coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

सुनको रथ

वैरोचन र उन्मना वृद्धवृद्धाको भेषमा विभिन्न राज्यको भ्रमण गर्दै थिए। हिमवत खण्डका राज्यहरूमा बेथिति र विसंगति मौलाउँदै गएको थियो। यहाँका शासक र जनतामा नयाँ चेतना ल्याउने उद्देश्यले वैरोचनले एउटा कथा रचे। ठाउँठाउँमा मानिसलाई भेला गरी वैरोचन र उन्मनाले पालैपालो यो कथा सुनाउँथे। मानिसले यो कथालाई रुचिपूर्वक सुन्थे। घटना, पात्र र संवादलाई मन पराएर कतिपयले रमाइलो मानी दोहोर्‍याइ–तेहेर्‍याई यो कथा भन्न लगाउँथे, कण्ठस्थ पार्ने प्रयास गर्थे, तर कथाले संकेत गरेको सन्देशतर्फ कसैले चिन्तनमनन गर्दैनथे। यद्यपि वैरोचन र उन्मनाले कथा सुनाउन छाडेका थिएनन्।

जयपल्लिका ग्राममा कथा सुनाउने पालो उन्मनाको थियो।

०००

मञ्जुगर्त राज्यमा महामारी फैलियो। अघिल्लो वर्ष त्यति पानी नपरेकाले खेती सप्रेन र अनिकाल परेको थियो, त्यसपछि महामारी आइलाग्यो।

केही दिनको ज्वरोले मानिसको ज्यान लिन्थ्यो। महामारीको मुखमा पुग्ने डरले मानिसहरू घरबाट बाहिर निस्कँदैनथे, महामारीबाट मृत्यु भएकाको लास समेत छुँदैनथे।

मानिसको चहलपहल नहुँदा नगर, ग्राम वा बस्ती सबैतिर सन्नाटा छाएको थियो। मानिसको अनुपस्थितिमा चराहरू उड्थे, कराउँथे र कुकुरहरू भुक्थे। पेटभरि घाँस–पराल र कुँडो खान नपाएकाले कतैकतै कृषकका गाईवस्तु एकोहोरो कराएको सुनिन्थ्यो। केही चनाखो भएर सुन्दा व्यथाले अँठ्याएका रोगी र आफन्त गुमाएकाको आक्रन्दन कानसम्म ठोकिन आइपुग्थ्यो।

राज्यका सिपाहीलाई पनि महामारीले छोएको थियो। सिपाहीलाई नै महामारीले निल्न थालेपछि राजा जयन्त झस्किए र महामारी नियन्त्रणको उपाय खोज्न उनले तुरुन्त मन्त्रीमण्डलको सभा डाके।

महामारी फैलने डरले एकअर्कादेखि चार–चार गजको दूरीमा बसेर सभा सम्पन्न गरियो। सभाको पहिलो निर्णय थियो— महामारीबाट जोगिन सबैले उमालेको पानी खाने, उमालेको पानी मनतातो भएपछि नुहाउन र धुन प्रयोग गर्ने, महामारीबाट मृत्यु हुने जोकोहीको लासलाई उम्लँदै गरेको पानीले पखालेपछि मात्रै छुने र सबै लासलाई एउटै खाल्डोमा हालेर पुर्ने। लासलाई पुर्नका लागि नदीको किनारमा फराकिलो र गहिरो खाडल सिपाहीले खन्नेछन्।

तत्कालै राज्यभरि यही उर्दी गरियो।  

मञ्जुगर्त राज्यको सबैभन्दा छेउमा रहेको दासग्रामबाट महामारी फैलिएको आकलन धेरैले गरेका थिए। दासग्रामका जनतासँग खाने अन्न र लगाउने लुगा भएन। चिसो रात काट्न उनीहरूले ग्रामको बीच भागमा आगो बाल्थे, ठूलाठूला मुढाहरू जोडेर।

नजिकै एउटा अग्लो लिंगे गाडेर आकाशदीप राखिन्थ्यो। मानिसहरू आगोको वरिपरि सुत्थे, नाचगान गर्थे।

दिनमा बलियाबांगाहरू नजिकैको वनमा मुढा खोज्न जान्थे, हिँडडुल गर्न सक्ने वृद्धवृद्धा र आबालवनिताले झिँजा खोजेर ल्याउँथे। खाने अन्न नभएकाले केही वृद्धवृद्धा र केटाकेटीले वनमा कन्दमूल खोज्थे। केही तरुण स्त्रीपुरुष पशुपक्षीको सिकारमा लाग्थे। समूह–समूहमा विभाजित भई काम  बाँडिएको थियो।  

बिहान घरबाट निस्केकाहरू साँझ केही न केही लिएर फर्कन्थे। कोही पनि रित्तो हात फर्कन हुन्न भन्ने मान्यता थियो।

साँझमा सबै मिलेर मासु र कन्दमूल पोलेर खान्थे। दिन यसरी नै बित्दै थिए। नजिकैको वनमा पशुपक्षी र कन्दमूल सकिँदै गए। त्यस वनमा राजा जयन्त पनि कहिलेकाहीँ सिकारका लागि निस्कन्थेँ, राजाकै लागि वनमा वन्यजन्तु जोगाउनुपर्ने सिपाहीलाई दबाब हुन्थ्यो। त्यसैले सिपाहीले दासग्रामवासीलाई त्यस वनमा प्रवेशका लागि रोक लगाए।

घरदैलोको वनमा रोक लागेपछि दासग्रामका युवा परको वनमा जान थाले। टाढा हिँडडुल गर्न नसक्ने केटाकेटी र वृद्धवृद्धाले नजिकै भ्यागुता, मुसा खोज्थे र आगोमा पोलेर खान्थे।

एक दिन केही केटाकेटीले विषालु सर्प मारेर पोलेर खान पुगे। सर्प खाएको केही घडीमै उनीहरूको मृत्यु भयो। यसको लगत्तै मञ्जुगर्त राज्यमा महामारी फैलिएको थियो। वारि तरुणले सुसेल्नु र वारि तरुणी हराउनु एकैचोटि भएजस्तै दासग्रामबाट महामारी फैलिएको आशंका गरिएको थियो।

सभाको दोस्रो निर्णय थियो— दासग्रामलाई गाँस, बास, कपास र उद्यमको व्यवस्था गर्ने।

मञ्जुगर्त राज्यमा वर्ण–व्यवस्था हुर्कंदो र मौलाउँदो थियो। पुख्र्यौली धरातल, राज्य संयन्त्रमा पहुँच र व्यक्तिको पेसा हेरी मानिसलाई ऊँच र नीच वर्णमा विभाजन गरिएको थियो। त्यसमाथि अनेक नियम बनाएर नियमबाट च्युत हुनेलाई नीच वर्णमा झारिन्थ्यो। दासग्राम नीच वर्णहरूकै थियो। 

सभाको तेस्रो निर्णय थियो— राज्यमा सबै व्यक्ति समान हुने। जन्म, पेसा र वासस्थानका आधारमा कसैले कसैलाई ऊँच र नीचको व्यवहार गर्न नहुने, गरेमा दण्डको भागिदार हुनुपर्ने सभाका यी निर्णय राज्यभरि उर्दी भयो। शनैः महामारी नियन्त्रणमा आउँदै थियो। यहीबेला दुई राजकुमारसँगै राजा जयन्तलाई महामारीले खायो।

जयन्तकी एक मात्र पुत्री ज्ञानवती महामारीको ज्वालादेखि जोगिएकी थिइन्। राजा र राजकुमार सबैलाई महामारीले चुँडेपछि मन्त्रीमण्डलको सभा बस्यो, सभाध्यक्षका रूपमा ज्ञानवती थिइन्। सभामा उनले भनिन्, ‘अबदेखि यो मञ्जुगर्त राज्यको राजकाज मैले सम्हाल्नेछु। मेरा पिताजीले पछिल्लो सभाबाट जे पारित गर्नुभएको थियो, त्यसको कार्यान्वयनमा हामी लाग्नुपर्छ, यही मेरो पहिलो निर्देशन भयो।’

सभाले ज्ञानवतीलाई महारानीको पदवीबाट विभूषित गर्‍यो। ज्ञानवतीको राजकाज चलिरहेको थियो। एकपटक उनी राज्यका जनताको अवस्था बुझ्न देशाटनमा निस्किन्। उनको अगाडिपछाडि घोडा, हात्ती र रथको लस्कर थियो। दरबारदेखि केही पर पुगेपछि ज्ञानवतीले एउटा अनौठो दृश्य देखिन्— रथमार्गनजिकै वनमा एउटी पाँच–सात वर्षकी बालिका रोइरहेकी थिइन्। रथबाट ओर्लेर ज्ञानवती ती बालिकाको छेउमा गइन् र उनी रुनुको कारण सोधिन्।

बालिकाले भनिन्, ‘मेरा पिताजीलाई राजाका सिपाहीले यहाँ पुरेका छन्।’

महामारीमा मृत्यु भएका सबैलाई एउटै चिहानमा गाडिएको थियो। त्यो चिहान ज्ञानवतीका पिताको पनि थियो। ज्ञानवतीका आँखा खुले— मैले त पिताजीलाई भुलेकी रहिछु, पुर्खाका ज्ञान र सीपलाई भुलेर हामी कसरी अगाडि बढ्न सक्छौँ?

ती बालिकाकी आमालाई भेटी केही धन दिएर ज्ञानवती आफ्नो यात्रामा अगाडि बढिन्। रथमा बसेर उनले वरिपरिका दृश्य नियाल्दै थिइन्— कोही खेतबारीमा काम गर्दै थिए, कोही पानी बोक्दै त कोही भारी बोक्दै थिए, कोही गाईवस्तु चराउँदै थिए।

दासग्राममा पुगेपछि उनले अर्को दृश्य देखिन्— फाटेका लुगा लगाएकी एक गर्भवती स्त्रीले फलफूलका बिरुवा रोप्दै थिइन्।

ज्ञानवती रथबाट ओर्लेर ती स्त्रीको समीप गइन् र सोधिन्, ‘तिमीले यी बिरुवा कसका लागि रोपेकी हौ ?’

स्त्रीले पेट छाम्दै हर्षित मुद्रामा भनिन्, ‘सन्तानका लागि।’

ज्ञानवतीका आँखा खुले— हामीले भावी सन्ततिका लागि काम गर्नुपर्छ।

ती गर्भवतीलाई लत्ताकपडाको व्यवस्था गरेर उनी अगाडि बढिन्। ग्राम सकिएर वनको मार्ग आयो। रथमार्गदेखि केही पर झाडीमा एक जोडी समागममा लिप्त थिए, त्यो देखेर उनको मनमा आयो, अब मैले पनि विवाह गर्नुपर्छ।

केही पर खोलामा पुगेपछि रथमार्गमा अवरोध आयो। त्यहाँको काठेपुल मक्किएर भाँचिएको रहेछ।  

ज्ञानवतीलाई ज्ञान भयो— जीवनका जँघार तर्न बलियो साँघु वा पुल चाहिन्छ।

त्यहाँको पुल बन्न समय लाग्ने भयो, उनी त्यहीँबाट दरबारतिर फर्कने निधो गरिन्। चार घडीपछि फर्कंदा पनि केहीअघि समागममा लिप्त रहेको जोडी उही अवस्थामा थियो। उनले सिपाहीलाई आदेश दिइन्— समागम क्रिया सकेपछि ती जोडीलाई पक्रेर ल्याउनू।

राति दरबारमा ती जोडीलाई हाजिर गराइयो। महारानी ज्ञानवतीले ती दुवैलाई सोधपुछ गरिन्। ती स्त्रीको धनी वृद्धसँग विवाह भएको रहेछ, पतिले सम्भोग गर्न नसक्ने भएकाले उनले प्रेमीलाई भेटेकी रहिछन्। उनका प्रेमी दरिद्र भएकाले उनलाई मातापिताले धनी वृद्ध खोजेर विवाह गरिदिएका रहेछन्। वियोगपछि पनि ऐनमौकामा उनीहरूबीच भेटघाटको शृंखला टुटेको रहेनछ।

सबै बुझेपछि ज्ञानवतीलाई बोध भयो— समाजमा स्त्रीको मञ्जुरीबिना बेमेल विवाह गर्न र गराउन हुँदैन, विवाह दुवैको राजीखुसीमा हुनुपर्छ।

ज्ञानवतीले ती स्त्रीलाई घरसम्म पुर्‍याउने व्यवस्था मिलाइन्। पुरुषलाई भने त्यस रात दरबारमै बस्न आदेश दिइयो। त्यस पुरुषसँग लामो समय समागममा लिप्त हुने चाहना ज्ञानवतीको मनमा दिउँसैदेखि जागेको थियो।

महारानीको आदेशमा त्यस पुरुषलाई ठूलो सत्कार–सम्मानस्वरूप भोजन गराइयो। ज्ञानवतीले आफूसँग रात काट्ने प्रस्ताव त्यस पुरुषसँग राखिन्। महारानीको प्रस्ताव, ती पुरुषले अगाडिपछाडि केही नसोची स्वीकार गरे, सुन्दर स्त्रीको आग्रहलाई अस्वीकार गर्ने सामथ्र्य कमै विवेकी पुरुषले मात्रै राख्छन्। महारानीसँग सुतेका ती पुरुष भोलिपल्ट बिहान उठेनन्, त्यही रात सुतेकै अवस्थामा उनको मृत्यु भएको थियो।

पुरुषको मृत्यु कसरी भयो भन्ने ज्ञानवतीलाई ज्ञात भएन। एउटा सुनौलो रात उपहार दिने त्यस पुरुषको मृत्युमा ज्ञानवती निकै दिन शोकमग्न रहिन्।

त्यसपछि उनले आफ्नै सेनापतिसँग विवाह गरिन्। आश्चर्य, विवाह गरेकै रात सेनापतिको पनि मृत्यु भयो। त्यसपछि उनले वरपरका राज्यका केही राजकुमारसँग रात काटिन्, जोसँग उनले रात काट्थिन्, बिहान उठ्दा ऊ उनकै अँगालोमा मृत अवस्थामा भेटिन्थ्यो।

मञ्जुगर्त र वरपरका राज्यमा चर्चा चल्न थाल्यो— ज्ञानवतीसँग विवाह गर्ने वा रात काट्ने पुरुषको मृत्यु हुन्छ। यसले ज्ञानवतीको छविलाई धुमिल गराउँदै थियो। ज्ञानवतीका सम्बन्धमा नकारात्मक चर्चा भइरहेका बेला शीलमञ्जु नाम गरेका पुरुष महारानी ज्ञानवतीसँग विवाह गर्ने उद्देश्य लिएर दरबारमा आए।

शीलमञ्जुलाई अतिथि सत्कारसहित भोजन गराइयो। उनलाई गोप्य बैठक कक्षमा डाकेर ज्ञानवतीले सोधिन्— मसँग विवाह गरेपछि तिम्रो मृत्यु निश्चित छ, यो सुन्दासुन्दै तिमी यहाँ किन आयौ?

शीलमञ्जुले भने— ‘हजुरको दर्शनभेट पाउन मैले धेरै प्रयास गरेँ, तर हजुरका द्वारे, सिपाही र मन्त्रीहरूले मलाई दरबारभित्र प्रवेश गर्नै दिएनन्। हजुरलाई भेटेर मेलै केही बिन्ती बिसाउन चाहन्थेँ। आज महारानीसँग विवाह गर्न राजी छु भनेपछि प्रवेशको अनुमति पाएको हुँ।’

‘के बिन्ती?’ महारानीले सोधिन्।

‘महारानी! यस राज्यमा धनी र गरिबबीचको खाडल झन्झन् गहिरो बन्दै छ। समाजमा भित्रभित्र वर्ण व्यवस्था झाँगिएको छ। केही मानिसलाई आफू मात्रै धनी र ऊँच वर्णको रहिरहनुपरेको छ। उनीहरूले ऊँच–नीच हुने प्रथा–परम्परालाई अनेक नाममा कायम राखेका छन्।

हजुरका पिताले गरेको सभाको निर्णय र सोहीअनुरूपको हजुरको आदेशलाई यहाँ कसैले कार्यान्वयनमा ल्याएको छैन। यस राज्यमा थुप्रै जनता भूमिहीन छन्, उनीहरूलाई कृषियोग्य जग्गा उपलब्ध गराउनुपर्छ। ऊँच–नीच वर्णको भेदभाव गर्नेलाई नयाँ न्यायशास्त्र ल्याएर अनिवार्य दण्डित गर्नुपर्छ। काम गर्नेले न्यायोचित पारिश्रमिक पाउनुपर्छ। अन्यथा ऊँच र नीच वर्णबीचको भेदभाव, सम्पन्न र दरिद्रबीचको खाडल नहट्ने भयो महारानी!’

– उसो भए, तिमी यही बिन्ती बिसाउन यहाँ आएका हौ! मसँग विवाह गर्न होइन?

‘महारानी! न्यायको आवाज लिएर आएको छु, के वचनबाट पछि हटौँला र? आज राति मेरो मृत्यु भएछ भने पनि मेरो बिन्तीको सुनुवाई होस्, मेरो यही एउटा सर्त र अन्तिम इच्छा छ।’

शीलमञ्जुको सर्त ज्ञानवतीलाई मञ्जुर भयो। त्यही साँझ दरबारमा एक समारोहबीच उनीहरूले विवाह गरे।

साँझको भोजनपछि, शीलमञ्जु ज्ञानवतीको शयन कक्षमा गए। पलङको चारैतिर दीपाधारमा दीप जलाइएको थियो। कक्ष सुगन्धित थियो। पलङमा ज्ञानवती शृंगार र आभूषणले सजिएर बसेकी थिइन्। उनका अंगअंगबाट सुगन्ध फैलिइरहेको थियो।

सर्वप्रथम शीलमञ्जुले ज्ञानवतीलाई आलिंगन गरे। प्रेमपूर्वक स्पर्श गर्दै ज्ञानवतीलाई निर्वस्त्र पारे र आफू पनि निर्वस्त्र भए। शीलमञ्जुको स्नेहले पूर्ण आलिंगन, स्पर्श र चुम्बनले ज्ञानवती उन्मत्त भइन्। सीत्कार र योनिरस निस्किरहेको उनले चालै पाएकी थिइनन्। आलिंगन, स्पर्श र चुम्बनबाटै उनले एक किसिमले चरम सुखको अनुभव गरिन् र केही क्षण तन्द्रावस्थामा पुगिन्। त्यहीबेला उनको योनिबाट सानो आकारको कालो सर्प निस्कियो।

आश्चर्यचकित भई शीलमञ्जुले सर्पलाई नियालिरहेका थिए, बिजुलीको गतिमा सर्पले उनलाई डस्यो र पुनः ज्ञानवतीकै योनिमा प्रवेश गर्‍यो, शीलमञ्जुले केही गर्न भ्याएनन्। सपना हो कि विपना, भ्रम हो कि यथार्थ– उनले खुट्ट्याउनै सकेका थिएनन्, त्यही बेला ज्ञानवतीको निद्रा खुल्यो। उनले केही क्षणअगाडिको अवस्था सम्झिइन्— सम्भोगबिनै चरमसुख अनुभूत गरी निदाउन पुगेकामा उनलाई लज्जा महसुस भयो। लजाउँदै उनी शीलमञ्जुको छातीमा टाँसिइन्।

यता शीलमञ्जु झसंग भए— मलाई सर्पले टोकिसक्यो, अब मेरो मृत्यु हुन्छ। अब मैले चुम्बन गरेँ, वा सम्भोग गरेँ भने मेरो शरीरमा भएको विष ज्ञानवतीको शरीरमा प्रवेश गर्छ।

यही सोँचेर उनी पलङमा पल्टिएर निश्चल भए। पति केही नबोली पल्टेपछि ज्ञानवतीको मनमा चिसो पस्यो— अब यिनको मृत्यु हुने त होइन ! म एकैछिन निदाएँ, यो बीचमा के भयो? ज्ञानवती असमञ्जसमा परिन्। दुवै एकअर्कालाई नछोई उत्तानो परी पल्टिए, निकैबेर मौन रहे। वातावरण निस्तब्ध थियो। निकैबेरको सन्नाटा चिरेर परबाट भाले बासेको आवाज आयो।

शीलमञ्जुले सोचेँ— अब मलाई विष लागेन, म मर्दिनँ। त्यसपछि उनी पुनः ज्ञानवतीमाथि खनिए, ज्ञानवती तृप्त भइन्, उनी स्खलित भए।

शीलमञ्जुलाई एउटा गहिरो चुम्बन दिएर उनी निदाइन्, यस्तो निद्रा निदाउन कमै भाग्यमानी स्त्रीले पाउँछन्। उनी निदाउनेबित्तिकै उनको योनिबाट पुनः बिजुलीको वेगमा सर्प निस्कियो। यसपालि शीलमञ्जुले हातले सर्पको टाउकोमा समाए, उनको अनामिकामा सर्पले टोक्न भ्यायो। शीलमञ्जुले हातले अँठ्याएरै सर्पलाई मारे। त्यसलगत्तै उनले रिँगटा लाग्न थालेको महसुस गरे।

सुरुमा स्पर्श गर्दा उनले ज्ञानवतीको यौनांगमा एउटा हरियो रौँ देखेका थिए, दोस्रोपटक स्पर्श गर्दा त्यो रौँ झरिसकेको थियो। यस रौँको अवश्य केही रहस्य छ भन्ने उनको मनमा परेको थियो। पुनः पलाएको छ कि भनेर हेरे, नभन्दै एउटा हरियो रौँ थियो। उनले त्यस रौँलाई उखेले, त्यत्तिकै चपाएर निले, त्यसको स्वाद जडीबुटीको जस्तै थियो।

त्यो रौँ खाएपछि उनलाई रिँगटा लाग्न छाड्यो।

एकपटक मेघगर्जनसहित वर्षा हुन लागेको थियो। ठूलो गर्जनसहित बिजुली चम्केको बेला ज्ञानवतीको शरीरमा एउटा सानो सर्पको उत्पत्ति भयो। ज्ञानवतीले थाहै नपाउने गरी त्यो सर्प उनकै योनिमा प्रवेश गरेको थियो। कुनै पुरुषलाई भोगेर ज्ञानवती तृप्त भएका बेला त्यो सर्प बाहिर निस्किन्थ्यो। वीर्य खाएर निस्केकाले ऊ विषालु हुन्थ्यो। यसपालि पहिलोपटक समागमबिनै ज्ञानवती तृप्त भएकी थिइन्, त्यसैले सर्प बाहिर निस्केको थियो। वीर्य खान नपाएकाले सर्पमा विष थिएन र पहिलोपटक टोक्दा शीलमञ्जुलाई विष लागेन।

ज्ञानवती तृप्त हुँदा उनको यौनांगमा एउटा रौँ हरियो हुन्थ्यो र केहीबेरमै झथ्र्यो। त्यस रौँमा सर्पको विष शमन गर्ने शक्ति हुन्थ्यो। प्रकृतिले विषसँगै औषधि पनि दिएको हुन्छ, त्यसको खोज गर्न नसक्नु मान्छेको कमजोरी हो।

भोलिपल्ट बिहान ज्ञानवती ब्युँझँदा शीलमञ्जु सुतिरहेका थिए। शयन कक्षबाहिर सिपाही लास उठाउने सामग्रीसहित हाजिर थिए। हल्लाखल्ला सुनेपछि शीलमञ्जु ब्युँझिए।

महारानीसँग विवाह गरेका व्यक्तिलाई जिउँदै पाएपछि मञ्जुगर्त राज्यमा हर्षोल्लास छायो। मञ्जुगर्त राज्यका सिपाही र जनता मिलेर एउटा भव्य सुनको रथ निर्माण गरे, त्यसमा ज्ञानवती र शीलमञ्जुलाई राखेर नगर परिक्रममा गराइयो।

त्यसपछि ज्ञानवती र शीलमञ्जु मिलेर राजकाज चलाउन थाले। राज्यकी महारानी ज्ञानवती नै थिइन्, शीलमञ्जु उनका सहयोगी थिए। शीलमञ्जुले राखेको सर्तअनुरूप शासन गर्दा राज्यका सबै जनताले सुखशान्तिको अनुभव गर्दै गएका थिए। राज्यमा सम्पन्न र दरिद्रबीचको खाडल र वर्णभेद हट्दै गएको थियो।

ज्ञानवतीको शासनकालको पाँच वर्ष बितेपछि शीलमञ्जुले प्रस्ताव गरे– अबदेखि प्रत्येक पाँच वर्षमा एउटा गणपति छान्नुपर्छ।

पहिलोपटक ज्ञानवती र शीलमञ्जुलाई चढाएर नगर परिक्रमा गराइएको सुनको रथ भव्य थियो। मनमा कुनै लोभ नभएको, आफ्नो शरीरलाई भन्दा अरूलाई प्रेम गर्ने, अरूको सुखशान्ति र मानवताका लागि बाँच्ने व्यक्तिले त्यस रथलाई एक्लै तान्न सक्थ्यो। पाँच वर्षको अवधिमा शीलमञ्जु र ज्ञानवतीले यो रहस्य पनि पत्ता लगाएका थिए।

खुला ठाउँमा एउटा ठूलो सभा बोलाएर ज्ञानवतीले भनिन्, ‘जसले सुनको रथ एक्लै तानेर नगर परिक्रमा गराउन सक्छ, उसैलाई प्रत्येक पाँच वर्षका लागि गणपति छानौँ।’

सभाले ज्ञानवतीको प्रस्ताव पारित ग¥यो। त्यही दिनदेखि राज्यभरिका जनताले पालैपालो सुनको रथ तान्ने प्रयास गरे। मै हुँ भन्ने पुरुषले निकै दिनसम्म रथलाई हल्लाउन समेत सकेनन्।

रथ तान्नका लागि एक महिना समय छुट्ट्याइएको थियो। जति जनाले रथ तान्न सक्छन्, गोलाप्रथाबाट उनीहरूले पालैपालो गणपति हुने थिति बाँधिएको थियो। रथ तान्ने उत्सव हेर्न राज्यभरिका केटाकेटी, वृद्धावृद्धा, स्त्रीपुरुष आएका थिए। उत्सवमा आएका सबैले एकपटक रथ तान्नुपर्ने नियम थियो।

यसै क्रममा दासग्रामकी एक स्त्रीले रथलाई सजिलै तान्न पुगिन्। हेर्दाहेर्दै उनले रथलाई नगर परिक्रमा गराइन्। रथ तान्ने स्त्री उनै थिइन्, जसलाई ज्ञानवतीले आफ्नो पहिलो देशाटनका बेला फलफूलका बिरुवा रोप्दै गरेको देखेकी थिइन्। आम्रपाली नाम गरेकी यी स्त्री त्यतिबेला गर्भवती थिइन्।

पाँच वर्षका लागि आम्रपाली मञ्जुगर्त राज्यकी गणपति भइन्। यसरी एउटा थितिले राज्य चल्दै गयो।

०००

कथा सुनाएर सकेपछि वैरोचन र उन्मना भगवती नदी तटमा रहेको एक ठाँटीमा बास बस्न पुगे। भदौको महिना थियो। बर्खामा खोलानाला रसाएर भगवती नदीको वेग बढेको थियो।

नदीको एकतमासको छन्दले उन्मनाका मनमा अनेक विचार उम्रँदै थिए।

निदाउनुअघि उन्मनाले वैरोचनसँग सोधिन्, ‘गुर ! मानिसले मनन नगरे पनि यो कथाको सन्देश उत्तम छ, यो कथाको आयु कति लामो होला?’

वैरोचनले भने— ‘कथा हो, घटेर निरर्थक वा थपिएर भ्रष्ट हुँदै जान सक्छ। अझ परिमार्जित भई सन्देशमूलक बन्न पनि सन्छ।’

‘यो कथामा कालो सर्पको उत्पत्ति र यौनांगमा हरियो रौँको कल्पना किन गर्नुभयो?’ 

वैरोचनले भने, ‘यो प्रकृतिको ऊर्जासँग जोडिएको रहस्य हो, मानिसलाई रहस्य मन पर्छ र रहस्यको खोजमा लागे मानिसले प्रगति गर्छ, अन्यथा पुराना विश्वासमै जकडिएर मर्छ।’

भगवती नदीको छन्दसँगै उन्मना निदाउन पुगिन्।

०००

प्रकाशित: २६ चैत्र २०७८ ०२:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App