१ पुस २०८१ सोमबार
image/svg+xml
कला

हाम्रा कमरेड

लघुकथा

दिप मंग्राती ‘निरीह’

अग्निप्रसाद पौडेल एउटा स्थापित कम्युनिस्ट नेता, जातीय विभेदको कट्टर आलोचक र विरोधी, उहाँको हरेक भाषणमा प्राय जातीय विभेदको र छुवाछुत प्रथाको उन्मुलनको विषयमा नै केन्द्रित हुन्थ्यो। जातीय विभेद र छुवाछुत सामाजिक अपराध हो। सामाजिक विकासको धमिरा हो। हरेक मानिसलाई समानताको हिसाबले हेर्नुपर्छ। उहाँको भाषण सुन्दा उहाँ जातीय विभेदविरुद्धको महान लडाकु जस्तो लाग्थ्यो।

जनयुद्ध सकियो। नेताहरू चप्पलबाट हिंडेर सिंहदरबार पुगे र निस्किंदा टाइसुटमा निस्किए, पैदलबाट पजेरामा पुगे। जंगलबाट मन्त्रालय पुगे। फुटेका कुर्कुच्चाहरू केही समयमा नै चिल्लोसुकिलो भए। आफ्नै देशका जडीबुटीको बखान गरेर नथाक्ने, जरो आउँदा, सिंगापुर र थाइल्यान्ड उपचार गराउन जाने भए। सरकारी स्कुलको र स्वदेशी पढाइका बखान गर्नेहरू, महँगा प्राइभेट स्कुलमा आफ्ना नानीहरू पढाउन थाले र उच्च शिक्षाका लागि विदेश पठाउन थाले।

आफ्नो काम आफैं गर्ने कम्युनिस्ट नेताहरू अब भान्से, द्वारपाले, माली र लुगा धुने नोकरहरू राख्न थाले।

अग्निप्रसादले आफ्नो पिएलाई भने, ‘कमरेड सूर्य, मलाई एकजना भान्से चाहिएको थियो, श्रीमतीलाई गाह्रो भयो। एउटा खोजम्न।’

–हुन्छ नि कमरेड,म प्रयास गर्छु नि।

अर्को दिन कमरेड हिजो भन्नुभ’को थियो नि भान्से चाहियो भनेर। उहाँ हाम्रै पार्टीकी कमरेड प्रतीक्षा घिमिरे, पहिले जनयुद्धको बेलामा पनि भान्से गर्नुभएको रहेछ। खानपानको राम्रै अनुभव रहेछ। फेरि जनयुद्धपछि अहिले बेरोजगार हुनुहुँदो रहेछ। घरको अवस्था दयनीय छ। उहाँलाई पार्टीले केही गरे जस्तो पनि हुने। हजुरको काम पनि हुने भनेर उहाँलाई नै ल्याएँ। कमरेड सूर्यले बेलीबिस्तार लगाए।

–ल अति राम्रो, कमरेड आफ्नै पार्टीको पनि हुनुहुँदो रहेछ।

भोलिपल्ट पुग्नेबित्तिकै मन्त्री अग्निप्रसाद कड्किए, ‘के हो कमरेड, तपाईले त दलितलाई पो भान्से बनाएर ल्याउनुभएछ त। घिमिरे बाहुन भनेको त कामी घिमिरे पो रहिछे त। दलितले पकाएको भान्सा कसरी खाने। हिजै लखेटिदिएँ मैले!’ 

प्रकाशित: २६ माघ २०७८ ११:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App