१२ असार २०७९ आइतबार
कला

पुल

लघुकथा

वसन्त अनुभव

‘खप्परे खोलामा आएको बाढीले बगाउँदा कारमा सवार तीन व्यक्तिको घटनास्थलमै मृत्यु। मृत्यु हुनेमा भूतपूर्व मन्त्रीको परिवार रहेको बुझिएको छ।’ खबर डढेलोझैं चारैतर्फ फैलियो। छापा तथा अनलाइन पत्रपत्रिकामा समाचारले प्रमुखता पायो।

हुन त यो घटना कुनै नौलो थिएन। बर्सेनि यस्ता थुप्रै घटना हुने गर्छन् र हजारौंले अकालमा मृत्युवरण गर्दै आएका छन्।तर, ती घटनाहरूको चासो र चिन्ता भने कसैलाई थिएन।

घटनापछि स्थानीय प्रशासन, सडक ठेकेदार लगायत सम्बद्ध सबै निकाय खप्परे खोलामा जम्मा भए। दिनरात मान्छेहरू मात्र होइन, टिप्पर, डोजर, स्काभेटर लगायतका मेसिनहरू पुल निर्माणमा खटिए।

भर्खरै बनेको पुलको उद्घाटन कार्यक्रम अगाडि चलिरहेको थियो। पछाडि छेउमा बर्काको टुप्पाले आँसु पुछ्दै एउटी अधबैंसे महिला सुँक्कसुँक्क गर्दै थिइन्।

नजिकै उभिएको एक पुरुषले सान्त्वना दिंदै भन्यो, ‘के भयो दिदी, किन रुनुभएको! नसुर्ताउनुस्, अब त पुल पनि बन्यो। अकालमा कसैको ज्यान जाँदैन।’

‘हो भाइ, पुल बन्यो। म खुसी छु तर पुल बन्न ठूलो मान्छे मर्नुपर्दोरहेछ। अलि अघि नै मरेको भए म विधवा त हुनुपर्थेन नि। एक वर्षअघि सोही खोलाले बगाएका आफ्नो श्रीमानको सम्झनाले उनी भक्कानिइन् र आँसु पुछ्दै त्यहाँबाट बाहिरिइन्।

प्रकाशित: ४ असार २०७९ १२:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App