३ कार्तिक २०७८ बुधबार
कला

सार्वजनिक सरोकारको विषय आत्महत्या

सेप्टेम्बर १० अर्थात् आजको दिनलाई आत्महत्या रोकथाम दिवसको रूपमा विश्वव्यापी रूपमा मनाउने गरिन्छ। विश्व स्वास्थ्य संगठनका अनुसार हरेक वर्ष आठ लाखभन्दा बढी मानिसले आत्महत्या गर्छन्। त्यसो त १५ वर्षदेखि १९ वर्ष समूहका किशोर किशोरीको मृत्युको प्रमुख चौथो कारणमा आत्महत्या पर्ने गर्छ।

 एकजनाको आत्महत्याका कारण उसको परिवार, छरछिमेकी, इष्टमित्र लगायत कम्तीमा ६ व्यक्तिलाई प्रत्यक्ष रूपमा प्रभाव पर्ने अध्ययनले देखाएका छन्। विश्वव्यापी समस्याका रूपमा रहेको आत्महत्याका कुल संख्यामध्ये ७७ प्रतिशत विपन्न र अतिविपन्न नागरिक रहेका मुलुकमा हुने गर्छन्। यसैले आत्महत्यालाई आर्थिक सामाजिक विषयवस्तुसँग पनि जोडेर हेर्ने गरिन्छ। गरिब राष्ट्रमा आत्महत्याको दर बढी हुनुलाई आर्थिक पछौटेपन, सामाजिक चिन्तन, चेतनाको स्तर तथा शारीरिक र मानसिक अवस्थालाई कारकका रूपमा लिने गरिन्छ।

जस्तोसुकै चोट, पीडा र व्यथा वा समस्या परे पनि त्यसलाई सहेर वा फरक किसिमले व्यवहार गरेर आफ्नो जीवन बचाउन चाहनु हरेक प्राणी मात्रको नैसर्गिक प्रवृत्ति हो। मानिसले पनि अन्तिम अवस्थासम्म आफूलाई बचाउन चाहन्छ। सामान्यतः एउटा घटना विशेषमा असफल हुनाले अथवा अन्य कुनै आर्थिक सामाजिक कारणले मानिसले आत्महत्या गर्‍यो भनेर अनुमान गर्ने गरिए पनि वास्तविकता त्यस्तो होइन। प्रत्यक्ष रूपमा देखिने एउटा मात्र घटना भए पनि आत्महत्या गर्नुका पछाडि अनेक कारण रहेका हुन्छन्।

आत्महत्यासम्बन्धी सामाजिक मान्यता

नेपाल लगायत मुलुकमा आत्महत्यासम्बन्धी सामाजिक मान्यता वैज्ञानिक आधारमा विकसित भएको देखिँदैन। हाम्रो समाजमा आत्महत्यासम्बन्धी कुरा गर्नुलाई पनि उचित ठानिँदैन। कसैले आत्महत्यासम्बन्धी कुरा  गर्‍यो वा आत्महत्या गर्‍यो भने त्यसलाई उसको व्यक्तिगत कमजोरी मान्ने गरिन्छ। ‘मनको बह कसैलाई नकह’ भन्ने नेपाली उक्तिले आफ्ना कमजोरी र पीडालाई बाहिर अभिव्यक्त गरी आफूलाई अरूसामु नंग्याउनुभन्दा आफैँले सहन गर्नु बुद्धिमानी हो भन्ने समाज मनोविज्ञानलाई देखाउँछ। 

इज्जत प्रतिष्ठामा दाग लाग्ने किसिमको काम गरेमा वा आफ्नो मनलाई नियन्त्रण गर्न नसकी अनैतिक वा असामाजिक काम गरेमा समाजका अगाडि नाक देखाउनुहुँदैन, सामाजिक रूपमा बेइज्जती हुनुभन्दा आत्महत्या गर्नु नै बेस हुन्छ भन्ने किसिमका मान्यताले समेत समाजमा जरो गाडेको देखिन्छ। अर्कोतिर परम्परागत धार्मिक, सांस्कृतिक प्रचलनअनुसार अरू कसैको वा आफ्नो हत्या गर्नुलाई पापकर्म मानिन्छ। सामाजिक सम्बन्धका दृष्टिले पश्चिमा समाजभन्दा नेपाली समाज स्वाभाविक, सामाजिक र अन्तक्र्रियात्मक रहे पनि आत्महत्यासम्बन्धी विचार वा आत्महत्याका घटनाका बारेमा एकापसमा छलफल गर्ने विषयमा संकुचित नै देखिन्छ।

किन गर्छन् आत्महत्या ?

निराशा, वितृष्णा, एक्लोपना महसुस गरेपछि व्यक्तिले आफूलाई जीवित राख्नुको अर्थ देख्दैन। आफूलाई पूर्ण रूपमा असहाय ठानेपछि मस्तिष्कमा डोपामाइन र सेरोटोनिनजस्ता खुसी तत्त्वलाई वृद्धि गर्ने रसायनको उत्पादनमा कमी आउँछ। उदासीनता, एन्जाइटी, ध्रुवीयता विकार, चित्तवृत्ति विकार र स्किजोफेर्नियाजस्ता जटिल किसिमका मानसिक रोगले व्यक्तिमा जीवनप्रतिको नकारात्मक सोच बढ्दै जान्छ। 

फलतः यस्ता व्यक्ति समय, सामाजिक मूल्य र आफ्नै जीवनप्रति समेत नकारात्मक बन्छन्। संसारभर हुने आत्महत्यामध्ये ९० प्रतिशतभन्दा बढी आत्महत्याको कारण यस्तै मानसिक समस्या हुने गरेको छ। मानसिक समस्यामध्ये ८० प्रतिशत आत्महत्याको कारकका रूपमा उदासीनता वा डिप्रेसन रहेको छ। बाल्यकालदेखि नै दुर्व्यसन वा आघातमा परेको, मनोशारीरिक विकास र सन्तुलनमा अवरोध सिर्जना भएको, अति प्रतिस्पर्धी, अस्वस्थ आचरण, लागू पदार्थ सेवन र अत्यधिक तनाव मानसिक विकृतिका कारक बनेका हुन्छन्। खासगरी १० वर्षदेखि १८–१९ वर्षसम्मको अवधि मानसिक वृद्धि र विकासका लागि निकै महत्वपूर्ण देखिन्छ। विभिन्न किसिमका हर्मोनको विकास हुने समय भएकाले यतिखेर तीव्र शारीरिक र मानसिक परिवर्तन हुने गर्छ। यस समयमा उचित किसिमको पारिवारिक वातावरण, संगत र परामर्श नभए क्षणिक कारणले समेत विचलित हुने र आत्महत्या गर्ने जोखिम बढ्छ।

नेपाली समाजमा मानसिक परामर्शलाई स्वाभाविक र सकारात्मक रूपमा ग्रहण गर्ने परिपाटीको विकास हुन सकेको देखिँदैन। तनाव तथा अन्य मानसिक परिवर्तनमा अस्वाभाविकता महसुस गरे पनि व्यक्ति मनोवैज्ञानिक वा मनोचिकित्सककहाँ परामर्शका लागि जान हिचकिचाउँछन्। घर–परिवारमा खुलेर कुराकानी नगर्ने तथा शारीरिक र व्यवहारगत विचलन देखिँदा पनि सहयोग लिनुपर्छ भन्ने चेतनाको अभावले गर्दा सामान्य किसिमका मानसिक रोगमा उपचारको अभाव हुन जान्छ र रोगले जटिल रूप लिन पुग्छ।

व्यक्तित्व, आहार, निद्रा र दैनिक क्रियाकलापमा भएको परिवर्तनलाई आफन्त तथा साथीभाइले ख्याल गर्ने हो भने आत्महत्याबाट हुने मृत्युको दरलाई निकै कम गर्न सकिन्छ। प्रारम्भिक अवस्थामै उचित किसिमको परामर्श र सहयोग दिन सकियो भने सामाजिक कारणबाट सिर्जना भएका मानसिक समस्या गाउँघरमै समाधान हुन सक्छन्।

व्यक्ति विशेषमा कुनै पनि बेला ‘अब्सेसन’ वा एउटै नकारात्मक विचारले मानसिक उल्झन सिर्जना गर्ने अवस्था आउन सक्छ। यस्तो बेला उसको कुरालाई सुनिदिने र स्वस्थ आहार, विहार र व्यवहार गर्नका लागि सहयोग पुर्‍याउने हो भने मनोविक्षिप्तताको अवस्थामा पुग्नबाट रोक्न सकिन्छ। आर्थिक, सामाजिक वा अन्य जुनसुकै समस्या सिर्जना भए पनि व्यक्ति बरु घरपरिवार र समाजबाट पलायन हुन्छ, आफूलाई नयाँ परिस्थिति र परिवेशमा समायोजन गर्न प्रयास गर्छ। 

यो उसको प्राकृतिक र नैसर्गिक स्वभाव हो। व्यक्तिमा मानसिक समस्या विद्यमान छ, वा सामाजिक र आर्थिक कारणले ग्रस्त गरिरहँदा समयान्तरमा मानसिक समस्या सिर्जना भएको छ भने उसले कुनै पनि बेला आत्महत्या रोज्न सक्छ। यसैले आत्महत्यालाई पूर्ण रूपमा मस्तिष्कसँग सम्बन्धित क्रियाकलाप मानिन्छ। निर्णय र व्यवहारमाथिको नियन्त्रण र सकारात्मक चिन्तनको अभाव हुँदा आफूले आफैँलाई मार्ने काम समेत गर्ने भएकाले सामाजिक सम्बन्धन, मानसिक स्वास्थ्यसम्बन्धी चेतना र एकापसको सहयोगी व्यवहार आत्महत्याजन्य घटनालाई न्यूनीकरण गर्नका लागि  महत्त्वपूर्ण  हुन्छन्।

विश्व स्वास्थ्य संगठनले ‘मेन्टल हेल्थ एक्सन प्लान’ (२०१३–२०३०) मा मानसिक स्वास्थ्यलाई सबैभन्दा महत्त्वपूर्ण मान्दै मानसिक स्वास्थ्यबिना दिगो विकासको लक्ष्य प्राप्त हुन नसक्ने बताएको छ। यस योजनामा मानसिक स्वास्थ्यको विषय मनोवैज्ञानिक र चिकित्सकको मात्र सरोकारको विषय नभएर सबै नागरिकको चासो र सरोकारको विषय हो भन्ने निष्कर्ष निकालिएको छ।

आत्महत्या रोकथाम  

आत्महत्या अप्राकृतिक रूपमा जीवन समाप्त पार्ने काम हो। प्राणी मात्रले जटिल अवस्थामा समेत आफ्नो ज्यान जोगाउन चाहनु प्राकृतिक प्रक्रिया हो। आत्महत्या मानसिक विचलन र मनोसामाजिक असन्तुलनका कारण सिर्जना हुने दुर्घटना हो। यस प्रकारको दुर्घटना हुनुभन्दा अगाडि व्यक्तिले आफूनजिकका मानिसलाई कुनै न कुनै किसिमले आफ्नो मृत्युका बारेमा संकेत गरेको हुन्छ। 

आफन्तसँग भेटघाट गरी बिदाइ हुन खोज्नु, छोराछोरी र परिवारका सदस्यको भविष्यका बारेमा चिन्ता र चासो व्यक्त गर्नु, इन्टरनेट तथा सामाजिक सञ्जालमा आत्महत्यासम्बन्धी सामग्री र मृत्युपछि के हुन्छ भन्ने विषयमा खोजी गर्नु, आफूलाई अत्यन्त मनपर्ने किसिमका सामग्री र उपहार आदि अरू व्यक्तिलाई बाँड्दै हिँड्नु अथवा आफू जिउनुको कुनै अर्थ नभएको भनी निराशावादी कुराकानी गर्नुलाई आत्महत्याको पूर्वसंकेतका रूपमा लिने गरिन्छ। 

व्यक्तिका यस्ता प्रतीकात्मक प्रतिक्रियालाई समयमै गम्भीर रूपमा लिई उसलाई आवश्यक उपचारको प्रबन्ध गर्न सके आत्महत्याबाट जोगाउन सकिन्छ। आत्महत्यामा प्रयोग हुन सक्ने साधन उपलब्ध हुन नसक्ने वातावरण सिर्जना गरे पनि यसलाई कमी ल्याउन सकिन्छ। आत्महत्यासम्बन्धी चिन्तन जो–कोहीमा जतिखेर पनि आउन सक्ने भएकाले आत्महत्या रोकथामसम्बन्धी परामर्शमा सबैको पहुँच  पुर्‍याउन सके व्यक्तिले अप्ठेरो महसुस गर्नासाथ सम्बन्धित ठाउँमा फोन वा अन्य माध्यमबाट सम्पर्क गर्न सक्छ। नकारात्मक विचारको आँधीबेहरीले अकस्मात् व्यक्तिलाई छोपेको अवस्थामा उसले सबैतिर अन्धकार देख्छ र तत्काल आत्महत्याको प्रयास गरेको हुन्छ। 

त्यस समयमा समेत उसलाई जीवनप्रतिको झिनो आशा भने रहेको हुन्छ। यसैले आत्महत्या गर्नुभन्दा अगाडि व्यक्तिले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा आफ्ना मानिससँग जीवनरक्षाका लागि याचना गरेको हुन्छ। उसको सांकेतिक याचना बुझेर तुरुन्तै सहयोग गर्न सक्ने हो भने व्यक्तिलाई मृत्युको मुखबाट जोगाउन सकिन्छ।

केही व्यक्तिले आर्थिक क्षति वा पारिवारिक वियोगका घटनालाई सहन गर्न नसकेर पनि आत्महत्या गरेका हुन्छन्। आवेशप्रेरित यस्ता प्रयासमा मानसिक रोगमा जस्तै पूर्वतयारी नभए पनि उनीहरूको आचरण र व्यवहारमा आएको परिवर्तनलाई नजिकका मानिसले महसुस गर्न भने सक्छन्।आत्महत्यासम्बन्धी सोच आउनासाथ सम्पर्क गर्ने ठाउँ हुने र त्यहाँबाट व्यक्तिलाई मनोस्वास्थ्यसम्बन्धी आधारभूत सुविधा दिन सक्ने हो भने आवेशप्रेरित आत्महत्यामा समेत कमी ल्याउन सकिन्छ।

नेपालको अवस्था  

नेपाल धेरै आत्महत्या हुने मुलुकमध्ये नै पर्छ। जनसंख्या वृद्धिसँगै नेपाल प्रहरीले उपलब्ध गराएका आत्महत्यासम्बन्धी घटनाको संख्यामा समेत हरेक वर्ष वृद्धि भएको देखिन्छ। औपचारिक रूपमा राज्यका आधिकारिक निकायमा दर्ता भएका घटनालाई मात्र हेर्दा पनि औसतमा प्रतिदिन १९ जनाभन्दा बढीले आत्महत्या गरेको देखिन्छ।

 आर्थिक वर्ष ०७३/७४ मा पाँच हजार एक सय २४ व्यक्तिले आत्महत्या गरेको विवरण देखिन्छ। यो संख्या आर्थिक वर्ष ०७६/७७ मा ६ हजार दुई सय ४१ पुगेको छ। आर्थिक वर्ष ०७७/७८ मा सात हजार एक सय १७ जनाले आत्महत्या गरेका छन्। पछिल्लो समय कोरोना महामारीका कारण आम नागरिकको आर्थिक स्थिति र मानसिक स्वास्थ्यमा आघात परेको आकलन गरिएको छ। यसैले आगामी दिनमा मानसिक स्वास्थ्यसम्बन्धी सचेतना र मनोवैज्ञानिक प्राथमिक उपचारको सेवा आम नागरिकलाई पुर्‍याउनैपर्ने चुनौती थपिएको छ। 

हरेक चार व्यक्तिमध्ये एकजनामा कुनै न कुनै किसिमको मानसिक समस्या हुने प्रक्षेपण विश्व स्वास्थ्य संगठनले गरेको छ। यस आधारमा पनि गाउँगाउँमा मानसिक परामर्शदाताबाट परामर्श सेवा तथा चिकित्सकीय सुविधाको विस्तार गर्नु अपरिहार्य देखिन्छ। मानसिक स्वास्थ्यसम्बन्धी चेतनाको स्तर सहरी क्षेत्रमा केही न केही राम्रो देखिए पनि दुर्गम र ग्रामीण क्षेत्रमा यस किसिमको चेतना विस्तारका कार्यक्रम हुन सकेका छैनन्। यसैले नेपालमा ठूलो संख्यामा नागरिकहरू आत्महत्याजन्य दुर्घटनाको जोखिममा रहेका छन्।

आत्महत्याको विचार आएमा के गर्ने ?

जीवनको कुनै पनि क्षणमा व्यक्तिमा नकारात्मक सोच र जीवनप्रतिको निराशा पलाउन सक्छ। यस्तो अवस्थामा परिवारका सदस्य, साथीसंगाती र आफन्तजनसँग कुराकानी गर्ने गर्नुपर्छ। नकारात्मक सोच आएमा एक्लै बस्नुहुँदैन। जतिसक्दो छिटो सामाजिक कार्यकर्ता, मनोविद् वा चिकित्सकसँग परामर्श गरी आफूमा देखापरेको नकारात्मक भावनालाई निराकरण गर्ने प्रयास गर्नुपर्छ। 

आपतकालीन अवस्थामा टेलिफोनका माध्यमबाट समेत विशेषज्ञसँग सम्पर्क गर्न सकिन्छ। विकसित राष्ट्रमा २४सै घन्टा परामर्शका लागि हटलाइन सेवाको प्रबन्ध गरिएको हुन्छ। नेपालमा पनि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, कान्ति बाल अस्पताल तथा केही गैरसरकारी संस्थाले हटलाइन सेवा विस्तार गरेका छन्। आफूमा नकारात्मक भावना विकास भएको खण्डमा यी केन्द्रमा सम्पर्क गरे उचित परामर्श प्राप्त गर्न सकिन्छ। 

थोरै समय मात्र परामर्शमा समय बिताउन सकियो भने मानसिक अवस्थामा परिवर्तन आई जीवनप्रतिको निराशा कम हुन्छ। शारीरिक रूपमा अस्वस्थ हुनुजस्तै मानसिक रूपमा अवाञ्छित किसिमका परिवर्तन आउनु स्वाभाविक र सामान्य कुरा हो भन्ने बुझेर हिचकिचाहटबिना मनोसामाजिक परामर्श लिन तयार हुने तथा आफन्त र साथीभाइलाई परामर्शका लागि प्रेरित गर्न सके आत्महत्याबाट हुन सक्ने दुर्घटनालाई नियन्त्रण गर्न सकिन्छ।

कायर वा कमजोर मानिसले मात्र आत्महत्या गर्छन् भन्ने सत्य होइन। आत्महत्याका पछाडि अनेक कारण रहेका हुन्छन्। भौतिक र सामाजिक कारणका साथै मानसिक कारण मुख्य रहने भएकाले स्वस्थ मानसिक अवस्थाको विकास गर्न स्वास्थ्य सचेतना र मानसिक सेवालाई हरेक नागरिकको पहुँचमा  पुर्‍याउनुपर्छ। आफ्नो परिवारका सदस्य वा आफन्तजनमा देखापरेको परिवर्तनलाई बेवास्ता नगरी त्यसका बारेमा खुला रूपमा छलफल गर्ने वा आवश्यक परामर्शका लागि मनोविद् वा नजिकका स्वास्थ्य संस्थामा सम्पर्क गराउनुपर्छ।

राज्यले शारीरिक स्वास्थ्यलाई जस्तो मानसिक स्वास्थ्यलाई  महत्त्व दिएको देखिँदैन। महामारीजन्य घटनाले मानसिक स्वास्थ्यमा समेत क्षति पुर्‍याएको वर्तमान परिस्थितिमा राज्यका तर्फबाट आम नागरिकलाई मानसिक स्वास्थ्यसम्बन्धी सेवा दिनका लागि अग्रसरता देखाइनुपर्छ। मादक वा लागूपदार्थको प्रयोगमा कमी ल्याउने, मानसिक स्वास्थ्यसम्बन्धी सचेतना बढाउने र मानसिक स्वास्थ्य सेवालाई विस्तार गर्ने हो भने आत्महत्याबाट हुने मृत्युलाई न्यूनीकरण गर्न सकिन्छ। 

प्रकाशित: २६ भाद्र २०७८ ०८:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App