१६ मंसिर २०७८ बिहीबार
कला

कलामा नवदुर्गा

धर्म–संस्कृति र कलालाई एकअर्काका पुरकका रूपमा जोड्ने प्रचलन प्राचीनकालदेखि चल्दै आएको छ। पूर्व ऐतिहासिक कालका किंवदन्ती,लोकगाथा र दन्त्यकथा आज पनि सुन्न पाइन्छ। ऐतिहासिक काल सुरु भएपछि कलाका अनेकौँ  पुरातात्त्विक वस्तुलाई साक्षी राखी आलेख तयार भएका छन्। 

पाँच हजार वर्षपूर्व विकसित भएको सिन्धुघाँटीको सभ्यतामा मातृदेवीको पूजा हुन्थ्यो।व्यवस्थित सहर, सभ्य भइसकेको मानव सभ्यतामा सामाजिक संरचना पनि व्यवस्थित देखिन्छ। यसवेलाको धार्मिक प्रतीक चिह्नमा नारीलाई प्रतिनिधित्व गरेको संकेत पाइन्छ। 

यसवेला माटाका कैयौँ स–साना नारीका मूर्ति प्राप्त भएका छन्। प्राचीन बेबिलोनमा भूतप्रेत हटाउन आफ्नो घरको भुइँमुनि माटाका यस्ता नारी मूर्ति राख्ने प्रचलन थियो। यसबाट नारीलाई शक्तिका रूपमा मान्ने र आदरभाव प्रकट गर्ने सामाजिक मान्यता रहँदै आएको देखिन्छ।

नारीलाई शक्तिको रूपमा मान्ने प्रचलन सुरुको कालदेखि चल्दै आए पनि यसैलाई प्रत्यक्ष कलाद्वारा स्थापित गर्ने काम नेपालमा नवौँशताब्दीको उत्तरार्द्धमा देखापर्‍यो। नारी र यौनको सन्दर्भ त बौद्ध धर्मको वज्रयान सम्प्रदायमा अझ तीव्र रूपमा आएको देखिन्छ।

यसवेला नारीलाई मूल आधारबिन्दु बनाएर तन्त्र, मन्त्र, यन्त्र र यसैमा आधारित चित्र तथा मूर्तिको निर्माण भएका छन्। तान्त्रिक कलाका रूपमा विकास भएका यस्ता कलाले विशेषतः मल्लकालमा निकै उचाइ लिए। 

चित्रकलामा मात्र होइन, राजा–महाराजा (प्रताप मल्ल) पनि तान्त्रिक बलबाट देवीलाई बोलाएर पासाखेल्थे भन्ने अनेक गाथा छन्। पासा खेल्दाखेल्दै राजाबाट एकपटक कुनियत प्रस्फुटन हुँदा देवी तत्कालैअलप भएकी थिइन् रे। यसैवेलादेखि जीवितदेवी कुमारीको प्रचलन चलेको देखिन्छ। साक्षात् देवीको रूपमा पुजिँदै आएको यो कुमारी प्रथा अद्यापि कायमै छ।

यसैवेलादेखि ग्रन्थचित्र भौतिक रूपमै प्राप्त हुन थालेपछि तन्त्रकला मात्र होइन, अन्य विविध कला, लिपि, भाषा आदिमा अनेकौँ परिवर्तन भएका छन्। युगल जोडी लिच्छविकालमै प्रशस्तै देखापरेका छन्। यसैबीच यौनको सन्दर्भ जोडिएपछि देखापरेका देवी–देवताका युगल जोडी एक अलग्ग संयोजनमा देखिन्छन्। 

छिमेकी मुलुक भारतको गहिरो प्रभाव पर्न थालेपछि धेरै चाडपर्वका प्रचलन नेपालमा पनि भित्रिएको देखिन्छ। दुवै राष्ट्रका धार्मिक र सांस्कृतिक आधारका स्रोत समान रहेकाले एक अर्कामा प्रभाव पर्ने सन्दर्भ क्रमशः औधि बढेर आएको देखिन्छ।

तन्त्रकलाले पहिला बौद्धधर्ममा पछि हिन्दु धर्ममा गहिरो प्रभाव पार्दा नारीको अनिवार्य उपस्थितिको महसुस भएको देखिन्छ। यसले सम्पूर्णताको आभास दिलाउने काम समेत गरेको देखिन्छ। पाँचौँ शताब्दीका शक्तिशाली राजा मानदेव प्रथमको आधिकारिक मुद्रा मानाङ्कमा कमलमाथि बसेकी देवीको चित्र अंकित छ। कसैले यसलाई मानदेवकी महारानी(पत्नी) भने पनि अधिकांश विद्वान्ले देवी हुनुपर्ने अभिमत राखेको देखिन्छ। 

मानदेवकी आमा सती नगएर आफ्ना छोरा मानदेवलाई सक्षम र आदर्श राजा बनाउने कार्यमा जुटेको सन्दर्भ पनि नारीको भूमिकासँग जोडिएको देखिन्छ। तिरहुतका राजा हरिसिंहदेवले आफू पराजित भई शरणका लागि उपत्यकामा प्रवेश गर्दा उनले तलेजु भवानी साथै लिएर आएका थिए। उनको बीच बाटोमै मृत्यु भयो, तर उनका पत्नी लगायतअन्य भक्तपुरका राजाकहाँ शरण लिन पुगे। यसवेलादेखि मल्ल राजाको तलेजु भवानी इष्टदेवीका रूपमा रहिआएकी छन्।तलेजु भवानी भगवतीको एक प्रभावशाली रूप हो।

जहाँसम्म नेपालको प्रसंग छ, शक्ति पूजाको प्राचीनता खोज्दा पलाञ्चोक भगवतीको छैटौँ शताब्दीको अभिलेखलाई अघि सार्नु उचित देखिन्छ।अभिलेखमा स्पष्ट सम्वत् ४२५ (ईश्वी ५०३) र भगवतीश्री विजेश्वरी प्रतिमाको प्रतिष्ठा भयो भन्ने लेखोट स्पष्ट अंकित छ। 

लेखक(ध्रुवकृष्णदीप)ले कलाकारको कडा प्रस्तर छान्न सक्ने खुबी र यस्तो कडा पत्थरमा पनि कमनीय कलाकृति कुद्न सक्ने कला कुशलता ज्यादै कल्पनायोग्य छ भनेर वर्णनगर्न भ्याएका छन्। यिनले भगवतीका मूर्ति विधिवत प्रतिष्ठापन गर्न मार्कण्डेय पुराणको एउटा ज्यादै लोकप्रिय खण्ड मानिएको दुर्गासप्तसतीको प्रशस्त प्रभाव परेको उल्लेख गरेका छन्।

सप्तसतीमा आसुरी तत्त्वको संहार गर्न भगवती आफैँ अघि सरेको व्यहोरा प्रभावपूर्ण ढंगले प्रस्तुत गरिएको छ। वास्तवमा सस्त्रअस्त्र सुसज्जित वा आलंकारिक भई शक्तिशाली दुर्गा भवानीको जन्म भएको छ। धनदौलतलाई शक्तिको रूपमा लिँदा शक्तिशाली देवी लक्ष्मीको जन्म भयो।विद्यालाई शक्तिको रूपमा हेर्दा देवी सरस्वतीको जन्म भएको छ। 

प्रज्ञा र ज्ञानलाई नै नारीको शक्तिको रूपमा व्याख्या गरिएको छ, यसैका आधारमा बौद्ध देवीहरू प्राज्ञपरमिता, नैरात्मा, गुहेश्वरी,योगिनीविद्याधरी आदिको कल्पना गरिएको छ। यसैगरी प्रकृतिलाई नारी शक्तिका रूपमा समेत परिकल्पना गरिएको छ। 

राष्ट्रलाई आमाको रूपमा हेर्ने परम्परा नारीलाई सम्मान दिने अर्थमै लिन सकिन्छ। नारीको शक्तिविना पुरुष आधा मात्र हुन्छन् भन्ने आसयले देव–देवीलाई जोडीका रूपमा चित्रण गर्ने परम्परा पनि बलियो भएर गएको देखिन्छ। यसैबीच अर्धनारीश्वरका अनेक चित्र तथा मूर्ति बनेका छन्। यहाँबाट सुरु भएको देवी भगवतीको परिकल्पना धर्ममा पछि विकसित भएका देवीहरूको परम्परा (शाक्त सम्प्रदाय)र यसैसँग जोडिएर आएको देवी दुर्गा, अनि दशैंँको परम्परा आदि कहीँ न कहीँ एकापसमा गाँसिएको देखिन्छ।

सामाजिक संरचना, चाडपर्व

बाँच्नका लागि आधारभूत आवश्यकताको पूर्ति हुन थालेपछि जीवनयापन अझ सहज बनाउने क्रममा मानवले अनेक सामाजिक संरचनाको विकास  गर्‍यो। 

सुरुमा मानवले पशुपक्षीदेखि जंगलमा पाइने कन्दमूल प्रयोग गरेको देखिन्छ। पछि यसैको विकसित रूपमा खेतीपातीबाट जीवन निर्वाह गर्ने क्रम बढ्दै जाँदा मानव समूहहरू एकै ठाउँमा बस्न थाले, समाज बन्न थाल्यो। व्यवस्थित समाजका लागि सामाजिक संरचना आवश्यक भयो। 

धर्म–संस्कृति र संस्कार यसका बलियो खम्बा भएर उभिए। यसर्थ कडा, नरम अनेकौँ रीतितिथि, नियम–उपनियम बन्न थाले। यस्ता नीतिनियम आदेशात्मक रूपमा पालना गर्न थालियो, गर्न लगाइयो। सामाजिक मूल्य–मान्यता ठाउँ अनुसार विकसित हुँदै गए।सामाजिक संरचनाका विविध रूप विकसित हुँदै जाँदा यसलाई कहीँकहीँ विविध धर्मसँग जोडियो। 

यसैवेला हिन्दु धर्म र बौद्ध धर्म यथेष्ट मात्रामा बढेर गएको छ। राजनीतिर सामाजिक संरचनामा यसले आफ्नो पकड बलियो बनाउँदा बौद्ध कला र हिन्दु कला उपत्यकामा झाँगिन गएको देखिन्छ। राजाका आस्था र विश्वास अनुसार कहिले हिन्दु धर्मको र कहिले बौद्ध धर्मको बाहुल्य रहेको देखिन्छ। 

यसै अनुसार बौद्धधर्मका स्तुपा, विहार, चैत्य निर्माण भएका छन्। हिन्दु धर्मका अनेकौं मन्दिर बन्न गएको देखिन्छ। हिन्दु धर्ममा त्रि–ऋण (पितृ, ऋषि र देव ऋण) आदि चुकाउनु मानवको कर्तव्य मानिन्छ। यसको परिपालन गर्न चाडपर्वको कल्पना गरिएको देखिन्छ।

धर्मसँग समुदायको गहिरो सम्बन्ध स्थापित गर्न भौतिक रूपमा देख्न सकिने अनेक आकर्षक देवी–देवताका रूपलाई कलाकारले निर्माण गरे। विधि,रस, आसन आयुधले सुसज्जित यस्ता देवदेवी सबैजसो युवा रूपमा बनाएको देखिन्छ। 

कलाकारले शारीरिक अनुपात मिलाई लचकता, कामुकता, सौन्दर्यता अति आकर्षक ढंगले अवलम्बन गर्दा यस्ता (विशेषतः नारीका) मूर्तिले भक्तको भक्ति अझ प्रबल भएर अगाडि बढेको देखिन्छ। नेपालमा वयोवृद्ध देवीहरूबनाएको देखिँदैन।

यसैवेला धर्म, कला र संस्कारलाई आम मानवको दिनचर्यासँग जोडियो।धर्मलाई समुदायको दैनिक कार्यसँग जोडिँदा देवी–देवताका अझ थुप्रै रूप प्रादुर्भाव भएको देखिन्छ। समय अनुसार परिवर्तन हुँदै आएको समाज र दिनचर्यालाई सुहाउँदा देवी पनि प्रादुर्भाव हुँदै आएको देखिन्छ। 

धर्मलाई कहीँ अनुशासनसँग, कहीँ व्यवस्थित पद्धतिसँग जोड्ने क्रमको विकास हुँदा आआफ्नो एक अलग्ग पहिचान हुने र निश्चित समुदाय कालान्तरसम्म चलिरहने विश्वास समाजमा स्थापित भएकोदेखिन्छ।

यही परम्परालाई आस्था र विश्वासका साथ निरन्तरता दिन जात्रा, चाडपर्व विकसित हुँदै गएको देखिन्छ। चाडपर्व पनि पूर्वीय दर्शनसँग गहिरो रूपमा गाँसिएका छन्। यसलाई पद्धतिकै रूपमा स्थापित गर्न शासकवर्ग अझ गहिरोसँग लागेको देखिन्छ। 

समुदायले प्रचलनमा ल्याएका यस्ता चाडपर्वमा राजा गाँसिने वा राजाले स्थापित गरेको यस्ता रीतिथिति आम समुदायले पालना गर्नैपर्ने नियम बन्दै आएको देखिन्छ। विभिन्न चाडपर्व सँगसँगै मनाउँदै जाने क्रममा दसैँ मनाउने परम्परा सुरु भएको पाइन्छ।घरघरको सुखशान्ति, पारिवारिक भेटघाट, पुनर्मिलन, सामाजिक एकता, अनुशासनबद्ध रूपमा धार्मिक भावनालाई दिगो बनाउने अभिलाषा, रमाइलो हर्षोल्लास आदि अनेकौँ उद्देश्यका साथ आज दशैं देखापरेको छ। यसैको केन्द्रबिन्दुमा नवदुर्गा देखिन्छ।

देवी दुर्गा र दशैंको सम्बन्ध

आज जसरी दशैं मनाइन्छ,यसको परम्परा भने सामान्यतः१५औ शताब्दीमा विकास भएको हो भन्ने गर्छन्।यसलाई ठोकेरै भन्न आधिकारिक आलेख हामीसँग केही छैन। भारतीय उपमहादीपमा यो दशहराको रूपमा स्थापित भएको देखिन्छ। लोक कलासँग अति नजिकबाट जोडिएको यो पर्व स्वास्थ्य र आय–आर्जनसँग पनि आबद्ध भएको देखिन्छ। 

रावण दहन गर्ने परम्परा भारतमा जल्दोबल्दो रूपमा छ।यसलाई रामायणसँग पनि जोडी भगवान् रामले रावणको वध गरेको प्रसंग र यसैलाई विजयोत्सवका रूपमा मनाउन पनि दशहरा वा दशैं मनाउने प्रचलन चलेको देखिन्छ। वैष्णव  सम्प्रदाय, शैव शाक्त सम्प्रदाय बीचको मिलन बिन्दु पनि कम रोचकको छैन। सम्भवतः दशैंसँग नजोडिएका यस्ता भगवतीको मूर्ति अलि अगाडिदेखि बन्दै आएको देखिन्छ। स्पष्ट  के आकलन गर्न सकिन्छ भने धर्म र देवीदेवताको कथासँग जोडिएर अनेकौं चित्र वा मूर्ति बनेका छन्।

यस्तो न्यारेटिभ आर्टको प्रचलन अझ पुरानो छ। किंवदन्ती र लोकगाथालाई जीवन्त बनाउन पनि यस्ता कला बनाउने गरिन्छ। दशैं र नवदुर्गाको सन्दर्भ यस्तै गाथासँग नजिकबाट गाँसिएको छ। यसर्थ दशैंको यो परम्परापछि मात्र जोडिन आएको हो। दशैंको परम्परा बन्न गएपछि भने देवी दुर्गाका अनेकौं रूप स्थापित हुन गएको देखिन्छ।

१२औँ शताब्दीमै सशस्त्र हात भएकी देवी दुर्गाले महिषासुरको वध गरिरहेको सानो मूर्ति भारतमा प्राप्त भएपछि यो परम्परा अझ पुरानो रहेछ भन्ने विद्वान्ले आकलन गर्न थालेका छन्।त्रिशूलले महिषासुर (राक्षस)लाई वध गरिरहेको अति सुन्दर मूर्ति तिथिमिति सहित पाँचौँ शताब्दीमा नेपालमै प्राप्त भएपछि यसलाई धेरै अगाडि तान्न सकिने अवस्था सिर्जना भएको छ।

शोभा भगवती, नक्साल भगवती र पलाञ्चोक भगवती दिदीबहिनी हुन् भन्ने व्याख्या ग्रन्थहरूमा पाइन्छन्।यस्ता भगवतीका मूर्तिको संयोजन एकै प्रकारले भएको देखिँदैन। सामान्यतःअसुर वध त्रिशूलबाट गरेको देखाइए पनि कति ठाउँमा भैंसीको पुच्छर समातेर आफूतिर तान्दै गरेका दृश्यदेखि देवीका मुखाकृतिमा अलगअलग भावाभिव्यञ्जना देखाइएको छ। 

यस्तै, आसनमा विविधता, आयुधका अलगअलग आकार, गरगहना, पहिरन,वेशभूषा,आकृतिमा फरक ढंगबाट संगठित गरिएको देखिन्छ। यसबाट हरेक कलाकारलाई एउटा निर्देशन दिइएको र उनीहरूले आ–आफ्नै क्षमता, अनुभव, ज्ञान अनुसार अलगअलग मोटिफ रसंरचनाको निर्माण गरेको आकलन गर्न सकिन्छ।

तथापि कलाविद् डिल्लीराज शर्माले यसबारे अलि विस्तारमा व्याख्या गरेका छन्। उनले उल्लेख गरे अनुसार, महिषाशुरमर्दिनीका बारेमा शिल्परत्नले उल्लेख गरेका छन् कि यस प्रकारको मूर्तिमा जटामुकुटसहित त्रिभंग मुद्रामा दश हातसहित अंकित भएकी हुन्छिन् भने उनका हातमध्ये दाइनेमा त्रिशूल, खड्ग, चक्र, धनु तथा बायाँ हातमा पाश, अंकुश, खेटक, परसु र घण्ट धारण भएको हुन्छ। 

यस ग्रन्थका अनुसार देवीले भैँसीको टाउकोमाथि खुट्टा राखेको र भैँसीको टाउकोबाट रगत चुहिरहेको हुनुपर्ने, भैँसीको घाँटीबाट असुरले मुन्टो देखाएको हुनुपर्ने उल्लेख छ। विष्णुधर्मोतरमा पनि झन्डै यस्तै विवरण पाइन्छ। यसअनुसार देवी सुन्दर तर डरलाग्दी देखिने र देवीले भैँसीलाई त्रिशूलद्वारा प्रहार गरिरहेको हुनुपर्छ भनी उल्लेख गरिएको छ।

वैदिककालमै अस्तित्वमा रहेको शाक्त सम्प्रदाय

नेपालमा वैदिककालदेखि नै शक्ति देवीको अस्तित्व देखिन्छ। ऋग्वेदमा शचि (इन्द्रको शक्तिको रूप) उषा (सूर्यकी अर्धाङ्गिनी), वाग्देवी,शविता, उमा(शिवशक्तिको रूप) आदिको उल्लेख भएको छ। यसबाहेक वैष्णवी(विष्णु), वाराही (वराह), माहेश्वरी (महेष, शिव),  कौमारी (कुमार),इन्द्राणी,(इन्द्र)ब्राह्मी (ब्रह्मा) र यमी (यम) पनि उल्लेख भएको छ।

यसबारे अझ विस्तारमा अध्ययन हुन थालेपछि इतिहासलाई धेरै अगाडि लान सकिने अवस्था देखापर्न सक्छ। नेपालमा लिच्छविकालबाट मात्र शिलालेख प्राप्त भएको अवस्थाले भने नेपालको ऐतिहासिक, राजनीतिक र कलाको इतिहासलाई अध्ययन गर्न स्वभावतः गाह्रो देखिन्छ।

यही बीचमा मूर्तिको पादपीठमा पनि यस्ता अभिलेख राख्ने प्रचलन देखापरेपछि शिलालेखको ठाउँमा यसले कालखण्ड छुट्ट्याउन मद्दत हुने सम्भावना देखापर्छ। यस्ता पादपीठमा स्पष्ट ब्राह्मीलिपि र तिथिमिति देखिन थालेपछि(दोस्रो शताब्दीको जयवर्माको मूर्ति)इतिहासलाई अझ अगाडि तान्न सकिने ठाउँचाहिँ देखिन्छ। यसो भनिराख्दाभगवतीलाई इष्टदेवका रूपमा राजा–महाराजाले मान्ने प्रचलन पहिलेदेखि नै भएको देखिन्छ।

पाँचौँ शताब्दीका राजा मानदेवदेखि यसको तथ्यसत्यसहित आलेख पाइएका छन्, तर यो दशैंको परम्परा यसैवेलादेखि सुरु भएको हो वा होइन, स्पष्ट किटान भएको कहीँदेखिन्न। युद्धमा विजय पाउन, शत्रुको संहार गर्न, साहसिक काम गर्न आदिका लागि दुर्गाको पूजा गर्नुपर्छ भन्ने मान्यता छ। 

यसकारण देवी दुर्गा युद्धकीअधिष्ठात्री देवीका रूपमा सबैभन्दा लोकप्रिय भएको देखिन्छ।महाभारतमा अर्जुनले शक्ति प्राप्तिका लागि देवी दुर्गाको स्तुति गरेका थिए। मार्कण्डेय पुराणमा महिषाशुरमर्दिनी देवी शिव, विष्णु र ब्रह्मातथा अन्य देवताबाट उत्पन्न भएको मानिएको छ। पार्वतीको शक्तिबाट अम्बिका निक्लिएको सन्दर्भ पनि रोचक ढंगबाट अभिलेखीकरण गरिएको देखिन्छ।

दशैं र विजयोत्सव

दशैंलाई विजया दशमी भन्ने प्रचलनको पछाडि विजयोत्सव मनाउने प्रसंग जोडिएको छ। असत्यमाथि सत्यको विजय भएको दिनको रूपमा हर्षाेल्लासका साथदशैं मनाइन्छ। यसका साथै धर्मको पुनस्र्थापना भएको दिनको रूपमा पनि यो पर्वलाई मान्ने प्रचलन छ।

यसका लागि देवी दुर्गाले अद्भुत रूप धारण गरी दानव महिषासुरको वध गरेको कथात्मक रूपलाई परिकल्पना गरिएको छ। यहाँनेर विचारणीय प्रश्नचाहिँ दशैंमा भक्तिभावले पूजा गर्ने नवरात्रि र नवदुर्गा भवानीका रूपमा यस्तो स्वरूपको कल्पना गरिएको देखिँदैन। हरेक दिन अलग–अलग भगवतीका रूपलाई पूजाअर्चना गर्ने र अलगअलग स्वरूप, धर्मदर्शन गाँसिएको देखिन्छ।  

दश दिनसम्म धार्मिक अनुष्ठान गरी मनाइने यो पर्व हर्षोल्लासका साथ नेपालमा मात्र होइन भारत, बंगलादेश आदि ठाउँमा पनि मनाइन्छ। आराध्यदेवीप्रतिको आदरभाव जनाउने,भक्तिभाव प्रकट गर्ने भौतिक स्वरूपको आवश्यकता हुँदा सहस्त्र हात र अनेकौँ आयुधको कल्पना गरी अति सुन्दर र विराट रूपमा देवीको कल्पना गरी कलाकारबाट अद्भुत कलाको रचना भएको छ। जसलाई भौतिक रूपमा सामुन्ने राखी समुदायले पूजाअर्चनागर्नेदेखि विभिन्न धार्मिक अनुष्ठान गर्न अनेकौँ विधिविधानको निर्माण भएको छ। 

हिजोआज यसरी अस्थायी रूपमा यस्ता मूर्ति बनाई हर्षबढाइँ गर्ने प्रचलन देखिन्छ। भारतमा यस्ता अस्थायी रूपमा माटाका अति सुन्दर मूर्ति बनाउने र प्रतिष्ठापन गर्ने प्रचलन छ। यस्तो प्रचलन नेपालको तराई भागमा प्रशस्तै रूपमा आइसकेको छ। काठमाडौंमा समेत छिटपुट देखिन थालेको छ। दशैं मनाउने सन्दर्भमा नेपालमा देवी भगवतीका विभिन्न मन्दिरमा गई पूजाआजा गर्ने बढी प्रचलनमा छ। 

हरेक देवीलाई अलगअलग पशुपक्षीको बलि दिने प्रचलन पनि व्याप्त छ। अनुशासन, मर्यादाको प्रत्याभूतिका रूपमा पनि यसलाई मान्ने प्रचलन छ। जतिसुकै झैझगडा भए पनि, मन नमिले पनि दशैंमा अग्रजका हातबाट टीका ग्रहण गर्नुपर्छ भन्ने मान्यताले दुःखकष्ट सहेर टाढाटाढाबाट आफन्त एक अर्काकहाँ जाने–आउने गर्छन्। यसरी एउटा पुनर्मिलनको कार्यक्रमको रूपमा पनि यसले ठाउँ पाएको देखिन्छ।

नवदुर्गाका विविध रूप

दशैंमा देवी दुर्गालाई नवदुर्गाको रूपमा परिकल्पना गरिएको छ। यी देवी नवदुर्गाहरू शैलपुत्री,ब्रह्माचारिणी, चन्द्रघण्टा, कुशमाण्ड, स्कन्धमाता, कात्यायानी, कालरात्रि, महागौरी र सिद्धिदात्री हुन्। संग्रामशील दुर्गाको अर्को अवतार हो। जसलाई हरेकजसो कलाविद्ले वर्णन गर्दा मिलिट्यान्ट, वार ट्रम्पेट (तुरही बजाइ जोडले युद्धको घोषणा गर्नु),स्पाइरल फर्म (घुम्दै अकासिँदै गएको वस्तु),वार डिस्कस, ह्वेल सेप्ड वेपन्स,सार्प कटिङ एड्जजस्ता डरलाग्दा भयावह युद्धको अवस्था र यसका लागि अवतारको रूपमा जन्म लिएका दुर्गाको वर्णनगर्ने गरिन्छ। 

तथापि यस्तो डरलाग्दो युद्ध र अनेकौं हात–हतियारको वर्णन गर्दागर्दै यसलाई ज्ञानको शक्ति,अज्ञानता, अन्धकारमाथिको विजयका रूपमा रूपान्तरित गरेको देखिन्छ। यो एउटा धर्मदर्शनको रमाइलो पक्ष हो। नौवटै देवीको वाहन अलगअलग छन्। 

कुनैमा दोहोरिन गएपनि मूलतः सिंह, बाघ, गधा, साँढे आदि देखिन्छन् भने कसैको दुई हात, कसैको चार, कसैको दश हातको परिकल्पना गरिएको छ। पहिरनका रङ पनि अलगअलगछन्। समय अनुसार अहिले कलाको प्रस्तुति अनेक आकर्षक ढंगले गर्न थालिएको देखिन्छ। हरेकजसो कलाकारको कला संयोजनमा विशेषतः शिवले प्रदान गरेको त्रिशूल(मूल आयुध)लाई महत्त्वकासाथ प्रयोग गरेको देखिन्छ। सबै देवी देवताले आफ्नो शक्तिको प्रयोग गर्दा शैतान(राक्षस)सँगको युद्धमा आफैँ परास्त भएपछि देवी दुर्गाको उपासना गरेको कथा पाइन्छ।

(मल्ल कलाकार र कला समीक्षक हुन्।)

प्रकाशित: २३ आश्विन २०७८ ०६:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App