चकचके स्वभावको हेत्छाकुप्पा एउटा घटनाका कारण दिदीहरुदेखि विछोडिन्छ। राक्षसनीसँग उसको जम्काभेट हुन्छ। उसले आफ्नो चतुर्यातइँ र मामाहरुको सहयोगमा राक्षसनीलाई मारिदिन्छ।
कथामा लुकेको रहस्य, डर र रोमाञ्चलाई प्रकाश, ध्वनि र अभिनयको कलात्मक प्रस्तुतिमार्फत् उजागर गरिँदै लगिन्छ। अँध्यारो मञ्चमा दृश्यको रसअनुसार रंग मिसिएको प्रकाश छरिन्छ। प्रत्यक्ष ध्वनि र संगीतले कलाकारको अभिनयलाई थप उचाई प्रदान गर्दछ।
समय बित्दै जाँदा हेत्छाकुप्पाको बिहे गर्ने बेला आउँछ। उसले दिदीहरुलाई बोलाएर बिहे गर्ने इच्छा राख्छ। तर, दिदीहरुलाई कसरी खोज्ने? उपायको खोजीमा रहेको उसलाई पुतली, जुम्रा र चराले सहयोग गर्न खोज्छ। सफलता चाहिँ कुखुराले हासिल गर्छ। कुखुराले हेत्छाकुप्पालाई दिदीहरुसँग मिलन गराइदिन्छ।
झट्ट हेर्दा एउटा कुखुराको महिमागान गरिएको दन्त्यकथा देखिन्छ नाटक। तर, यसले किरात दर्शन, संस्कृति र सभ्यतालाई खोतलिदिन्छ। 'ओरल ट्रेडिसन'बाट जीवित रहेको कथालाई नाटकमा पस्किनु भनेको त्यसलाई अझ व्यापक बनाउनु हो।
नाटकप्रति आफूमा रहेको लोभले 'हेत्छाकुप्पा'को मञ्चन भएको निर्देशक पशुपति बताउँछिन्। गुरुकुलमा लामो समय रंगकर्मको अभ्यास गर्ने अवसर पाएकी पशुपति भन्छिन्, 'गुरुकुलको विश्रामपछि नाटक गर्न नपाएको धेरै समय भएको थियो, त्यही भोक मेट्न यो नाटक गरेकी हुँ।'
अनुपम शर्मा, उमेश तामाङ, सजन थापा मगर, दिवान रसाइली, जुनु विष्ट, सिर्जना सुब्बा, सिर्जना बान्तवा राई, विनिता गुरुङ, नाजिर हुसैन र रुरु पोखरेल अभिनित 'हेत्छाकुप्पा' मण्डलामा चैत २ सम्म चल्नेछ।
प्रकाशित: १८ फाल्गुन २०७० ०१:०४ आइतबार





