१२ श्रावण २०८१ शनिबार
image/svg+xml
राजनीति

सगरमाथा दिवसमा भक्कानिए प्रधानमन्त्री, भने ‘आरोही भनेपछि आफ्नै परिवार जस्तो लाग्छ’

आरोही, पर्यटन व्यवसायी लगायतका प्रतिनिधिले खचाखच नेपाल प्रज्ञा-प्रतिष्ठानको सभा हलमा आज ७१ औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसको औपचारिक समारोह सञ्चालन भइरहेको थियो।

आरोही कल्याणकारी कोष बनाउने घोषणा गरेर औपचारिक मन्तव्य समापन गर्नुअघि प्रमुख अतिथि प्रधानमन्त्री पुष्पकमल दाहालले विगत स्मरण गरे।

उनी एक्कासि भक्कानिए। उनको गला अवरुद्ध भयो। आँखा रसाए। केही छिनमा उनी सम्हालिए अनि भने, ‘सगरमाथा आरोहीलाई आज सम्मान गर्ने अवसर प्राप्त भयो। मेरो आफ्नै परिवारका दुई सदस्य छोरा र बुहारीले सगरमाथा आरोहण गरेको हुनाले मलाई आरोही भनेपछि आफ्नै परिवारको सदस्य जस्तै महसुस हुन्छ।’

उनको भावुकताले केही बेर सभा हलका सहभागी सबै भावविहल बने। उनले आरोहीको कल्याणकारी कोष बनाउने कार्यमा सरकारले पहलकदमी लिने प्रतिबद्धता व्यक्त गरे।

उनले भने, ‘आरोहीको हकहित र उनीहरुको सुरक्षाका लागि आरोही कल्याणकारी कोष बनाइयोस् भनिएको छ। हामी (सरकार) अर्थ मन्त्रालयसँग समन्वय गरेर कोष बनाउनेतिर पहल गर्ने विश्वास दिलाउन चाहन्छु, त्यसका साथै पर्वतीय पर्यटन क्षेत्रलाई व्यावसायिकता वृद्धि तथा व्यवसायलाई सहज बनाउन कर छुटको व्यवस्थाका लागि पहल गर्ने विश्वास दिलाउँछु।’

प्रधानमन्त्री दाहालले सगरमाथा दिवसले नेपालको पर्यटकीय आगमन वृद्धि गर्न, हिमालको संरक्षण गर्न, हिमाली क्षेत्रमा भइरहेको फोहर न्यूनीकरण गर्न एवं जलवायु परिवर्तनले हिमाली क्षेत्रमा पारेको प्रभाव न्यूनीकरण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।

सगरमाथाबाट आरम्भ भएको हिमाल आरोहणको यात्रा नेपाललगायत विश्वका विभिन्न हिमशिखरहरूको आरोहण हुँदै विश्वव्यापी फैलिएको उल्लेख गर्दै सरकारले हिमाल आरोहणलाई सुरक्षित र आरोहीहरुको आत्मसम्मानलाई उच्च प्राथमिकता राखेर नीति तथा कार्यक्रम तर्जुमा गर्ने जानकारी दिए।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले प्रधानमन्त्रीले सरकार प्रमुखको हैसियतले घोषणा गरेको आरोहीको कल्याण कोष गठन गर्ने विषयलाई पर्यटन मन्त्रालयकोतर्फबाट औपचारिक प्रस्ताव अगाडि बढाइने उल्लेख गरे।

सरकारले आगामी वर्ष १६ लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको र यसलाई सफल बनाउन पर्यटन क्षेत्रका सरोकारवालासँग सहकार्य र समन्वयकासाथ लक्ष्य पुरा गर्न पहल गर्ने पर्यटनमन्त्रीको भनाइ थियो।

पर्यटनमन्त्री तामाङले नेपालको समग्र पर्यटन र विशेषतः पर्वतीय पर्यटनमा देखापरेको समस्या समाधानका लागि सरकार तत्पर रहेको बताए।

उनले बढ्दो तापमान र हिमाली क्षेत्रमा बढ्दो मानवीय गतिविधिका कारण वातावरणमा परेको नकारात्मक प्रभावलाई सन्तुलन कायम गर्न सगरमाथाको आधार शिविरको समग्र अध्ययनका लागि कार्यदल बनाइसकिएको र त्यसले चाँडै प्रतिवेदन सरकारलाई बुझाउने जानकारी दिए।

उनले प्रतिवेदनका आधारमा अघि बढ्ने बताए। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले सगरमाथाको संरक्षण र प्रवर्द्धनमा प्रदेश सरकारले सङ्घीय सरकारसँगको समन्वय र सहकार्य प्रभावकारी रहने विश्वास व्यक्त गरे।

उनले जलवायु परिवर्तनको जोखिमबाट हिमाल संरक्षणका लागि पहल गरिनुपर्नेमा जोड दिए।

सगरमाथा दिवस निरन्तर मनाइने

सरकारले अन्तर्राष्ट्रिय सगरमाथा दिवसलाई विशेष दिवसका रुपमा मनाउने भएको छ।

विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पहिलो मानव पाइला टेकेको दिनलाई अर्थात् प्रत्येक वर्ष मे २९ तारिखलाई सगरमाथा दिवसका रुपमा मनाइने भएको हो।

सन् १९५३ मा नेपाली तेन्जिङ नोर्गे शेपा र सर एडमण्ड हिलारीले सगरमाथाको चुचुरोमा पहिलो पाइला टेकेको ७१ वर्ष पुगेको छ। सोही आरोहण स्मरण गर्दै सगरमाथा दिवस मनाउने निर्णय गरिएको हो।

सन् २००८ देखि नेपालमा सगरमाथा दिवस मनाउन थालिएको थियो। अघिल्लो वर्ष १६औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसकारुपमा मनाइएको थियो।

सरकारले यो वर्षदेखि सगरमाथा आरोहण सुरु भएको वर्षदेखिकै अवधिलाई जोडेर ७१औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाएको हो।

अन्तर्राष्ट्रिय जगतमा सगरमाथा आरोहण सुरु भएको दिनलाई नै सगरमाथा दिवसका रुपमा मनाउने गरिएको छ। सगरमाथाको गौरव, पहिचानलाई विश्वभर फैलाउन आरोहण सुरु भएको दिनलाई मान्यता दिई नेपालमा अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाउन सुरु गरिएको हो।

सरकारद्वारा सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा मङ्गलबार प्रस्तुत आर्थिक वर्ष २०८१र०८२ को बजेटमा प्रत्येक वर्ष मे २९ लाई सगरमाथा अन्तर्राष्ट्रिय विशेष दिवसका रुपमा मनाउने घोषणा गरिएको छ।

दिवसका अवसरमा हिमाली पर्यटन प्रवर्द्धनमा विशिष्ट योगदान पुर्‍याउने स्वदेशी तथा विदेशी व्यक्ति, सङ्घसंस्थालाई सम्मान गरिने जनाइएको छ।

सगरमाथा आरोही सङ्घका महासचिव शिवबहादुर सापकोटाले सरकारले आरोही कल्याण कोष घोषणा गरेको विषयले आरोहीको मनोबल उकासेको र साहसिक पर्यटनका निम्ति महत्त्वपूर्ण फड्को भएको उल्लेख गरे।

उनले सङ्घको लामो पहलपछि आरोहीलाई परिचयपत्र दिन सुरु गरिएको भन्दै सरकारको निर्णयबाट पर्वतारोही र पर्वतारोहण क्षेत्र हर्षित भएको प्रतिक्रिया दिए।

कार्यक्रममा सगरमाथा आरोहणमा कीर्तिमान कायम गर्ने आरोही एवं सरोकारवालालाई सम्मान गरिएको थियो। हालसम्म आठ हजारभन्दा बढीले सगरमाथा आरोहण गरिसकेका छन्। विभिन्न कीर्तिमान कायम भएका छन्।

अन्तर्राष्ट्रिय सगरमाथा पुरस्कार लाक्पा सोनाम शेर्पालाई

नगद एक लाख राखिएको अन्तर्राष्ट्रिय सगरमाथा पुरस्कार वरिष्ठ पर्यटन व्यवसायी एवं आरोही लाक्पा सोनाम शेर्पालाई प्रदान गरिएको छ।

शेर्पा पाँच दशकदेखि पर्यटन तथा पर्वतारोहण क्षेत्रमा सक्रिय छन्। उनले विगत २५ वर्षदेखि एयरलाइन्स व्यवसायमार्फत पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याएका छन्।

यस्तै नगद ५० हजार राशिको तेञ्जिङ हिलारी पुरस्कार आरोहीहरु पेमा छिरिङ शेर्पा, नरेन्द्र साही, ग्याल्जे शेर्पा, ल्हाक्पा डेण्डी शेर्पा र आङ्ग सार्की शेपालाई प्रदान गरिएको छ। 

आरोहीलाई ब्याच तथा परिचयपत्र

त्यसैगरी सगरमाथा आरोहीलाई ब्याच तथा परिचयपत्र प्रदान गरिएको छ।

सगरमाथा आरोही सङ्घका महासचिव माया शेर्पा, महासचिव शिवबहादुर सापकोटा तथा आरोही दावा स्टेफन शेर्पा, मिङ्मा ग्याबु शेर्पा, फुञ्जो झामु शेर्पा, बिना मगरलाई साङ्केतिकरुपमा परिचयपत्र दिइएको हो। यो वर्ष करिब पाँच सयलाई परिचयपत्र दिइने जनाइएको छ।

त्यस्तै ब्याच तथा परिचयपत्र नेपालीतर्फ मिङ्मा शेर्पा, सरल सहयात्री पौडेल, कर्मा तेञ्जिङ, लाक्पा शेर्पा, सोना शेर्पा, दावा याङ्जु शेर्पा, नाडसाल छयोटोन लामा तथा विदेशीमा भारत, अष्ट्रेलियन आरोही अलि पेप्परसहित भारत, बुल्गेरिया, विभिन्न सात आरोहीलाई ब्याच र परिचयपत्र प्रदान गरिएको छ।

सगरमाथा नामाकरण गर्ने इतिहासविद् बाबुराम आचार्यलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको छ।

ब्याच तथा परिचयपत्र र विभिन्न अवार्ड प्रधानमन्त्री दाहालले प्रदान गरेका थिए। यसै वर्षदेखि सुरु भएको ७५ राशिको इतिहास शिरोमणि बाबुराम आचार्य पुरस्कार नापी विभागका नापी अधिकृत एवं आरोही खिमलाल गौतमलाई प्रदान गरिएको थियो।

कोशी प्रदेश सरकारकातर्फबाट विभिन्न पाँच आरोहीलाई पुरस्कृत गरिएको थियो।

पर्यटन विभागका अनुसार यस वर्षको याममा सगरमाथा आरोहणका लागि चार सय २४ ले अनुमति लिएकामा आरोही र शेर्पा सहयोगी गरी छ सयभन्दा बढीले सगरमाथा आरोहण गरेका छन्। -सिबी अधिकारी/रासस

प्रकाशित: १६ जेष्ठ २०८१ २०:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App