१७ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
कला

रक्षा

लघुकथा

गंगा खड्का

‘यसपटक बाको श्राद्ध उत्तर बाहिनीमा गएर गर्नुपर्छ रे। अनि बल्ल सोह्र श्राद्ध गर्न मिल्छ रे।’ तिथिको श्राद्ध सकिएको दिन छोराले बुहारीसँग भन्यो। बुहारीले नि खुब मन लगाएर सामान तयार गरी र श्राद्ध सम्पन्न भयो।

‘पौसे औंसीमा बेत्रावती गएर श्राद्ध गर्‍यो भने पितृको उद्धार हुन्छ रे,  जसरी नि जानुपर्छ।’ पौसे औंसीको केही दिनअघि छोराले कुरा उठायो र पौसे औंसीको श्राद्ध पनि सम्पन्न भयो।

‘आमा, गाउँका सबैजना बराहक्षेत्र जाने रे। हामी पनि जाने होइन त? त्यहाँ गएर बाको श्राद्ध गर्ने मन छ। तपाईं टाढाको बाटो जान त सक्नुहुन्छ नि?’

छोराको कुरा भुइँमा खस्नै नपाई बुहारीले भनी, ‘कस्तो कुरा गर्नुभएको? गाउँभरिका मान्छे जान लागेका ठाउँमा हामी नगएर हुन्छ? नगए गाउँलेले कुरा काट्दैनन्?’

‘हुन त तिमीहरूले मनैबाट त के गर्न जानेका छौ र? त्यही देखावटीकै लागि त गर्छौ नि। मेरा बूढा थला पर्दा यसरी नै मन लगाएर उपचार गरेका भए मेरो सिन्दुरको रक्षा त हुन्थ्यो।’ उषाले धोतीको आँचलले आँसु पुछिन्।

प्रकाशित: २४ पुस २०७८ ०३:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App