१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

प्रज्ञाले छान्यो उत्कृष्ट १० पुस्तक

नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको पुस्तक प्रदर्शनी सकिएको छ। पठन संस्कृति विकासका लागि गत भदौको २२ गतेबाट सुरु प्रदर्शनी असोज १२ गते सम्पन्न भएको प्रतिष्ठानले जनाएको छ।

सो अवधिमा प्रतिष्ठानले करिब ६ लाख रुपैयाँको पुस्तक बिक्री गरेको छ। सो अवधिमा प्रदर्शनीमा राखिएका मध्ये बिक्रीका आधारमा १० पुस्तकहरु बढी बिक्री भएको प्रतिष्ठानले जनाएको छ।

‘हामीले गरेको पुस्तक प्रदर्शनीमा राखिएका पुस्तकहरुमध्ये सबैभन्दा बढी बिक्री भएको हिसाबले १० पुस्तकहरुलाई उत्कृष्टको क्याटागोरीमा राखेका छौं’, प्रतिष्ठानका उपकूलपति गंगाप्रसाद उप्रेतीले भने, ‘यसले कोभिडको समयमा पनि पठन संस्कृतिप्रतिको चाख बढेको पाएका छौं, यो पुस्तक प्रदर्शनी पनि समग्रमा उत्साहप्रद भएको छ।’

प्रतिष्ठानका नायव सुब्बा हरिभक्त त्वायनाले प्रदर्शनीमा राखेका पुस्तकमध्ये बिक्रीका हिसाबले डा. प्रेम खत्रीद्वारा लिखित ‘नेपालका जातीय संस्कार(खण्ड १–६), विष्णु प्रभातले लेखेको दर्शनावली(खण्ड १–७), प्रज्ञा शैक्षणिक व्याकरण तुलनात्मक रुपमा बढी बिक्री भएको पुस्तक सूचीमा परेको बताए।

उनले डा. कृष्णहरि बरालको गीत कसरी लेख्ने?, प्राडा गोविन्दप्रसाद भट्टराईको भरतमुनिको नाट्यशास्त्र, देवी नेपालद्वारा सम्पादित प्रज्ञा नेपाली लोककथा, डा. वेदुराम भुसालको वैदिक समाज र दर्शन पनि पाठकको रोजाइमा पर्न सफल भएको बताए।

प्रदर्शनीमा पुस्तक बिक्रीको हिसाबले हरिराम जोशीद्वारा सम्पादित नेपालका प्राचीन अभिलेख, ज्ञानु अधिकारीद्वारा सम्पादित प्रज्ञा समकालीन नेपाली कथा विमर्श र प्राडा. कुमारप्रसदा कोइरालाद्वारा सम्पादित प्रज्ञा नेपाली समालोचना कोश पनि उत्कृष्ट दशभित्र परेको प्रतिष्ठानले जनाएको छ।

प्रदर्शनीमा १५ देखि ४० प्रतिशतसम्म छुट दिइएको थियो। प्रदर्शनीमा ५ सय बढी प्रकारका पुस्तक र ५० भन्दा बढी प्रकारका पत्रिका राखिएको थियो। उपकूलपति उप्रतीले पुस्तक प्रदर्शनी पुस्तक बिक्रीको प्रयोजनभन्दा पनि प्रज्ञाले प्रकाशन गरेका नयाँ पुस्तकहरुबो आम पाठकलाई जानकारी दिन आयोजना गरिएको बताउँदै आगामी दिनमा पनि प्रदर्शनी गरिने बताए। उनले प्रतिष्ठानले वर्षमा चारपटक नियमित पुस्तक प्रदर्शनी गरिरहेको जानकारी दिँदै अहिले ७ प्रदेशमा २२ भन्दा बढी स्टलको बन्दोबस्त गरी पुस्तक बिक्री गरिरहेको बताए।

प्रकाशित: १३ आश्विन २०७८ ०६:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App