३ पुस २०८१ बुधबार
image/svg+xml
कला

स्कुल चाहिंदैन

कविता

प्रेम राई परीक्षित

स्कुलै छेउमा मदिरा पसल

दिनभरि खुलेको छ

त्यसैको छेउमा स्कुलमा चाहिं

भोटे ताल्चा लागेको छ

पढ्न जाउँ भन्यो पढ्न पाइँदैन

अब देशलाई स्कुल चाहिंदैन!

मदिरा पसलमा

जोडीहरू अँगालो हालेर बस्छन्

कोरोना सर्दैन

स्कुलमा स्वास्थ्यको मापदण्ड हुन्छ

त्यसैले

सरकारलाई बच्चा स्कुल गएको मन पर्दैन

गेट बन्द छ सिक्न पाइँदैन

अब देशलाई स्कुल चाहिंदैन!

चुरोटको धुवाँ उडेको छ

चिया पसलहरुमा

नेताहरू गफिएका छन् फोस्रा गफहरूमा

बसमा उभिने ठाउँ छैन

यातायातमा ठेलमठेल छ

मालपोतमा पेलमपेल छ

कोरोना स्कुलमा मात्र छ पस्न पाइँदैन

अब देशलाई स्कुल चाहिदैन!

पार्टीको अधिवेशन चलेको छ

त्यहाँ कोरोना सर्दैन

बजारमा तँछाडमछाड चलेको छ

त्यहाँ कोरोनाले कोही मर्दैन

तर स्कुलभित्र आजकल कोरोना पसेको छ

पढ्न जान पाइँदैन

अब देशलाई स्कुल चाहिंदैन!

लाग्छ, स्कुलका शिक्षक कोरोना हुन्  

उनीहरूले पढाएको ज्ञान ओमिक्रोन हो

बालबालिका बस्ने डेस्कबेञ्चभरि

कोरोनाको डंगुर छ

बाटाचाहिं जाम छ

कोरोना निसास्सिएर मरेको छ

यहाँ गर्न पाइन्छ पढ्न पाइँदैन

अब देशलाई स्कुल चाहिंदैन!

सरकार भन्छ,

स्कुलभन्दा सडक सुरक्षित छ

स्कुलभन्दा भट्टी पसल सुरक्षित छ

अनि स्कुलभन्दा साझा बस सुरक्षित छ

यातायात विभाग र मालपोत सुरक्षित छ

स्कुल जान मनाही छ

त्यसैले स्कुल जान पाइँदैन

अब देशलाई स्कुल चाहिंदैन!

पढेर मान्छे जान्नेसुन्ने भए

पढेर मान्छे कर्तुत बुझ्ने भए

पढेर मान्छे वाइडबडी र ओम्नी बुझ्ने भए

मिलमत्तोमा देश सकिएको बुझ्ने भए

त्यसैले स्कुल जान पाइँदैन

अब देशलाई स्कुल चाहिंदैन!  

प्रकाशित: २२ माघ २०७८ ०२:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App