७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
कला

उपत्यकाका तान्त्रिक अष्टमातृका

नेपाल तान्त्रिकको देश हो। देवाधिदेव महादेव नै तन्त्रका आविष्कारक हुन्। नेपालमा शिवतन्त्र र कालीतन्त्रले गर्दा सनातनदेखि अर्थात् देवताका पालादेखि तन्त्रको व्यापक प्रयोग हुँदै आएको देखिन्छ। महाभारतको युद्ध, कृष्ण र कंसको युद्ध, राम र रावणको युद्धमा आदिमा शिव तन्त्रको व्यापक प्रयोग भएको देखिन्छ। जस्तो कि पाशुपातास्त्र, शिवास्त्र, ब्रह्मास्त्र जस्ता अत्यन्तै शक्तिशाली अस्त्रशस्त्र प्रयोग गरेर देवताले राक्षसको विनाश गरेको देखिन्छ।

नेपालका शान्तिकराचार्य, बन्धुदत्त आचाजु, लम्बकर्ण भट्ट, जामनः गुभाःजु जस्ता तान्त्रिकले देवताका उपासना गरेर देवतालाई आफ्नो वशमा राखेर विभिन्न किसिमका काम लिन सफल भएको पनि देखिन्छ।

यी तान्त्रिकले देवताको तान्त्रिक विधिपूर्वक पूजा गर्दा पञ्चमोपकारको रूपमा आफनो वीरत्व भावले गरिने पूजामा मद्यः(रक्सी), मांस (छ्वयला), मत्स्य (माछा), मुद्रा (बारा) अनि मैथुन (अण्डा) पाँच थरी राखेर बलि पूजा गर्छन्। सर्वोल्लास तन्त्रमा यो कुरा यसरी उल्लेख गरिएको पाइन्छ, ‘मद्यः मांसञ्च, मत्स्यञ्च मुद्रा, मैथुन मेवच। वीरा चारमिद प्रोदंप्रोक्तं साधकस्यापि बीजकम।’ अर्थात् अण्डाको सगुन पञ्चमकारमा वीर पूजा गर्दा चाहिने पाँचथरी सामग्री छन्।

तान्त्रिकले यी नै पाँच थरी सामग्रीलाई पञ्चमोकार भनी लिएको छ। यी पाँचमध्ये रक्सीलाई तेज, छ्वयलालाई पृथ्वी, माछालाई जल, मासको बारालाई वायु, अण्डालाई आकाश तत्त्वको प्रतीक बनाएर राख्ने चलन छ। तन्त्रको पूजामा जीव बलि भोग दिनुपर्छ।

तान्त्रिक शक्ति र सिद्धिका लागि तान्त्रिकले नरबलि पनि दिइसकेको कुरा सुन्न पाइन्छ। तर त्यस बेलामै जीव हत्या गरेर बलि भोग दिनु पाप हो भनी मन्त्र साधना गरेर सम्हय्बाटै जीव सृष्टि गरेर बलि भोग दिएर महाबलि पूजा गरिरहेका थिए भनिन्छ।

पछि जीव सृष्टि गर्न नसक्नेले पनि जीव बलिको रूपमै सम्हय् चढाउने गर्न थाले। त्यसैले तान्त्रिक विधिको सम्हय् जीव बलिको प्रतीक हो। जीव बलि दिएर गरिने पूजामा जीवको सट्टा सम्हय् चढाएर देवतालाई सन्तुष्ट गर्न सक्ने हाम्रो तान्त्रिकताको विशेषता हो। सम्हय्मा भएको पाँच थरी सामग्री देवतालाई चढाउँदा पञ्चबलि दिएको भावले आजसम्म पूजा गर्दै आइरहेको देखिन्छ। प्रत्यक्ष रूपमा बलि दिएर पूजा गर्दा पनि देवतालाई सगुन र सम्हय् चढाएर पूजा गर्नुपर्दछ।

पहिले पहिलेका राजाहरू धेरै नै धार्मिक एवं तन्त्रमा विश्वास गरेर देवताको स्थापना गरेको देखिन्छ। कतिपय राजा आफैंले तान्त्रिक सिद्धि प्राप्त गरेका छन्। हाम्रो वंशावली अनुसार महालक्ष्मीका साधक राजा गुणकामदेवलाई महालक्ष्मीले सपनामा आएर खड्ग आकारको देश बनाई अष्टमातृका अजिमाहरूको प्रतिष्ठा गरी स्थापना गर्नु भन्ने आदेश दिइन्।

महालक्ष्मीको आदेश बमोजिम राजा गुणकामदेवले कलिगत सम्वत् ३९२५ मा महालक्ष्मीकै खड्ग आकार आउने गरी कान्तिपुर देश बनाई १८ हजार घरधुरी निर्माण गरे र अष्टमातृका देवीहरूको स्थापना गरेर देशको रक्षा र जनकल्याण गरिरहेका थिए भनिन्छ। यो खड्ग आकार भएको कान्तिपुर कहाँदेखि कहाँसम्म छ भनी अध्ययन गरी देर्दा यहाँ स्थापना गरिराखेका देवीका पीठ पूजा गर्न जाँदा अष्टमातृकाका मन्दिरलाई धर्सो तानेर हेर्दा उत्तरतर्फ चुच्चो र दक्षिणतर्फ बिँड भएको खड्ग आकार प्रस्ट रूपमा देखिन्छ।

यसैले हामीले राजा गुणकामदेवले बनाएको कान्तिपुर देशको परिधि यही हो भनी भन्न सक्छौं। अनि अष्टमातृकाका स्थान कहाँ कहाँ पर्छन् भनी खोज्ने क्रममा तान्त्रिक रथी धनशमशेरले लेख्नुभएको ‘कायकला रहस्य’ नामक पुस्तकमा उल्लेख गरे अनुसार कायाष्टमी अर्थात् भाद्र शुक्ल अष्टमीका दिन पीठ पूजा गर्ने मेलामा जाने समयमा परिक्रमा गरिने अष्टमातृका अनि त्यस्तै पुरानो पूजा पाठ गर्ने थ्याःसफू पुस्तकमा लेखिए अनुसार पनि अष्टमातृकाहरू यस प्रकार रहेका छन्:

१) तीन धारा पाठशाला पछाडि अवस्थित पासिक्वं अजिमा– ब्रह्मायणी। २) सिंहदरबार अगाडि रहेको लुँमरि अजिमा– भद्रकाली, माहेश्वरी। ३) आर्मी हेडक्वार्टर कम्पाउन्डभित्र रहेको फिब्व अजिमा– कौमारी। ४) पचलीमा नै अजिमा– वैष्णवी। ५) विष्णुमति नदी किनारमा रहेको कंगः अजिमा कंकेश्वरी– इन्द्रायणी। ७) थँबही ठमेलमा रहेको थँबही अजिमा– चामुण्डा। ८) नारायणहिटी दरबारभित्र रहेको चन्द्रलखु अजिमा– महालक्ष्मी।

कान्तिपुरका राजा गुणकामदेवले यिनै आठ अजिमाहरू चारैतिर स्थापना गरेका हुन्। यसरी राजा गुणकामदेवले तान्त्रिक विधिपूर्वक अजिमा अष्टमातृकाको स्थापना गरेकाले हालसम्म यी अष्टमातृका अजिमाको उति नै महत्त्व रही आएको छ।

अहिले पनि अष्टमातृका पीठको परिक्रमा गर्ने मेलाको परम्परा कायमै छ। तर नारायणहिटी दरबारमा रहेको महालक्ष्मी र आर्मी हेडक्वार्टरभित्र रहेको कौमारी अजिमाको दर्शन गर्न र मेलाको समयमा जाँदा धेरै नै असुविधा भएको सबैले अनुभव गरिरहेका छन्। सेनाको कम्पान्डभित्र रहेको कौमारी अजिमा स्थानमा जान पहिला सिधै पिच बाटो थियो। सेनाको पेट्रोल पम्प अर्थात् भद्रकाली मन्दिरको दक्षिणतर्फ रहेको पिच बाटो माइतीघर मण्डलासम्म थियो।

केही वर्षअघि सेनाले उक्त सार्वजनिक पिच बाटो समेत कब्जा गरेर लिई आफ्नो कम्पाउन्डभित्र पारेकाले कौमारी अजिमाको दर्शन गर्न जानेहरूलाई जहिले पनि अवरोध भइरहने, त्यहाँ जान नै नदिने अनि मेला चाड पर्वको समयमा समेत त्यहाँ जान सेनाले अवरोध गरिरहन्छ, जुन ठूलो विडम्बना हो। नेपालको धर्म, संस्कृतिको जगेर्ना गर्नुपर्ने निकायबाटै यस्ता अवरोध हुनु दुःखको कुरा हो।

नेपाली सेनाले अधिग्रहण गरेर लिइराखेको सार्वजनिक पिच बाटो छाडिदिएमा मात्र कौमारी अजिमाको पूजा गर्ने, दर्शन गर्ने र चाड पर्वमा सर्वसाधारण भक्तजन जानलाई सजिलो हुने थियो। त्यस्तै नारायणहिटी दरबारभित्र रहेको महालक्ष्मी देवीको अवस्था पनि नाजुक देखिन्छ। 

त्यहाँ कसैको पनि ध्यान गएको देखिँदैन। सम्बन्धित निकाय वा गुथिहरूले पनि महालक्ष्मीजस्तो तान्त्रिक अजिमाको पूजालाई बेवास्ता गरेर महालक्ष्मी पीठलाई बेवारिसे जस्तै बनाइरहेको देखिन्छ। यसमा पनि सम्बन्धित निकायको ध्यान तुरुन्त जाओस्।

भक्तपुरमा मध्यकालको पूर्वाद्धमा प्रसिद्ध मानमानेश्वरी देवीलाई दरबारमा स्थापना गरिसकेपछि ने.सं. २६७ मा राजा आनन्ददेवले भक्तपुर देशलाई तान्त्रिक सुरक्षाको रूपमा श्री यन्त्राकारको बस्तीमा भित्र र बाहिर चारैतिर विभिन्न स्थानमा अष्टमातृका, अष्टमसान, अष्टद्वार, अष्टभैरव आदि स्थापना गरेर जनता र देशको सुरक्षाका लागि अगाडि भैरव, बीचमा देवगण, त्यसपछि अष्टगणेश र नवदुर्गा द्वार पहरा बनाइराखेका हुन् भनिन्छ।

भक्तपुर देशबाट बाहिर श्रीयन्त्राकारको रूपमा स्थापित भएर सुरक्षा घेरा दिएर बसेका अष्ट गणेशहरू हुन्– पूर्वमा द्यःलाचा गणेश, पश्चिममा च्वंगा गणेश, उत्तरमा लाटा गणेश, दक्षिणमा इनारे गणेश (सूर्य विनायक), उत्तरपूर्वमा यातु गणेश, उत्तर पश्चिममा दुबु गणेश, दक्षिण पूर्वमा नंख्यः गणेश र दक्षिण पश्चिममा चुलिं गणेशहरू।

त्यस्तै देशबाहिर तान्त्रिक सुरक्षाका रूपमा स्थापना गरिराखेका अष्टमातृका अजिमाहरू: १) वाता अजिमा (ब्रह्मायणी)। २) बाता अजिमा (माहेश्वरी)। ३) पसि अजिमा (कुमारी)। ४) खुसिं अजिमा (भद्रकाली)। ५) याकती अजिमा (बाराही)। ६) इलमा अजिमा (इन्द्रयाणी)। ७) मसां अजिमा (महाकाली) र ८) भोती अजिमा (महालक्ष्मी) हुन्।

ललितपुरको तान्त्रिक सुरक्षा र लोक कल्याणका लागि तान्त्रिक विधि अनुरूप स्थापना गरिराखेका अष्टमातृकाहरू यस प्रकार छन्ः १) सिकबहिल, शंखमूलमा चामुण्डा। २) बालकुमारी क्वाःछेँमा बालकुमारी। ३) लगनखेल थसिखेलमा महालक्ष्मी। ४) नख्खु खोला किनारमा वैष्णवी। ५) बागडोल नख्खुमा ब्रह्मायणी। ६) पलिंगल धोबिघाटमा माहेश्वरी। ७) ल्वहंगल सानेपा वागमती नदी किनारमा इन्द्रायणी। ८) धंतली चाकुपात वागमती नदी किनारमा बाराही देवी।

यसरी कान्तिपुर, ललितपुर र भक्तपुरको देश र जनताको सुरक्षाका लागि तान्त्रिक विधिविधान अनुसार अष्टमातृकाको स्थापना १३औं शताब्दीतिर गरिएको हो भनिन्छ। कान्तिपुर खड्ग आकारमा, ललितपुर चक्राकारमा र भक्तपुरमा श्रीयन्त्रकारको रूपमा तान्त्रिक विधि अनुरूप विभिन्न स्थानमा अष्टमातृकाहरू स्थापना गरिएका हुन् भनिन्छ।

यस प्रकार तत्कालीन राजाहरूले आफ्नो देशको सुरक्षा र जनताको सुख सुविधाका लागि तान्त्रिक विधि अनुसार अष्टमातृकाको स्थापना गरेका थिए। यिनै अष्टमातृकाले आजसम्म हाम्रो देशको सुरक्षा र जनताको सुख सुविधाका लागि रक्षा गरिरहेका छन् भनी हामी आश्वस्त भएको छौं।

प्रकाशित: ६ कार्तिक २०७८ ०२:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App