‘यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवताः
यत्रैतास्तु न पूज्यन्ते सर्वास्तत्राफलाः क्रियाः’ (मनुस्मृति ३/५६)
अर्थात् जहाँ वा जुन परिवारमा नारीको पूजा हुन्छ,त्यहाँ देवताको पनि बास हुन्छ र देवताहरू पनि रमाउँछन्। र, जुन घरमा नारीको सम्मान हुँदैन,त्यहाँ गरिएका सम्पूर्ण राम्रा काम पनि निष्फल हुन्छन्।
यहाँ नारीलाई पुज्नु वा नारीलाई सम्मान गर्नुको अर्थ मातृत्वको कदर गर्नु हो, सृष्टिको सम्मान गर्नु हो। हाम्रो घरपरिवारमै रहेका हाम्रै नातागोताभित्रका छोरीनातिनी, आमाहजुरआमा, दिदीबहिनी, भाउजू, पत्नी, प्रेमिका, चेलीबेटीलगायत नारीजनप्रति प्रेमभाव दर्साउनु, उनीहरूसँगै सहकार्य गर्नु हो।
प्रकृतिले नै महिलालाई मातृत्व वा सृष्टिकर्ताको जिम्मवारी दिएर सम्मान गरेको छ। अथवा सृष्टिका लागि सबैभन्दा ठूलो अधिकार नै महिलालाई दिएको छ।
तर तिनै महिला सामन्ती युगको आरम्भसँगै मनोरञ्जनका साधन बने, हिंसाका पात्र बने, सभ्यताको विकासमा पछाडि परे र समाज पुरुषप्रधान बन्यो वा पितृसत्तात्मक।अनि नारीहरू समाजमा निष्क्रिय पात्र बने, जसलाई पश्चवर्ती अबुझहरूले धर्मसँग जोडे र भने, ‘हिन्दूधर्मले महिला विभेद गरेको छ।’
हामीले अठार पुराण पल्टाएर हेर्यौं भने जुनै पुराणमा पनि आदिशक्तिको महिमागान नै गरिएको छ। कतै पनि नारीप्रति विभेद गरिएका कथाहरू भेटिन्नन्। कतै भेटिए पनि ती लीला रचेर असुरहरूको विनाशका लागि गरिएका छन्।
प्रत्येक युगमा जबजब दानवीय शक्तिले दुःख दिए, तबतब तिनै आदिशक्तिले आफ्ना विभिन्न रूपमा तिनको विनाश गरेर देवत्वको रक्षा गरेको पाइन्छ। तिनै आदिशक्तिको रूप नारी हैनन् र ? सत्य, त्रेता, द्वापर कुनचाहिँ युगमा नारीविभेद गरिएको छ ? अथवा नारीलाई कुनचाहिँ पुराणमा अपमान गरिएको छ ?
जतिबेला मानव सभ्यताको उदय भयो, त्यतिबेलैदेखि धर्मशास्त्रका आधारमा मातृशक्तिको उपासना पद्धतिको सुरु भएको इतिहास साक्षी छ। सृष्टिकालमै प्रजननमा समर्थ शक्तिलाई देवी वा नारीको रूप मानियो र देवीदेवताको जन्म भयो।
भारतीय इतिहासकारहरू यस युगको संसारकै सबैभन्दा पहिलो सभ्यता सिन्धुघाटीको सभ्यता (हडप्पा संस्कृति) लाई मान्दछन्। जुन सभ्यतामा धरतीमातालाई ‘पृथिवीकी रानी’ मानेर पूजा गर्ने चलन थियो र पृथिवीलाई नारीशक्ति मानेर महिलालाई पनि सम्मान गर्ने चलन थियो।
पौराणिक ग्रन्थमा देवताहरूको ‘सर्वोच्च देवत्व’ शक्तिमै निहित रहेको, त्यसैबेला शक्तिलाई सर्वव्यापक तत्त्व मानिएको र त्रिदेव (ब्रह्मा, विष्णु, महेश्वर) लगायत तेत्तीस कोटि देवता आदिशक्तिको उपस्थितिविना क्रियाशील हुनै नसक्ने प्रसङ्गहरू भेटिन्छन्।
जसले देवीदेवता र प्राणीलाई जन्म दिई शक्तिको सञ्चार गरिन्, तिनैलाई स्त्रीरूपमा कल्पना गरियो र आमाको स्थान दिइयो अनि उनै विश्वशक्तिको नाम भगवती रहन गयो। युगान्तरमा विस्तारै यिनै भगवतीका विभिन्न स्वरूपको उपासना गरिन थालियो। यही क्रममा दुर्गा रूप जन्मियो भनेर शास्त्रमा भनिएको छ।
ती दुर्गाका स्वरूप हुन्– शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी, सिद्धिदात्री। तिनै नवदुर्गाको नवरात्रमा क्रमशः नौ दिनसम्म पुजा गरिन्छ।
केनोपनिषदमा उमा र हैमावतीको उल्लेख पाइन्छ, जुन दुर्गा वा पार्वतीको दोस्रो नाम हो। सांखायन श्रौतसूत्रमा दुर्गाको कल्पना रुद्रकी पत्नीको रूपमा गरिएको छ। बौधायन धर्मसूत्रमा दुर्गालाई अम्बा, आर्या भगवती, महावैष्णवी, महाकाली पनि भनिएको छ।
गृह्यसूत्र कालसम्ममा दुर्गाका सौम्य र घोर रूपको जन्म भएको कुरा महाभारतको दुर्गास्तोत्रमा उल्लेख छ। एक समयको कुरा, रुरु दैत्यको पुत्र दुर्गमन (दुर्ग) दैत्यले देवीदेवतालाई ज्यादै दुःख दियो। शिवजीले उक्त असुरलाई मार्न देवीलाई अनुरोध गरे र ठूलो युद्ध भयो। पछि देवीको हातबाट दुर्ग मारियो, त्यसपछि आदिशक्ति दुर्गा नामले प्रसिद्ध भइन् भनेर स्कन्द पुराणमा पाइन्छ।
ती दुर्गाका विविध रूप छन्।अष्टभुजा, दशभुजा, षोडशभुजा, अष्टादशभुजा भएकी, योगेश्वरी आदि। विष्णुधर्मोत्तर पुराण र सुप्रभेदागममा सिंहमा आसीन अष्टभुजा भएकी दुर्गाको उल्लेख छ। हिन्दु शाक्त परम्परामा यी नवदुर्गाको ठूलो महत्त्व छ।
दानवरूपी शक्तिलाई विनाश गर्ने आदिशक्तिको रूपमा पुजिने नौवटी देवीहरूको सयुक्त समूह हो दुर्गा। प्रायः सबै समयमा देवताहरूले आपत्ति आइपर्दा तिनै शक्तिका रूपहरूको आराधना गर्ने र त्यस्तो संकटबाट मुक्त हुने गरेको पुराणमा अनेकौं प्रमाणहरू भेटिन्छन्। तापनि हामी सनातन धर्मावलम्बीहरू समाजमा भएगरेका सम्पूर्ण आफ्ना कर्तुतलाई धर्मसँग जोडिदिन्छौं, आफू पन्छिन्छौं, यो अक्षम्य अपराध हो।
नवदुर्गाको पूजाआराधना भनेकै नारीशक्तिको सम्मान हो, मातृशक्तिको सम्मान हो। हामी मातृशक्ति संस्कृतिका अनुयायी हौं।
‘या देवी सर्वभूतेषु मातृरूपेण संस्थिता’ अर्थात् सबैको प्राणमा शक्तिको रूप लिई अवस्थित देवी मातालाई सबै धर्म, परम्परा तथा समाजमा पूज्य मानिएको छ। देवी शक्तिको रूपमा होस् या नारी शक्तिको रूपमा या मातृशक्ति, सृष्टिकी जननीका रूपमा नारीहरू सधैं अग्रस्थानमा छन्। तैपनि हामीले नारीलाई सधैं त्यो दर्जा, त्यो सम्मान दिन सकेका छैनौं। यो सामाजिक व्यवहारले देखाएको कुरा हो। यो हाम्रो ठूलो कमजोरी हो। हाम्रो समाजमा प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि दशमीसम्म शास्त्रीय मान्यताका आधारमा नवरात्र वा नवदुर्गा पूजा गर्ने चलन छ।
दुर्गाको महिमागान गर्ने र शक्ति आर्जनका लागि कामना गर्ने गरिएको छ तापनि हामीसँगै रहेका, हामीलाई जन्म दिने, प्रेम र सद्भाव दिने आमाहजुरआमा, दिदीबहिनी, छोरीचेलीलाई हामीले सम्मान गर्न सकेका छैनौं। उनीहरू विभिन्न प्रकारका विभेदको सिकार बनिरहेका छन्।
यद्यपि हाम्रो पुरातन धर्मसंस्कृतिले दुर्गाशक्तिकै रूपमा नारीलाई उच्च स्थानमा राखेको सर्वविदितै छ। आदिशक्ति नवदुर्गाको आराधना गर्नुको कारण नारीविना सृष्टि सम्भव छैन, पालनपोषण र हेरचाह नारीको प्रेमविना सम्भव छैन भन्ने हो, तर यसको बोध भएको छैन हामीलाई, बोध भए पनि हामीले बुझ पचाएका छौं।
प्रकृतिको सबै ऊर्जा, विकास र विनाश पनि नारी शक्तिमै छ। जुनसुकै घरपरिवारको सुखशान्ति र समृद्धिमा नारीको भूमिका रहन्छ। त्यसकै प्रतीक हो– ‘नवरात्रभर नवदुर्गाको स्वरूप स्थापना गरी पूजापाठ, आराधना, स्तोत्रगान, जपतप गर्नुको तात्पर्य पनि’। हाम्रा अधिकतम चाडपर्वमा नारी शक्तिकै उपासना गरिन्छ।
जुन पर्वमा देवताको विशेष पूजा गरिन्छ, ती पर्वमा पनि नारीशक्ति सँगै रहन्छन्। विशेष गरी नवरात्र, लक्ष्मीपूजा, सरस्वती पूजा यी मुख्यमुख्य पर्वमा नारीशक्तिकै पूजा गरिन्छ। साथै शिवरात्रि, जन्माष्टमीलगायत पर्वमा पनि शिवसँगै पार्वती, कृष्णसँगै राधाको पूजा आराधना गनुपर्ने शास्त्रीय विधान छ तर व्यावहारिक वा लौकिक परम्परामा चाहिँ हामीले महिलालाई साथ दिएका छैनौं।
अहिले चलिरहेको शारदीय नवरात्रमा पूजा गरिने देवीको समग्र रूप हो ‘नवदुर्गा’। ‘नव’को अर्थ नौ र ‘दुर्गा’को अर्थ दुःखपूर्वक पुग्न सकिने ठाउँ वा किल्ला वा दुर्गम ठाउँ। सन्तानलाई परेको जस्तोसुकै कष्ट निवारण गर्ने अर्थमा दुर्गा वा आमालाई लिन सकिन्छ।
देवताको युगमा संकट पर्दा देवतालाई आदिशक्ति दुर्गाले जसरी बचाएकी थिइन् त्यसैगरी हामीलाई जन्माउने, हुर्काउने, पालनपोषण गर्ने र संकट पर्दा कोमल भावले स्पर्श गर्दै बचाउने शक्तिको रूप हो नारी वा आमा। अर्थात् मानव सभ्यताको विकास वा भविष्यका लागि वर्तमानमा अनेकौं दुःखकष्ट सहने र करुणाको भाव जगाउने आजका नवदुर्गा हुन् नारीहरू।
दुर्गासप्तशतीका अनुसार महिषासुर, चण्डमुण्ड, शुम्भ–निशुम्भ आदि असुरसँग युद्ध गरिरहेका इन्द्रादि देवताहरू युद्धस्थलमा टिक्न सकेनन्। ‘एकस्थं तदभून्नारी व्याप्तलोकत्रयं त्विषा’ अर्थात् सबै शक्तिको एकीकृत स्वरूपकी नारी प्रकट भइन्, अर्थात् नारी शक्तिको उदय भयो। अनि उनैको शक्तिले ती सम्पूर्ण असुरहरूको विनाश भयो। संकट पर्दा आमा या नारी शक्तिको कतिसम्म भूमिका हुन्छ भन्ने विषय हाम्रा धार्मिक ग्रन्थमा उल्लेख पाइन्छ।
‘यो मां जयति संग्रामे यो दर्पं व्यपोहति
यो मे प्रतिबलो लोके स मे भर्ता भविष्यति
तदागच्छतु शुम्भोत्र निशुम्भो वा महासुरः
मां जित्वा किं चिरेणात्र पाणिं गृह्णातु मे लघु’ (दुर्गासप्तशती–५/२०/२१)
अर्थात् ‘जसले मलाई युद्धमा जित्छ र मेरो घमण्डलाई नष्ट गरिदिन्छ, जो म जत्तिकै बलवान् छ, उही मेरो पति हुनेछ। त्यसैले शुम्भनिशुम्भ स्वयं यहाँ आऊन् र मलाई जितेर मसँग विवाह गरून्। यसमा ढिलाइ किन ?’ यसरी कसैसँग डग्दिनन् नारीशक्ति।
मानव सभ्यताको विकासलाई हेर्ने हो भने नारीले अनेकौं पीडा, विभेद खपेर पुरुषलाई साथ दिँदै आएका छन्। धर्मशास्त्रले यसरी सम्मानित नारीहरू आधुनिक युगमा आइपुग्दा हेला र हिंसाको पात्र मात्र बनेका छन्। त्यसैले सबै धर्मशास्त्र, सबै पर्व र सबैको मतलाई मानेर लौकिक व्यवहारमा पनि नारी शक्तिलाई ससम्मान अगाडि बढाउन सकियो भने सभ्यताको विकासले फड्को मार्छ।
‘शुभम् भूयात्’
प्रकाशित: २३ आश्विन २०७८ ०१:५६ शनिबार