पाँचथरका विशाल राईले दोस्रो सिरिजङ्गा पर्यटन महोत्सव खुल्ला म्याराथनतर्फको उपाधि जितेका छन्।
२४ प्रतिस्पर्धीलाई उछिन्दै राईले ५ घण्टा ३० मिनेट ८ सेकेन्डमा ४२ किलो लामो दूरी पार गर्दै म्याराथनको उपाधि जितेका हुन्।
सिरिजङ्गा गाउँपालिका वडा नं ८ याम्फुदिनको छुमादिनबाट ४ हजार २ सय मिटर उचाइको दुण्डु डाँडा पुगेर पुनः छुमादिनमा फर्किदा निर्धारित दूरी पूरा हुन्थ्यो। ताप्लेजुङको पेदाङका बिभीषण लिम्बूले ५ घण्टा ३१ मिनेट २० सेकेन्डमा दूरी पार गर्दा द्वितीय बने।
पाँचथरका प्रताप थाम्सुहाङले ५ घण्टा ४१ मिनेट ३१ सेकेन्डमा दूरी पार गर्दै तृतीय भएका म्याराथन संयोजक अमिर राईले जानकारी दिए।
म्याराथनका विजेता राईले १ सय ९६ तोला चाँदी जडित रनिङ ट्रफीसहित एक लाख आठ हजार ५८६ रुपैयाँ नगद पुरस्कार पाएका छन्। म्याराथनमा दोस्रो हुनेले ५८ हजार ५८६ रुपैयाँ र तेस्रो हुनेले २८ हजार ५८६ रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन्।
पहिलो कञ्चनजङ्घा साहसिक म्याराथन प्रतियोगिताको उपाधि सोलुखुम्बूका अर्जुन कुलुङ राईले जितेका थिए।
सिरिजङ्घा गाउँपालिकाको आर्थिक व्यवस्थापन तथा सिनाम युनाइटेड खेलकुद तथा सांस्कृतिक क्लबको आयोजनामा तीन दिने महोत्सव सञ्चालन गरिएको क्लबका सचिव नरेश गुरुङले जानकारी दिए। जेठ १५ देखि सुरु भएको महोत्सव सञ्चालनका लागि करिब ३० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएकोमा गाउँपालिकाले १६ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो।
प्रकाशित: १७ जेष्ठ २०८३ १७:५७ आइतबार





