६ जेष्ठ २०७९ शुक्रबार
कला

ऊ मौन थियो

लघुकथा

गौरी न्यौपाने

पाँच वर्ष फुत्तै बितेछ। फेरि स्थानीय चुनाव  आइसकेछ। जताततै क, ख, ग ..पाटीका झण्डा बोकेर युवायुवती, अधबैंसे, बुढापाका सबैजसो जुलुस लगाउँदै थिए। गाउँगाँउमा भोजभतेर चलेको छ। गाडी र मोटरबाइकहरू घुइँकिएका छन्। कतै बाजागाजासहित झण्डा फहराएका छन्।

सागरको घर मुलबाटै छेउमा भएकाले धेरै दृश्य देखिन्छ।

‘सागर,जाऊँ, जाने होइन?’ झण्डा बोक्ने  साथीहरू बोलाउँछन्, अनुरोध गर्छन्। सागर जवाफ नदिईकन रमिता हेरिरहन्छ।

ऊ पाँच वर्षअघिको घटना सम्झिन्छ र नाजवाफ टोलाइरहन्छ। मुसुक्क हाँसेको अभिनय गर्छ।

उसका आँखामा जुन घटना घुमिरहेको छ, बिर्सन सक्दैन। पाँच वर्षअघि यसरी नै झण्डा लिएर नारा लाउँदै गर्दा गुडेको गाडी पल्टेर बेहोस भएको सागर एक्कासि आफूलाई बेडमा पाउँछ।

जुन पाटीको झण्डा बोक्यो र सहानुभूति पायो नै। प्रतिपक्षको नेता र उपनेता पनि उसलाई भेट्न गए। ऊ बेडमा शिथिल अवस्थामा थियो। यो दुर्घटना हाम्रो लागि अवसर हो भन्दै गोप्य कुरा गरेको सागरको कानमा पर्छ। अल्लोपल्लो गाउँको छिमेकी, चुनाव विजय सुनिश्चित पनि त थिएन।

मृत्युसँग लडिरहेको सागरको मन ती शब्दले अझै स्तब्ध बनाइदिन्छ। युवा बेरोजगार दलगत स्वार्थमा लुटिएको देख्दा उसको मन ग्लानिले भरिएर आयो। आफैंसँग लाज लागेर आयो। जतिबेला ऊ बेडमा छटपटाइरहेको थियो त्यतिबेला उसले आफ्नो बाँझो बारी र रित्तो गोठ सम्झियो।

‘भोट के मा’ भन्दै चिच्याएको चर्काे नाराले सागरको मौनता भंग गर्न सकेन।

ऊ मौन थियो।

प्रकाशित: २७ वैशाख २०७९ ११:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App