राष्ट्रका कार्यकारी प्रमुखले राष्ट्रपतिलाई कोटको गोजीमा राखेको एउटा कार्टुन यतिखेर चर्चामा छ । अबिन श्रेष्ठले बनाएको व्यंग्य र हास्य सम्मिलित यस शक्तिशाली प्रस्तुतिले नेपालको वर्तमान अवस्था, यसको कारण र सम्भवतः नकारात्मक प्रतिफलतर्फ इंगित गरेको देखिन्छ । यस सन्देशमूलक प्रस्तुतिले आम मान्छेलाई मात्र होइन, स्वयं कार्यकारी प्रमुखलाई पनि प्रतिक्रिया गर्न उद्वेलित तुल्यायो । कार्टुन कलाको यो ठूलो उपलब्धि हो । यसअघि १९९७ सालमा कार्टुन कलाले सरकारसम्म हलचल ल्याएको थियो । कलकत्ताबाट कलामा उच्च शिक्षा हासिल गरेर फर्केका कलाकार चन्द्रमानसिंह मास्केले राणा सरकारविरुद्ध एउटा कार्टुन बनाएका थिए । मास्के ललितकलामा प्रथम प्रशिक्षित कलाकार हुन्, अझ तत्कालीन राणा सरकारले नै उनलाई ललितकलामा विधिवत शिक्षा लिन कलकत्ताको ‘गभर्मेन्ट स्कुल अफ आर्ट’मा पठाएको थियो । त्यतिबेला उनले आफ्नो कार्टुनलाई कुनै पत्रिकामा छापेर होइन, पोस्टरको रूपमा बनाएर भित्तामा टाँसेका थिए । यो एउटा पेन्सिलले बनाएको ड्रइङ भएका कारण मूल कपी पनि यस्तै थियो वा थिएन भन्न सकिने अवस्था छैन । त्यस वेलाको मूल कपी नष्ट गरिएको भन्ने गरिन्छ ।
उनको कार्टुनमा हात्ती र सिंहको दल (जनता)ले राणा प्रधानमन्त्रीको श्रीपेच हावामा उडाइदिएको र राजाको श्रीपेच संरक्षण गरिराखेको देखाइएको थियो । राणा प्रधानमन्त्रीका तर्फकालाई कुकुरहरू डराएर भागिरहेको रूपमा देखाइएको थियो । यस्तो कार्टुन बनाएबापत मास्केलाई तत्कालीन राणा सरकारले सर्वस्व हरणसहित १८ वर्षको कठोर जेलको सजाय सुनाएको थियो । भनाइ यो पनि छ, यसवेला अन्य धेरैले यस्ता सरकारविरोधी कार्टुन कला बनाई भित्तामा टाँसेका थिए । कलामा कसैले आफ्नो नाम नलेख्दा कलाकारलाई समातिएको देखिँदैन, यस्ता कार्टुन कलाको चर्चा चलेको पनि देखिँदैन । भविष्यमा यसको खोज अवश्य हुनेछ ।
ब्रिटिस कलाकार जोन लिचले ‘पन्च’ म्यागजिनमा सन् १८४३ मा ‘सब्स्ट्यान्स एन्ड स्याडो’ नामक हास्य दृष्टान्त चित्र बनाएका थिए । चारैतिर चित्र झुन्डिएको एउटा कोठामा केटाकेटी, बूढाबूढीलाई विभिन्न मनोभावमा देखाइएको छ । चित्र हेर्दै पनि अस्वाभाविक संयोजन लाग्छ । यसैले कार्टुन कला नभनेर यसलाई हास्यास्पद दृष्टान्त चित्र भनियो ।
मास्केको यो राजनीतिक कार्टुन नेपालमा पहिलो कार्टुन मात्र बनेन, यसले कार्टुनको इतिहासलाई स्थापित ग¥यो । हुन त २०१४ सालमा ‘संयुक्त प्रयास’ पत्रिकामा छापिएको कार्टुनलाई पहिलो भन्ने गरिन्छ । यो कार्टुन गोवद्र्धनविक्रम शाहले बनाएका थिए । जीवनमै पहिलोपल्ट कार्टुन बनाएका गोवद्र्धन शाह कुनै कलाकार थिएनन् । मास्के स्वयं पनि यसपछि कुनै कार्टुनचित्र बनाएर चर्चामा आएको देखिँदैन । लामो समयसम्म कार्टुन कलाको यात्रा यहाँनेर अवरुद्ध भएको देखिन्छ । यसका धेरै कारण रहे होलान् । यता जाने अहिले यो आलेखको अभीष्ट होइन । सरकारविरुद्ध जनता सडकमै गएको अवस्थामा मास्केजस्ता अन्य कलाकारले पनि यस्ता कार्टुन बनाएको हुनुपर्छ । तर यसको खोजी हुन सकेको छैन ।
पछिल्लो कालमा आएर कार्टुन कलाको एक अलग्ग प्रदर्शनी वा प्रतियोगिता हुने क्रम ह्वात्तै बढेर गएको थियो, यो क्रम अद्यापि छँदै छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले कार्टुन कलालाई विशेष ठाउँ दिई प्रदर्शन गर्ने, पुस्तक–पुस्तिका प्रकाशन गर्ने र कार्टुनसम्बन्धी कार्यक्रम पनि गर्न थालेको छ । जहाँ बनाइएका अधिकांश कार्टुन पत्रिकामा छापिएको देखिँदैन । छापिएका कार्टुनकै मात्र चर्चा गरियो भने यस्ता बहुमूल्य कार्टुन छायामा पर्ने डर हुन्छ । यसर्थ यस विषयमा चनाखो हुनुपर्ने देखिन्छ ।
पञ्चायत कालको एउटा कालखण्ड २०४१ सालमा हास्यव्यंग्य पत्रिकाका रूपमा गाईजात्रा विशेषांक निक्लेको थियो । त्यस वेला पत्रपत्रिकामा बन्देज थियो । लेख्न, नाटक गर्न, सभा–सम्मेलन गर्न सरकारको स्वीकृति चाहिन्थ्यो । कतै कला प्रदर्शनी गरिएको छ र सो हेर्न राजा आउँदै छन् भने उनी आउनुअघि नै प्रदर्शनीमा राखिएका चित्रबारे जाँच गरिन्थ्यो । यस्तो अवस्थामा वर्षमा एकपल्ट गाईजात्राका वेला अलिकति छुट दिँदा सम्भवतः कार्टुनका रूपमा हास्यव्यंग्य बढी मात्रामा निक्लनु स्वाभाविक थियो । धेरै कुरामा बन्देज भएका वेला केही बोल्न र लेख्न मौका दिइँदा यस्ता कार्टुन कला समाचार पत्रपत्रिकाबाहेक हास्यव्यंग्य पत्रिका ‘कामना’ र ‘भाँडभैलो’ आदिमा पनि निक्लेको थियो । गाईजात्रा प्रतियोगिता नै हुन्थ्यो । आज पनि राष्ट्रिय कला प्रदर्शनीमा यस्ता कार्टुन कला यथेष्ट मात्रामा देखिन्छन् ।
२०३६ सालमा राजनीतिक चहलपहल बढेको स्थिति थियो । यसवेला भएको जनमत संग्रह र बहुदललाई जिताउन ललितकला क्याम्पसका विद्यार्थी कलाकारले प्रशस्त मात्रामा पर्चा र पोस्टरमा कार्टुन बनाई काठमाडौंका धेरै भित्ता भरेका थिए । पछि ०४६ को आन्दोलनमा पनि यसरी नै पोस्टरमा कार्टुन यथेष्ट रूपमा बनेको देखिन्छ । तथापि यतापट्टि खोजखबर नगरिँदा यसबारे यतिखेर हामीसँग यथेष्ट अभिलेख छैनन् । यो एउटा खोजकै विषय बन्न गएको छ । कार्टुन बनाउने परम्परा अलिकता दृष्टान्त चित्रसँग, अलिकता राजनीतिक सामाजिक कार्टुनसँग, अलिकता कमिक, ग्याग कार्टुन आदिसँग कसरी अगाडि बढेर गयो, यसबारे तल चर्चा गरिएको छ ।
नेपाली समसामयिक कलाको संस्थागत विकासको दरिलो खम्बा मानिएका महान् कलाकार चन्द्रमानसिंह मास्के आज दिवंगत भएको धेरै भइसकेको छ । यिनै महान् कलाकारले स्थापना गरेका कैयौँ कलागत वा प्रविधिगत परम्परालाई पछ्याउँदै आजका समसामयिक कलाकारका कला परिष्कृत रूपमा बन्न थालेका देखिन्छन् । पश्चिमी कलाको पद्धतिलाई नेपाली कलाको परम्परागत कलासँग जोडी नयाँ आयाम खडा गर्ने कलाकारका रूपमा उनलाई लिइन्छ । त्यति वेलाका कलाकारमा सम्भवतः सबैभन्दा सचेत, क्रियाशील, आँटिलो र जागरुक कलाकारका रूपमा देखिएका मास्केले कम कार्टुन बनाए, तर जति बनाए यी सब कालजयी बनेर रहे ।
अहिले कार्टुन कलामा दर्जनौँ कलाकार सक्रिय छन् । उनीहरूले समसामयिक घटनामा मार्मिक व्यंग्यात्मक र क्यारिकेचरयुक्त कार्टुन कला बनाउन थालेका छन् । आम जनतामा सचेतना जगाउने सवालमा अहिलेका कलाकारका कला ठूलै संवाहक बनेको देखिएको छ । यो संचेतनाको बहावका प्रणेता महान् कलाकार चन्द्रमानसिंह मास्केलाई राष्ट्रले प्रजातन्त्रको बहालीपछि पनि थोरै आदरभाव र सम्मान देखाउन सकेको देखिएको छैन ।
अब अबिनको सन्दर्भ उठाऔँ । सम्भवतः उनी कार्टुन कला बनाउने आजका युवा कलाकारका रूपमा अग्रपंक्तिको सजग, सचेत र क्रियाशील कलाकार हुन् । उनी गतका धेरै वर्षदेखि यस्तै अति चोटिलो, घातक कार्टुन कला बनाउनमा माहिर मानिन्छन् । सामान्यतः कार्टुन कला विचार र सान्दर्भिक विषयवस्तुले मात्र राम्रो हुने होइन, यसमा कलातत्व रहनु अनिवार्य सर्त हो । तथापि आज कार्टुन कलाको इतिहासमा कार्टुन कलाको गुणस्तरको सन्दर्भमा ‘एस्थेटिक्स जजमेन्ट’को पक्षलाई समेटिएको देखिँदैन । कार्टुन कलामा रहेको वा रहनुपर्ने कलापक्ष र कला तत्वको गहिरिएर अध्ययन गर्न खोजिएको पनि पाइँदैन । कलामाथि चर्चा, परिचर्चा, पुर्पक्ष र चिन्तनमनन पनि त्यति हुन सकेको देखिँदैन । गुणस्तरका कार्टुनकै मात्र अलि बढी चर्चा हुन पाएको भए, कला इतिहासमा यसले एक अलग्ग आयाम खडा गर्न सक्थ्यो होला । अझै पनि सबैजसो कार्टुन कलालाई एउटै डालोमा राखेर चर्चा गर्ने परम्परा हटेर गएको देखिँदैन । सम्भवतः अब गुणस्तर कार्टुन कलाको खोजी गर्ने वेला भयो कि ?
गतिलोे र शक्तिशाली रेखामा पकड, प्रस्तुतिको स्पष्ट दृष्टिकोण, सही पात्र, सही अवस्था, सही मोटिफको छनोट, गहन गुणस्तरको संगठन, संयोजन आदिले कार्टुन कला शक्तिशाली भएर देखापर्छ । अनि मात्र यसले पार्ने प्रभाव खँदिलोे हुने गर्छ । यसका लागि अति उच्च कोटिको कलाकार हुन आवश्यक छ । भाव र अभिव्यञ्जना, विषयवस्तु र प्रस्तुतिमा तालमेल मिल्न गई कार्टुन कलाको सही अस्तित्वलाई कायम गर्न सकिन्छ । यस्ता कार्टुनले समाज र राष्ट्रमा के कस्ता प्रभाव पारे, यो एउटा अलग्ग खोजको विषय छ । यसमा थप केलाउन बाँकी छ, तथापि जसले शक्तिशाली कार्टुन कलाको निर्माण गरेका छन्, उनलाई सम्मान गरिन अनिवार्य छ ।
परिभाषा, विशेषता र परिधि
कार्टुन कला वस्तुतः एक प्रकारको दृष्टान्त चित्र र एनिमेसन हो । मूलतः कार्टुन कला अ–यथार्थ वा अर्ध–यथार्थ शैलीमा दृश्यावलोकन हुन्छ । यो नकारात्मक उपहासको द्योतक नभई सकारात्मक मौलिक सिर्जना हो । यो एउटा रूप वा रूपहरूको शृंखला हो । यसले ‘सटायर’, ‘क्यारिकेचर’, ‘ह्युमर’मा अभीष्ट राखेका हुन्छन् । अझ कसैले एउटा अर्को शब्द पनि थपेर भन्ने गर्छन्– पिअरसिङ आर्ट, जसको अर्थ हुन्छ, तिखो वा भेदन गर्न सक्ने प्रभाव । कार्टुन कलालाई दृष्टान्त चित्रसँग जोडेर किन हेरिन्छ भने यी दुईबीच गहिरो सम्बन्ध देखिन्छ । स्वभावतः यसले कार्टुन कलालाई बुझ्न केही अन्योल हुन्छ । यसर्थ दृष्टान्त चित्रको अलग्गै व्याख्या तल छ ।
मोटामोटी रूपमा भन्दा कार्टुन कला घटनाको प्रतिक्रियास्वरूप जन्मेको कलाकारको निजी विचार हो, जसका उसको स्वामित्व र निजत्व छ, आफ्नोपन छ । मात्र अर्को विधाको सहयोगमा यो कला आम भावकमा पुग्ने गर्छ । जब कि दृष्टान्त चित्रले कसैको विचार वा सन्देशलाई कलात्मक ढंगले अर्को विधाको सहयोगमा आम भावक कहाँ पुर्याउने चेष्टा गर्छ ।
समष्टिमा बुझ्नुपर्दा कार्टुन कलामा हँसाउन सक्ने शक्तिका साथै हास्यभित्र गहन व्यंग्य गर्ने तागत हुन आवश्यक छ । कार्टुन कलामा बेलुनमा अक्षरले भर्ने वा तल अलग्गै क्याप्सन राख्ने प्रचलन पनि छ । तथापि अक्षरविना चित्रले मात्रै भन्न खोजेको सन्देश भन्न सके यस्ता कार्टुन कला स्वभावतः अब्बल मानिन्छन् । क्यारिकेचरभित्र मूलतः दुई शब्द अपरिहार्य रूपमा समावेश हुन्छ– १) अतिरञ्जना । २) व्यक्ति विशेषको चारित्रिक गुण । यो सन्दर्भमा व्यक्ति वा वस्तुको हुबहु नक्कल होइन, बांगाटिंगा रेखाद्वारा व्यक्तिलाई सहजै चिन्न सकिने खालको नक्कल गरिएको हुन्छ । व्यक्तिको अनुहारलाई तोडमोड गर्ने, सानो वा अति ठूलो बनाउने, खुम्चाउने वा फिँजाउने स्वभावको यसले प्रतिनिधित्व गर्छ । तथापि यसका लागि कलात्मक र सबल रेखाको उपस्थिति आवश्यक हुन्छ । व्यक्तिको नक्कल गर्ने भन्ने सन्दर्भमा कलाकारमा अति कुशल, शिल्प दक्षता हुन आवश्यक छ । सामाजिक राजनीतिक अवस्था र आफ्नो पात्रको गहिरो अध्ययन अनुसन्धान यसका पूर्व सर्त हुन् । त्यस्तै, व्यक्तिको भित्री विशेषताको पहिचान उजागर गर्ने क्षमता कलाकारमा अन्तर्निहित रहनु बाध्यात्मक सर्त हो । पात्रको आन्तरिक रूप, स्वभाव आदिलाई गहन अध्ययन गरी यसैअनुरूप रेखाद्वारा चित्रण गरिनुपर्छ । कति हदसम्म प्रत्यक्ष रूपमै यो कला आम जनता माझ पुग्छ तर यतिखेर हजारौँ भावक माझ पुग्न पत्रपत्रिका ठूलो माध्यम बनेको छ । अहिले पत्रिकाको एक अभिन्न अंग बन्न पुगेको कार्टुन कला कार्टुन पत्रकारिताको नामले पनि चिन्ने गरिन्छ ।
दृष्टान्त चित्र भने थोरै अलग्ग स्वभावको हुन्छ । कार्टुन कला दृष्टान्त चित्रसँग मेल खाँदै थप विशेषताका साथ देखापर्छ । राम्रा कार्टुन कलाकार राम्रा दृष्टान्त चित्रकार पनि हुन्छन् । कार्टुन चित्रको गुणस्तरको सन्दर्भ उठाउँदा कैयौँ लक्षणलाई केलाउनुपर्ने हुन्छ । मूलतः दृष्टान्त चित्रले कुनै पाठ वा अवधारणालाई दृश्यात्मक स्वरूप दिन्छ । जुन मुद्रण, वा डिजिटल माध्यम, वा पोस्टर पत्रपत्रिका, वा पुस्तक, भिडियो गेम, शैक्षिक सामग्री, एनिमेसन आदिमा देखापर्छ । दृष्टान्त चित्रको सम्बन्ध प्राचीन मिश्रको ‘टम्ब अफ फराब’सँग पनि जोडिन्छ । प्रिन्ट मेकिङ कला, बोटानिकल आर्टसँग पनि नजिकबाट जोडिन्छ, किनकि यी सबै मुद्रणसँग सम्बन्धित छन् । यी सब कला सञ्चारको माध्यमसँग कोल्याबोरेटिभ रूपमा निर्माण र आम भावकसम्म पुग्ने हुँदा सामान्यतः दृष्टान्त चित्र आइसोलेसनमा सिर्जना गरिँदैन । कार्टुन कलाको स्वभाव पनि यसभन्दा फरक छैन । यसैले कति ठाउँमा यी दुवैबीच सीमा निर्धारण गर्न गाह्रो हुन जान्छ । अधिकांश कार्टुन कलाकार दृष्टान्त चित्रमा त्यतिकै रूपमा संलग्न भएका छन् र यस्ता अनगिन्ती कलाका काम प्रकाशनमा आएका छन् । यसको अलग्ग लेखाजोखा राख्ने प्रचलन नहुँदा यसबारे अभिलेख हामीसँग छैन ।
ऐतिहासिक रूपरेखा
प्राचीन कालदेखि कलाकारले कुनै न कुनै चित्र कार्टुन कलाका रूपमा गर्दै आएको देखिन्छ । अस्वाभाविक र अलिकता हाँसउठ्दो संयोजनका विशेषता बोकेका चित्र यथेष्ट मात्रामा बनाइएको पाइन्छ । सन् १८४३ मा ‘पन्च’ भन्ने पत्रिकामा कार्टुन कला हास्यास्पद दृष्टान्त चित्रका रूपमा कार्टुनकै आधिकारिक विशेषताका साथ देखापर्यो । यसैलाई कार्टुन कलाको शुभारम्भ मान्ने प्रचलन छ । करिब एक दशक (१८४०–१८५०) सम्म सक्रिय रहेको यो म्यागजिनले कार्टुनको टर्मलाई पहिलोपल्ट प्रयोग मात्र गरेनन्, हास्यास्पद दृष्टान्त चित्रको व्याख्या विश्लेषण पनि गर्यो । पछि यसैको निरन्तरतामा राजनीतिक कार्टुन, कमिक स्क्रिप्टको विकास हुँदै आएको हो ।
२०औँ शताब्दीको शुभारम्भताका एनिमेटेड सिनेमामा पनि यस्तो रूप देखिन थाल्यो । ब्रिटिस कलाकार जोन लिचले ‘पन्च’ म्यागजिनमा सन् १८४३ मा ‘सब्स्ट्यान्स एन्ड स्याडो’ नामक हास्य दृष्टान्त चित्र बनाएका थिए । चारैतिर चित्र झुन्डिएको एउटा कोठामा केटाकेटी, बूढाबूढीलाई विभिन्न मनोभावमा देखाइएको छ । चित्र हेर्दै पनि अस्वाभाविक संयोजन लाग्छ । यसैले कार्टुन कला नभनेर यसलाई हास्यास्पद दृष्टान्त चित्र भनियो । पछि क्यारिकेचरको सन्दर्भ उठ्दै गएपछि भने थोमस नास्टको ‘ट्विड रिङ’, जसमा कहीँ लेखिएको थियो, ‘हु स्टोल त पिपल मनी’, पोलिटिकल कार्टुनका रूपमा बनेको यो कार्टुनमा धेरै मान्छे गोलाकार उभिएका देखिन्छन् । हरेकजसोले कसैलाई चोर औँलाले इंगित गरेको देखाइएको छ । सम्भवतः समाजका विविध वर्गका मान्छेबीच सामान्य मान्छेको पैसा चोर्ने को हो भन्ने सन्दर्भ निकालेको जस्तो देखिन्छ । यसमा हास्यभन्दा पनि व्यंग्य बढी मात्रामा दृष्टिगोचर हुन्छ ।
अलि गहिरिएर हेर्ने हो भने पुरापाषाणकालदेखि नै यसको सुरुवात भयो भन्ने गरिन्छ, जसको सबुतका रूपमा गुफा चित्रलाई लिने गरिन्छ । मूलतः त्यसबखत पनि कलाकारले उनीहरूको भाव र विचारलाई अभिव्यक्त गरेका थिए । पछि यही कलाको विकसित रूपमा रेखाचित्रको सन्दर्भ आउँदै दृष्टान्त चित्रको विकास भएको हो । यसमा बिस्तारै कार्टुन कला र एनिमेसन पनि संलग्न हुँदै अगाडि आएको देखिन्छ । सन्देश प्रवाह गर्ने क्रममा कार्टुन कलालाई सबैभन्दा शक्तिशाली र प्रभावपूर्ण अभिव्यक्तिका रूपमा लिइन्छ ।
नेपाली कार्टुन कला
विशेषगरी राजनीतिक कार्टुन स्पष्ट देखापरेपछि त्यसैका आधारमा नेपाली कार्टुन कलाको क्षेत्रको ऐतिहासिक आलेख लेखिने परम्परा बन्न गएको देखिन्छ । १९९७ सालमा चन्द्रमानसिंहको कार्टुन, जुन तत्कालीन राणा सरकारको विरुद्धमा थियो । २०१४ सालमा गोवद्र्धनविक्रम शाहले बनाएको कार्टुन, जसमा तत्कालीन राजनीतिक दल कांगे्रसमाथि प्रहार गरिएको थियो– यी दुवै पूर्णत राजनीतिक कार्टुनपछि नेपालको कार्टुन इतिहास सुरु भएको मानिन्छ । यसपछि शशि शाहको कार्टुनबाट नेपालको कार्टुनको ऐतिहासिक यात्रा प्रारम्भ भएको देखिएको छ । यसबीच राम्रा–नराम्रा कार्टुन बनिरहे पनि विशेषगरी २०१७ सालपछि कार्टुन कला यात्राले लय समातेको देखिन्छ । २०२२ सालमा दुर्गा बराल कार्टुन कलाकारका रूपमा उदय भए । विविध पत्रपत्रिकामा उनका राजनीतिक कार्टुन सर्वाधिक चर्चामा रहे । आज वात्स्यायनका नाममा उनीबाट सिर्जना गरिने कार्टुनले एकछत्र राज गरेको देखिन्छ । हास्य, समसामयिक व्यंग्य, कलात्मक, सटीक र चोटिलो प्रस्तुति उनका कलाका मुख्य विशेषता देखिन्छ । उनका हरेक कार्टुनले आम भावकदेखि राजनीतिक व्यक्तित्व, प्रबुद्ध र प्राज्ञिक व्यक्तित्वमा गहिरो प्रभाव पारेको छ । आजको दिनसम्म उनलाई उछिन्ने अर्को कार्टुनिस्ट देखापरेको छैन भन्दा अतिशयोक्ति नहोला । तथापि उनैको वेलामा देखापरेका अन्य कार्टुन कलाकार टेकवीर मुखिया, कुलमानसिंह भण्डारी, मोहनश्याम महर्जन, तीसको दशकपछि देखापरेका बलराम थापा आदि विभिन्न पत्रपत्रिकामार्फत प्रभावपूर्ण ढंगले आएको देखिन्छ । ०४५/०४६ पछि दुर्गा बरालको निरन्तरतासँगै रवीन सायमी, सुमन मानन्धर, धिरेश दाहाल, राजेश मानन्धर, कीर्तिकिशोर जोशी, प्रभावशाली कार्टुन कलाकारका रूपमा देखापरे । यसैवेला अशोकमान सिंह, उज्ज्वल कुन्दन ज्यापु, शरद रञ्जित, जीवनराज उपाध्याय आदि अति घतलाग्दा कार्टुनका साथ देखापरे ।
यस वेला अन्य धेरै कार्टुन नदेखिएका होइनन्, तथापि विषयमा समसामयिकता यथेष्ट मात्रामा रहेको देखिए पनि शिल्प दक्षता आनुपातिक रूपमा कमजोर देखिन्छ, साथै निरन्तरता पनि देखिँदैन । हुन त यसअघि देखापरेका समसामयिक कलाका उच्चचोटिका कलाकार शशि शाहले कार्टुन कलाको करिअरमा आफूलाई राखेको देखिएन । यस्तै विद्रोही तथा समसामयिक अवस्थालाई तीव्र अभिव्यञ्जना गर्न रुचाउने कलाकार कुलमानसिंह भण्डारी पनि सिर्जनशील कलाकार बन्न रुचाएको देखियो । निश्चित कालखण्डका यथार्थवादी कलाकार टेकवीर मुखियाले दृष्टान्त चित्रमा ज्यादा रुचि राखेको देखियो । पछिल्लो कालमा रेखाचित्रमा सबल, तीक्ष्ण, शक्तिशाली शिल्प दक्षता भएका कलाकार उज्ज्वल कुन्दन ज्यापु, शरद रञ्जितले दृष्टान्तचित्रलाई नै बढी रुचाएको देखियो । जीवनराज उपाध्याय दृश्यचित्र र अमूर्त चित्रमा बढी रमाएको देखियो । यस हिसाबमा राम्रा थोरै कलाकार मात्र कार्टुन कलाको करिअरमा रमाउन खोजेको देखिन्छ । ०४६ र ०६२/६३ को आन्दोलनले ल्याएका राजनीतिक सामाजिक परिवर्तनपछि भने धेरै राम्रा कार्टुन कलाकार यस क्षेत्रमा प्रदेश गरेको देखिएको छ । यस्तो कलाकारको लहरमा अबिन श्रेष्ठलगायत, वासु क्षितिज, रवीन्द्र मानन्धर, योगेश खपांगी अग्रपक्तिमा देखिन्छन् । यसै वेला राजनीतिक सामाजिक कार्टुनभन्दा अलग्ग अनि स्थापित कार्टुन कलाकार पस्न नखोजेको ललितकला क्षेत्रको सामान्य कलाकारको दैनिकीलाई आफ्नो कार्टुन कलाको मूल विषय बनाई अगाडि बढिरहेका नवयुवा कलाकार नवीन नाल्बोलाई विशेष रूपमा उल्लेख गर्नैपर्ने हुन्छ ।
(मल्ल कलाकार र कला समीक्षक हुन् ।)
प्रकाशित: २९ जेष्ठ २०७८ ०३:१८ शनिबार