१९ मंसिर २०७९ सोमबार
कला

बालसाहित्यः हिजो र आज

बालसाहित्यको प्रथम उद्देश्य बालकहरूलाई रमाईरमाई पुस्तक पढ्ने बानीको विकास गर्नु र गराउनु हो। साहित्यले सामाजिक सद्भाव, सांस्कृतिक अन्तर्घुलन, प्रकृतिसित तादात्म्य, श्रमप्रति सम्मान भाव, आत्मविश्वास जस्ता अनेकौं पाटामा सकारात्मक परिवर्तन ल्याउन सक्छ। उनीहरूको जीवनपद्धति सभ्य शिष्ट भई सोच्ने क्षमता बढाउँछ। प्राणीहरूप्रति सहिष्णु रहेर देशप्रेमी भावना जागृत गराउँछ।

बालबालिकाकको वृत्ति विकास, सर्वाङ्गीण विकासका लागि बालसाहित्यको स्थान बेग्लै छ। अहिलेका नाम चलेका थुप्रै साहित्यकार बालसाहित्य नै पढेर हुर्केका पुस्ता हुन्।

उसै त साहित्य कहिल्यै पनि बासी हुन्न, त्यसमाथि बालसाहित्य सदाबहार हुने गर्दछ। यही सदाबहार साहित्यको रूपमा रहेको बालसाहित्यप्रति पछिल्लो पुस्ता मात्र नभएर पुरानो पुस्ता समेत आर्कर्षित भएका छन्।

बालसाहित्यप्रतिको पछिल्लो प्रवृत्तिले पनि त्यही देखाएको छ भन्दा फरक पर्दैन किनकि यो क्षेत्रमा नाम चलेका साहित्यकारहरूले समेत यसमा हात हाल्न थालेका छन्। यसको मुख्य कारण हो, बालसाहित्यप्रतिको आर्कषण र सम्भावना।

लेखक / प्रकाशक पवन शाक्य

बुक्स हिमालयका प्रकाशक एवं लेखक पवन शाक्य नेपालमा बालसाहित्यको अवस्था राम्रो भएको देख्छन्। यही सम्भावना देखेरै उनी यो क्षेत्रमा लागेको बताउँछन्। उनी भन्छन्, ‘स्कोप धेरै छ। सरकारी स्तरबाटै बालसाहित्यलाई जोड दिँदै प्रत्येक स्कुलमा बाल लाइब्रेरी बनाउने कार्य सराहनीय छ।’

तर त्यति मात्र नेपाली बालसाहित्यको आवश्यकता पूर्ति नहुने उनको ठम्याइ छ। उनले नेपालमा रहेका बालसाहित्यकारहरूले आआफ्नै हिसाबले धर्म निर्वाह गरे पनि नेपाली संस्कृति, सभ्यता समेटिने विषयका बालसाहित्य आउनुपर्नेमा उनको जोड छ।

बालसाहित्य प्रकाशन गर्न सजिलो अवस्था नबनेको प्रकाशक शाक्यको ठहर छ। उनी भन्छन्, ‘बालबालिकाको मनोविज्ञान समेटेर कृति प्रकाशन गर्नु चुनौतीपुर्ण छ। लेखकले राम्रो प्रकाशक पाउन र प्रकाशकले राम्रो लेखक भेटाउन मुस्किल छ।’

बालसाहित्यकार ललिता दोषी

यस्तै बालसाहित्यकार ललिता दोषी पनि अहिलेको बालसाहित्यको अवस्था पहिलाको तुलनामा राम्रो भएको स्वीकार्छिन्। उनी आफ्नो स्वीकारोक्तिलाई यसरी पुष्टि गर्छिन्, ‘बजार पाएर नै प्रकाशकहरू प्रकाशन गर्न लाग्नुभएको हो भन्ने मलाई लाग्छ।’

उनले सुन्दर सिर्जना नै परिवर्तनको वाहक भएकाले काँचो माटोसरहका बालबालिकाहरूका लागि सिर्जना आवश्यक भएको बताउँछिन्। उनले बालसाहित्यले बालबालिकाको बानीव्यवहार, खानपान आदिमा परिर्वतन ल्याउने भएकाले बालसाहित्यको महत्त्व कम नहुने उल्लेख गरिन्।

 लेखक गंगा कर्माचार्य

लामो समयदेखि बालसाहित्यमा लागिरेहेकी गंगा कर्माचार्य पौडेलले बालसाहित्यको विषयमा छुट्टै खोज–अनुसन्धान र अध्ययनको जरुरी रहेको बताइन्।

‘नेपाली बालसाहित्यको अहिलेको अवस्थाका बारेमा न सरकारी तवरबाट न त संघसंस्था,निजी तवरबाट नै खोजअनुसन्धान भएको छ।’

उनले अहिले बालसाहित्यको अवस्था आशलाग्दो भएको अनुभव सुनाइन्। ‘केही वर्षपहिले बालसाहित्य लेख्ने सर्जकको नाम  औंलामा गन्न सकिने अवस्था थियो भने अहिले सिंगै बत्तीसपाने कापीमा नअटाउने भएको छ। बालसाहित्यको पुस्तक परिमाणमा मात्र होइन लेखनमा समेत स्तरोन्नत्ति भइरहेकै छ’ उनी भन्छिन्।

बालसाहित्यप्रति बढ्दो रुचिसँगै यसको महत्त्वलाई बुझेर स्कूलका कोर्सबुकको साथसाथै सहायक पाठ्यपुस्तकका रूपमा बालसाहित्यलाई समावेश गर्दा, बालसाहित्यका पुस्तकको बिक्री बढेको उनको भनाइ छ।

बालसाहित्यको माध्यमबाट बालबालिकामा सकारात्मक सोच ल्याउन सकिने र त्यसले नैतिक शिक्षा प्रदान गर्ने भएकाले बालबालिकाको असल चरित्र निर्माणमा बालसाहित्यको भूमिका अहम् हुने उनको ठहर छ।

अनुराधा शर्मा

बालसाहित्यकार अनुराधा शर्माले बालसाहित्यका धेरै राम्रा नेपाली पुस्तकहरू बजारमा उपलब्ध हुँदै जानुले पनि यो क्षेत्र सुधारोन्मुख हुँदै गएको बताइन्। उनले नेपाली बालसाहित्यको अन्य भाषामा अनुवाद हुन थाल्नु बालसाहित्यको क्षेत्रका लागि राम्रो संकेत भएको बताइन्।

‘पहिलेभन्दा लेखन र पुस्तक उत्पादनको गुणस्तर पनि बढेको हामी अभिभूत गर्न सक्छौं। बालसाहित्यमा देखापरेको विकासले गर्दा प्रतिभाशाली लेखकहरूलाई यस क्षेत्रमा आकर्षित गरेको छ र थप पुस्तकहरूको प्रकाशनलाई सम्भव बनाएको छ’, उनी भन्छिन्।

यो अवस्था भए पनि बजारमा आएका सबै बालसाहित्यले आफ्नो धर्म निर्वाह गर्न नसकेकोमा उनी दुःख व्यक्त गर्छिन्। बालबालिकाका प्रारम्भिक पुस्तकहरूमा विविधता र मनोवैज्ञानिक पक्षहरूको पर्याप्तताको कमी महसुस गरेकी शर्माले बालसाहित्यमा अध्याय पुस्तकको अभाव खड्किएको बताउँछिन्।

उनले बालसाहित्यको माध्यमबाट बालबालिकामा आधारभूत भाषा सीपहरू विकास गर्न र उनीहरूको शब्दभण्डारलाई विस्तार गर्न मद्दत गर्न सकिने उल्लेख गरिन्। ‘यसका साथै बालसाहित्यले उनीहरूलाई आफू र संसारलाई बुझ्न पनि धेरै सहयोग पुर्‍याउँछ’, उनी भन्छिन्, ‘बालबालिकामा सकरात्मक परिवर्तन ल्याउन बालबालिकालाई बालसाहित्यमा पहुँच दिनु र बालसाहित्यप्रतिको प्रेम विकास गर्न अत्यन्त महत्त्वपूर्ण छ। यसका लागि शिक्षक र अभिभावकहरूले महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्छन्।’

प्रकाशक  केशवप्रसाद पराजुली

भुँडीपुराण प्रकाशनका केशवप्रसाद पराजुलीका अनुसार २ वर्षदेखि बालसाहित्यको बजार सामान्य छ। ‘फिजिकलभन्दा डिजिटल माग बढेको छ। बिस्तारै अभिभावकले पनि बालसाहित्यको महत्व बुझ्दै गएका छन्।’

बालसाहित्यकार दिनमान गुर्मछान ‘दिगु’

बालसाहित्यकार दिनमान गुर्मछान ‘दिगु’ भने बालसाहित्यको अवस्था दयनीय रहेको बताउँछन्। उनी कारण सुनाउँछन्, ‘बालबालिकालाई लक्षित गरेर लेखिएको साहित्य नै बालसाहित्य भएकाले अचेलको बालसाहित्यको अवस्था दयनीय छ। बालबालिकालाई लक्षित गरेर लेखिँदा पनि उनीहरुको बालमनोविज्ञानलाई ध्यान दिइएको देखिँदैन। यसरी जबर्जस्ती लेखिएको बालसाहित्यले बालबालिकाले के सिक्ने भन्ने कुरा गम्भीर प्रश्न बनेको छ।’

यति मात्र हैन, अभिभावक नै बालबालिकाका लागि बालसाहित्यका पुस्तक खरिद गर्न हिचकिचाउने उनको भनाइ छ। उनी भन्छन्, ‘पुस्तक पसलले बालसाहित्यका पुस्तक राख्न पनि इच्छा गर्दैनन्। यस्तो छ अहिलेको अवस्था जसले बालसाहित्यलाई थोरै मात्र सहयोग पुगेको छ।’ 

उनी बालसाहित्यमा पनि कर्पोरेट माग पसेको बताउँछन्। ‘आजको अवस्थामा प्रकाशकको निर्देशनअनुसार लेखिएका ती सबै बालसाहित्यले आफ्नो धर्म निर्वाह गरेका छन् भनेर कसरी भन्न सक्ने?’, उनको प्रश्न छ।

बालसाहित्यका अन्वेषक प्रमोद प्रधान

यसैगरी बालसाहित्यका अन्वेषक प्रमोद प्रधान बालसाहित्यको अवस्थालाई विभिन्न आयामसँग जोड्नुपर्नेमा जोड दिन्छन्। ‘यसको लेखन, चित्राङ्कन, सम्पादन, प्रकाशन र विक्री वितरण लगायत समग्र अवस्थालाई हेर्नुपर्छ’, उनी भन्छन्, ‘लेखन, चित्रण, सम्पादन र प्रकाशनका दृष्टिले बालसाहित्यको अवस्था राम्रै छ।’

यो अवस्था बन्दा पनि उनी सन्तुष्ट छैनन्, किनकि अन्वेषक प्रधानले यसभित्र पनि समस्या देखेका छन्। उनी भन्छन्, ‘सबै पक्षमा गुणस्तरीयताको आवश्यकता देखिएको छ। परम्परागत लेखनबाट मुक्त भएर विषयगत र विधागत विविधता एवं शैलीगत नवीनतातर्फ जानुपर्ने आवश्यकता भने उत्तिकै छ।’

यति मात्र हैन, उनी अगाडि भन्छन्, ‘बालसाहित्य जसले लेखे पनि हुन्छ, तर त्यो बालसाहित्यको सैद्धान्तिक आधारमा टेकेर लेखिएको हुनुपर्छ। अहिले बालबालिकाहरूले लेखेको साहित्यलाई पनि बालसाहित्य भन्ने गरिएको छ। तर, त्यसको अध्ययन गर्ने परम्परा हामीकहाँ सुरु नै भएको छैन। बालबालिकाले लेख्दैमा सबै बालसाहित्य हुँदैनन्।’

उनले समग्र साहित्यमा जस्तै बालसाहित्यको बजारमा कोरोना संक्रमणले पनि प्रभाव पारेको बताए। उनले बालपुस्तकको विक्री स्तरीयताको आधारमा नभई सम्पर्क र कमिसनको आधारमा तय हुने गरेको यथार्थ सुनाउँदै भने, ‘बालपुस्तक खरीदकर्ताहरूमा बालसाहित्यबारेको ज्ञान नहुनु पनि अर्को समस्या हो।’

बालसाहित्यले बालबालिकालाई मनोरञ्जनका माध्यमबाट जीवनोपयोगी ज्ञान र जगतसम्बद्ध सूचना र जानकारीहरू दिनेमा सहमत छन् र त्यस्ता साहित्य बजारमा आउनुपर्ने उनको माग छ। ‘केटाकेटीहरूलाई खेलौना होइन, ‘पुस्तक खेलौना’ दिनुपर्छ र त्यसको उत्पादनतिर हाम्रो ध्यान जानुपर्छ।’

प्रकाशक एवं लेखक विजयराज आचार्य

विवेक सिर्जनशील प्रकाशन प्रालिका प्रकाशक एवं लेखक विजयराज आचार्यका अनुसार अहिलेका नानीहरू शिक्षित अभिभावकका भाग्यमानी सन्तान हुन्। अहिलेका अभिभावकहरूले नानीहरूलाई  जति पढाए उति सिर्जनशील हुन्छ भन्ने कुरा बुझेका छन्।

कोरोनाले धेरै मान्छेलाई सिर्जनशील बनाएको छ। रक्सी खानुभन्दा किताब पढ्दा तनाव कम हुन्छ भन्ने बोध गराएको छ। त्यसैले अहिले समग्र साहित्यको पाठक बढेको छ। 

अहिले ‘स्टोरी थेरापी’को विकास भएको छ। रिसाउँदा के हुन्छ, घमन्ड गर्दा के हुन्छ जस्ता गलत आचारण हटाउन ‘स्टोरी थेरापी’को प्रयोग गरिन्छ।

विद्यालयलले बच्चा आफैंलाई कथा लेखन, निबन्ध लेखन जस्ता विविध गतिविधिमा सहभागी गराएर हाम्रो विद्यालय फरक विद्यालय देखाउने ट्रेन्ड चलेको छ। जन्मदिन जस्ता विभिन्न शुभकार्यमा पैसा र खेलौनाको सट्टा बाल पाठ्यपुस्तक नै उपहार दिने प्रवृत्ति बढेको छ।  यसैले पनि बालसाहित्यको क्षेत्र फस्टाउँदै गएको छ।

 लेखकप्रकाशक रामदेव पाण्डे

ऐरावती प्रकाशन प्रालिका प्रकाशक तथा लेखक रामदेव पाण्डे बालसाहित्यको अवस्था खस्केको बताउँछन्। कोरोना महामारी फैलिएपछि बालसाहित्य मात्र हैन सबै खाले पुस्तकको बजार खस्केको छ। विद्यार्थी घटेका हुन् कि पुस्तक नकिनेका हुन्, खोजीको विषय बनेको छ। कोरोनाअघिको बढ्दो बजार सम्झिँदा कोरोना थामिएपछि बालसाहित्यले पुनः गति लिने आशा छ।

पाण्डे भन्छन्, ‘सच्चा बालसाहित्यले बालबालिकालाई अध्ययनशील, नैतिकवान् र बौद्धिक बनाउन सकिन्छ। मोबाइल तथा विद्युतीय गेमहरूको खराब लतबाट मुक्त गर्न सकिन्छ। तर, बालसाहित्य भनेर प्रकाशित २५ प्रतिशत जति पुस्तक बालसाहित्य भन्न नमिल्ने खालेका छन्। कतिपय त बालबालिकालाई पढाउन हुँदैन भन्नैपर्ने खालका छन्। बालबालिकाले लेखेको बालसाहित्य हुने र ठूलाले लेखेको बालसाहित्य नहुने भन्ने हुँदैन। विषयवस्तु, प्रस्तुति, शैली आदिले बालसाहित्य हो हैन छुट्याउन सकिन्छ।

बालसाहित्यकार घनबहादुर थापा

बालसाहित्यकार घनबहादुर थापाका अनुसार अहिले बालसाहित्यको अवस्था निकै राम्रो छ। चित्र हेर्दै रमाउँदै पढ्न पाइने सामग्रीले बालसाहित्यको अवस्था सुध्रिएको छ।  कोभिड–१९ को कारण सुस्ताएको बजार अहिले उठ्ने क्रममा छ। समयानुकूल पाठ्यक्रम परिमार्जन भइरहेको छ। यसले अहिलेका बालबालिकाको रुचि समेट्न सकेको छ।

बालसाहित्यकार सूर्यप्रसाद लाकोजू

बालसाहित्यकार सूर्यप्रसाद लाकोजू बालसाहित्य लेख्न सजिलो नभएको बताउँछन्। उनी भन्छन्, ‘बालसाहित्य लेख्न त्यत्ति सजिलो छैन। यो आफैंमा चुनौतीपूर्ण कार्य हो। यो हेर्दा सहज लागे पनि त्यस्तो छैन। बालबालिकाहरूका लागि लेखिने भएकाले धेरै विषयमा विचार पुर्‍याउनुपर्छ।’

उनले नेपालमा साहित्यको बजार ठूलो नभए पनि बालसाहित्यको बजार भने अलि फराकिलो भएको बताए।

बालसाहित्यकार दामोदर न्यौपाने

बालसाहित्यकार दामोदर न्यौपानेका अनुसार बालसाहित्यको अवस्था धेरै राम्रो हुँदै गएको छ। उनका अनुसार यसको बजार बढ्दै पनि गएको छ। बालबालिकाले पनि पढ्ने प्रवृत्ति बढ्दै गएको छ। अभिभावकले नानीबाबुलाई बालसाहित्य किनिदिने गरेका छन्। स्कुलले पनि बालसाहित्यलाई महत्त्व दिएको छ। कतिपय स्कुलले सन्दर्भ सामग्रीमा राख्न थालेका छन्।

बालसाहित्यकार छायादत्त न्यौपाने

बालसाहित्यकार छायादत्त न्यौपाने नेपाली बालसाहित्य बालप्रिय बन्दै गएको बताउँछन्। यतिबेला बालसाहित्य पढिने विषय बनेको छ। अभिभावकले छोराछोरीलाई पाठ्यपुस्तकको साथसाथै सन्दर्भ पुस्तक पनि पढाउनुपर्छ भन्ने जिम्मेवारीबोध गर्ने चेतना बिउँझेको छ। सरकारी पाठ्यक्रमले पनि पाठ्यपुस्तकमा दिइने सीमित कथा, कविता, निबन्ध, नाटक, संवादले बालकलाई साहित्यिक पाठ्यसामग्री पुग्दैन र जिज्ञासा मेटिंदैन भनेर महसुस मात्र गरेको छैन, वैकल्पिक उपायमा चासो दिएर ऊ पनि बिउँझेको सूचना दिएको छ। यो नेपाली बालसाहित्य, यसका पाठक, अभिभावक र स्रष्टाको लागि सुखद् पक्ष हो। 

प्रकाशित: १८ पुस २०७८ १५:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App