२ आश्विन २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

वीर अस्पतालमा पनि जलन उपचार सुरु, सरकारले १ लाख दिने

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले जलन रोगको उपचारका लागि पनि एक लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गरेका छन्।

शुक्रवार काठमाडौंको वीर अस्पतालमा डा.केडी जोशी जलन उपचार केन्द्रको शुभारम्भ गर्दै मन्त्री पौडेलले जलन उपचारका लागि पनि तत्काल एक लाख आर्थिक सहयोग सरकारले उपलब्ध गराउने व्यवस्था गर्ने बताए।

सरकारले क्यान्टर, किड्नीलगायतका प्राणघातक रोगका विरामीलाई उपचारका लागि एक लाख आर्थिक सहयोग उपलब्ध गराउँदै आएको छ। अब जलनका विरामीका पनि त्यो व्यवस्था तत्काल गर्ने मन्त्री पौडेलको प्रतिवद्धता थियो।

उपचारको अभावमा जलन रोगीहरुको ज्यान जाने गरेकाले सरकारले त्यस्ता रोगीहरुको उपचारका लागि सो केन्द्र स्थापना गरेको स्पष्ट पार्दै मन्त्री पौडेलले जलन रोगीको उपचारमा पनि आर्थिक सहायता दिनका लागि अर्थ मन्त्रालयलाई पत्राचार गरिसकिएको पनि जानकारी दिए।

उनले भने, ‘यसको उपचारलाई प्राथमिकतामा राखिनुपर्छ भनेर हामीले मन्त्रालय सम्हालेदेखिनै यो ८ वटा रोगमा राज्यले जुन सुविधा दिएको छ। यो नवौँ उपचार सुविधा पाउने अवस्था बनाउन हामीले निरन्तर प्रयास गरेका छौं।’

उनले थपे, ‘स्वास्थ्य मन्त्रालयले अर्थ मन्त्रालयलाई लेखेर पठायो। त्यो प्रश्ताव स्वीकृत भएको छैन। माननीय उपप्रधानमन्त्री तथा अर्थमन्त्रीज्युले यसको उपचारको निम्ति डेडिकेटेड सरकारी अस्पताल पहिला हुनुप¥यो। त्यसपछि हामी त्यसमा काम गर्छौ भन्नु भएको छ।’

त्यस अवसरमा वीर अस्पतालका निर्देशक डा.सन्तोष पौडेलले भूकम्पपछि सो सेवा बन्द भएपनि नेपाल सरकारले प्राथमिकता दिएपछि सो सेवा पुनः सञ्चालनमा ल्याउन सम्भव भएको बताए।

उनले बिरामीहरूको चापलाई ध्यानमा राखेर वीर अस्पतालमा चार वटा फार्मेसीको व्यवस्था गरिएको पनि मन्त्री पौडेललाई जानकारी गराएका थिए।

प्रकाशित: २८ भाद्र २०८१ १४:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App