२८ भाद्र २०८१ शुक्रबार
image/svg+xml
कला

लघुकथाका कुशल 'शिल्पी' खेमराज पोखरेल

लक्ष्मण अर्याल

खेमराज पोखरेल एक प्रतिभा सम्पन्न लेखक हुन्। प्रतिभा लामो समयसम्म गुपचुप नै रहे पनि जीवनको उत्तरार्द्धबाट उनीभित्रको प्रतिभा प्रस्फुटन भयो। उनीभित्र अथाह साहित्यिक भाव–भण्डार रहेछ। कमनीय भाषामा साहित्यिक प्रस्तुति दिन सक्ने एक क्षमतावान् लेखकलाई आफैंभित्र जमाएर बसेका रहेछन् उनी। संस्कृतमा एउटा भनाइ छ–

अमन्त्रमक्षरं नास्ति, नास्ति मूलमनौषधम्

अयोग्य पुरुषो नास्ति, योजकस्तस्त्र दुर्लभः।

यो भनाइको आशय हुन्छ–मन्त्रमा नपर्ने कुनै अक्षर हुन्न। औषधि नहुने कुनै विरुवा नै हुँदैन। यस्तै संसारमा अयोग्य मान्छे पनि हुँदैन तर त्यसलाई चिन्ने, पर्गेल्न सक्ने र घचघच्याउने व्यक्ति भने संसारमा दुर्लभ नै हुन्छन्।

खेमराजमा पनि यो सन्दर्भ लागू हुन्छ। त्यसैले मैले यहाँ यो सन्दर्भलाई संकेत गरेको हुँ। खेमराजभित्रको अथाह भाव-सरोवरमा सानो ढुंगा फ्याँकेर लहर ल्याउने कार्यमा लघुकथाप्रधान फेसबुक पत्रिका लघुकथा कुनो र त्यसै कुनोका सञ्चालक नारायण तिवारीको भूमिका महत्त्वपूर्ण छ। हुन त नारायण तिवारीले लघुकथाप्रति धेरैको ध्यान खिचेका छन्।

तिवारीले धेरैलाई लघुकथा लेखनमा डो¥याएका पनि छन् तर डो¥याउनु, डोरिनु र हिंड्न–कुद्न सक्ने हुनुमा धेरै अन्तर छ। आफैं हिंड्न र कुद्न सक्ने हुन शारीरिक रूपमा तन्दुरुस्त हुन जरुरी छ। खेमराजले लघुकथाको संकेत पाए तिवारीबाट। त्यो संकेत बीज उम्रिएर ठूलो र विशाल वटवृक्ष बनिरहेछ। त्यो वटवृक्ष अझै विशाल बन्ने बाटामा हिंडिरहेछ निरन्तर। यसो हुनुमा उनको प्रतिभा कारक छ।

खेमराजको प्रतिभा सबैतिर फैलिँदो छ तर पनि उनी आख्यान विधातिर ज्यास्ती झ्याम्मिएका छन्। आख्यानमा पनि लघुकथातिर उनको क्षमता लोभलाग्दो रूपमा प्रसारित छ। लघुकथा फाँटमा उम्रिएको छोटो समयमा हुर्किएर लटरम्म फलेका ताजा र स्वस्थ बिरुवा हुन् उनी।

पोखरेल लघुकथामा संख्यात्मक र गुणात्मक दुवै स्थितिमा अब्बल छन्। पछ्यौरीको आइसक्रिम र दह्रो लौरो उनका पहिलो जुम्ल्याहा लघुकथासंग्रह हुन्। जुम्ल्याहा भए पनि उनको दाजु लघुकथासंग्रह भने पछ्यौरीको आइसक्रिम नै हो।

२०७५ मा उनको फेरि जुम्ल्याहा र त्यसमा पनि लघुकथासंग्रह नै जन्मियो। दोस्रो पटक जन्मिएका जुम्ल्याहा संग्रह हुन्–सिमानामा आमा र राम शाहको चौतारो। ईश्वरको मृत्यु (२०७६) तेस्रो झमटमा जन्मिएको पाँचौं लघुकथा सन्तान हो भने हाल उनी छैटौं लघुकथास्रग्रह श्रीवल्ली (२०७८) मा प्रकाशित छन्।

यसरी निकै छोटो समयमा नेपाली लघुकथा विधामा आधा दर्जन संग्रह प्रकाशित गर्ने खेमराजका लघुकथामा विषयगत विविधता पाइन्छ। उनी अन्धाधुन्ध कल्पनामा बग्ने लेखक होइनन्। ऋति भावुकताको विशेषता पनि उनमा छैन। उनी आफू जन्मिएको हुर्किएको अनि जीवनको कार्यपथमा गुजारेको समाज अनि समय उतार्दछन् आफ्ना लघुकथामा। उनी लघुकथामा जुन सामान्यका कुरा बोल्छन्, भोगिएका अनुभूतिलाई चिरिच्याँट्ट सिंगारेर लघुकथात्मक ढाँचा दिन्छन्, समाजका अभाव, पीडा, असन्तुष्टि, छटपटी, अन्याय, विद्रोह र सकसका कुरा लेख्छन्।

लेखक जहिले पनि समाजबाट प्रभावित हुन्छ। एकै समाजलाई देखेर हुर्किएका लेखकहरूमा विषयको आरेखमा साम्य हुन सक्छ। यो कुनै टिप्पणी गर्नुपर्ने कुरा होइन। तर, लेखक विषयमा कसरी बग्छ भन्ने कुरा नै उसको मौलिकता हो। विषयको आरेखमा झैं बगाइमा पनि साम्य भए त्यो लेखक नामधारी लेखक मात्र हुन्छ। त्यस्ता नामधारी लेखकहरू लघुकथामा मात्र नभई सर्वत्र भेटिन्छन्। तर, खेमराज पोखरेल एउटा मौलिक बगाइमा बग्न सक्ने क्षमताका लेखक हुन्।

लघुकथाकार खेमराजमा सिकौं भन्ने भावना प्रबल छ। उनी यति वटा स्रंग्रह लेखें भनी गजक्क पर्ने लेखक होइनन्।

यस अर्थमा उनी सधैं अग्रगामी छन्। लेखनमा आउने नयाँ कुरालाई उनी सहज रूपमा स्विकार्छन्। उनी अरूका लेखनलाई पनि त्यत्तिकै जाँगर लगाएर पढ्छन्। यसो गर्दा उनलाई नवीन सोच, नवीन धारणा र नवीन शिल्पबारे अभ्यस्त हुन मद्दत मिलेको छ। यो लेखन चुस्तताका लागि हरेक लेखकले अपनाउनुपर्ने अनिवार्य उपाय हो। यो लेखकले आफूलाई माझ्ने र चम्काउने काइदा हो।

खेमराजका लघुकथामा व्यंग्यात्मक प्रस्तुति भेटिन्छ। व्यंग्यात्मकताका कारण उनका लघुकथाहरू तीक्ष्ण बनेका छन्। समाजमा गलतहरूका विरुद्ध उनले आफ्ना लघुकथामा धावा बोलेको भेटिन्छ। उनका लघुकथामा बिग्रिएको राजनीति, भत्केको समाज, चोइटिंदै गएको मानवता, आत्मीयतामा आएको ह्रास, नारी र पुरुष अनि धनी र गरीब बिच रहेको असमानता आदिबारे जताततै व्यंग्य पाइन्छ। उनले गलत बाटातर्फ उन्मुख समाजलाई सुधार्ने प्रमुख अस्त्रका रूपमा लघुकथामा व्यंग्यको उपयोग गरेका छन्। उनी प्रत्यक्षभन्दा अप्रत्यक्ष व्यंग्य रुचाउँछन् उनी।

लघुकथामा दरो पाइला टेकेर ठिंग उभिँदा पनि पोखरेल आफूलाई लघुकथा लेख्न सिक्दै गरेको विद्यार्थी भन्न रुचाउँछन्। यो उनको बौद्धिक शालीनता हो। गुणात्मकता ढिलो लेखेर वा छिटो लेखेर आउने हैन भन्ने विचारमा उनी दृढ छन्। लघुकथाका सम्बन्धमा उनको आफ्नै बुझाइ छ। यसबारे उनी भन्छन्–

लघुकथामा लघुत्व याने छोटो हुनुपर्छ। लघुत्व याने शब्दमा सीमितता। सूक्ष्मता याने छोटो कथावस्तु। थोरै पात्र। छोटो वाक्य। पिन जस्तो। यो बृहद्बाट सुरु भएर उत्कर्ष हुँदै पिनको टुप्पो जस्तोमा अन्त्य हुने। चुट्किलाबाट सावधान हुनुपर्छ।

प्रस्तुतिमा, कथ्यमा र प्रयोजनमा सुन्दरता कायम हुनुपर्छ। कथ्यमा सुन्दरता भन्नाले कथानक अलि मिठो र आम कथाभन्दा फरक हुनुपर्छ। सूत्रात्मकता हुनुपर्छ–शब्दमा सूत्र, वाक्यमा सूत्र, कथ्यमा सूत्र, प्रयोजनमा सूत्र। व्यंग्य अप्रत्यक्ष होस्, कौतुहलता जागृत होस्, लेखकबाट कथ्यसार वा परिणाम आफैं नबोलियोस्।

लघुकथा पढेपछि पाठकले झड्का महसुस गर्नुपर्छ, स्वादिलो अनुभूत गर्नुपर्छ। लघुकथाको अन्त्य शिल्प नै झड्का हो। लघुकथा लेखनका तीन आयाम-पहिलो आरोह याने कथाको विहंगम सुरुवात, मिठासपूर्ण सुरुवात, पहिलो वाक्यले नै पाठकको मन तान्न सक्ने अनि हरेक वाक्य मिठो हुनुपर्छ। दोस्रो उत्कर्ष याने कि कथानक प्रस्तुतिको चुली, कथ्यको विस्तारीकरण र प्रयोजनको प्रष्टता। तेस्रो अन्त्य–व्यंग्यात्मक, अकल्पनीय र झड्का सहितको अन्त्य।’

उधृत अंश लघुकथाकार पोखरेलका लघुकथागत धारणा हुन्। यी धारणालाई अगाडि राखेर उनका लघुकथाहरू मूल्यांकन गर्दा उनलाई प्रविधागत स्वरूपमा प्रष्ट भएर लेख्ने सर्जकका रूपमा चिनिन्छ।

आज देखिएका अधिकांश लघुकथामा यो प्रवृत्तिको अभाव छ। यसको अभावमा लघुकथा बन्दैन। लघुकथा भनेर लेखिहाले पनि उत्सुकताहीन गफ मात्र बन्ने खतरा हुन्छ। लघुकथा लेख्न चाहनेहरूले यो प्रवृत्तिलाई आत्मसात गर्दा लेखनको सार्थकता उज्यालिन्छ।

पोखरेलका लघुकथामा परिवेशको विविधता छ। उनले स्थानिक, कालिक र पारिस्थितिक ३ वटै परिवेश आफ्ना लघुकथामा प्रभावकारी समायोजन गरेका छन्। गाउँ र शहर दुवै परिवेशको प्रस्तुतिमा जीवन्तता छ। गाउँ नपुग्ने र गाउँको चित्र मानसपटलमा नभएका शहरियालाई उनी लघुकथाबाटै गाउँ पुर्‍याउँछन् भने शहर नटेकेका वा टेकेर पनि भित्री अन्तर्य नबुझेकालाई उनी लघुकथाबाटै शहरको रहस्य पनि बुझाउँछन्।

लघुकथामा स्वदेश मात्र होइन विदेशी परिवेशको पनि स्वादिलो प्रस्तुति हुन्छ। उनका लघुकथामा कालिक परिवेशको प्रस्तुतिमा पनि विविधता र प्रष्टता छ। पारिस्थितिक परिवेशको बुनोटमा उनी सफल छन्।

उनले लघुकथाहरू शीर्षक रखाइमा प्रौढता देखाएका छन्। अधिकांश लघुकथाका शीर्षक एक या दुई शब्दका छन् भने ३ या सोभन्दा बढी शब्द भएका शीर्षकको संख्या नगण्य छ। उनका पछिल्ला दुई वटा संग्रहलाई हेर्ने हो भने ३ शब्द भएका शीर्षकका लघुकथाहरू ईश्वरको मृत्यु (२०७६) संग्रहमा दुई वटा (जमिनमा भासिएको क्षण र साहित्यको पनि दिन) र श्रीवल्ली (२०७८) संग्रहमा एउटा (खुला दिसामुक्त क्षेत्र) मात्र फेला पर्छ।

उनले पात्र र नामका आधारमा भन्दा विषयवस्तुका आधारमा शीर्षक राख्न रुचाएका छन्। संग्रहका शीर्षक रखाइमा पनि यो प्रवृत्ति छ। उनका ६ वटा संग्रहमध्ये पछिल्लो संग्रह (श्रीवल्ली,२०७८) को शीर्षक एक शब्दको छ भने २०७५ मा प्रकाशित तेस्रो संगहको शीर्षक ३ शब्द (राम शाहको चौतारो) को छ। अन्य संग्रहका नाम भने दुईदुई शब्दका (पछ्यौरीको आइसक्रिम,२०७३, दह्रो लौरो,२०७३, सिमानामा आमा,२०७५, ईश्वरको मृत्यु,२०७६) छन्। शीर्षकको प्रस्तुतिमा अभिधात्मकता र प्रतीकात्मकता दुवै भेटिन्छ। पछिल्ला चरणका लघुकथाका शीर्षकमा भने बढी प्रतीकात्मकता पाइन्छ।

पोखरेलका लघुकथामा संवादात्मकता र वर्णनात्मकता दुवै छ। संवादको प्रयोग गर्दा उनले पात्रको जात, धर्म, वर्ग, पेसा, रहनसहन आदिलाई औधी ख्याल गरेका छन्। वर्णनात्मक शैलीको प्रयोग भएका लघुकथामा पनि वर्णनको बोझिलो उपस्थिति छैन।

अति बौद्धिकताको सूत्र लघुकथामा काम लाग्दैन। यो कुरा खेमराजले राम्ररी बुझेका छन्। जहाँ अति बौद्धिकताले लेखनलाई जकड्छ त्यहाँ कठोरता हावी हुन्छ। लेखनमा कठोरता लेखक र पाठकको दूरी बढाउने कडी हो। पाठकले त लेखकबाट जहिले पनि खारिएको सरलता खोज्छ।

विषयवस्तुलाई स्वादिष्ट बनाउँदै पाठकलाई आपूmतिर आकर्षित गर्नु लेखकीय गुण हो। यो पक्ष खेमराजका लेखनमा मनग्गे छ। भाषागत रूपमा हेर्दा पोखरेलका अधिकांश लघुकथा अब्बल छन्। भनाइमा प्रष्टता छ। लघुकथाहरूमा सरल वाक्यहरूको प्रयोग ज्यादा भेटिन्छ। उनी लामालामा वाक्यमा दुरूह बोल्दैनन्। छोटा वाक्यहरू, प्रष्ट विचार अनि लेखकीय गन्तव्यतर्फ अर्जुन आँखो बिछ्याउँदै सजिलो र कसिलोमा बोल्छन् उनी। उनका लघुकथाका वाक्यगठन सरल भए पनि त्यसले दिने सन्देश या विचार प्रवाहमा भने सरलताभन्दा ज्यादा प्रौढता छ भन्ने कुरा भुल्नु हुन्न।

संग्रहभित्र हरेकमा बराबरी संख्यामा (७१/७१ थान) लघुकथा प्रकाशित गर्दै आएका उनका संग्रहका भण्डारभित्र ४२६ थान लघुकथा सङ्गृहीत भइसकेका छन्। यो संख्यात्मक दृष्टिले उल्लेख्य उपलब्धि हो। हुन त प्रकाशनको अंक वृद्धि मात्र ठुलो उपलब्धिको कुरा होइन। गुणात्मक पक्ष कति छ त्यसले लेखकको लेखकीय जीवनको मूल्यांकन गर्छ। स्तरको एउटा मानक रेखा खिचेर त्यसमा खेमराजका लघुकथालाई परीक्षण गर्दा उनका लघुकथाहरूमध्ये अधिकांशले मानक रेखा पार गर्छन्।

यहाँ अधिकांश भनेको ८० प्रतिशत माथि हो। असी प्रतिशत भनेको विशिष्ट श्रेणी हो। भनौं, उनका लघुकथाहरू मानक रेखामा विशिष्ट श्रेणीको लहर पार गर्छन्। यो कुरा ६ वटा संग्रहभित्रका सबै लघुकथा आद्योपान्त पढेर गरिएको निष्कर्ष नभई उनका धेरै (लगभग आधाआधीभन्दा माथि) लघुकथा पढेर निकालिएको निचोड हो।

निष्कर्षमा भन्दा उमेरका हिसाबले जीवनको  उत्तरार्द्ध चरणको यात्रामा यात्रारत पोखरेलको गतिशीलता निकै लोभलाग्दो किसिमको छ। लामा कपाल पाल्ने सोख भएका उनका सेताम्य केशले बुढ्यौलीको झल्को दिए पनि उनले बुढ्यौलीलाई नजिक पर्न र सँगै बस्न दिएका छैनन्। समयका हिसाबले लेखन यात्रा पछाडि नै थालेका उनी नेपाली लघुकथाका बलिया खम्बा हुन्। उनको उपस्थितिले नेपाली लघुकथा निकै रमाएको र जमेको पनि छ। नेपाली लघुकथाको इतिहासले एक सम्झिरहनुपर्ने लेखकका रूपमा उनको नाम सधैं कोरिरहनेछ। 

प्रकाशित: २७ असार २०७९ ०७:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App