९ माघ २०७८ आइतबार
कला

पुरानो पुल

कथा

‘दाइ, एउटा चुरोट दिनुस् त!’

(धूम्रपान स्वास्थ्यका लागि हानिकारक छ।)

५० रूपैयाँको नोट दिँदै मैले चुरोट मागेको थिएँ। उनले चुरोटको ब्रान्ड सोध्दै नसोधी सुनौलो रङको बट्टाबाट एक खिल्ली निकालेर दिए–सूर्य लक्जरी किंग्स, सायद काठमाडौंमा सर्वाधिक बिक्री हुने चुरोट।

मैले चुरोट ओठले च्यापेँ, सल्काउनका लागि सलाईको मागस्वरूप दुवै हातले इसारा गरेँ। उनले छेवैको एउटा गोलो ढुंगामाथि बडो जतनले राखिएको कपडाको टुक्रालाई उठाए। सुती कपडालाई डोरी पारेर त्यसको एकछेउमा आगो सल्काइएको रहेछ, धुवाँ पुतपुताइरहेको थियो। सेतो खरानीले छोपिएको त्यस कपडालाई उनले रातो आगो देखिने गरी फुके र मलाई दिए।

सानो लगानीको ‘नाङ्लो पसल’ घाटामा नजाओस् भन्ने हेतुले उनले यो विधि अपनाएका थिए।

‘चुरोट सल्काउने विधि त काइदाको रैछ!’ मैले एक सर्को चुरोटको धुवाँबराबर सस्तो वाक्य बोलेँ। बेरोजगारहरू सस्तो संवाद धेरै गर्छन्।

‘सलाई र लाइटर दियो, कसैले झुक्किएर गोजीमा हाल्छ, घाटा लागिहाल्छ,’ उनले व्यापारिक भाषा बोले।

एउटा प्रयत्नले लिइएको चुरोटको गहिरो सर्कोको धुवाँलाई विनाप्रयत्न छाडिदिँदै म बोलेँ, ‘कति भयो दाइ, तपाईंले यो पेसा गर्न थालेको?’

‘एक वर्षजति भयो। भूकम्पपछि हो। भूकम्पले गाउँको घर ढल्यो, बूढी पनि भूकम्पमै...।’

उनी यसअघि बोलेनन्।

उनको छेवैमा दुईवटा कागजका टुक्रा खसेका थिए, टिपेर हेरेँ। एउटा थियो, उनकै नागरिकता।

नामथर: दशैँबहादुर नेपाली।

जन्मस्थान :वागमती अञ्चल, धादिङ जिल्ला...।

जन्ममिति :२०१५ असोज २०।

अर्को थियो- एउटा तस्बिर, जसमा उनले आफ्नै उमेरकी वृद्धालाई सडकमा उभिएर हातले मःमः खुवाउँदै थिए। पृष्ठभूमिमा ठेलावाला मःमः पसल देखिएको थियो। मःमः खाँदै गरेकी वृद्धा बेसरी लजाएकी थिइन्। अनुमान लगाउन सकिन्थ्यो– यी दुई दम्पती हुन्।

दाइ! तपाईंको नागरिकता र फोटो राख्नुस्। यहीँ खसेको थियो।

उनले अनुहारमा केही फरक परेको भाव ल्याए। मानौँ, उनको खल्तीबाट यी कागजात खस्नै हुँदैनथ्यो, अझ अरूले हेर्नै हुँदैनथ्यो। यति धेरै महत्त्वपूर्ण चिज उनको खल्तीबाट कसरी खस्न पुग्यो? सायद, जिन्दगीमा धेरै जतन गरेको चिज नै कतै खस्न पुग्छ।

‘दाइ–भाउजूको फोटो हो?’ मैले सोधेँ।

उनी केही बोलेनन्, कुखुरे बैंसका केटाकेटीजस्तो लजाए मात्रै। अलि असहज भएजस्ता पनि देखिन्थे। अलि अगाडि भन्दै थिए– बूढी पनि भूकम्पमै...।

चारवटा इँटालाई दुई तह पारेर बनाइएको पिर्कामाथि वाइवाई चाउचाउको कार्टुन बिछ्याएर सिद्धासन स्थितिमा बसेका थिए– नाङ्लोपसले दशैँबहादुर।

बुढ्यौलीले उनको अनुहारमा बस्ती बसाउन सुरु गरिसकेको थियो, तर पहिरनले उनको बुढ्यौलीलाई अलिकति ओझेलमा पारेको आभास हुन्थ्यो। करिब ५८ केजी तौलको, पाँच फिटभन्दा केही अग्लो पातलो शरीरमा उनले टम्म मिलाएर लुगा लगाएका थिए। टाँक नलगाई खुला छाडिएको कालो स्टकोट, खैरो सर्ट, गाढा नीलो पाइन्ट, खैरो रङको गोल्डस्टार जुत्ता, आँखाको घाम छेक्ने पालीवाला टोपी, चस्माबिनाको तीखा नजर, झुस्स देखिने दुईतिहाइ फुलिसकेका दाह्रीजुंगा, यी सबैले संकेत गथ्र्यो– बूढाको हाडभित्रको मासी अझै गलेको छैन।

मैले चुरोटको धुँवामा रुमलिँदै सोधेँ–तपाईंको नाम दशैँबहादुर कसरी रह्यो?

– दशैँको टीकाको दिन जन्मेको भएर सानोमा मलाई सबैले दशैँ केटो भन्थे रे। पछि नामै यही रह्यो। बाबु, पत्रकार हो?

होइन, किन र दाइ?

त्यस्तै लाग्यो। पत्रकारहरूले जस्तो के के सोध्नु भो र ! इस्टकोटको भित्री खल्तीमा नागरिकता र फोटो जतनले राख्दै उनी बोले– मलाई त अहिलेसम्म कुनै पत्रकार सोध्न आएका छैनन् तर मेरा साथीहरूलाई पत्रकारले हैरान पारेका छन्– तपाईंले सडकमा मकै–भटमास बेच्न थालेको कति भयो? तपाईंका छोराछोरी छन् कि छैनन्? यसबाट कति कमाउनुहुन्छ? यस्तै सोधेर हैरान पार्छन्। भिडियो खिचेर, फोटो खिचेर हाम्रा दुःख दुनियाँलाई देखाउँछन्। यस्तो किन गर्नुपर्‍यो? कोही यहाँ रहरले त आउँदैन होला। समाजलाई सोधून्, राज्य–सत्तालाई सोधून्– किन कोही सडकमा आउन बाध्य हुन्छ भनेर। सडकमा केटाकेटीदेखि बूढाबूढी, तन्नेरीहरू पनि आएका छन्, आउँदै छन्...।

समाजलाई सोधून्, राज्य–सत्तालाई...। शब्द प्रयोगको कसीमा जाँच्दा यी दाइ पक्कै पनि माओवादी पृष्ठभूमिको हुनुपर्छ– म यस्तै सोच्दै थिएँ।

उनी बोल्दै गए– गरिबका कथा धनीले पत्रपत्रिका, महँगो मोबाइल र टिभीमा हेरेर मात्रै के हुन्छ?

उनले पछिल्ला अनलाइन र युट्युबरहरूलाई संकेत गर्दै थिए।

‘समाज, सरकार र नीति–नियम बनाउनेलाई देशको अवस्था थाहा हुन्छ नि दाइ! गरिबका लागि नीति–कार्यक्रम ल्याउन सहज हुन्छ,’ मैले भनेँ।

गरिबलाई कनिका बाँडेर हुँदैन, खेत बाँड्नुपर्छ, सुविधा बाँड्नुपर्छ– बूढाले जोड दिएर आक्रोशपूर्ण ढंगले भने।

म निश्चिन्त भएँ– यी बूढा पक्कै माओवादीबाट प्रशिक्षित छन्। मैले उनको राजनीतिक पृष्ठभूमि कल्पना गर्दै थिएँ, मेरो मोबाइलको घन्टी बज्यो। उनलाई बिदाइको हात हल्लाएँ र फोनमा कुरा गर्दै त्यहाँबाट हिँडेँ– एक वरिष्ठ पत्रकारलाई भेट्नु थियो, जागिरका लागि।

खाजामा पोलेको मकै खाने निर्णय गरेँ।

दिमागमा एउटा उपन्यास, दुईवटा कविता संग्रह, तीनवटा कथासंग्रह बोकेर हिँडेको छु। डायरी र कम्प्युटरको फाइलमा यी सबै अपूरा छन्। सरकारी क्याम्पसका कोठाहरूमा हुने कवि गोष्ठीहरूमा पुग्छु र कविता सुनाउँछु, आफैँ प्रकाशक रहेको भर्खरै प्रकाशित संग्रहबाट। नयाँ सुनाउनुपर्‍यो भने सुरुमै भन्छु– असम्पादित, यसको शीर्षक चुनिसकेको छैन।

केही थान आलेख, कथा र कविता छापिएका छन् राष्ट्रिय पत्रपत्रिकामा– यसैका आडमा केही वरिष्ठ पत्रकारलाई फोन गर्ने हैसियत राख्छु। फोन गर्दा उनले चिन्दैनन् कि भनेर सुरुमै भन्छु– हजुर, म फलानो! यसो कला–साहित्यसम्बन्धी लेख्ने गरी जागिर...।

दिनभरि हिँड्दाहिँड्दा थाकेको थिएँ। बाटोमा यसकारण हिँड्छु कि कोही चिनजानको मान्छे भेटियोस् र उसलाई आफ्नो कविता संग्रह भिडाउन पाइयोस्– व्यक्तिगत मूल्य रु. -५०, संस्थागत मूल्य -रु.२००/–।

सहर होस् वा गाउँ— धेरै समय बिताएपछि व्यक्तिको एउटा छवि बन्छ– सोझो, छट्टु, चतुर, विद्वान्, मूर्ख, इमानदार, मिलनसार, ठग, लम्पट, कायर, बहादुर, फलानो पार्टीको, फलानो वादी, फलानो जाति आदि।

सहर भनेकै पुरुषले पुरुषको कुरा काट्ने थलो हो। सहरमा केही लेखक, पत्रकार, कवि र अधिकारकर्मीले मलाई बाहुन–क्षत्रीविरोधी र माओवादी भनेर कुरा काट्थे, त्यही मेरो छवि बन्दै गयो। साला ! अस्ति भर्खर हो गाउँबाट सहर छिरेको, जनयुद्धमा लाग्न मृत्युदेखि डराएर। सहर आएर आफ्नो क्षेत्रका कांग्रेसी र एमालेका नेतालाई भेटेर जागिर मागेको थिएँ– गाउँमा माओवादीले बस्नै दिएनन् हजुर, त्यसैले काठमाडौं आएँ, एउटा जागिर चाहियो हजुर।

यो देशमा राजनीतिको अर्को नाम जागिर रहेछ। जागिर वा नियुक्तिका लागि राजनीति हुँदो रहेछ। अलिकति राम्रो जागिरले नाता खोज्थ्यो, गोत्र खोज्यो, जात खोज्थ्यो। मदेखि अलि परै बसेर अर्थात् छुवाछुत गरेर जागिरले मलाई भड्कायो– साला! जागिर पनि सत्ता रहेछ, कब्जा गर्न पहुँच चाहिने, नत्र बन्दुकै उठाउनुपर्ने।

बेरोजगार हुँदा खुबै पत्रपत्रिका पढेँ र त्यसमा आफ्ना नामका अक्षर छाप्ने अभीप्सा राखेँ। निकै मेहनतपछि अभीप्साले मूर्त रूप लियो, अनि पत्रिकामै जागिर खाने सपना देख्न थालेको थिएँ।

सुनेको थिएँ– मैले जागिर मागेका वरिष्ठ पत्रकार यतै पुलछेउतिर सडकमा पोलेको मकै खान्छन्। कतै उनी भेटिए भने भन्नुपर्नेछ– हेर्नुस्, सामाजिक न्यायको मुद्दामा हामी कोही पनि पूर्ण जानकार र स्पष्ट छैनौँ। हामी धेरै हदसम्म अनभिज्ञ, मूर्ख र कबिला छौँ। सबैले समाज र आफूलाई बुझ्दै, महसुस गर्दै र सुधार्दै जाने हो। म बाहुन–क्षत्रीविरोधी होइन, ब्राह्मणवाद विरोधी हुँ।

जातको मृत्युको घोषणा गरेर हिँडेको मान्छे, जाबो जातका आधारमा आफूलाई ठूलो ठान्ने व्यक्तिको किन विरोध गरुँ? हो, मसँग आवेग छ। आक्रोश, घमण्ड र अज्ञानता छ। तपाईंले मेरोबारे सुनेको झन्डैझन्डै सत्य हो। किनभने मानिसको आवेग र आक्रोशले अर्को मान्छेको रूप, चरित्र वर्ण, जाति तथा समुदायकै नाम काढ्छ।

उत्पीडितका लागि कमजोरी वा शक्ति भनेकै आक्रोश हो। यही आक्रोशले यिनीहरू दास हुन्छन्, सिद्धिन्छन्, वा उठ्छन्। समाजले मलाई जस्तो एट्टिच्युडको बनाएको छ, म त्यसलाई बदल्नेवाला छैन। खैर, जागिर नपाऊँ। मलाई थाहा छ, यहाँ सफल हुनु भनेकै आफ्नो एट्टिच्युड स्थापित हुनु हो। खैर, एकपटक तपाईंसँग बसेर रक्सी खाने मन छ।

यस्तै–यस्तै मनोदशाबाट गुज्रँदै मैले सहरका सडक नापिरहेको थिएँ। भोक लाग्यो र पोलेको मकै खोज्दै जाँदा उही पुरानो पुलको मुखैमा एउटा अनुहारसँग ठोकिन पुगेँ।

यी मकै पोल्ने दिदीलाई यसअघि कहाँ पो देखेको हुँ ! कहाँ देखेँ, कहाँ देखेँ हुँदाहुँदै सम्झेँ— केही दिनअघि हेरेको दशैँबहादुरको तस्बिर र मःमःवाली...।

चैतको घाममा कलेजी रङको कुर्ता, हरियो सुरुवालसहित टाउकोमा कालो पछ्यौरी बाँधेर उनी मकै पोल्न तल्लिन थिइन्। पहिरनले उनको उमेरलाई नछेके पनि ऊर्जालाई बढाइरहेजस्तो भान हुन्थ्यो। इँटाहरूलाई जोडेर अगेनोजस्तो पारी त्यसभित्र फलामको ओदान राखिएको थियो, ओदानमाथि केही घोँगा मकै खोस्टैसँग रापिएर पाक्दै थिए। नजिकै एउटा बाँसको डोकोमा केही हरिया मकै थिए, त्यसको आडैमा केही सुकेका काठ–दाउरा।

‘नमस्ते भाउजू ! दाइ पुलपारि, भाउजू पुलवारि!’ म हाँस्दै बोल्न पुगेँ। मेरो मुखबाट यी शब्द अनायसै फुस्केका थिए। उनले छक्क पर्दै मलाई हेरिन्।

‘पारि नाङ्लो पसल चलाउने दशैँबहादुर दाइलाई मैले चिन्छु,’ मैले अलिकति कुरा बनाएँ, ‘तपाईंको कुरा भएको थियो।’

बेरोजगार कविहरू कुरा बनाउन जान्दछन्, काम बनाउन होइन।

उनी मुसुक्क हाँस्दै लजाएझैँ गरिन्। पोलिएका मकैका घोँगा फर्काउँदै बोलिन्– बाबुलाई मैले चिनिन नि!

म त्यस्तो चिनजानकै त होइन। दशैँबहादुर दाइसँग चिनजान भएको छ, उहाँको पसलमा चुरोट खाँदाखाँदा।

उनको नजिकै उभिएर मैले एउटा मकै मागेँ। पत्रिकाले च्यापेर मकै दिँदै उनी बोलिन्– बाबु, हाम्रो फोटो खिचिदिने नानीको साथी हो कि?’ 

‘होइन भाउजू,’ मैले अलि उत्सुक हुँदै सोधेँ, ‘दाइले हजुरलाई मःमः खुवाइदिएको फोटो!’

उनको मुहारलाई लज्जा भावले छोप्यो।

त्यो नानीले हाम्रो फोटो खिचेर फिसबुक (फेसबुक) मा हालिछन्– बुढेसकालको माया भनेर। अझै पनि यहाँ मकै खान आउने कतिले मोबाइलमा मलाई त्यो फोटो देखाउँछन्, अप्ठेरो लाग्छ। एक दिन त त्यही बैनी आइन्, म यहाँ बस्छु भन्ने ख्याल गरेकी रहिछन्। फोटो धुलाएर ल्याएकी थिइन्।

दिदी, तीनवटा मकै– तीनजना केटीहरू उभिएर बोले।

उनीहरूलाई मकै बेचिसकेपछि उनले कुरा क्रमशः गरिन्– म त ती नानीसँग रिसाएँ– त्यसरी फोटो खिचेर राम्रो गरिनौ तिमीले भनेँ। उनी उदाङ्ग भइन्, उनले राम्रै गरेँ भन्ठानेकी रहिछन्। मान्छे यति जिद्धी र मायालु रैछन्, म बोल्नै नचाहँदा पनि हरेक दिनजसो मलाई खाने कुरा ल्याइदिएर, कहिलेकाहीँ लुगा ल्याइदिएर मेरो मन जितेरै छाडिन्। सबै कुरा भन्ने बनाइन्।’

के भन्नु भो भाउजू त्यस्तो?

उही हाम्रो कथा।

कस्तो कथा? हामीलाई भन्न मिल्दैन?

के भन्नु! एकजना ठूला पत्रकार पनि यहाँ मकै खान आउनुहुन्छ। मेरो सम्चार लेख्छु भन्नुहुन्छ। मैले मानेकी छैन। जिन्दगीको सबै कथा सबैलाई सुनाउन सकिँदैन, आधा सुनाएर मजा हुँदैन।

अब जिज्ञासा बढ्यो– यी दुईको फोटो सार्वजनिक हुँदा राम्रो नहुनुपर्ने कारण के? यिनले आफ्नो जिन्दगीको सबै कथा सुनाउन नसक्नुको कारण के? त्यो दिन पनि मैले फोटो हेर्दा दशैँबहादुरले अप्ठेरो मानेका थिए, कारण के? उनी त भन्दै थिए– बूढी भूकम्पमै...। तर, उनले आफ्नी बूढीको कुरा पूरा भनेका थिएनन्। खास कुरा के हो?

म मकै खाँदै यस्तै सोच्दै थिएँ। मान्छेहरूलाई अरूकै कुराको बढी चासो हुन्छ।

नभन्दै नानी आइपुगिन्– उनी बोलिन्।

एउटी केटी सडकछेउ स्कुटी रोकेर हामीतिर आउँदै बोली– मनमया दिदी ! सञ्चै हुनुहुन्छ?

उनको नाम मनमया रहेछ। उसले फलफूलको पोको मनमया दिदीको काखमा राखिदिई।

‘धेरै दिन भयो दिदीलाई नभेटेको, भेट्न मन भएर आएको,’ पोलेर राखेको मकै झिकेर खाँदै जिस्केको पारामा बोली, ‘अनि, भेनाजु सञ्चै हुनुहुन्छ नि?’

ढल्किसकेको बैंसको तरंग अनुहारमा फर्काउँदै उनी बोलिन्– तिम्रो भेनाजुलाई आफैँ भेट्न जाउ न, त्यहीँ पारि त छन्।

उनीहरू गफिँदै थिएँ। मकैको पैसा तिरेर म आफ्नो बाटो लागेँ।

                -                                   -                                         -

केही दिनपछि। म अनामनगरको एउटा चियापसलमा चिया पिउँदै फेसबुक म्यासेन्जरमा कुनै केटीसँग गफिँदै थिएँ। एउटा स्त्री आवाजले झस्कायो। नमस्ते भन्दै एउटी जवान स्त्री मेरो छेउमा आई। म अलमलमा परेँ। उसैले अन्योल चिरी– म तपाईंलाई चिन्छु। मनमया दिदीको मकै पसलमा हाम्रो भेट भएको थियो। अस्ति त्यहीँ मनमया दिदीले मकै सापेर दिएको पत्रिकामा तपाईंको कथा थियो। पढ्न त पढिनँ, फोटो देखेर चिनेँ।’

मैले अनुमान गरेँ– दशैँबहादुर र मनमयाको तस्बिर खिचिदिने केटी हुनुपर्छ।

‘हजुर! बसौँ न चिया पिउँ!’ मैले भनेँ।

मेरो अगाडिको कुर्सीमा बस्दै उसले भनी– मनमया दिदीको कथा लेख्नु भो त?

लेखे पनि, नलेखे पनि तपाईंले पढ्ने हैन केरे!

‘हैन केरे ! घर पश्चिम हो?’ मेरो लबज नक्कल गर्दै सोधी।

केही नबोली मैले उसलाई हेरिरहेँ। कस्ती नखरमाउली हो, चिन्नु न जान्नु जिस्क्याउँछे यार– म यस्तै सोध्दै थिएँ।

पढेकी थिएँ त्यो कथा, तर केही बुझिनँ– वरपर हेर्दै ऊ बोली।

मैले उसका लागि चिया मगाउन खोज्दै थिएँ, ऊ उठ्दै बोली– म नपिउने, यहाँ तपाईंलाई देखेर आएको, भेटेर जाउँ भनेर मात्रै।  उसले आफ्ना आकर्षक नितम्बलाई १५ सेकेन्ड पनि कुर्सीमा अड्याइन। ऊ जाँदै गर्दा मैले पछाडिबाट उसका नितम्बका चाललाई ओझेल नपर्दासम्म हेरिरहेँ।

भरे फेसबुकमा सरू नामबाट फ्रेन्ड रिक्वेस्ट आयो, एक्सेप्ट गरेँ। तुरुन्तै म्यासेन्जरमा एउटा फोटो आयो– मैले दशैँबहादुरको नाङ्लो पसलछेउ उभिएर चुरोट तानिरहेको।

मैले जवाफ फर्काएँ– जासुस!

केहीबेरको कुराकानीपछि मैले ऊसँग मोबाइल नम्बर मागेँ। उसले प्रश्न गरी– किन चाहियो ?

छातीमा ट्याटु खोप्न ! नम्बर किन माग्छन्?

उसले तुरुन्तै नम्बर दिएर भनी– कुनै दिन छाती देखाउनुहोला।

कत्रो चुनौती हो! त्यसपछि हामी फोनमा गफिन थाल्यौँ। जोकोही केटीलाई बातमा भुलाउन म आफूलाई अब्बल नै ठान्छु। असफल कविहरू कल्पनामा सुनौलो संसार निर्माण गर्छन् र भावुक स्त्रीहरूको शरीरमा काल्पनिक प्वाँख हालिदिएर काल्पनिक दुनियाँमै उडाउँछन्। यद्यपि एउटा कवि–लेखकका लागि यो ठूलो क्षमता र प्रतिभा हो। आफ्नो कल्पनाशक्तिलाई सही ठाउँमा प्रयोग गरेको भए म पनि यो देशको महान् लेखक भइसक्थेँ।

फोनमा कुरा हुँदै जाँदा उसले मलाई दशैँबहादुर र मनमयाकै कथा सुनाइरही, जो हाम्रो मिलनका बहाना थिए।

 -                                                                       -                                                       -

मनमया र दशैँबहादुरको घर वारिपारि थियो। दशैँबहादुरले कहिलेकाहीँ मनमयाको घरमा हली र मेलापातको काम गर्थे। दुवै चढ्दो जवानीमा थिए। एक दिन मनमयाकी आमा घरनजिकैको कोइरालोको रूखबाट लड्नि र उनको तीघ्रामा चोट लाग्यो। जडीबुटीले उनको घाउ निको हुन महिना दिन लागेको थियो। यो बीचमा दशैँबहादुरले उनको परिवारलाई अलि बढी सघाए।

मनमया घरकी जेठी छोरी, भाइबहिनी सानै थिए। यता आमा थलिइन्, बालाई पुरेत्याइँमै भ्याइनभ्याई हुन्थ्यो। कामको धपेडीले मनमयालाई मन्दमन्द ज्वरो आउन थालेको थियो। तैपनि एक दिन उनी दशैँबहादुरसँग पल्लो बारीमा रुखको घाँस लिन गएकी थिइन्। घाँस लिएर फर्कंदा अप्ठेरो–अप्ठेरो ठाउँमा मनमया गलिन् र घाँसकै भारीमाथि पल्टिइन्।

उनलाई जुरुक्क उठाएर दशैँबहादुरले सम्म ठाउँमा ल्याए, ज्वरोले उनको जिउ बेसरी तातेको थियो। दुवैको भारी खप्ट्याएर दशैँबहादुरले बोके र मनमयालाई रित्तै हिँडाए। त्यही दिनदेखि मनमयाको मन दशैँबहादुरको मायाले भरिन थालेको थियो। परपुरुषले उठाएर जमिन छोडाएको र कसैको भरको आभास गराएको मनमयाका लागि त्यो नै पहिलोपटक थियो।

त्यसको ६ महिनापछि मनमयाको घरमा सत्यनारायणको पूजा भयो। पूजाको प्रसाद बाँड्दा मनमयाले दशैँबहादुरलाई छुवाछुत गरिनन्। यो दृश्य मनमयाकी आमाले देखेकी थिइन्। यत्तिकै भरमा आमाबाबुले तत्कालै जात मिल्ने केटो खोजेर मनमयाको विवाह गरिदिए।

त्यसपछि दशैँबहादुर भारत पसे, दाम कमाएर साहुले खाएको बारी फिर्ता गर्न। दुई–चार वर्ष दुःख गरेर फर्केपछि उनले दुई हल गोरु लाग्ने बारी जोडे। उनका बा दमको रोगले खसिसकेका थिए। उनीमाथिको एउटा दाइ सानैमा बिरामी परेर खसेका थिए। तीन दिदीबहिनीको विवाह भइसकेको थियो। उनले पनि विवाह गरेर एक छोरा र दुई छोरीलाई जन्म दिए। उनका दुई छोराछोरी माओवादीमा लागे, एउटी छोरीले सानै उमेरमा विवाह गरेर गइन्।

 माओवादीमा लागेकी छोरी सहिद भइन्, छोरा पछि गएर अयोग्य लडाकु। ती अयोग्य लडाकु कुनै परिवर्तनका आशामा काठमाडौंतिरै भड्किरहेका छन्। उनी यही गर्वले बाँचिरहेका छन्– मैले बन्दुकै उठाएरै हो, आज उत्पीडितले आवाज उठाउन पाएको। म अयोग्य लडाकु भए पनि, म लागेको पार्टीले नै हो– संघीयता, समावेशी, समानुपातिक निर्वाचन प्रणालीजस्ता केही मुद्दा स्थापित गरेको। तर, उनलाई घरीघरी नेतृत्वप्रति रिस उठ्छ।

अकस्मात् भूकम्प आयो र दशैँबहादुरको घरसँगै पत्नीलाई लग्यो। दशैँबहादुर विरक्तिएर सहर छिरे। जीविकाका लागि नाङ्लो पसल चलाउँदै छन्।

                                           -                          -                                            -

उता मनमयाको विवाह सुस्त मनस्थितिका केही पाको पुरुषसँग भएको थियो, सम्पत्ति राम्रै थियो। मनमयाका पतिले छिटै संसार छाडे। जेठाजु र देवरहरूले उनलाई अंश दिएनन्, अनेक ऋण देखाएर। त्यसपछि कुनै सुखको संसार खोज्न मनमया सहर छिरेकी हुन्, उमेर पुगेका एउटा छोरा र छोरीलाई लिएर। सहर आएपछि छोराछोरी दुवैको विवाह भयो। छोराबुहारी दुवैले फरक–फरक सरकारी कार्यालयमा करारमा पिउनको काम गर्थे, तर जीवनभर स्थायी हुन पाएनन्। छोराबुहारीलाई सघाउ होला भनेर मनमयाले पनि अनेक दुःख गरिन्। अन्ततः सडकमा मकै पोलेर बेच्दै गर्दा समयले पहिलो प्रेमीसँग भेटायो।

‘अनि दिदी, यत्तिका वर्षपछि भेट हुँदा उहाँलाई कसरी चिन्नु भो त?’ सरूले मनमयालाई सोधेकी थिई।

– धेरै वर्षपछि बिरानो ठाउँमा भेटिँदा शत्रु त आफ्नो लाग्न थाल्छ, उनी त मेरो पहिलो मायालु हुन्।

जातै नमिलेर बिहे भएन है ! साँच्ची उहाँको जात के पो हो?

– छाड यी कुरा। अब आएर हाम्रो सम्बन्धमा जातको कुरा गर्ने मन छैन। जातको कुरा मानेर के भो खै मेरो जीवनमा?

यो उमेरमा उहाँसँग बिहे गर्नुहुन्छ त?

– किन चाहियो तिमीलाई?

एउटा लेखकलाई सुनाउँछु, उसले तपाईंहरूको कथा लेख्छु भनेको छ।

– दुनियाँलाई सुनाएर के हुन्छ र? देखाउने मायाभन्दा लुकेकै माया बलियो हुन्छ।

पुलको वारिपारि किन बस्नुभएको, सँगै बसेर व्यापार गर्न मिल्दैन?

– एकै ठाउँमा बसेर जिन्दगी कहाँ चल्छ र? जोडी ढुकुर त छुट्टिएर चारा खोज्छन्।

हो, यहाँ जिन्दगी चलाउनका लागि धेरै जोडीहरू नदी, समुद्र, पहाड, बादल, क्षितिज, मूल्य–मान्यता र परम्पराको वारिपारि भएका छन्।

     -                                                                   -                                       -

सरूसँग फोन र म्यासेन्जरमा गफ भइरहन्थ्यो। हामी नजिकिँदै गयौँ, एक ढंगको सस्तो प्रेममा पर्‍यौँ। हामीबीच केही दुःखसुख, भावना र समय चेत मिल्थ्यो। त्यसैले हामीबीच भावनात्मक र भौतिक दुवै सम्बन्ध थियो।

समय बित्दै जाँदा मैले उसलाई सम्मान गर्न जानिनँ, माया गर्न जानिनँ। ऊसँगको सम्बन्धमा मैले आफू उत्पीडित हुनुको कुण्ठा पोख्न थालेँ। उसले मलाई कहिल्यै नराम्रो भन्न सक्दिनँ, किनभने मैले उसलाई गहिरो प्रेम गर्थें। उसले एकपटक खुलेरै भनेकी थिई– मेरो पहिलो प्रेमीभन्दा तिमी धेरै मायालु छौ। तर, तिमी अव्यावहारिक छौ। छिटै आवेगमा आउँछौ, मलाई हात त उठाएका छैनौँ, वचनबाणले हानिरहन्छौ।

एक दिन सामान्य झगडापछि उसले मलाई फेसबुक, फोन, भाइबर– सबैतिर ब्लक गरी।

आफ्नो प्रेमले सुखद बाटो नलिएपछि मैले दशैँबहादुर र मनमयाको संयोगान्त कथा लेख्ने सोचेँ। दशैँबहादुरसँग पुनः एकपटक भेटेरै कुरा गर्न मन थियो। एउटा घमाइलो दिनमा म उही पुरानो पुलतिर लागेँ। त्यहाँ नयाँ पुल बन्दै थियो। पुरानो पुलको भित्तामा प्रधानमन्त्री केपी शर्मा ओलीको पोस्टर थियो– सुखी नेपाली, समृद्ध नेपाल।

निर्माणको काम भएकाले त्यहाँबाट मनमया र दशैँबहादुरलाई हटाइएको रहेछ। दुवैका बारेमा वरिपरिका मानिसलाई सोधेँ, कसैले सही ठेगाना बताउन सकेनन्। उनीहरूका बारेमा सरूलाई थाहा छ, तर ऊसँग मेरो सम्बन्ध अन्त्य भएको छ।

म यस्तो लेखक हुँ– समाजका मानिससँग प्रेम र व्यवहार गर्न जान्दिनँ। समाजका पात्रलाई खोज्न जान्दिनँ। म नितान्त काल्पनिक लेखक हुँ। मेरो कल्पनाको क्षेत्रमा पनि कुण्ठैकुण्ठा छन्।

प्रकाशित: १७ पुस २०७८ ०८:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App