२९ आश्विन २०८१ मंगलबार
image/svg+xml
कला

सखी, मेघबा बरसन लागे ना !

‘सखी, मेघबा बरसन लागे ना !’

घनघोर घटाका बीच विद्युत्को संचरणले मनस्थितिलाई तरंगित बनाइदिन्छ । छुट्टै आनन्द हुन्छ । यो आनन्द भौतिक आनन्दभन्दा परको हुन्छ– नैसर्गिक आनन्द । लाग्छ– भिज्दै जाउँ पानीकोे यो मनोहारी थोपाको बारिसमा ।

हावाको वेगबाट निरन्तर आफ्नो स्थान परिवर्तन गरिरहने यस्ता मेघको समूहलाई देखेर महाकवि कालिदासलाई यसलाई ‘दूत’ बनाउने प्रेरणा मिलेको हुनुपर्छ । आजको सञ्चार युगजस्तो थिएन होला, त्योे समय । विकट पहाडी अञ्चलको रामगिरी फाँटमा निर्वासित यक्ष आफ्नी प्रेयसी यक्षिणीको मनोभावलाई सम्झँदै व्यथित भइरहन्छन् । खासगरी साउनको घनघोर घटाले जसरी मुटुभित्र पीडा उत्पन्न गर्छ, त्यसको व्यथा कति सहनु, बाँच्नै कठिन हुन्छ । प्रियासँग टाढा श्रापित यक्षको त्यस्तैे मनोदशालाई सम्झँदै कालिदास मेघलाई ‘दूत’ सम्बोधन गर्दै व्यक्त गर्छन्-

‘संतप्तानां त्वमसि शरणं तत्पयोद प्रियाया :

संदेशं मे हर धनपति क्रोध विश्लेषितस्य ।

गन्तव्या ते वसतिरलका नाम यक्षेश्वराणां

बाह्योद्यानास्थितहरशिरश्चन्द्रिका द्यौतहम्र्या ।।

(मेघदूत, ७, श्लोक)

एकान्त निर्जन वन प्रान्तमा जब चक्कर काटिरहेका बादल देख्छन्, अनि यक्ष त्यसलाई आफ्नो सटीक संवादवाहक सम्झेर अनुनय–विनय गर्दै भन्छन्– तिमी मेरी प्रियानेर सन्देश लगी देऊ, अलका नगरीमा बसेकी शोकसन्तप्त प्रियाको, कि म यहाँ ठीकै छु ।

असार–साउनको यस्तै झिसीले यक्षमा चेतना उत्पन्न गरेको थियो र कालीदास प्रेरित भएका थिए । यक्षको माध्यमबाट महाकवि कालिदास आफ्नो मनोभावलाई जुन गहिराईले प्रस्तुत गरेका थिए, वास्तवमा आज त्यही विश्वकीर्तिमानको रूपमा स्थापित रहेको छ । भनिरहनुपर्दैन, हिन्दी–मैथिलीका महान् कवि नागार्जुन यस्तै भावलाई सम्झेर कालिदाससँग प्रश्न गरेका थिए ।

‘कालिदास, सच–सच बतलाना !

वर्षा ऋतुकी स्निग्ध भूमिका

प्रथम दिवस आषाढ मास का

देख गगन में श्याम घन घटा  

विधुर यक्ष का मन जब उचटा

खडे–खडे तब हाथ जोडकर

चित्रकूट के सुभग शिखर पर

उसे बेचारे ने भेजा था

जिनके ही द्वारा संदेशा

उन पुष्करावर्त मेघों का

साथी बनकर उड नेवाले

यस्तै महिमा हो बरसात समयको । ऋतुका सबै विशेषता अब हामीबाट टाढा हुँदै गइरहेका छन् । नव–नव प्रविधिका संवाहक हामी सबैको भावनालाई पेनड्राइभ, चिप्स वा डिभाइसमा बन्द गरिसकेका छन् । न हामी ती मार्मिक क्षणको अनुभूतिलाई नैसर्गिक रूपले महसुस गर्न पाइराखेका छौँ, न त त्यसको आनन्द नै लिन पाइरहेका छौँ ।  

कता हरायो त्यो बरसात मौसममा गाइने गीत पावस, मलार, बाहमासा, छौमासा, भूmला ! वर्षाको बाढीमा जसरी वियोगिनीको जीवनमा विरहको ज्वाला चतुर्दिक फैलिन्छ, यही विरह वेदनाको तीव्र ज्वाला, सन्तप्त नायिकाको दयनीय एवं कारुणिक परिस्थितिको मार्मिक चित्रण पावस गीतहरूमा व्यक्त भएको हुन्छ, यो यस पावस गीतको सबैभन्दा ठूलो विशेषता हो । मिथिलाकी ललनाहरू यसको गायन गरी अथवा श्रवण गरी आनन्दको अनुभूति गर्छिन् ।  

हेरौँ एकटा गीत—  

‘सखी बोलन लागे मोर !  

उमडि–घुमडि बरसत बदंरा रे, घन गरजत चहुँ ओर ।  

चमकि–दमकि दामिनी डेराबए,

तरसतु मनवाँ मोर ।  

रयन अन्हरि घटा भेलकारी,

मदन जलाबए जोर ।’

पति वियोगमा छटपटाउँदै गरेकी नायिकाको वर्णन यस्ता गीतमा रहन्छ नै, तर मिलनको साहस कतै देखिएको हुँदैन । महाकवि विधापतिकी नायिकाहरू यसका अपवाद छन् । मुसलधारे वर्षा जारी छ । राति अँध्यारो र भयावह छ । बिजुली चम्किरहेको छ । यस्तो विपरीत परिस्थितिमा पनि विद्यापतिकी नायिका यस भयावह र रोमाञ्चक समयको उपयोग प्रियमिलनका लागि गर्छिन्— अभिसार द्वारा । विद्यापति भन्नुहुन्छ– तिम्रो साहसको कुनै सीमा छैन ।  

‘बरसि पयोधर धरनि बारि भर, रयनि महाभय भीमा ।

तइओ चललि धनि तुअ गुन मने गुनि, तसु साहस नहि सीमा ।।’

(विधापति पदावली : रामवृक्ष वेनीपुरी, लोकभारती प्रकाशन, २००७, पृ–९६) ।  

यस्तो शक्ति निहित हुन्छ, यो बरसातको मौसममा । एउटा जमाना त्यो थियो, जब प्रिय मिलनको उत्कट इच्छा यसरी पूरा गर्नुपथ्र्यो । र, एकटा समय आजको छ, सबै थोक घरमै साँघुरिएर सीमित हुन पुगेको छ । यद्यपि केही शौभाग्यशाली नायिका त्यस बेला पनि बरसातको सहज आनन्द उठाउन अगाडि नै रहेका हुन्थे–

‘सखी हे सावन के बुन्न झिंसी

प्रियासंग खेलु पचिसी ना... ।’

(फिल्म एकटा आओर वसन्तको लोकप्रिय गीत)  

साउनको रमझममा आफ्ना पतिसँग पचिसी खेली रमाइलो मनाइरहेकी नायिकाको आनन्दको सुन्दर प्रस्तुति यहाँ छ । हामी पनि बरसातको यस रिमझिम फुहारलाई प्रकृतिको वरदान सम्झेर आनन्द उठाउँ ।

प्रकाशित: ५ असार २०७८ ०६:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App