भनिन्छ, बेलायत लगायत युरोपमा तीन कुराको हुँदैन। पहिलो मौसम, दोस्रो काम वा रोजगार र तेस्रो श्रीमती। क्षणमै घाम लाग्ने, क्षणमै पानी पर्ने र क्षणमै हिउँ पर्ने विशेषता छ, बेलायतको मौसमको । बेलायती संस्कारमा श्रीमतीलाई खुसी पार्न धेरै गाह्रो। मनग्गे पैसा दिइरहन सकिएन वा श्रीमतीको इच्छामुताबिक पुर्याउन सकिएन भने उनको स्थायित्व पनि खत्तम। श्रीमान् वा श्रीमती कुन वेला फेरिन्छन्, त्यो दुवैका लागि अनिश्चित हुन्छ। बेलायतमा कामको अवसर छ, यत्रतत्र। कामको खोजी गर्नेहरू पनि प्रशस्त पाइन्छन्। त्यसैले काम गर्नेले काम दिनेलाई र काम दिनेले काम गर्नेलाई खुसी पारिनरहेमा कुन वेलाको उत्तानो पर्ने हो अत्तोपत्तो हुँदैन।
अघिल्लो दिन बेलायतको लन्डन सहर घुम्दा दिनभर घमाइलो थियो। तर, क्षणको फेरबदलमै बादलले डम्म ढाक्यो लन्डनलाई। बादल मात्र होइन, लन्डन धरहरा घुम्ने क्रममा दिउँसो सिमसिम पानीले भिजियो। साँझ भने सहरमा फुसफुस हिउँ बस्र्यो।
नेपाली राजदूतावास रहेको स्थान केन्सिङटन प्यालेस गार्डेनबाट बकिंघम प्यालेस र स्प्रिङ गार्डेन हुँदै लन्डन धरहरा पुग्दा १२ बजेर २२ मिनेट गइसकेको थियो। लन्डन धरहरा एउटा महत्वपूर्ण संग्रहालय हो। थेम्स नदीको किनारमा र लन्डन टावर पुलको आडमा रहेको त्यो संग्रहालयमा विश्वकै सबैभन्दा ठूलो हीरा कुल्लिनान र महत्वपूर्ण हीरा कोहिनुर समेत संग्रहित छ।
लन्डन धरहरा पुरानो दरबार क्षेत्रमा अवस्थित छ। धरहराको परिसरमा प्रवेश कक्षभित्र प्रवेश गर्नासाथ इँटा ठाडो पारेर बनाइएको बाटोमा हिँड्न सकिन्छ। बेलायती राजाहरूले प्रयोग गर्ने श्रीपेचहरू र तिनमा प्रयोग हुने हीरा–जबाहरतहरू सबै देख्न सकिन्छ त्यहाँ। बेलायती राजसंंस्थाले प्रयोग गरेको चौथो शताब्दीदेखि आजसम्मका श्रीपेच पनि सजिएका छन्।
लन्डन धरहरा इंल्यान्डका राजारानीको निवास पनि थियो प्राचीन कालमा। त्यसवेलाको दरबारको झलक अझै पनि ताजा छ। राजा एडवार्ड प्रथमको दरबारमा तिनका कोठा पनि सुरक्षित रूपमा रहेका छन्। ढुंगाबाट घर बनाइएको, घरभित्र धुवाँ निस्कने प्वाँल राखिएको, गुम्बज आकारमा कोठाको निर्माण गरिएको देख्दा त्यसवेला बेलायतमा वास्तुकलाको राम्रो विकास भइसकेको बुझिन्छ।
बेलायतमा १३औँ शताब्दीदेखि नै घरका भित्ता सजाउने प्रचलन थियो। भित्तामा प्रयुक्त बुट्टाहरू, इँटा, संगमर्मर आदिको कलात्मकता संग्रहालयका आकर्षणका रूपमा केन्द्रित छ। राजा विलियम कन्क्वेररको शासनकालदेखि नै त्यो सेतो टावर लन्डन टावरको नामले चिनिन थालेको थियो।
धरहराका कुनाकुनामा राता कपडा, बाक्लो र लामो रौँयुक्त टोपी पहिरिएका सैनिकको रखबारी हेर्न लायकको छ । गजब र अचम्मको छ, कुल्लिनानको कहानी पनि। परम्परागत पोसाक पहिरिएका यियोमान वार्डरर्सहरूले पथ–प्रदर्शकको भूमिका निर्वाह गर्दै हरेक यात्रुहरूतिर सहयोगका हात बढाइरहेछन्।
एउटा कक्षमा छ, युद्ध क्षेत्रमा प्रयोग गरिने कवचहरूको प्रदर्शनी। भरुवा बन्दुकहरू, ठुल्ठूला तोप, बन्दुकमा प्रयोग गरिने धुलोजस्ता सामग्री संग्रहालयमा सीमित छ। हामीकहाँ त्यस्ता हात–हतियार उत्पादन हुँदैनन्। त्यहाँको प्राचीनता हाम्रो देशको वर्तमान भएको छ।
लन्डन धरहराको अवलोकनको मुख्य उद्देश्य त्यहाँको जवाहरत र श्रीपेचको पनि अवलोकन गर्नु हो। विभिन्न समयमा राजा–महाराजाले प्रयोग गर्ने गरेका श्रीपेचको लाम थियो। विभिन्न समयका श्रीपेचमा प्रयुक्त हीरा, मोती, माणिक, रुबी आदिको सुन्दर नमुनाहरू तात्कालिक शासकको सोख समेत छर्लगिन्छ। जवाहरत कक्ष हेरिरहँदा पनि कुल्लिनान हीरा ठम्याउन सकेनौँ हामीले। पथ–प्रदर्शकलाई सोध्यौँ। उनैले देखाए। तर त्यो त भारतबाट ल्याइएको कोहिनुर हीरा पो थियो।
मैले त्यो कुरा उनलाई भनेपछि पथ–प्रदर्शकले भुल स्विकार्दै माफी मागे। हुन पनि कोहिनूर पनि कम महत्वपूर्ण हीरा होइन। कोहिनूर धेरै वर्षसम्म चक्रवर्ती राजा मोहम्मद शाहको ताजमा झल्किरह्यो। जब पर्सियाका शासक नादिर शाहले उनको स्थान ओगटे, तब पहिलोपटक त्यो हीरालाई देख्नेबित्तिकै ‘को हि नूर’ नाम दिए, जसको अर्थ ‘प्रकाशको पहाड’ हुन्छ। सन् १८४९ पछि भारतको पन्जाबबाट कोहिनूर बेलायतमा पुर्याउन्जेल पनि खासै महत्व मानिएको थिएन। १८६ क्यारेटको कोहिनूरलाई काटेर जब १०८.९३ क्यारेटमा ल्याइयो तब त्यसको चम्किलोपन र सुन्दरता अलौकिक रूपमा देखा पर्यो। संग्रहालयका पथप्रदर्शकसँग निकैबेर यताउति नियाल्दै हिँडेपछि कुल्लिनान भेटियो। ऊ त सिसाको र्याकभित्र राजदण्डमा टाँसिई मुसुक्क मुस्काएर बसिरहेको रहेछ।
विश्वकै सबैभन्दा ठूलो त्यो हीरा कुल्लिनान नकाट्दा ३१०६ क्यारेट (१.३३ पाउन्ड) थियो भने काटिएछि ५३० क्यारेट मात्र बाँकी रह्यो । कुल्लिनानलाई अफ्रिकाको महान् तारा पनि भन्छन्। सन् १९०५ मा खानीका अन्वेषकले एउटा सानो चक्कुले खोस्रिरहेका वेला फुत्त जमिनबाहिर निस्केथ्यो कुल्लिनान। झन्डै एउटा अङ्गुरदाना जत्रो त्यो हीरा बेच्न उनले धेरै प्रयास गरे । तर किन्ने कोही भेटिएन। आखिर बेलायती राजा एडवर्ड सातौँलाई उपहारस्वरूप प्रदान गरियो। आज बेलायती श्रीपेचको महत्वपूर्णअंगका रूपमा उच्च आसन ओगटिरहेछ कुल्लिनान।
विश्वकै सबैभन्दा ठूलो हीरा र विभिन्न समयका श्रीपेचको तस्बिर खिच्ने इच्छा थियो मलाई। मैले सुरुमै एउटा आकर्षक श्रीपेचको तस्बिर खिचिहालेँ । पछि कुल्लिनान हीरा चिनेपछि त्यसको तस्बिर खिच्न आँटेको मात्र के थिएँ, त्यहाँ तैनाथ सुरक्षाकर्मीले संग्रहालय–कक्षमा तस्बिर खिच्न मनाही गरे। उनले मनाहीको सूचना दिनुअगावै मैले कुल्लिनानको तस्बिर खिचिसकेको थिएँ। कर्णजी हर्षले विभोर हुनुभयो, विश्वकै सबैभन्दा ठूलो हीराको तस्बिर खिच्न समर्थ भयौँ भनेर।
लन्डन धरोहरका विभिन्न घरमा रहेका संग्रहालय हेर्न ओहोरदोहोर गर्दा सिमसिमे पानीले भिजेर चिसो भयो। अधिकांश लन्डनवासीहरू छाता ओढेर हिँडिरहेका थिए। टेलिभिजनहरूमा दश दिन पछिसम्म मौसमको भविष्यवाणी गर्ने र त्यो प्रायः पूरै मिल्ने भएकाले सर्वसाधारण सबैले भविष्यवाणी सुनेर त्यस अनुसार कपडा पहिरने र छाता बोक्ने चलन छ। संग्रहालयको अवलोकनपश्चात् फर्कंदा मूलढोकामा जनार्दनजी, उद्धवजी र लव सुवेदीजी कुरिरहनुभएको थियो ।
हामी नर्दम्बरल्यान्ड सडकबाट अगाडि बढ्यौँ। एउटा चोक भेटियो। एउटा अग्लो स्तम्भमा नेल्सनको सालिक, वरिपरि काला रंगका वाहन घोडचडी मूर्तिको बेग्लै रौनक देखियो। मलेसियाली र क्यानाडियन राजदूतावासहरू आ–आफ्ना झन्डा फर्फराइरहेछन् त्यसै चोकमा।
हाम्रो कार पिकाडेली सर्कस लाइनबाट अक्सफोर्ड सर्कस एभिन्युतर्फ जाँदै थियो। बीचमा ‘हरे राम हरे कृष्ण’ गाउँदै अन्दाजी ५०० को संख्यामा एक हुल मान्छे सडक ढाकेर अघि बढिरहेका थिए । तिनीहरूको बीचमा एउटा रथ थियो । रथमा एकजना भक्त भगवान् कृष्णको मुद्रामा बसिरहेका थिए। होली पर्वको दिन भएकाले त्यस्तो प्रदर्शन गरेका थिए ती भक्तले।
सडकपेटीमा हिँडेका बेलायती ‘जिउँदो भगवान’को तस्बिर खिच्न तँछाडमछाड गरिरहेथे । बेलायतमा दुईतले बसहरू कुदिरहन्छन् प्रायः। सवारीसाधनले सडकमा अस्तव्यस्तता ल्याउँदैन। बसभित्र कसैले पनि धूमपान गर्यो भने तत्कालै स्टर्लिङ पाउन्ड हजार जरिवाना हुने हुँदा धूमपान गर्नेहरूले सार्वजनिक स्थलमा कुनै हालतमा पनि आफ्नो लत प्रस्तुत गर्दैनन्।
दिउँसो लन्डन सहरको केन्द्रमा रहेको म्याडम टुसादमा पुग्यौँ। म्याडम टुसाद नामकी एउटी महिलाले आफ्नो जीवनकालमा विश्वका विभिन्न क्षेत्रका प्रख्यात व्यक्तिको मैनको मूर्ति बनाएकी थिइन्। उनको त्यस सिर्जनात्मक क्रमलाई वर्तमानसम्म निरन्तरता दिइयो।
कर्णजी र मैले प्रतिव्यक्ति नेपाली रूपैयाँ झन्डै चार हजारका दरले म्याडम टुसादको प्रवेश–टिकट किन्यौँ । बेलायतमा त्यस्ता संग्रहालय हेर्दा ठूलो रकम तिर्नुपर्छ । अमेरिकाको वासिङटन डिसीमा भने जुनसुकै संग्रहालय हेर्दा पनि रकम भुक्तानी गर्नुपर्दैन। सो शुल्क भुक्तानी गरेपछि म्याडम टुसादभित्र डरलाग्दो कक्ष भूतघर र खगोलकक्ष समेत हेर्ने पाइने हुँदा एक पन्थ दो काज हुने लोभले मान्छेहरू ओइरन्छन्।
म्याडम टुसाद कक्षमा तत्कालै बोलिहाल्ने जस्ता मैनका मूर्ति विभिन्न भावभंगीमा रहेका छन्। तिनीहरूलाई कसैले पनि निर्जीव मूर्ति भन्न अड्कल काट्दैन । एक ठाउँमा एउटी युवती अघिल्तिर रहेको अर्को एउटा युवकको तस्बिर खिचिरहेकी थिइन्। मैले उनको तस्बिर–खिचाइलाई अप्ठेरो पर्ला भनेर निहुरेर हिँडेँ । एक घन्टापछि त्यसै स्थानमा पुग्दा ती युवती त्यसै गरी तस्बिर खिचिरहेकी रहिछिन्। पछि थाहा भयो, त्यो त सजीव नभई मैनको मूर्ति पो रहेछ।
म्याडम टुसाद कक्षमा मान्छे नहिँड्ने हो भने को सजीव को निर्जीव छुट्याउनै गाह्रो पर्छ। एकपटक अभिताभ बच्चन र ऐश्वर्य रायको मूर्तिसँग तस्बिर खिचाउँदै थिएँ म। नजिकै रहेको अर्को मूर्ति लड्न लाग्यो भनेर पछिल्तिरबाट समातेँ । मेरो हातलाई अर्को हातले अलिकति पन्छायो। म झसँग भएँ। त्यो त मूर्ति नभई सजीव युवती पो रहिछन् । मैले ‘सरी’ भने। यस्तै हो, पहिले त मैले पनि तपाईंलाई मूर्ति नै ठानेकी थिएँ,’ तिनले मुस्काउँदै जवाफ दिइन्।
म्याडम टुसादमा भारतीय चलचित्रका हस्ती अमिताभ बच्चन, ऐश्वर्य राय, अमेरिकाका राष्ट्रपति जर्ज डब्लु बुस, बेलायती महारानी एलिजाबेथ, प्रधानमन्त्री टोनी ब्लेयर, भारतका महात्मा गान्धीजस्ता प्रसिद्ध व्यक्तिका मूर्ति सजीव भावभंगीमा रहेका छन्। त्यसबाहेक अभिनेता, लेखक, कलाकारजस्ता सेलिब्रेटी पनि एकै ठाउँमा छन्।
असंख्य कलाकार, साहित्यकार, राजनेता, खेलाडी, गायक आदि व्यक्तिका सजीव व्यक्तित्व झल्किरहेथे, ती मूर्तिहरूमा। कतै नर्तकी नाचिरहेको र कतै गायिकाहरू गाइरहेको दृश्यले आफ्ना प्रिय कलाकारको सामीप्य अनुभूति हुन्छ । कर्णजी र मैले विभिन्न कलाकार र नेताका मूर्तिसँग बसेर तस्बिर खिचायौँ। तस्बिर खिचाउनेको भीड थियो, जतासुकै । एउटा कक्ष संगीतको कक्ष थियो । त्यहाँ विश्वका विभिन्न रक र पप गायकका मूर्ति संगीतका साधन लिएर गाउँदै थिए । छेउमै मेल नामकी एउटी युवतीले बोलाइन् मलाई, ‘तस्बिर खिच्ने हो ?’ उनको प्रश्नमा प्रश्न गरेँ, पैसा तिर्नुपर्छ कि ? तिनले तिर्नुनपर्ने जवाफ दिइन्। नक्कली कपाल पहि¥याइन् तिनले । एउटा गितार पनि मेरो हातमा थमाइन् । चर्को स्वरमा मैले गीत गाएँ । उनले तस्बिर खिचिन्।
म्याडम टुसादको कक्षसँगै लन्डनको भावना नामको अर्को एउटा कक्ष छ । त्यहाँ बेलायतको प्राचीन कालदेखि वर्तमानसम्मको अवस्था चित्रण भएको छ। बेलायतमा पनि करिब चार सय वर्षअगाडि वर्तमान नेपालकै जस्तो अवस्था थियो । मान्छेहरूले रन्दा, बसिला आदिको प्रयोग गरिरहेका, काठका पांग्राले युक्त गाडाहरू, मान्छेहरूले पिठ्युँमा भारी बोेकिरहेका आदि दृश्यद्वारा बेलायतको प्राचीन अवस्था झल्कन्थ्यो। बिस्तारै बेलायतीले सबै पक्षमा गरेको प्रगति पनि झल्काइएको थियो ।
एक ठाउँमा विलियम सेक्सपियर कुर्सीमाथि बसेर लेखिरहेका थिए। मैले प्रणाम गरेँ, हृदयदेखि नै उनलाई । सेक्सपियर हजुरबाको देशमा पुगेर उनको दर्शन गर्न पाउनु गौरवको कुरा भएको थियो मलाई। लन्डनको भावनासम्बन्धी दृश्यावलोकन गर्न जडित ट्रली ट्याक्सी थिए भित्र। चढेपछि आफैँ चल्थे तिनीहरू र दृश्यावलोकन गरिसकेपछि स्वतः पूर्वस्थान फर्कन्थे। बेलायत बुझ्नका लागि निकै ज्ञानवर्धक छ, त्यो लन्डनको भावना।
अब भूतघर जाऊँ ! मेरो प्रस्ताव। साह्रै डरलाग्दा दृश्य छन् भन्ने सुनेपछि कर्णजी भित्र पस्न नै मान्नुभएन। म भने हिम्मतसाथ पसेँ । भित्र पस्नासाथ एक्कासि डरलाग्दो ठूलो आवाजले झस्कायो । हातमा रगत लतपतिएको, लामा दाह्रा भएको, लामा नङ पालेको, ठूला आँखा भएको, एक अजंगको दानव देखापर्यो । झन्डै समातेको उसले।
भूतघरभित्र पूरै अन्धकार थियो । कतै मान्छे झुन्डिरहेका, कतै मान्छे चिच्याइरहेका, वेलावेला डरलाग्दा र विरसिला आवाज एक्कासि सुनिने। डरलाग्दो जंगलमा हिँडेजस्ता लाग्ने। अकस्मात् लामा रौँहरू र दाह्राहरू भएको प्राणीले लखेट्न आयो । साह्रै भयानक परिवेशभित्र पुगियो। भूतघर हेर्न जाने समूहको लहरमा म अन्तिममा थिएँ । मभन्दा अगाडि एउटी अमेरिकी युवती थिइन्, निकोलर। अरू ६–७ जना युवायुवती मभन्दा अगाडि थिए। भूतघरको प्रवेशद्वारमै अट्टहासपूर्ण हाँसोको लगत्तै एउटा डरलाग्दो भूत देखेपछि तिनी बेसरी आत्तिइन् र मेरो हातमा च्याप्प समातिन्।
भूतघरबाट ननिस्कुन्जेल हेर्ने समूहका सबैजना डरले चिच्याइरह्यौँ । एकपटक त म डरले फर्कन आँटेको थिएँ, बीच सुरुङबाटै। तर फर्कंदा झन् डरलाग्दा दृश्य देखिन थाले। डरलाग्दा कंकालले फर्कने बाटो नै छेक्न थाले । शरीरभरि छाला नभएका, रगत चुहुँदै गरेका मासुका डल्लायुक्त हिंस्रक जनावर र कंकालधारी मान्छेले समात्न आइपुगे।
जंगल र खण्डहर–संरचनाको माझमा अन्धकारमय परिवेशमा पुग्दा मुटुमा ढ्यांग्रो नठोकिने कुरै भएन। १२ मिनेटपछि बल्लतल्ल भूतघरबाट बाहिरिन सफल भयौँ। सबैजना पसिनाले निथ्रुक्क भिजेका थियौँ । अनुहार कालोनीलो भइरहेथ्यो। बाहिर निस्केपछि निकोलरले भनिन्, तपाईंलाई नभेटेको भए म त्यहीँ बेहोस बनेर ढल्थेँ । डरलाग्दो त्यस परिवेशमा साथ दिनुभएकामा धन्यवाद । यो घटना म कहिल्यै बिर्सनेछैन । यति भनेर उनी बिदा भइन् । मान्छेबाहेक अन्य प्राणीले आक्रमण गरेमा मान्छे नै मान्छेको सबभन्दा नजिकको मित्र हुन्छ, त्यहाँ परिचयको जरुरत पर्दैन।
म्याडम टुसादको प्रदर्शनी स्थलको माथि खगोलकक्ष छ। एउटा दर्शककक्ष छ । दर्शकहरू कुर्सीमा बस्छन्। त्यसको माथि गोलो सिसा छ । प्रस्तुति आरम्भ हुन लागेपछि प्रकाश पूरै निभाइन्छ। वातावरण पूरै मध्यरातको जस्तो हुन्छ । त्यसपछि सौरमण्डल, ग्रहहरू, ताराहरू, आकाशगंगा, ब्लाक होल आदिबारे विस्तृत जानकारी दिइन्छ। त्यहाँ हेर्दा आफैँ आकाशमा रहेर ती ग्रह, तारा र सौर मण्डलका सदस्यसँगसँगै यात्रा गरिरहेझैँ लाग्छ । ग्रह, ताराहरू, सूर्य, चन्द्र आदि सबै चलायमान रूपमा आफूनजिकबाट उनीहरू यात्रा तय गर्छन् । ठूलो ग्रह बृहस्पति पटुकी बाँधेको मंगल, लुरुलुरु आफ्नो बाटोबाट हिँडिरहे। ताराहरू खस्थे यदाकदा, आकाशगंगाको धुमिल परिवेश अझ आकर्षक ब्युँतियो।
म्याडम टुसादबाट कर्णजी र म बाहिरिँदा साँझ परेको थियो। जनार्दनजी, उद्धवजी र लवजी पर्खिरहनुभएको थियो। लन्डन सहरमा फुसफुस हिमपात भयो। केही समयपछि नै रोकियो। साँझ लव सुवेदीले रात्रिभोजको आयोजना गरे। हामी पुग्दा एक महिनाअघि बेलायतमा अध्ययनका लागि पुगेका काठमाडौंका बहिनीहरू विद्या भण्डारी र कोपिला पाण्डेको पनि उपस्थिति थियो। सुवेदीजीकी धर्मपत्नी एउटा विभागीय पसलमा काम गर्थिन्। छोरीहरू दीप्ति, दृष्टि र छोरा द्रविण पनि हामीलाई भेटेर अत्यन्त खुसी भएका थिए ।
बेलायतमा उमेरअनुसार विद्यार्थीहरू भर्ना गरिनुपर्ने हुँदा काठमाडौंमा सात कक्षामा पढ्ने दीप्तिलाई लन्डनमा १० कक्षामा भर्ना गरिएको थियो । एक त बेलायती स्तर, अझ माथिल्लो कक्षाको पढाइले उनलाई एक वर्ष साह्रै गाह्रो पर्यो । तर पछि सफल भएँ अंकल– उनी भन्दै थिइन्। जिन्दगीका क्षण महत्वका छन् । राम्रा–नराम्रा जेजस्ता घटना भए पनि घटनालाई बिर्सनु हुँदैन। नराम्रा घटना, डर र अँध्यारोले प्राणीलाई उज्यालोतिर लाग्न उत्प्रेरित गर्छन् ।
सिर्जनाले निर्जीवलाई पनि सजीव बनाउने कोसिस गर्दछ। सारा विश्वब्रह्माण्ड चलायमान छ । उसको गतिमा आफ्नो प्रगति नजोड्ने हो भने मान्छे विपरीत र मोडिन सक्छ । लन्डन धरहरा, म्याडम टुसाद, खगोलकक्ष र भूतघरको अवलोकनले मेरो मानसपटलमा त्यस्तै–त्यस्तै विचारू मडारिरहे, ननिदाएसम्म।
प्रकाशित: २६ असार २०७८ ०३:४२ शनिबार





