देशकै पुराना गायक, लेखक तथा संगतका स्वर्गीय नगेन्द्र हाडाको सम्झनामा भक्तपुरमा नगेन्द्र हाडा स्मृति साँझ २०७९ भएको छ।
नगेन्द्र हाडा परिवारको आयोजना तथा आराधना संगीत समूहको सहआयोजनामा हास्य कलाकार मदनकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यतामा साँझ भएको हो।
स्वर्गीय नगेन्द्र हाडा भक्तपुरका मात्रै नभई देशकै पुराना प्रख्यात गायक, लेखक तथा संगीतकार हुन्। उनी चर्चित हास्य कलाकार मदनकृष्णका पनि गुरु हुन्। उनी भक्तपुर नगरपालिका इटाछेंका स्थानीय हुन्।
उनले २०१६ सालदेखि रेडियो नेपालमा प्रवेश गरी गीत गाउन थालेका थिए। उनका तीन दर्जनभन्दा बढी गीतहरु रहेका छन्। उनले आधुनिक, भजनलगायतका गीतहरु लेखेका छन्। मदनकृष्ण श्रेष्ठले गाएको ला छक्व वेका सम्हे वजी, सापारु खुन्हु या, यलाय व खपे देशे वे प्यावललगायतका उनका चर्चित नेपाल भाषाका गीतहरु हुन्। उनले नेपाल भाषाका साथ नेपालीमा पनि गीत लेखन, गायन तथा संगीत पनि भरेका छन्।
कार्यक्रममा नगेन्द्रका ११ वटा गीतहरु गाइएको थियो। साथै दुई वटा गीतको प्रिमियर पनि गरिएको थियो। कार्यक्रममा हाडाले गाएका ५५ वर्ष पुराना गीतहरु गाइएको थियो। कार्यक्रममा वरिष्ठ हास्यक कलाकार मदनकृष्ण श्रेष्ठले पनि गीत गाएका थिए। कार्यक्रममा वरिष्ठ संगीतकार दीपक जंगमको पनि उपस्थिति रहेको थियो। कार्यक्रममा नगेन्द्रका दुई छोराहरु रवि हाडा र राजेश हाडाले पनि गीत गाएका थिए। कार्यक्रम नगेन्द्रका आफनै भाइ देव हाडाको सभापतित्वमा भएको थियो।
भक्तपुरका तारा नगेन्द्र हाडाको जन्म १९५८ सालमा भक्तपुरमा भएको हो। युवा उमेरसम्म काठमाडौंमा बसेर हुर्केका उनी विवाहपछि भक्तपुरको आफनै पुर्ख्याैली घर इटाछेंमा वस्न आएका थिए। जीवनको अन्तिम घडीसम्म पनि संगीतमा तपस्यारत उनको ६९ वर्षको उमेरमा २०६७ सालमा निधन भएको थियो।
नगेन्द्रका जीवनी भक्तपुर नगरपालिकाद्धारा प्रकाशित स्थानीय पाठ्यपुस्तकमा पनि समावेश छ। त्यस हिसावले उनको जीवनीबारे भक्तपुरका स्कुलस्कुलमा पढाई हुन्छ।
कार्यक्रममा आराधना संगीत समूहका अध्यक्ष सम्भुराज भण्डारीले स्वागत गरेका थिए। कार्यक्रमको अन्तमा प्रमुख अतिथि हास्य कलाकार मदनकृष्णले कार्यक्रमका लागि सहयोग गरेका विभिन्न व्यक्ति तथा संस्थाहरुलाई धन्यवाद पत्र वितरण गरेक थिए।
प्रकाशित: २२ जेष्ठ २०७९ १२:४७ आइतबार





