२१ जेष्ठ २०८३ बिहीबार
image/svg+xml
कला

मधुबालाको सौन्दर्य र प्रेम कहानी

अद्भुत सौन्दर्य अनि अद्वितीय कलाकी धनी मधुबालाको जन्म १४ फेब्रुअरी १९३३ (भ्यालेन्टाइन्स डे) मा भएको थियो। ‘भ्यालेन्टाइन्स डे’मा जन्मने मानिस प्रेमिल हृदयका हुन्छन् भन्ने विश्वास छ। मधुबालाको जीवन पनि यस्तै रह्यो। मधुबालाको असली नाम मुमताज जहाँ बेगम देहलवी थियो।

पत्रपत्रिका, इन्टरनेट, रेडियो, टिभीमा सबैभन्दा चर्चा गरिएकी अभिनेत्री हुन् उनी। अभिनय कलामार्फत सफलताको शिखर चढ्न सफल मधुबालाको जीवनमा धेरै व्यक्तित्वसँग प्रेमप्रसंग चल्यो। केवल उनका सहकर्मी कलाकारसँग मात्र होइन, पाकिस्तानका भूपू प्रधानमन्त्री जुल्फिकार अली भुट्टोसँग समेत उनको नाम जोडिएको थियो। भनिन्छ, नेपालका राजा त्रिभुवन पनि मधुबालाका फिदा थिए।

उनी सानी छँदाखेरीका उनका प्रेमी थिए– लतिफ। लतिफपछि मधुबालाको जीवनमा थुप्रै प्रेमी आए–गए तर मधुबाला यो धर्तीबाट बिदा भएपछि पनि हरेक वर्षको २३ फेब्रुअरी (मधुबालाको मृत्‍यु भएको दिन) मा उनको चिहानमा लतिफले फूल चढाउँथे!

हुने बिरुवाको चिल्लो पात भनेझैं उनी सानैदेखि कला र अभिनयमा निपुण थिइन्। रेडियोबाट गीत बज्नासाथ छमछम नाच्न थाल्थिन्। जब उनी केवल नौ वर्षकी थिइन्, उनले ‘वसन्त’ (१९४२) फिल्ममा बालकलाकारको भूमिकामा तहल्का मच्चाएकी थिइन्।

उनले केवल १३ वर्षको उमेरमा ‘नील कमल’ (१९४७) चलचित्रमा नायक राज कपुरसँग नायिकाको भूमिकामा काम गरिन्। त्यो चलचित्रले त्यति ठूलो सफलता हासिल नगरे पनि मधुबालाको अभिनयले धेरै ठूलो ख्याति कमायो। त्यस चलचित्रका निर्देशक किदार शर्मा मधुबालाको सौन्दर्यप्रति मोहित भए र प्रेम प्रस्ताव राखे। १३ वर्षकी किशोरीलाई प्रेम भनेको के हो भन्ने थाहा थिएन।

उनलाई कस्तो लाग्यो भने– मैले पर्खें भने यी निर्देशकभन्दा राम्रो जीवनसाथी पाउनेछु। त्यसैले उनको प्रेमलाई स्वीकार गर्न सकिनन् तर उनलाई एउटा आफूभन्दा अग्रज व्यक्तिको सम्मान भने दिइरहिन्।

उनको दोस्रो चलचित्र ‘महल’ (१९४९)ले धेरै ठूलो सफलता पायो। महलका निर्देशक कमाल अमरोहीसँग उनको प्रेम निकै प्रगाढ हुँदै गयो। उनीहरू विवाह गर्न राजी थिए। सफल निर्देशक र सम्पन्न कमालको बिहे भइसकेको थियो, उनले मधुबालालाई दोस्री श्रीमतीका रूपमा भित्र्याउन चाहन्थे।

किनभने उनी मुस्लिम थिए। मुस्लिम धर्म अनुसार श्रीमतीको मञ्जुरी भएमा चारवटीसम्म बिहे गर्न पाइन्थ्यो। मधुबाला भने कमालले आफ्नी पहिली श्रीमतीलाई पारपाचुके गरेपछि मात्र उनीसँग विवाह गर्न चाहन्थिन्। कमालले भने, ‘प्रेम भन्ने कुरा बाँड्दा घट्दैन, बरू बद्छ। म मेरी श्रीमतीलाई नछाडीकन तिमीलाई बिहे गर्न सक्छु।’ उनी आफ्नी पत्नीप्रति बफादार भए। मधुबालालाई भने यो कुरा मन्जुर भएन, उनी कसैको सौता हुन चाहन्नथिन्। यसरी उनको यो प्रेम सफल हुन सकेन।

मधुबाला आफ्नो अभिनय यात्रामा सफलताको चुली चढ्दै गइन् र एकपछि अर्को व्यक्तित्वसँग प्रेम चल्दै र टुट्दै पनि गयो। चलचित्र ‘बादल’ (१९५१)को सुटिङका बेलाको कुरा हो, चलचित्रका नायक प्रेमनाथ थिए, मधुबालाले सुटिङको पहिलो दिन सुटिङ सुरु हुनुअघि प्रेमनाथलाई रातो गुलाफको फूल दिइन्, जसमा एउटा सानो नोट पनि लेखेकी थिइन्– ‘यदि मेरो प्रेम प्रस्तावलाई स्विकार्नुहुन्छ भने यो गुलाफलाई स्विकार्नुहोला।’

प्रेमनाथ एक सफल अनि आकर्षक व्यक्तित्व थिएन नै, सफलताको शिखर चढ्दै गएकी आकर्षक व्यक्तित्वकी धनी नवयुवती नायिकाबाट प्रस्ताव आउँदा खुसीले गद्गद् हुँदै भने, ‘ए भइहाल्छ नि, किन नहुनु! स्वागत छ, स्वागत छ।’

यसरी यी दुई सहकर्मी कलाकारबीच प्रेमलीला चल्न थाल्यो। तर केही हप्ता बित्दानबित्दै मधुबाला प्रेमनाथबाट टाढा हुन थालिन्। उनी अचम्ममा परे र चिन्तित भए। प्रेमनाथ र अर्का ठूला कलाकार अशोक कुमारको एउटा सुटिङमा केही हप्तापछि भेट भयो। कुरा हुँदै थियो– प्रेमनाथले आफ्नो राम कहानी सुनाए। अशोक कुमारले हाँस्दै भने, ‘ए हो र? उनले तिमीलाई पनि यसरी गुलाफको फूल दिँदै प्रेमप्रस्ताव राखिन्? मलाई पनि उनले केही हप्ताअघि त्यसै गरेकी थिइन्।’ त्यसपछि प्रेमनाथ रिसले आगो भए र मधुबालालाई सदाका लागि बिर्सने निर्णय लिए।

जो राम्रो देख्यो, त्यसलाई प्रेमप्रस्ताव राखी हिँड्ने, एउटा छाडी अर्को छानी हिँड्ने मधुबालाको यो ताल देख्दा उनी एक खराब आचरण भएकी नारी थिइन् कि जस्तो लाग्छ तर कुरा त्यस्तो होइन। उनी केवल १८ वर्ष मात्रै पुगेकी, जवानीको नयाँ–नयाँ जोश बोकेकी एक निर्दोष युवती थिइन्। उनलाई प्रेम के हो? कसैलाई प्रेमप्रस्ताव राख्नु, तोडनु र फेरि अर्को व्यक्तिसँग सम्बन्ध जोड्नुको अर्थ के हो? यसको परिणाम के हुन्छ? यी सब केही थाहा थिएन।

त्यसपछि त्यस बखतका अर्का ठूला कलाकार दिलीप कुमारसँग उनको प्रेम प्रसंगको चर्चा चल्न थाल्यो। दिलीप कुमारसँगको प्रेम उनको जिन्दगीको सबैभन्दा महत्त्वपूर्ण र गम्भीर प्रेम रह्यो।

यो प्रेम निकै लामो समय चल्यो तर यिनमा पनि धेरै उतार–चढाव आए। यो प्रेम प्रसंगमै केन्द्रित रहेर कुनै राम्रो चलचित्रको कथा एवं चलचित्र तयार हुन सक्छ। मधुबालाका पिता अताउल्लाह खान भने यो सम्बन्धको विरोधमा थिए। मधुबाला उनका लागि दुहुनो गाईजस्ती थिइन्। अभिनयबाट कमाएको मोटो रकम आफ्नो सम्पूर्ण परिवारको खर्चका लागि दिन्थिन्।

दिलीप कुमारसँग बिहे भयो भने आफ्नो आयस्रोत नै जाने डर थियो उनका पितालाई। अर्कोतिर दिलीप कुमार चाहन्थे कि मधुबाला आफूसँग बिहे गर्न चाहन्छिन् भने आफ्नो परिवारसँग नाता तोड्नुपर्छ। यसरी मधुबालाका पिता र दिलीप कुमारले एक–अर्कालाई पटक्कै मन पराएनन्। यो दुविधाका बीच मधुबाला र दिलीपको प्रेमसम्बन्ध निकै लामो समय चल्यो। आखिर पिताकै कारण उनीहरूको सम्बन्ध १९५७ मा गएर टुट्यो।

यी दुई कलाकारले निर्देशक बिआर चोपडाको चलचित्र ‘नयाँ दौर’मा सँगै खेल्ने भनेर अनुबन्ध गरिसकेका थिए। एक त दुईको सम्बन्ध टुट्नु, अर्कोतिर त्यो चलचित्रको सुटिङ बम्बई बाहिर असुरक्षित स्थानमा हुने भएकाले मधुबालाका पिताले छोरीलाई पठाउन अस्वीकार गरे। निर्देशक चोपडाले मधुबालालाई आफ्नो चलचित्रबाट हटाउने निर्णय लिए, अनि मधुबालाका पिताले चोपडालाई मुद्दा हाले। चोपडाले पनि आफूलाई बचाउ गर्न अर्को मुद्दा हाले।

यसै क्रममा अदालतमा दिलीप कुमार र मधुबालाको प्रेम पर्दाफास भयो। दिलीप कुमारले एकातिर निर्देशक चोपडाको साथ दिए भने अर्कोतिर अदालतमै– ‘मेरो मधुबालासँग प्रेम थियो, छ र म जीवित रहुन्जेल उनलाई प्रेम गर्छु’ भने। तर यो सम्बन्धको अन्त भइसकेको थियो।

यो सम्बन्धको अन्त हुनुअघि नै मधुबालाले दिलीप कुमारसँग चलचित्र ‘मुगल ए आजम’मा काम गर्न अनुबन्ध गरिसकेकी थिइन्। त्यसैले सम्बन्ध टुटे पनि यो चलचित्र पूरा गर्न उनी विवश भइन्। यो चलचित्र उनको करिअरको सबैभन्दा महत्वपूर्ण चलचित्र थियो र हिन्दी सिने जगत्को आजसम्मकै एक महत्त्वपूर्ण चलचित्र मानिन्छ। यो चलचित्रको सुटिङ सक्न १० वर्षसम्म काम गर्नुपर्‍यो। यस चलचित्रमा मधुबालाले अनारकलीको भूमिका निभाएकी छन्।

मोहन दीपले आफ्नो किताब ‘द मिस्ट्री एन्ड मिस्टिक अफ् मधुबाला’ मा लेखेका छन्– चलचित्रको कथाका पात्र जस्तै अनारकलीलाई नायक सलीम खानले माया नगरेको जस्तै मधुबालालाई दिलीप कुमारले पनि माया नगरेको, उनीहरूको बीचमा कुनै प्रेमको भाव नभईकन केवल चलचित्रका लागि मात्र काम गरेको अवस्था थियो यो। यसरी यी दुई व्यक्तिबीचको सम्बन्ध चलचित्रको कथाजस्तै भइदियो।

दिलीप कुमार मधुबालादेखि रिसाउने, मधुबालाले पीडामा काम गर्नुपरेकाले गर्दा उनले यस चलचित्रमा सशक्त अभिनय गरिन्, उनको यो अभिनय उनले जीवनभरि सम्पूर्ण चलचित्रमा गरेका अभिनयमध्ये सर्वश्रेष्ठ र परिष्कृत मानिन्छ।

यो चलचित्रको एउटा दृश्यमा नायक सलीम खान (दिलीप कुमार) ले नायिका अनारकली (मधुबाला)लाई थप्पड हान्नुपर्ने हुन्छ। यथार्थ जिन्दगीमा मधुबालाप्रति रुष्ट भएका दिलीप कुमारले आफ्नो रिस पोख्दै साँचै नै यति जोडले थप्पड हान्छन् कि मधुबालालाई ज्यादै पीडा हुन्छ र दृश्य हेर्दा चलचित्र हेरेको होइन, हाम्रो जीवनमा घट्ने साँच्चैको घटना आँखा सामु लाइभ देखेजस्तो लाग्छ। यसरी यो चलचित्र जीवन्त भएको छ।

उनको जीवनमा आएका पुरुषमा अर्का व्यक्तित्व हुन्, पाकिस्तानका भूपू प्रधानमन्त्री जुल्फिकार अली भुट्टो। यो त्यस बखतको कुरा हो, जब भुट्टो प्रधानमन्त्री भएका थिएनन् (१९५०–५७) र मधुबालाको यही विख्यात चलचित्र ‘मुगल ए आजम’को सुटिङ चलिरहेको थियो। त्यस बखत उनी मधुबालालाई भेट्न स्टुडियोमा जाने गर्थे, अनि उनीसँग कतिपटक लन्च खाएको प्रसंग पाइन्छ।

भुट्टो एक अति सम्पन्न परिवारका एक नवयुवक र आकर्षक व्यक्तित्व थिए। भुट्टो मधुबालाको सौन्दर्य र सफलताप्रति मोहित थिए नै, मधुबाला पनि भुट्टोप्रति आकर्षित थिइन्। भुट्टो इरानकी सुन्दरी नुसरत (बेनजिर भुट्टोकी आमा)सँग विवाहित थिए, तर पनि मधुबालाको सौन्दर्य र व्यक्तित्वले उनलाई मोहित पारेको थियो। उनी आफ्नी श्रीमतीको नजर बचाएर मधुबालालाई भेट्न पाकिस्तानबाट बम्बई आउने गर्थे। तर भुट्टोको राजनीतिप्रतिको लगाव र महत्वाकांक्षाले उनी पाकिस्तानमै व्यस्त भए र मधुबालालाई दोस्रो श्रीमती बनाउने उनको चाहना पूरा हुन सकेन।

मधुबाला आफ्ना आमाबाबुकी ११ सन्तानमध्ये पाँचौँ सन्तान थिइन्। उनी सानी छँदा त्यतिखेरका एक नामी ज्योतिषी– ‘कश्मिर वाले बाबा’ले उनका पितालाई भनेका थिए– ‘तिम्री छोरीले धेरै ठूलो नाम, इज्जत, र सम्पत्ति कमाउने छिन्, तर तिम्री छोरीको जीवन दुःखी हुनेछ, उनको धेरैजनासँग असफल प्रेम सम्बन्ध हुनेछ, र उनको वैवाहिक जीवन पनि दुःखी हुनेछ र अल्पायुमै मृत्‍यु हुनेछ।’

भनिन्छ, उनी सानी छँदाखेरी नै उनको मुटुमा प्वाल छ भन्ने कुरा चिकित्सकले पत्ता लगाएका थिए, जुन कुरा उनका पितालाई थाहा थियो तर पिताले यो कुरा कहिले पनि भनेनन्। सन् १९५० मा बिरामी भएका बेला मधुबालाले एक चिकित्सकलाई भेटिन्, अनि मात्र उनले आफ्नो मुटुमा प्वाल रहेको थाहा पाइन्। उनले यो कुरा कसैलाई भनिनन्। चलचित्र जगत्मा पनि उनले यो कुरा रहस्यमै राखिन्। सन् १९५४ मा मद्रासमा उनको ‘बहुत दिन हुए’ नामक चलचित्रको सुटिङ भइरहेका बेला उनी मञ्चमा नाचिरहेकी थिइन्, नाच्दानाच्दै उनको मुखबाट रगत निस्कियो, उनी शिथिल भइन् र ढलिन्। त्यसपछि मात्र उनको बिमारी सार्वजनिक भएको हो।

केही समय आराम गरी उनले फेरि आफ्नो अभिनय यात्रालाई निरन्तरता दिने प्रयत्न गरिन्। अब त उनीसँग सम्पत्तिको पनि कमी थिएन, उनले चाहेको भए आफ्नो अभिनय यात्रालाई किनारा दिन सक्थिन्। तर उनी अभिनय र कलाको क्षेत्रमा यति डुबेकी थिइन्, यति समर्पित थिइन्, उनले आफ्नो बिमारी र स्वास्थ्यको परवाह नै गरिनन्। उनी जहिले पनि हाँसिरहन्थिन्। उनको मुहारमा उदासी कहिले पनि देखिएन। उनले आफ्नो पीडालाई दबाएर दुनियाँलाई मनोरञ्जन दिइन्।

उनका सहकर्मी र ठूला कलाकार देव आनन्दले एउटा अन्तर्वार्तामा भनेका थिए– ‘हामीले कहिले पनि उनलाई दुःखी र उदास देखेनौ। उनी जहिले पनि हाँसिरहेकी, नाचिरहेकी हुन्थिन्। उनमा शक्ति, जोस र जाँगर थियो। यति हुँदाहुँदै पनि अचानक एक दिन उनी शिथिल भइन्।’

‘मुगल ए आजम’को सुटिङ हुँदा उनले फलामको सिक्रीमा जकडिनुपरेको दृश्य दिनुपरेको थियो, त्यो पनि निकै लामो समयसम्म। उनको बिमारी झन्झन् गम्भीर हुँदै गएको थियो तर उनी रोकिइनन्, आफ्नो अभिनय यात्रामा लागिरहिन्। उनको थकित अनुहार र बिरामीजस्तो मुखडाले त्यो चलचित्रमा उनको अभिनयलाई झन् जीवन्त बनायो।

सन् १९५० को प्रारम्भमा उनी यति प्रसिद्ध अभिनेत्री भइन् कि उनलाई हलिउडमा प्रसिद्ध अभिनेत्री मर्लिन मुनरोसँग तुलना गर्न थालियो। हलिउडको चर्चित पत्रिका ‘थियटर आर्टस्’ले अगस्ट १९५२ को अंकमा उनको बारेमा लेख्यो, ‘संसारकै सबैभन्दा ठूलो तारा’ शीर्षकमा।

त्यसपछि हलिउडका बिख्यात फिल्म निर्देशक फ्रान्क काप्रा बम्बई आए। उनले मधुबालालाई भेटी आफ्नो फिल्मका लागि प्रस्ताव राख्ने योजना बनाए। तर दुःखको कुरा दुहुनो गाई आफ्नी छोरी मधुबालालाई गुमाउने डर उनका पिता अताउल्लाह खानलाई भयो र षड्यन्त्र गरी उनले छोरीलाई ती निर्देशकसँग भेट्नै दिएनन्।

डा. नरसिंह कामथले आफ्नो पुस्तक ‘लभ अफेयर्स अफ् एक्ट्रेस मधुबाला’मा उल्लेख गरेका छन्– अब उनले आफ्नो जीवनमा स्थायित्व खोजिरहेकी थिइन्। थुप्रै व्यक्तित्वसँग एक पछि अर्को प्रेमसम्बन्ध चल्दै टुट्दै उनी थकित भइन्। उनी वैवाहिक जिन्दगीमा बाँधिन चाहन्थिन्। यस्तैमा सन् १९५८ मा चलचित्र ‘चल्ती का नाम गाडी’मा उनले सुप्रसिद्ध गायक एवं अभिनेता किशोर कुमारसँग काम गर्ने मौका पाइन्। ततपश्चात् उनको किशोरसँग बिहेको कुरा चल्न थाल्यो।

त्यतिखेर किशोरका केही फिल्म त्यति चलेनन्, उनका गीतले पनि त्यस बखत त्यति बजार लिन सकेनन्। उनलाई आर्थिक संकट आइपरेको थियो। यस्तो अवस्थामा थुप्रै धनराशि आर्जन गरेकी मधुबालाजस्ती सुन्दर र सफल व्यक्तित्वलाई आफ्नी बनाउन पाउनु उनका लागि सौभाग्य थियो।

मधुबालाले पनि आफ्नो जीवनमा स्थायित्व खोजिरहेकी थिइन्। किशोर कुमार जस्ता प्रसिद्ध कलाकार उनको नजरमा एक असल जीवनसाथी हुन सक्थे। यसरी सन् १९६० मा यी दुई कलाकार बिवाहको बन्धनमा बाँधिए। मधुबाला मुसलमान, किशोर कुमार हिन्दू– धर्म नमिलेकाले किशोरका आमाबाबु यो विवाहको विरोधमा थिए। त्यसैले उनीहरूले कोर्ट म्यारिज गर्नुपरेको थियो।

विवाहको तुरुन्तै मधुबालालाई मुटुको इलाज गर्न लन्डन लगियो। त्यतिखेर ओपन हर्ट सर्जरी आइसकेको थिएन। चिकित्सकले शल्यक्रिया गर्न अस्वीकार गरे र उनलाई आफ्नो देश फर्केर आराम गर्न सल्लाह दिए– तिमीले आराम गरेर बसेमा अझै एक वर्ष बाँच्नेछ्यौ।

भारत फर्केपछि बम्बईको एउटा कुनामा किशोर कुमारले एउटा घर किनिदिए र मधुबालालाई त्यहीँ छाडिदिए। मधुबाला कि बहिनी चञ्चलले एउटा अन्तर्वार्तामा भनेकी छन्– किशोर कुमारले आफ्नो स्वार्थपूर्तिका लागि मधुबालासँग बिहे गरे, तर बिहेपछि उनले आफ्नी पत्नीलाई माया गरेनन्, एक्लै छाडिदिए, केवल एउटी नर्स र ड्राइभरको भरमा। उनी दुई महिनामा एकपटक श्रीमतीलाई भेट्न आउँथे।

चिकित्सकले ‘आराम गरे एक वर्ष बाँच्ने’ भने पनि मधुबालाले कलाप्रतिको आफ्नो लगाव छाड्न सकिनन्। उनी एक वर्ष होइन, चिकित्सकको भविष्यवाणीलाई असफल साबित गर्दै नौ वर्ष बाँचिन्। १९६६ मा उनको स्वास्थ्यमा अलिकति सुधार भएको देखिनासाथ उनले फेरि चलचित्रमा अभिनय गर्ने साहस गरिन्। राज कपुरसँगको ‘चालक’ नामक चलचित्रमा अभिनय गर्ने निर्णय गरिन् तर उनी सुटिङको पहिलो दिन नै शिथिल भएर ढलिन्।

‘अब अभिनय गर्न सकिनँ त के भो? चलचित्र निर्देशन गर्छु,’ भनेर उनी अझै पनि लागिपरिन्। १९६९ मा ‘फर्ज और आशिक’ नामक चलचित्रको निर्देशनमा लागिन्। तर चलचित्र पूरा हुन सकेन, उनलाई बिमारीले झन्झन् च्याप्दै लग्यो। उनी शिथिल हुँदै गइन् र आफू यो धर्तीमा आएकै महिना २३ फेब्रुअरी १९६९ मा केवल ३६ वर्षको कलिलो उमेरमै सदाका लागि आँखा चिम्लिन्। 

उनको मृत्‍यु हुनु एक दिनअघि उनले सन्देश पठाई उनका पूर्व र लामो समय सम्मका प्रेमी दिलीप कुमारसँग केवल एकपटक भेट्ने इच्छा प्रकट गरेकी थिइन् तर दिलीप कुमारले मृत्‍यु शड्ढयामा छटपटाइरहेकी पूर्वप्रेमिकालाई दर्शन दिन अस्वीकार गरे।

प्रकाशित: २९ माघ २०७८ ०८:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App