coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
कला

मृत्युचुम्बनमा बाँचिरहूँ!

अक्षर

अनुभूति

मृत्यु एउटा शास्वत सत्य। मृत्यु जति स्वाभाविक र सहज हुन्छ, त्यति नै असहज, दुरुह, अकल्प र असह्य हुन्छ। ज्याद्रो र जबर्जस्त हुन्छ, जति बाँच्यो त्यति बाँचू मात्र लाग्ने। बस्, मृत्यु त्यस्तै अपाहिज, असहज, अनिच्छित र विकल्पहीन। थाहा छैन, तिमीले जीवनको अन्तिम सत्य त्यो मृत्युको कस्तो आस्वादन गर्‍यौ? पीडामयी निःश्वास छाडेर तिम्रो मृत्युको कुख्यात पीडकअनुभूति साँचिरहेछौ हामी यतिखेर। आशा छ– तिमी मृत्युलाई चुम्बन गर्नमा अभ्यस्त छौ। तिमी एक लेखक! आफ्नै मृत्युका बारेमा लेख्न असमर्थ छौ। तिम्रो कलम समातेर तिम्रै सम्झनालाई कचपल्टाउने चेष्टा गरिरहेछु, तिम्रो चौथो वार्षिक तिथिमा एक तितो सम्झना स्वरूप प्रिय यादव!  

तिमी भन्थ्यौ, बाँच्नुको अन्तिम अभिष्ट सिर्जना। सिर्जनाको अन्तिम अभिष्ट मृत्युपछिको जीवन। सायद अन्तिम सत्य मृत्युको तितो विस्मयबीच हामी बाँच्ने अनुक्रममा केही गरिरहेका हुन्छौँ, मरेर पनि बाँची मात्र रहने उत्कट अभिष्टमा। तिमीले थोरै समयमा धेरै गर्‍यौ, मृत्युको नियतिले तिमीलाई अरू थुप्रैथुप्रै गर्नबाट वञ्चित गरिदियो। तिम्रा थुप्रै सपना अधुरा रहे। त्यसलाई विस्मृतिमा सजाउनबाहेक केही सकिन्न। बाँचेर पनि मरिरहेको नियति भोग्नु र मरेर पनि सदा बाँचिरहनु– संसारको एउटा अद्भूत सत्य। यहाँ थुप्रै बाँचेर पनि मरिरहेका छौं, तिमी मरेर पनि बाँचिरहनू, तिम्रा कलिला नानीहरूका आत्मामा छिपेर हौसला र ऊर्जा थपिरहनू। मेरो कामना यति मात्र हो। दिनको सुरुवात तिम्रो हँसिलो फोटो हेरेर गरूँ, मनमनै चुमूँ र तिमीले दिएको आशीर्वाद दिनभरि पुलकित हुँदै जीवनचुम्बनमा बाँच्न सकूँ।  

तिम्रो उपन्यास कृति ‘मृत्युचुम्बन’ को विमोचनसहित जोडिएको सम्बन्ध, यति छिटै मृत्युलाई चुम्न जान्छौ भन्ने अकल्पनीय थियो। भौतिक चुम्बनमा अघाएर अभौतिकतामा जान किन छिटो हतारियौ? शाश्वत सत्यलाई अँगाल्न किन लालयित भयौ? कति धेरै प्रश्न छन् तिमीलाई सोध्नुपर्ने? नाजवाफ नियतिमा निसासिन बाध्य छन् धेरै प्रश्नहरू। मृत्युका बारेमा घोत्लिने क्रमसँगै एउटा मृत्यु जितेर बाँचिरहेको भावपुञ्ज तिमीलाई मानसपटलमा साँचिरहेको छु, यादव! तिमीले आँखाबाट आँसु खसाल्दै हेरेको दृश्य मेरो मस्तिष्कमा पासवर्ड राखी लक गरेको छु। त्यो खोल्ने सामथ्र्य कहाँ छ र मसँग? आँसु टिलपिलाउँदै गर्दाको प्रेमिल नजरमा प्रेमको आभास पाएको थिएँ। म भ्रममा रहेछु, त्यो त सांसारिकताबाट बिदाइको अनुमति मागेका रहेछौ तिमीले। मृत्युचुम्बनले तानिरहेको रहेछ। कल्पनासमेत गर्न सकिनँ त्यतिखेर। तिम्रो मृत्यु भर्खर भोगेको मेरो मानसिक परिवृत्त मृत्युसँग कटाक्षको उहापोह पोख्न उद्वेलित छ, यतिखेर। तिमी कहाँ छौ? कस्ता छौ? खुशी छौ? दुःखी छौ? आउँछौ वा आउँदैनौ? रातको बाह्रबजे बज्ने मोबाइलको घण्टी फेरी बज्ला वा नबज्ला? तर्क वितर्क मडारिरहन्छ। तिम्रो मृत्यु तिम्रो एउटा विजयजस्तो अनुभूत भइरहेछ, मृत्युचुम्बनमाथि। यस मानेमा कि मृत्युलाई हराएर तिमीले तय गरेको यात्रा, पराजयहीन यात्रा– यथार्थमा हाई–हाई भइरहेछ, मृत्युप्रेमी यो स्वार्थन्ध झूठो संसारमा। भौतिक अवयवका रूपमा तिमी अब हामीमाँझ रहेनौ, मनले स्वीकार्दैन। तिमी तिम्रो सिर्जनशीलताको मार्ग चुम्न हतारियौ। करिब १३ वर्षअघि मृत्युचुम्बनलाई मेरो हातमा थमाएर सार्वजनिक रूपमा गरेको घोषणाले पूर्णविराम लगाइसकेको छ। होइन भन्न सक्छौ र? थाहा छ, तिमी झुठा बोल्न सक्दैनौ, तर शास्वत सत्यको अगाडि टिक्न नसक्नु तिम्रो विवशता, मेरो दुर्भाग्य यति मात्र सोचौँ यहाँ। साहित्यकार, पत्रकार, आफन्त र परिवारका सदस्यहरूबीच राखेर गरेको मौखिक वाचालाई लत्याएर उही मृत्युचुम्बनलाई अँगाल्नु तिम्रो रहर थिएन। राम नाम सत्य– दुर्घटनाको असरल्ल बिस्कुन चिप्लिँदै–चिप्लिँदै तिमीमाथि छायो र हाम्रो माझबाट तिम्रो स्थूल स्वरूप चट्ट चुडेर लग्यो। मेरो कामना– एउटा पत्रकार, स्रष्टा, सिर्जनशील पुञ्ज, भौतिक र मानसिक दुवै अर्धचेतनामा साथसाथै रहने छौ। निष्ठुरी मृत्युको कुनै मन हुँदैन, जसले हाम्रो कामना आत्मसात गरोस्। हाम्रो कामनालाई आँसु र पीडाको कोशी बगाएर हस्पितलको शैयाबाट लिएर जाँदा, तिमीले मृत्यु जित्यौ, हामीले हार्‍यौं प्रिय! सँगै बाँच्ने सँगै मर्ने तिम्रो आकाङ्क्षा त्यतिखेर विलिन भयो। जहाँ जान्छु त्यही लान्छु, एकदिन पनि नछोड्ने तिम्रो चाहना असार १५ को बाढीले बगाइदियो र मलाई किनारमा छोडिदियो। ती झुठा कसम, अधुरो मानसचित्र आज झल्झली सम्झँदै मिठो अतीत ठानी कल्पनामा सजाउनुको विकल्प छैन हामीसँग।  

नारीप्रतिको तिम्रो सम्मान, नारीलाई हेर्ने दृष्टिकोण, बालबालिकाप्रतिको स्नेह, परिवारप्रतिको कर्तव्यपरायणता, परिसृष्टिप्रतिको तिम्रो सिर्जनशील गतिशीलताको पुजारी बन्न चाहन्छु। बिहानदेखि राती अबेरसम्मको नेपाली पत्रकारिता, तिम्रो क्रियाशीलता, खोज, अनुसन्धानप्रतिको तन्मयता सबै कुरा छोटोमिठो भयो मृत्युप्रेमी मित्र! संसारलाई प्रेम गर्‍यौ, अरूले जस्तै। संसार बनाउने महत्वाकाङ्क्षाको शीघ्र प्रयत्नमै निकै प्रेमी कमायौ। साथीसँगको तिम्रो सहयात्रा र प्रेम, मसँगको अथाह प्रेम, दुई बालिकाप्रतिको तिम्रो माया हाय! सम्झदा मुटु छियाछिया हुन्छ। नियतिको क्रुर पञ्जा कति निठुर रहेछ, एकैछिनमा सिसाजस्तो चकनाचुर जीवन! मृत्यु अर्थात् जीवनमिथक, जीवनको अन्तिम अभिष्ट। तिमीले मृत्यु जित्यौ, संसार जित्यौ, अब तिमीले जित्नु केही बाकी रहेन। हाँसीहाँसी मृत्यु जितेर तिमी बाँचिरहे। बाँच्नेका आँसु पुछिरहे। बाँच्नका निम्ति प्रेरणापुञ्ज भएर तिम्रो सम्झनाले सदा मृत्यु जितिरहोस्, मृत्युमै प्रेमको चुम्बनको सुखानुभूति मिलिरहोस्, मृत्युप्रेमी श्रीमान्! अलबिदा।

सोचेजस्तो जिन्दगी रहेनछ। आफ्नो हक, अधिकार र अस्तित्व कायमका खातिर थुप्रै चुनौती सामना गर्नुपर्दाेरहेछ, समयसँगै बुझ्दै छु। समाजले लगाउने स्वार्थन्ध गिद्दे नजर र पवित्र मायाको नजरको बीचमा कोशेढुंगा भएर नियालिरहेको छु। यौवनमा एक्लै हुनुपर्दा कच्पल्टिएका थुप्रै सपनाले भन्दा मानिसका व्यवहारले झस्काउँछ तन्द्रामा पनि। थुप्रै पुरुष जननेन्द्रियहरू सलबलाउँदा रहेछन्। चिप्ला कुरा र मिठा आश्वासनका जालो बुन्दै फसाउन खोज्नेको झुन्ड एकातिर पंक्तिबद्ध हुन्छन्।  

बेसहारा र कमजोर सम्झी कठै! भन्ने जिब्राहरू अरूसरह लाएको, खाएको र हिँडेकोमा सशङ्कित हुँदै आत्मबल गिराउन खोज्नेको झुन्ड अर्काेतिर उत्तिकै सशक्त देखिन्छन्। एकल महिलालाई बाँच्न कति गाह्रो हुँदोरहेछ, अनुभव गर्दै छु। समस्यासँगै समाधान पनि आउँछ। आश्वस्त बन्दै अप्ठ्यारा परिस्थितिमा पनि सहज बन्दै जिएको छु। यो सबै तिम्रो आशीर्वादको उपज हो। तिम्रो परिवारको रक्षा गर्ने भगवान्को स्थानमा तिमी पुगेका छौ। यही सोचाइ नै मेरा लागि बाँच्ने धरोहर बनेको छ। सक्षम, सबल भएर बाँचोस् भनेर सहयोग गर्नेभन्दा दया र बिचराको सहानुभूतिमा रुमलिएको हेर्न चाहनेको सङ्ख्या अधिक हुँदो रहेछ समाजमा। धेरै पुरुष/महिला मानसिकतासँग सङ्घर्ष गर्दै हिँड्दा खुट्टा लरबराउनु स्वाभाविक ठान्दछु। आशा, अभिलाषा र रोमाञ्चकताका बीचमा छरिएर बाँच्नु छैन। स्वाभिमान र आत्मसन्तुष्टिका बिज अंकुराउने पृष्ठभूमिको गोरेटोमा तल्लीन हुनु छ। आशीर्वाद चाहिएको छ केवल तिम्रो।

प्रकाशित: ११ असार २०७९ ०४:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App