लोकगायिका रोशनी बिक रसाइलीले गत डिसेम्बर १० मा श्रीलंकाबाट म्युजिक एन्ड इन्टरटेनमेन्ट इन्डस्ट्री क्याटगोरीअन्तर्गतको ‘बेस्ट ओमन लिडरसिप एक्सेलेन्स अवार्ड’ पाइन्।
‘साउथ एसिएन बिजनेस एक्सेलेन्स अवार्डस् २०२१’ नाममा दिइएको यस अवार्ड प्राप्त गर्न अनलाइनमार्फत आफ्नो बायोडाटासहित फर्म भर्नुपर्छ र छानिएपछि इन्टरनेटबाटै भिडियो कल गरी अन्तर्वार्ता दिनुपर्छ। यो लगायत उनले नेपालकै केही संघसंस्थाबाट सम्मान तथा अवार्ड पाएकी छन्। जसमध्ये एउटा हो– छाया छवि अवार्ड तीज उत्कृष्ट गायिका, २०७८।
भकुण्डे– २, बाग्लुङमा जन्मिएकी रोशनी यस्ता अवार्डले आफूलाई ऊर्जा मिलेको बताउँछिन्। उनको सांगीतिक यात्रा ०६६ सालदेखि सुरु भएको हो। ‘सपनाको भारी बोकेर काठमाडौं आएकी थिएँ। यहाँ आएलगत्तै ०६६ सालमा ‘मुर्छा परी छेउमै ढल्दा’ गीत रेकर्ड गरेँ,’ उनीड भन्छिन्, ‘त्यसमा मलाई लोक गायक भोजराज काफ्ले दाइले धेरै सहयोग गर्नुभयो। त्यसपछि अझै आत्मबल बढेर आयो। अरू गीतहरू पनि निकाल्नुपर्छ भन्ने सोच आयो।’
काठमाडौं आएर आरआर क्याम्पसबाट उनले संगीत विषयमा प्रवीणता तह उत्तीर्ण गरिन्। अहिलेसम्म आफूले करिब ५० वटा गीत गाएको उनी बताउँछिन्। उनलाई गीत गाउने प्रेरणा र वातावरण गाउँसमाजबाटै मिलेको हो। गीत–संगीतप्रति सानैदेखि उनको औधि रुचि थियो। गाउँघरमा हुने सांगीतिक उत्सवमा उनी गाउन पुग्थिन्, स्कुलमा हुने कार्यक्रमहरूमा पनि गाउँथिन्। गाउँसमाजमा उनको स्वरको तारिफ गर्नेहरू थिए, पढाइमा पनि उनी अब्बल थिइन्।
गाउँमा छँदा उनले जातकै आधारमा हुने विभेद भोगकी थिइन्। ‘मैले पढ्ने स्कुललाई उच्च मावि बनाउन गाउँमा भैलोे खेल्न कुरा भयो। गीत गाउनेमा म लगायत अन्य साथी हुनुहुन्थ्यो। भैलो खेल्दै जाँदा गलुवा भन्ने ठाउँमा रात पर्यो र त्यहीँ बस्नुपर्ने भयो,’ उनी त्यो विभेदको घटना सम्झन्छिन्, ‘त्यो गाउँमा ठकुरीहरू धेरै रहेछन्। म सानो जात भएकाले मलाई त्यहाँ बस्न दिइएन। यो घटनाले अझै पनि दुःख लाग्छ।’
उनलाई त्यतिबेला गीत गाउने हुटहुटी थियो, तर हरेक क्षेत्रमा जातका आधारमा गरिने पक्षपातले उनको मन भारी हुन्थ्यो। यसैकारण पछि परिन्छ कि भन्ने डरमा उनी थिइन्। अझै पनि आफू संघर्षकै मैदानमा रहेको उनी बताउँछिन्। ‘जीवनभर मेहनत गर्छु। सिक्न अझै बाँकी छ,’ उनी भन्छिन्, ‘तर यति बेला गीत–संगीतमा विकृति भित्रिएको देख्दा दुःख लाग्छ।’
उनका प्रायः गीत लोकभाकाका छन्। मौलिक भाकाको संरक्षण गर्नुपर्नेमा उनी दृढ छन्। उनले गाएका ‘काभ्रेमा घर छ’, ‘३३ किलो सुन’, ‘रक्सी गन्हायो’, ‘भट्टी पसल’, ‘साथीसँग सेल्फी खिचिन्छ’जस्ता गीत चर्चा छन्।
धुलिखेल ११ पात्ले खेतका इन्जिनियर रमेश शिवशंकरसँग २०६८ सालमा उनले लगनगाँठो कसिन्। एक छोरीकी आमा रोशनीलाई गीत–संगीत क्षेत्रमा अघि बढ्न परिवारबाट प्रेरणा मिलिरहेकै छ।
प्रकाशित: ६ चैत्र २०७८ ०४:५९ आइतबार