको यात्री झोला राख्यो र बेडमा लेटियो दिनभरिको थकानबाट मुक्त हुने कोसिस गर्दै।

आज अरू यात्रीहरू उनको पाहुना घरमा आएनन्। बाहिर अरू पाहुना घरतिर पनि परदेशीहरूको चहलपहल उति देखिएन। आजको रातलाई दिलसराले दुई जनाका लागि मात्र खाना बनाइन्। साँझ बाक्लियो। दिलसराले उसलाई खाना खान बोलाइन्। ऊ तल झर्‍यो र बेञ्चमा बस्यो। दिलसराले टेबिलमा खाना राखिदिइन्। ऊ बोल्दै खान थाल्यो।

ठिटोः खाना मिठो रहेछ आन्टी!

उसले खानाको प्रशंसा बोल्यो। दिलसरा बोलिनन्। ठिटो फेरि बोल्यो।

ठिटोः यति राम्री आन्टीको नाम चैं के होला?

दिलसराः दिलसरा।

ठिटोः ओहो,युनिक नाम! तपाईंलाई अप्सरा नाम पनि सुहाउँछ।

ठिटो फरासिलो रहेछ। यौवनले भर्भराउँदी तरुनी उमेरमा पनि कसैले नगरेको तर ठिटाले दिलसराको अघि उनकै रूपको चर्चा नपत्याउँदो गरी गर्‍यो। त्यो कुराले अधबैंसे ढल्कँदो उमेरको उनलाई रनभुल्ल पार्‍यो। उनी एकछिन जिल्ल परिन् र बोलिन्।

दिलसराः आम्मै,तिमीलाई त ठट्टा गर्न पनि आउँदो रहेछ! म, रूप अनि अप्सरा!

दिलसराले आफूभन्दा निकै सानो उमेरको देखेर होला अनायास ठिटालाई तिमी भनी सम्बोधन गरिन्। पछि उनलाई आफ्नो जिब्रो चिप्लिएको पत्तो भयो। उनलाई कस्तोकस्तो लाग्यो, तर ठिटालाई चाहिं कस्तै पनि लागेन। ऊ वास्तै नगरी गाँस चपाइ नै रह्यो। केही बेरमा खाइ पनि सक्यो।

ठिटोः तिमी नै भनेर बोलाउनुस्। आखिर तपाईं आन्टी नै हो।

दिलसराले यस पटक पनि केही प्रतिक्रिया दिइनन्। बरु आफू पनि खाना खाने तर्खरमा लागिन्। उसले नै मौसमको कुरा उप्कायो र त्यसबारे स्पष्ट हुन खोज्यो।

ठिटोः जाडो अझ पनि गएको छैन जस्तो छ, हैन त आन्टी!

दिलसराः रातिराति चिसो नै हुन्छ। बाक्लो सिरक ओढ्नुपर्छ।

दिलसराले तीन गाँस खाना मुस्किलले निलिन्। अरू रुच्दै-रुचेन। अमन भयो। किन त्यस्तो भयो? बिसञ्चो पनि हैन। जिउ हलुङ्गो नै थियो। खुसीले त्यस्तो भयो! अनि केको खुसी?

भोलिपल्ट उज्यालो भयो। साढे छ बजिसकेछ। ठिटो उठेको थिएन। दिलसरा नै ऊ सुतेको कोठामा पुगिन् कागती चिया लिएर।

दिलसराः ओ छोरा, ल उठ। यो चिया लेऊ। बिहान पनि ठन्डी हुन्छ यहाँ त!

आज दिलसराले ठिटालाई छोरा भनेर सम्बोधन गरिन र उप्रति अपनत्व भाव पोखिन्।

ठिटोः चिया..., कति चाँडै उठ्नुभएछ त!

दिलसराः अँ, बेलैमा निन्द्राले छोड्यो नि त!

ठिटाले दुवै हातले आफ्ना आँखा मिच्यो। दिलसरा ऊ सुतेको खाट छेउमा बसिन्। ऊ हात झड्कालेर आङ तान्दै उठ्यो र सुखासनमा बस्यो। यति छोटो समयमा नजिकको आफ्नाले झैं ख्याल गरेको अनुभूत गर्‍यो उसले। चिया नजिकै टेबिलमा थियो। उसले कप समात्यो र चियाको तातो एक सुरुप तान्दै दिलसरातिर हेर्‍यो। ऊ क्षणभर जिल्ल पर्‍यो र चिया निल्दै बोल्यो।

ठिटोः आन्टी, यति बिहानै मेकअपमा! झन् राम्री हुनु भएछ त!

साँच्चै यस अघि कहिल्यै दिलसराले आँखामा गाजल, ओठमा लिपिस्टिक, हातमा काँचकोे चुरा, पाउडर र नेलपोलिस लाएर आफूलाई सिंगारपटार गरेकी थिइनन्। कोरीबाटी गरी सामान्य सफा लुगासम्म लगाएको जिन्दगी हो उनको तर सिंगार नगरे पनि घरमा सिंगार बाकस भने जतन गरेर राखेकी रहिछिन्।

दिलसराः हिजो तिमीले अप्सरा भन्यौ। यो उमेरमा पनि बैंस फिर्कियो नि!

दिलसराको ख्यालले ठिटो मुस्कुरायो। दिलसराले ऊ मुस्काएको मजाले हेरिन्। उनलाई त्यो गज्जबले मन पर्‍यो।

दिलसराः तिमी त यो ठाउँमा घुम्न आ’को मान्छे, कतिबेला उकालो लाग्छौ नि?

ठिटोः मैले त यता सबै घुमिसकें आन्टी। सयौं सेल्फी लिएँ। अति उत्साहित छु। दुई दिनअघिको फ्लाइटमै आ’को थिएँ।

दिलसराः ए कताकता पुग्यौ नि?

ठिटोः सोलढुंगा, भाले बास्ने ढुंगा, सेल्मे गुराँस पार्क, मुलडाँडा, कपासे भञ्ज्याङ आदि। साह्रै सुन्दर रहेछ।

दिलसराः कहाँ बस्यौ माथि?

ठिटोः ‘मैयूँ होम स्टे’ मा। तपाईंले जस्तै त्यहाँका किरात दाजुभाइ, दिदीबहिनीले खुब केयर गर्नुभयो। अरू पर्यटक पनि थिए। स्थानीय परिकार, भाका, संस्कार-संस्कृति, हार्दिक आतिथ्य, यी सबै कुराले म प्रफुल्ल भएँ। यहाँ फेरि तपाईंलाई भाग्यले भेटें झनै खुसी।

उसले चिया पिइसक्यो। दिलसरा बोल्न थालिन्।

दिलसराः अब कहिले फिर्छौ त?

ठिटोः अरू एकदुई दिन तपाईंसँगै बस्छु होला, आन्टी।

दिलसराः साँच्चि!

ठिटोः सत्य, आन्टी। यति राम्री र मिठो बोलीकी धनी हुनुहुन्छ।

बोल्दैबोल्दै ठिटो दिलसराको अलिक नजिकमा सर्‍यो। दिलसराको नङपालिस लाएको दायाँ हातलाई उसले आफ्ना दुवै हातले समेटी स्पर्श गर्‍यो। नाडीभरि पहेंला चुरा थिए। ती आपसमा ठोक्किएर झन्कृत भए। फेरि दुवै हात फैलाएर दिलसरालाई उसले स्नेहसिक्त अंकमाल गर्‍यो। त्यही बेला उसले आफ्ना मनका भावना र उद्वेगलाई पनि पोख्यो। लामोलामो श्वासले दिलसराको कानभित्रसम्म तरङ्गित हुने गरी। उसले दिलसराको त्यो दायाँ कानमा बोलेको राम्ररी सुनिएन तर दिलसराले बोलेको तीन वाक्यचाहिं स्पष्ट सुनियो।

‘तिम्रो यो प्रस्ताव अहिले हैन। कुनै अर्को पटक हुन सक्छ। आउँदै गर।’

किन हो? अघि भर्खरै मात्र ‘अरू एक–दुई दिन तपाईंसँगै बस्छु होला, आन्टी’ भनेर बोल्ने ठिटो अहिले दिलसराको भञ्ज्याङ पाहुना घर अगाडि उभिएर सँगै ल्याएको यात्री झोला बोकी हिंड्न तरखर गर्दै थियो। दिलसरा पनि पोलेथिनको त्यो रातो कुर्सी नजिकमा थिइन् उसको बिदाइका लागि। दुवैले बोलेको सुनिएन। त्यो बिदाइमा दुवै जना न धेरै खुसी थिए न त दुःखी नै। ठिटो लाग्यो आफ्नो बाटो तल सिम्पानी बजारको बसपार्क भेट्न। दिलसरा आफ्नो पहिलो पटकको सिंगारसँगै त्यही पोलेथिनको कुर्सीमा थचक्क बसिन्। ऊ गयो र सानो थुम्कीको घुमाउरो बोटोपारि अलप भयो। टाउको मोडेर उसले आफू बसेको पाहुना घरलाई हेरेन। हेर्दै हेरेन। तर दिलसराले ऊ गएको त्यो अन्तिम दृश्यलाई पनि आँखाभरि समेटिन्। नदेखे पनि त्यो बेला उनले उसका लागि पहेंलो चुरा लाएको दायाँ हातले बिदाइको संकेत दिइन्।

आज पनि दिलसरा आकाशमा जहाज उडेको देख्दा मनमा ऊसँग हुन सक्ने मिलनको आशा गर्छिन्। अड्कल काट्छिन्-ऊ त्यही जहाजमा पो आयो कि!

हरेक पैदल यात्रीतिर पनि उनका आँखा फैलन्छन् तर यात्रीको आक्कलझुक्कल लर्कोमा उनले खोजेको आकृति पाउँदिनन्। मन खत्रक्क हुन्छ। अरू बेला पनि आफ्नो पाहुना घर अगाडि पोलेथिनको रातो कुर्सीमा बसेर पाहुनाहरूको कम र बढी उसकै पर्खाइमा दिन बिताइरहेकी हुन्छिन् उनी।

दुई वर्षदेखि यो उनको दिनचर्याजस्तै बनेको छ। उनी ठिटासँग भएको त्यो संवाद सम्झन्छिन्। ती संवाद ताजै हुन् कि झैँ उनको कानमा गुञ्जिरहन्छन्। उनी अझ पनि दुविधामा छिन् र आफैंलाई सोध्छिन्, ‘के थियो त्यो सम्झौता? अनि मलाई किन अहिले कुतकुती लाग्छ? किन लाज लाग्छ? किन म त्यसैत्यसै थाकेझैं हुन्छु?’

प्रकाशित: २५ श्रावण २०७९ ०९:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App