९ मंसिर २०८१ आइतबार
image/svg+xml
कला

वेदप्रसाद लोहनी : विश्वकर्माका नेपाली संस्करण

सिभिल इन्जिनियर वेदप्रसाद लोहनी नेपाललाई वज्र युगबाट सिमेन्ट ढलान युगमा प्रवेश गराउने पहिलो विश्वकर्मा हुन् भन्न मन लाग्छ। नेपालमा उनले पहिलो ढलान रानीपोखरीको डिलमा विशाल भवन सरस्वती सदन गरेर नेपाललाई नयाँ युगमा उचाले। यो भवन नेपालको पहिलो कलेज त्रिचन्द्र कलेजको एउटा आधुनिक संरचना थियो। वेदप्रसाद प्राचीन वैदिककालका वास्तुकार विश्वकर्माका अर्वाचिन नेपाली संस्करण हुन् भन्यो भने अतिशयोक्ति हँुदैन। त्यसअघिसम्म नेपालमा बलिया घर बनाउन चून, सुर्की भिजाएर गाह्रो लगाइन्थ्थो। सुर्की भनेको पाको इँटा कुटेर बनाइएको धुलो हो। अझ बलियो घर बनाउनुप¥यो त्यो चून र सुर्कीमा मासको धुलोसमेत मिसाइन्थ्यो रे। सिंहदरवारको ग्यालरी बैठक नामको नित्तान्त आधुनिक भवन त्यस्तै मासको धुलो र चाकुसमेत मिसाइएको वज्र लगाएर निर्माण गरिएको थियो रे। जुन ग्यालरी बैठकमा तीनवटै सल्लाहकार सभामात्र होइन, पहिलो संसद्, राष्ट्रिय पञ्चायत र त्यसपछिका संसद्हरूका बैठक बसे। संविधान सभा बैठक मात्र ठाउँ नपुगेर ग्यालरी बैठकमा बस्न सकेन।  

वेदप्रसाद १९७१ सालमा जन्मिएका हुन्। नेपाल राज्यमा पहिलोपल्ट सिमेन्ट १९६८ मा प्रवेश गरेको हो। बेलायतका सम्राट जर्ज पश्चम सिकार खेल्न चितौन आउँदा उनका निम्ति स्नानागार र शौचालय बनाउन चितौनको कसरा दरवारमा सिमेन्ट प्रयोग गरिएछ। हो त्यो नै पहिलोचोटि सिमेन्ट नेपाल पसेको। सिमेन्ट युग भन्दा अघि संसारमा निर्माण विकासका काममा वज्र, फलाम जस्ता पदार्थ प्रयोग गरी मजवुत निर्माण गरिन्थ्यो। त्यसो त संसारमा सिमेन्ट निस्केको नै कति भो र ? सन् १८८४ मा न हो।  

क्यान्सरमा किमोको चमत्कार  

वेदप्रसाद स्कुलमा पढ्दाताक उनका दाजु फणीन्द्रप्रसाद लोहनी, लक्ष्मीप्रसाद देवकोटा र अर्का एक जनासमेत कहिले कसको, कहिले कसको घरमा जम्मा भई संयुक्त अध्ययन गर्दारहेछन्। दाजुहरूले वेदप्रसादलाई चुरोट र अरू केही खाने कुरा पनि किन्न पठाउँदा रहेछन्। यसैले महाकवि लक्ष्मीप्रसाद देवकोटासँँग वेदप्रसादको पुरानो चिनजानको नाताले महाकवि देवकोटा क्यान्सरबाट पीडित भइ छट्पटाउँदा वेदप्रसादसँग एकान्त पारी शान्त भवन अस्पतालको शैयाबाट साइनाइट ल्याइदेऊ भनी आग्रह गरेका रहेछन्। त्यतिबेला अर्वुद रोगको पीडा धेरै हुने गथ्र्यो। किमो जस्ता औषधि आविष्कार भएको थिएन। क्यान्सरको असह्य पीडाबाट मुक्त हुन विष सेवनका अतिरिक्त अरू उपाय थिएन। त्यसो त बिरामीको आग्रहमा कसैले पनि विष किनेर ल्याइदिँदैनथ्यो। वेदप्रसादलाई पहिलेभैmँ नै संझेर साइनाइड ल्याइदिन भनेका रहेछन्।  

महाकविलाई थाहा थियो यस्ता कुरा अरूका अगाडि भन्नुहुन्न भन्ने। त्यसैले अरू सबै मान्छेलाई बाहिर पठाएर वेदप्रसादलाई मात्र राखेर त्यो विष ल्याइदेऊ भनेका रे। महाकविले विष ल्याइदेऊ भन्दैमा ल्याइदिने कुरा भएन। मैले ल्याइदिइन भन्दैथिए लोहनी पछि मसँग। परिस्थिति के के हुने के के ? पछि २०५८–५९ मा स्वयं वेदप्रसाद लोहनीलाई नै क्यान्सर भयो। मैले ‘उहिले बाजेका पालामा’ कार्यक्रमका निम्ति लोहनीजीका भनाइ प्रस्तुत गर्ने योजना बनाएँ र उहाँकहाँ गएँ एक जना प्राविधिक लिएर। उहाँ किमो लिन अस्तपाल जानुभएको रहेछ। किमो लिएपछि सिधै घर आउनुभयो। आधा घण्टा जति आराम गरेपछि हामीसँग कुरा गर्न तयार हुनु भो। कहाँ महाकवि देवकोटालाई क्यान्सर भएको युग, कहाँ उपचार पत्ता लागिसकेको वेदप्रसादको युग !  

राजाले वास्ता गरेपछि सबैको आँखा लाग्ने

इन्जिनियर वेदप्रसादसँग मेरो सम्पर्क २०१४ सालमा राजा महेन्द्रको सुदूर पश्चिमको तीन साता लामो सवारी भ्रमणको अवसरमा भएको हो। राजा महेन्द्रका गुणमध्ये आफ्नो मुलुक र जनता पढ्न खुब रुचि राख्ने पनि थियो। राजाको त्यो डडेल्धुरा, बैतडी र डोटीको घोडे भ्रमण (घोडा चढेर गरेको भ्रमण) मा म पत्रकारको हैसियतमा आमन्त्रित थिएँ। वेदप्रसादजी सवारी सचिव थिए। सहसचिवस्तरका इन्जिनियर उनी त्यो सवारीभर सचिव थिए। सवारी मन्त्री थिए सरदार गुञ्जमान सिंह। सवारी मन्त्रीमा मन्त्रिमण्डलको अधिकार हुने रहेछ। सवारी सचिवमा मुख्य सचिवसरहको अधिकार हुने रहेछ। राजा महेन्द्र आफ्नो भ्रमणमा सहभागीहरूको सुविधा÷असुविधा के छ ? भन्ने याद गर्दारहेछन्। राजाले त्यसरी वास्ता गरेपछि सम्पूर्ण सवारी शिविरकै ध्यान हामीतिर जाने रहेछ। यसर्थ लोहनीजीसँग राम्रै हिमचिम रह्यो। हामी पनि आफ्नो मर्यादामा बस्थ्यौँ। चित्त नबुझेको कुरो र सावारीका क्रममा हुनुपर्ने तर नभएको र नहुनुपर्ने काम कुरो भएको जति सबै कुरो म राजाका सचिवहरूसँग गर्थे। त्यसो गरेको उहाँहरूलाई सहयोग हुने रहेछ। त्यो सवारीमा राजाका सचिवहरू मधुसुदन राजभण्डारी, रेणुलाल सिंह र ईश्वरीमानहरू पनि थिए। मेरो मूल्याङ्कनमा वेदप्रसाद सामान्यतः भलाद्मी मान्छे हुन्।  

भिक्षु हाजिर छ सरकार !  

वेदप्रसादले राजा रिझाएका रहेछन्। किनभने उनी राजाको अन्तर्देशीय भ्रमणमा प्रायः पर्थे। राजा महेन्द्रको पूर्वी पहाडको भ्रमणमा एउटा रमाइलो घटना भएछ। त्यो उल्लेख गरौँ ल। यो २०१३ सालको घटना हो क्यार ! ओखलढुङ्गाको हो कि खोटाङको हो याद भएन। तीन जना साना केटाकेटीसहित एउटी दलित महिला राजासँग कराउन पुगिछन्– लोग्नेले अन्याय ग¥यो सरकार भनिछन्। राजा महेन्द्र गम्भीर भएर सोधेछन् लोग्ने खोइ त ? वेदप्रसाद लोहनीले हठात् भनेछन्– भिक्षु हाजिर छ सरकार...। राजा महेन्द्र खित्का छाडेरै हाँसेछन्। बाहुनहरूले राजासँग कुराकानी गर्दा आफूलाई भिक्षु भन्ने चलन थियो। राजाले लोग्ने भनेको, वेदप्रसादले लोहनी भन्ने सुनेछन्। त्यो अनौठो घटना सुनेपछि मलाई पनि हो के त ? भन्ने बुझ्न मन लाग्यो। मौका परेन। किन हो मलाई त्यो सार्वजनिक गर्न मन लाग्यो। लोहनीजीको जीवनमा पनि त्यो घटना अप्रत्याशित र अद्वितीय नै थियो। म रेडियो सगरमाथामा ‘उहिले बाजेको पालामा’ भन्ने कार्यक्रम चलाउँथे हरेक सोमबार। मैले उहाँसँग त्यो कार्यक्रममा सहभागी हुन आग्रह गरेँ छोरा वसन्त लोहनीमार्फत। उहाँले हुन्छ भन्नुभएछ। त्यो कार्यक्रम लोकप्रिय थियो। म सहयोगी प्राविधिक लिएर उहाँकहाँ (हाँडीगाउँ हो जस्तो लाग्छ) गएँ।  

मिथक होइन, भएकै घटना

अस्पतालबाट उहाँ आउनुभएपछि एकछिन आराम गर्नुप¥यो। रेकर्डिङ गर्नुअघि उहाँलाई तताएँ। प्रसन्न हुनुभो। हाँस्नुभो। उहाँको पलङको सिरानतिर बसेँ म। कुराकै प्रसंगमा राजाले लोग्ने भनेको वेदप्रसादले लोहनी सुनेको प्रश्न सोधौँ कि ? भनी आग्रह गर्दा हाँसेर हुन्छ भन्नुभो। अरू अरू प्रश्न र उत्तर हँुदै गए। मैले उहाँको सिराननिर बसेर स्नेह र आदर दुवै गरँे। आदर र स्नेहबाट को पो आल्लादित हुँदैन र ! त्यो लोग्ने र लोहनीको घटना के हो मिथक हो ? भनी जिज्ञासा राख्दा पहिले त उहाँ हास्नुभो र भन्नु भो– मिथक होइन, भएकै घटना हो। सरकारबाट लोग्ने हुकुम भएको रहेछ तर म के शुरमा थिएँ लोहनी भन्ने सुनँे। तब हाजिर छ सरकार भनेको हुँ भन्नुभो। तब कहिल्यै त्यसरी नहाँस्ने राजा महेन्द्र हाँसिबक्स्यो। वेदप्रसादसँग मैले २०५९ भदौ २४ कुरा गरेको रहेछु तर सोही चैत २५ गते लोहनीे बितिपनि जानुभो। नित्यराज पाण्डे वेदप्रसादलाई श्रद्धाञ्जली दिन पशुपति जाँदै रहेछन्। म पनि गएँ आर्यघाट। त्यहाँको स्थिति शोकमय थियो। समवेदना प्रकट गरेँ। मैले त्यहाँ महाकवि लक्ष्मीप्रसाद देवकोटालाई क्यान्सर हँुदा र वेदप्रसादलाई क्यान्सर हुदाँका ४३ वर्षको अन्तरालमा औषधि विज्ञानमा कति अन्तर आइसकेछ भन्ने अनुभव गरेँ।  

पोर्टिका खस्ला भन्ने डर  

वेदप्रसाद लुम्बिनी विकास कोषको हाकिम पनि हुनुभो। त्यसै आसपास काठमाडौँ पुरानो बानेश्वर सडक उत्तर उहाँले एउटा विशाल भवन बनाउनुभो। त्यो भवनलाई मान्छे लुम्बिनी हाउस भन्ने पनि गर्थे। सरस्वती सदन प्रवेश गर्दा प्रवेशद्वारमा पानीले नभिजाओस् भनी पोर्टिका पनि बनाइएको थियो। त्यहाँबाट भित्र पस्दा त्रिचन्द्र कलेजका प्रिन्सिपल आशुतोष गांगुली त्यो पोर्टिका खस्ला र टाउको फुट्ला भनी त्यहाँ पुगेपछि छिटोछिटो हिँड्थे रे। त्यस्तो थियो नेपालमा सिमेन्टी संस्कार। त्यस्तो जमानामा त्यत्रो विशाल भवन निर्माण गर्दा दुई चारपल्ट वेदप्रसादलाई गाल पनि परेछ। सरस्वती सदन राणा शासनमै सन् १९४५ मा तयार भएको हो।  

यो श्रद्धा, भक्ति र आस्था हो बाबुप्रति

प्रोफेसर एवं कूट्नीतिज्ञ मोहन लोहनीले आफ्ना पुज्य पिता केशव लोहनीको पुन्य स्मृति श्री कृष्णभक्त केशव लोहनीका स्मृति नामको एउटा स्मारिका मुद्रण गराइ डिल्लीरमण कल्याणी रेग्मी पुस्तकालयमा सार्वजनिक गराउनुभो। म पनि बोलाइएको थिएँ। त्यहाँ थुप्रै विशिष्ट विद्वान् तथा बौद्धिक मान्छेको भव्य उपस्थिति थियो। लोहनीहरू बढी हुनु स्वाभाविक नै भो। त्यहाँ मैले वेदप्रसादका छोरा वसन्त लोहनी र डा.प्रकाशचन्द्र लोहनीसँग वेदप्रसाद लोहनीका सम्बन्धमा एक वर्षभित्र स्मृति ग्रन्थ प्रकाश गर्नुप¥यो भन्ने भनाइ राखेँ। प्रकाशचन्द्र र वसन्तले मेरो प्रस्तावलाई सकारात्मकरूपमा लिए जस्तो लागेको थियो। वसन्तसँग मेरो दुई चारपल्ट यसबारे छलफल पनि भो। अन्ततोगत्वा आयो त तपाईँकै हातमा यस्तो स्मारिका ! आफ्ना आमा÷बाबुप्रति सर्वोत्तम श्रद्धा, भक्ति र आस्था हो त्यस्ता स्मृति ग्रन्थ भन्ने पो त गर्छु म। केशव लोहनीको यो स्मारिकामा ककस्ले कति कति खट्नुप¥यो र खर्च भयो, त्यो थाहा छैन, थाहा हुन जरुरी पनि भएन। जे भए पनि जुन ग्रन्थ निस्क्यो त्योसँग सम्बद्धहरूलाई हार्दिकता ।

प्रकाशित: १८ वैशाख २०७८ ०३:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App