पिताजीसँगको यस प्रकारको यात्रा, यो प्रथम र अन्तिम नै हो। योे यात्रा ८० को दशकको सुरुतिरको हो। यो यात्रा त्यति वेलाको महिला सुरक्षा आरक्षित समाजकी एक महिलाको आफ्ना पितासँग राँची भारतको ‘राजेन्द्र मेडिकल कलेज’सम्मको हो। यो यात्रा हाम्रो परिवारमा पहिलोपटक एक महिलालाई भारत सरकारको छात्रवृत्तिमा उच्च शिक्षा प्राप्तिका लागि विदेश जाने प्राप्त अवसरको हो। यो यात्रा हाम्रो परिवारका बुजुर्क सदस्यहरूको गहन मन्थनपश्चात् चिकित्साशास्त्र अध्ययनका लागि मलाई भारत पठाउने सहमतिपश्चात्को हो। यसैले यो यात्रा स्मरणीय छ।
त्यसो त हाम्रो घरमा यस प्रकारको गृह पञ्चायत बसेको यो पहिलोपटक भने होइन। चाहे मैले विज्ञान विषय पढ्न होस्, वा मभन्दा माथिकी दिदीले अंगे्रजी, यस्तै प्रक्रियाबाट स्वीकृत वा अस्वीकृत हुने गरेथ्यो। छलफलको केन्द्रबिन्दु विषयको उपयुक्तता नभई को–एडुकेसन सुरक्षित होला वा नहोला भन्ने हुन्थ्यो। साथै यस्ता ठुल्ठूला विषय पढाउँदा केटा खोज्नुपर्ने सम्भावित कठिनाइको पनि छलफल हुन्थ्यो। तसर्थ एक किशोरीलाई विनाअविभावक पाँच वर्षको लामो समय विदेश बस्ने अनुमति दिनेजस्तो गम्भीर विषयमा त्यसबेलाको त्यो छलफल अपेक्षितै थियो।
अन्ततः म भारत जाने भएँ। जाने दिन पनि नजिकै आइसकेछ। तयारीमा एउटा नीलो जिनको पाइन्ट र फूलबुट्टे बुसर्ट किनियो। यस प्रकारको पोसाकले हाम्रो परिवारमा पहिलोपटक प्रवेश गरेथ्यो। त्यो फूलबुट्टे बुसर्ट अहिलेसम्म मेरो आँखा अगाडि नाचिरहेछ। मलाई लाग्छ, आजसम्म फूलबुट्टे कपडाप्रतिको मेरो लगावको कारण यही होला। तयारीको सबैभन्दा अप्ठेरो विषय त तय गर्न बाँकी नै थियो– भारतसम्म मलाई छोड्न जाने को ? दुई भाइहरू सानै थिए, दिदीहरू बिहे भई घरबार सम्हाल्नमै व्यस्त। त्यसो त त्यस्तो नभएकै भए पनि दिदीहरूलाई अविभावकत्व ग्रहण गरी बैनीलाई भारत पुर्याउने अवसर प्राप्त हुन्नथ्यो नै। मजस्तै उनीहरू नै सुरक्षा आरक्षित वर्गका परे। घुमिफिरी यो अभिभारा जीवनको छैटौँ दशकमा हिँडेका, त्यतिबेलाको समाजमा आफैँ सहारा चाहिने उमेर समूहका पिताजीकै काँधमा आइपर्यो।
तर, परिस्थितिले पिताजीलाई त्यो सुविधा दिएन। पिताजी भारत जान तयार हुनुभयो। फर्किएर हेर्दा सम्पूर्ण १०२ वर्ष स्वस्थ जीवन जिएका पिताजीका लागि उमेर एउटा विशेषण थियो, सक्त–अशक्तताको कसी थिएन। उमेर एउटा अनुभव थियो, अनुभूति थिएन। उमेर एउटा उत्सव थियो, अवसाद थिएन। उमेर एउटा सुविधा थियो, अड्चन थिएन।
त्यो सम्झना अझै ताजै छ। हवाई मार्गद्वारा हामी पटना पुग्यौँ। पटना विमानस्थलबाट सोधखोज गर्दै पटनाको अन्तरराज्यीय बस अड्डा फेला पार्यौँ। बस अड्डा पुग्दासम्म दिन निकै छिप्पिसकेथ्यो। सूर्यास्त हुँदै गरे पनि भदौरे उष्णताले वातावरण तप्त थियो। बुङबुङ धुलो उडेको, चारैतिर भीडभाड, लाउड स्पिकरमा टपोरी गाना, चायवाला, पानवाला, चटपटवाला– कता कसको कुन आवाजलाई ध्यान दिने ! नियतवश धक्का दिँदै अघि बढ्ने अलि पर पुगेपछि कुटिल मुस्कुराहटसाथ पछाडि फर्की हेर्ने- यस्ता कति जनासँग, कतिबेरसम्म र कसरी पुत्रीलाई बचाउने। पिताजीका लागि योभन्दा अझ अप्ठेरो त वरिपरि भइरहेका यस्ता उच्शृंखल क्रियाकलापबाट अनभिज्ञ म आफैँमा मगनमस्त थिएँ।
चारैतिरको यस्तो रमझम भित्र, आफूलाई एक स्वतन्त्र सत्ताको रूपमा अनुभव गर्ने समय पिताजीले मेरो हात च्याप्प समाउँदा म झस्किएर अलि झिझो मान्दै पर हटेँ। पिताजीलाई यसको आभासै भएन- मलाई डोर्याएर हतपत नजिकैको सानो चिया पसलभित्र पस्नुभयो। ठुल्ठूला किस्तीमा सजाएर राखेको समोसा देखेर तुरुन्तै खुसी पनि भएँ। तर, पिताजीले पाउरोटी र चिया मगाउनुभो। पिताजी जुन स्वादमा अभ्यस्त हुनुहुन्थ्यो, त्यसैमा अल्झिनुभयो। मैले समोसा खान्छु भन्न पनि सकिनँ। हाम्रो रुचि अरूचि सोध्ने आवश्यकता पिताजीलाई कहिल्यै भएन। पिताजीको निर्णय काट्ने आँट हामीमा आउँदै आएन। पिताजीको बुझाइमा यो अविभाकत्व वहन थियो। हामी यसैमा जन्मियौँ, यसैमा हुर्कियौँ र यसैमा अभ्यस्त भइदियौँ।
पिताजी र म चिया पाउरोटीको स्वाद लिँदै आ–आफ्नै सोचाइमा हराइरह्यौँ। निकै समय बित्दासम्म हामीबीच कुनै संवाद भएन। उद्देश्य एउटै, मार्ग एउटै, परिवेश एउटै, अलग थियो त पितापुत्रीको मनस्थिति। कुतूहल र उमंगले भरिपूर्ण पुत्रीलाई चिया पसलको त्यो साँघुरो परिधिमा छटपटाहट भइरहँदा शंका र त्रासले अत्तालिएका पिताले त्यही साँघुरो परिधिभित्र तत्क्षणको शान्ति फेला पारे। एकादेशकी राजकुमारीको रक्षार्थ खटिएको सिपाहीजस्तै पिता चनाखोसाथ पुत्रीको हिफाजत गरिरहे।
त्यहाँ त्यसरी बसिरहँदा पिताजी बारम्बार इष्टकोटको भित्री खल्तीमा हात हाल्ने र तुरुन्तै निकाल्ने गर्नुहुन्थ्यो। त्यसो गर्नाको त्यसबेला कारण सोध्ने मलाई न आँट भयो, न आवश्यकता नै। पकेटमारिने आशंकामा त्यसो गरेको त्यो रहस्य वर्षौंपश्चात् पिताजीले हाँस्दै खोल्नुभएथ्यो। यस्तो निर्विघ्न, दम्भ व्यक्ति कुनै समय परिस्थितिमा त्यति धेरै असुरक्षित अनुभव गर्दै थियो- यो कुरा सुन्दा आश्चर्य र रमाइलो पनि लागेथ्यो।
जुन वेला हामी यो यात्रा गर्दै थियौँ, त्यतिवेला नेपाली साहित्यमा पिताजीको उचाइ लगभग सगरमाथाको हाराहारी कायम भइसकेथ्यो। पिताजीलाई कसैले ढगाउन र हल्लाउन नसक्ने अवस्था बनिसकेथ्यो। घरपरिवारमा पनि आमाले सधैँ मानसम्मान गर्ने। हामीलाई समेत मानसम्मान गर्न लगाउने हुँदा पिताजीलाई हामीले वात्सल्य पिता होइन, एउटा सर्वमान्य व्यक्तिका रूपमा ग्रहण गर्यौँ। त्यसो त पिताजी हामीलाई आफ्नो काँधमा बोकेर हिँड्नुहुन्थ्यो। हाम्रा लागि आफू घोडा पनि बन्नुहुन्थ्यो। पछिल्ला दिनमा हाम्रा सल्लाह पनि मान्नुहुन्थ्यो, यद्यपि पिताजीसँगको हाम्रो त्यो धक अन्त्यसम्म रहिरह्यो। जान्ने भएपछि पिताजीलाई अँगालो मारेर हाँसेको वा रोएको मलाई सम्झना छैन। अब जब त्यो धक फुक्यो, त्यो अवसर त गुमिसकेछ।
बस कुर्दाकुर्दै घाम अस्ताउन लागिसकेछ। यस्तैमा एउटा चर्को आवाजले हामी झस्कियौँ। राँची जाने बस छुट्न लागेछ। हतारहतार आफ्नो सिट नम्बर हेर्दै झ्यालतिर मलाई बसाई छेउतिर पिताजी बस्नुभयो। हाम्रो सिटको झ्याल बन्द गर्नुभयो। प्रचण्ड गर्मी, बसभरि यात्रु, ताजा हावाका लागि छटपट भइरहँदा थोरै हावा छिर्ने स्रोत समेत बन्द भयो। बस गन्तव्यतिर लाग्यो। बसले गति लिइरहँदा हाम्रो मनले विश्राम लियो। यो हाम्रो गन्तव्यको अन्तिम यात्रा थियो।
पिताजीको ढुक्कको सास धेरैबेर टिक्न पाएन। करिब दुई घन्टा गुडेपश्चात् बस बिग्रियो। बिहार भनेपछि यत्तिकै तर्सने पिताजी, त्यसमा पनि त्यो अनकन्टार ठाउँ, रातको करिब १२ बजे, चिनेको अनुहार कतै छैन, गन्तव्यमा बस्ने ठेगाना तय छैन, यस्तै चिन्ताले पिताजीको भोकतिर्खै मर्यो। अँध्यारो रात साथमा चिन्तित पिता, यतिखेर मेरो किशोर मन पनि डरायो। हामी चुपचाप बसभित्रै बसिरह्यौँ। अरूहरू नजिकैको ढावामा खान गए।
यही मौका छोपेर पिताजीले एउटा यात्रुले आफ्नो सिटमा छोडेको मोटो किताब के को रहेछ हेर्न लगाउनुभयो। मधुरो प्रकाशमा पनि मैले प्रस्टै देखेँ, त्यो एउटा प्याथोलोजीको किताब थियो। पिताजीले त्यो किताब जसको थियो, उसको र हाम्रो गन्तव्य एउटै भएको अनुमान लगाउनुभयो। करिब दुई घन्टा जतिमा बस तयार भयो। यात्रुहरू बिस्तारै फर्किए, बसले फेरि गति लियो। रात छिप्पिँदै गयो। तर, त्यो मोटो र भद्दा पुरुष मधुरो प्रकाशमा त्यही प्याथोलोजी किताब पढ्दै थियो। धेरैजसो यात्रु सुतेको चाल पाएर पिताजी उसको नजिकै पुग्नुभयो। दुईबीच छोटो संवाद भयो।
सिटमा फर्कनासाथ हाम्रो सिटको झ्याल खोल्नुभयो। एक झोक्का ताजा हावाले गुम्सिएको वातावरण स्वतः सहज बन्यो। ऊ राजेन्द्र मेडिकल कलेजमा अध्ययनरत अन्तिम वर्षको छात्र मुन्नाभाइ रहेछ। मुन्नाभाइको असली नाम राकेश रहेछ। मलाई महिला छात्रावास र पिताजीलाई आफूसँगै पुरुष छात्रावासमा लाने आश्वासन दिएछ। मुन्नाभाइ पछाडि फर्किएर हामीलाई हेरी मुस्कुराउँदै थियो। हामी एकअर्कालाई हेरी मुस्कुरायौँ। उसको मुस्कुराहटमा आत्मीयता र ग्रहण थियो- हाम्रो मुस्कुराहटमा सुरक्षा र विश्वास। त्यो बिरानो मुलुकमा हामीलाई ऊ एक देवदूत प्रतीत भयो। अब मलाई मुन्नाभाइ त्यति मोटो र भद्दाजस्तो लागेन। बाँकी यात्रा अरू यात्रुजस्तै हामीले पनि निदाएर काट्यौँ। यो एउटा मिठो निद्रा थियो।
रातको करिब २ बजे हामी मेडिकल कलेज परिसर छिर्यौँ। हाम्रोअगाडि एउटा भव्य सेतो भवन खडा थियो। चन्द्रमाको प्रकाशमा ठुल्ठूला रातो अक्षर ‘राजेन्द्र मेडिकल कलेज’ चमचम चम्किरहेथ्यो। हाम्रो गन्तव्य हाम्रो सामुन्य थियो। हाम्रो उत्साह हाम्रो साथ थियो। महत्वपूर्ण कुरा त हाम्रो रमाइलो यात्राको अन्त्य भई चिकित्सक बन्ने मेरो अर्को यात्राको सुरुवात भइसकेछ। योभन्दा महत्वपूर्ण कुरो त जसरी मेरो सहयात्रीले मेरो चिकित्सक बन्ने लक्ष्यको यो प्रथम यात्रा सहज र सफल बनाइदिए, त्यसरी नै मैले यो यात्रापश्चात् प्राप्त चिकित्सकीय ज्ञान र सीपबाट त्यस वेलाका मेरा सहयात्रीको जीवनको अन्तिम यात्रा सहज र कष्टमुक्त बनाउन सकेँ भन्ने अहिलेको मेरो यो पीडामिश्रित सन्तोषको अनुभूति।
(लेखक रेग्मी राष्ट्रकवि माधव घिमिरेकी पुत्री हुन्।)
प्रकाशित: ५ असार २०७८ ०६:१४ शनिबार