२३ आश्विन २०८१ बुधबार
image/svg+xml
कला

नारी, अन्तिम पर्खाल, तिमी नाघेर हेर

कृष्णश्री राई

 १) गजल

कसैलाई त जिन्दगी, तामझाम  भएको छ,

जड्यौरी जिन्दगी चैं, जोडजाम भएको छ।

कुलो–नहर कहिले खन्ने, पुल खै कहाँको बन्ने?

तैपनि नेता भन्छ, काम् तमाम भएको छ।

उता  पाउ  मुसार्ने,  यता खुट्टा तान्ने,

मान्छेको व्यवहार,  हराम  भएको छ।

बाटो चिन्दै नचिन्ने, माटो बुझ्नै नखोज्ने,

आजभोलि साँच्चै ऊ, बेलगाम भएको छ।

यहाँ  चोर  चौतारोमा, साधुहरू शूलीमा,

त्यसैले त यो समाज, बदनाम  भएको छ

   (२) गजल

हाँस्नु कि रुनु अब, तिमीले दोधार दियौ,

प्रेमको नाममा यौटा, लाग्ने तरबार दियौ।

सँगै जिउँछु भन्यौ, सँगै नै मर्छु भन्यौ,

मिठा कुराहरूको, सपना  हजार दियौ।

  इन्द्रेणी रङ्ग सजायौ, बादलको देश घुमायौ,

क्षणमै खुसी हराउने, झुटो संसार दियौ।

सुनलाई झैंं किन्न खोज्यौ, यो मुटुको मोल साध्यौ,

मायामा दलाल हुने सस्तो बजार दियौ।

खेल्यौ यो दिलसँग, बिर्सि गयौ ती बाचा,

जन्मौ  बिसेक  नहुने, कस्तो बिमार दियौ।

सुन्छु तिमी त उता, उमङ्ग हाँसोमा छौ रे!

मलाई भने  बिष प्यूने, मृत्यु उपहार दियौ।

  (३) गजल

नारी, अन्तिम पर्खाल, तिमी नाघेर हेर,

निदायौ सपना देख्यौ अब जागेर हेर।

उपमा दिनेहरूको, मुख ताक्यौ धेरै नै,

आफ्नै धर्ती उठाउन आफैं लागेर हेर।

भत्काइदेऊ तगारा थाम आकाश एक्लै,

तिमी त विराङ्गना हौ, आजै आँटेर हेर।

चिनेर आफूभित्रको, अपार ऊर्जालाई,

यो शताब्दीको  नवीन, युग हाँकेर हेर।

प्रकाशित: ७ फाल्गुन २०७८ ०५:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App