५ जेष्ठ २०७९ बिहीबार
कला

एक नागरिकको बकपत्र

कविता

हजुर,

म त्यही सीमान्त नागरिक हुँ

जो बारबार हारेर पनि

सधैं जिती रहन्छु

अहिले हाजिर भएको छु

हजुरको अदालतमा

मलाई जे भन्नु भए’नि हुन्छ

मन परे क्रान्तिकारी/राष्ट्रवादी

मन नपरे प्रतिक्रान्तिकारी/प्रतिगामी

वा प्रतिक्रियावादी

जे भन्नु भए’नि हुन्छ

अहिले हाजिर भएको छु

हजुरको अदालतमा

र माग्दै छु सजाय

आफ्नै विरुद्धमा

मलाई कैद गर्नु भए हुन्छ

गोलघर वा नेलपासमा

जहाँ राख्नु भए पनि हुन्छ

फाँसी त लेखिएको छैन भन्छन्  

तपाईंले लेख्नुभएको

विश्वको सर्वोकृष्ट संविधानमा

त्यसैले त्यसबाहेक जे गर्नु भए’नि हुन्छ

हजुर,

म त्यही सीमान्त नागरिक हुँ

जो बारबार हारेर पनि

सधैँ जिती रहन्छ

अहिले हाजिर भएको छु

हजुरको अदालतमा

मलाई जे भन्नु भए’नि हुन्छ

मन परे क्रान्तिकारी/राष्ट्रवादी

मन नपरे प्रतिक्रान्तिकारी

प्रतिगामी

वा प्रतिक्रियावादी

जे भन्नु भए’नि हुन्छ

अहिले हाजिर भएको छु

तपाईंको अदालतमा।

जब देखेँ परिवर्तनको नाममा  

उल्टो चालेर पाइला

तपाईं शून्यमा फर्किरहनु भएको

टुक्रिएर छरपस्ट

बिग्रिएको जहाज

एक्लै उडाउँदै

बेपत्ता गन्तव्यतिर लाग्नु भएको

आफ्नै आङ कन्याउँदै

दुनियाँ हँसाइरहेको

काला बादलहरूले घेरिएको

भर्खरै साझ ढल्किएर

रात छिप्पिँदै गएको

सुनसान चकमन्नमा

हराउन लाग्नु भएको

म त विस्मृतिमा छट्पटिँदै

गुहार्दै एकाएक सडकमा पुगेँ  

सडकमा पनि जब देखें

तपाईंकै आधा अनुहार

कुर्चीकै लागि लडिरहेको

न चिन्ता भोकको

न चिन्ता रोगको

टाइ लगाएर पूरै गर्दन

मालाले ढाकिनु भएको

हेरेर ऐनामा आफैलाई

आफै मदहोसीले बरबराइरहेको

एकाएक मलाई खै कुन्नि के भो

आफैमाथि वितृष्णा जाग्यो

ढाटेर आफ्नो नाम

भूमिगत बसेको

काटेर आफ्नो गास

तपाईंलाई खुवाएको

साहित्यकार होस् वा कुनै पत्रकार

बुद्धिजीवी होस् वा कुनै बर्दिधारी

जजसले बोलेनन् ‘गोपिकृष्ण’

भकुर्दै ‘लय’मा फर्काएको

केके याद आयो आयो

हजुर,

अहिले हाजिर भएको छु

तपाईंको अदालतमा

मलाई जे भन्नु भए’नि हुन्छ

मन परे क्रान्तिकारी/राष्ट्रवादी

मन नपरे प्रतिक्रान्तिकारी

प्रतिगामी

वा प्रतिक्रियावादी

जे भन्नु भए’नि हुन्छ

अहिले हाजिर भएको छु

तपाईंको अदालतमा।

सानोमा स्कुलको झोलामा लुकाएर

तपाईंका ‘दस्तावेजहरू’ ओसार्ने गर्थेँ

आधारातमा सडकका भित्ताभित्तामा

तपाईंका पम्प्लेटहरू टाँस्दै हिँड्दा

प्रहरीको लाठी खाएर ढलेको थिएँ

भूमिगत बैठकहरूमा तपाईंलाई सुन्न

क्याम्पस पनि ‘बङ्क’ गरी दिन्थेँ

लाग्थ्यो,

अब उदाउने छ घाम र

झलमल्ल हुने छ यो धरा

फूलझैँ मुस्कुराउने छन

ससाना नानीहरू

र आमाहरू खुशीले नाच्ने छन् 

बालुन र सोरठीहरू

नौमतीले घन्कने छ गाउँ

खैजडी र च्याबरुङमा रमाउने छन् तन्नेरी

जब उदाउँदै गयो घाम

देखिँदै गए तपाईंका नौरङ्गी अनुहार

जेल लगाएर चिटिक्क पारिएको कपाल

ऐनाझैँ टिलिक्क टल्किएका

तिखातिखा दाँत

खोकिलामा लुकाई राख्नुभएको

हात्तीदाँतको छुरा र

कम्मरमा भिरी राख्नुभएको तलवार

म त थरर कामेँ 

र धेरै बेरसम्म रनभुल्लमा परें 

बौरिएर जसै फेरि तपाईंको जुलुसमा

नारा लगाउँदै थिएँ

लबेदा सुरुवालमा ठाँटिएर

अलापी रहनु भएको उही पुरानो

बिग्रेको टेप रेकर्डरबाट आएको

घ्यारर घ्यारर आवाजजस्तो

तपाईंको भाषण सुनें

म त किमकर्तव्यविमुढ भएँ

सम्झिएँ–

जागरणको गीत गाउँदै

गाउँगाउँ घुम्ने ती कलाकार

सम्झिएँ–

चेतनाको राँको बाल्दै

कविता लेख्ने ती साहित्यकार  

सम्झिएँ–

आफू भोक्कै बसेर

तपाईंलाई भुजा जुराउने

ती निमुखा कामदार

म त फत्रक्क गलेँ

अझ एउटा कुरा भनूँ ?

यसरी गलें कि

तपाईंको हुङकार पनि नसुनी

त्यसै फर्किएँ

त्यसैले हजुर

अहिले उपस्थित भएको छु

तपाईंको अदालतमा

र माग्दै छु सजाय

आफ्नै विरुद्धमा

मलाई कैद गर्नु भए हुन्छ

गोलघर वा नेलपासमा

जहाँ राख्नु भए’नि हुन्छ

फाँसी त लेखिएको छैन भन्छन् 

तपाईंले लेख्नुभएको

विश्वको सर्वोकृष्ट संविधानमा

त्यसैले त्यसबाहेक जे गर्नु भए’नि हुन्छ

हजुर

अहिले हाजिर भएको छु

तपाईंको अदालतमा

मलाई जे भन्नु भए’नि हुन्छ

मन परे क्रान्तिकारी/राष्ट्रवादी

मन नपरे प्रतिक्रान्तिकारी

प्रतिगामी

वा प्रतिक्रियावादी

जे भन्नु भए’नि हुन्छ

अहिले हाजिर भएको छु

तपाईंको अदालतमा। 

प्रकाशित: २४ वैशाख २०७९ ०८:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App