१६ चैत्र २०८० शुक्रबार
कला

डा. डीआर उपाध्यायको ‘कफी लभ’

पुस्तक

गीता अधिकारी

गीत –संगीतको क्षेत्रमा विभिन्न गिनज बुक वल्र्ड रेकर्डसहित विभिन्न ३२ वल्र्ड रेकर्ड राख्न सफल गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायको एघारौं उपन्यास ‘कफी लभ’ पाठकमाझ आएको छ । यो उपन्यास प्रणय दिवसको अवसरमा सार्वजनिक गरिएको थियो । डा. उपाध्यायका यसअघि दुई दर्जन एलबमका सयौंं गीतहरू सार्वजनिक भइसकेका छन् ।  

डा. डीआर उपाध्यायका यसअघि ‘बज्रघात’, ‘त्यागी’, ‘भाग्यचक्र’, ‘अपवित्र छाया’, ‘स्वार्थी’, ‘बिटुली’, ‘अतिरिक्त’, ‘दगाबाज’, ‘अधुरो प्रेम’ र ‘सपनाकी रानी’ जस्ता उपन्नयास पाठकमाझ आइसकेका छन् । यस्तै डा. उपाध्यायका  ‘प्रणय’, ‘कृति’, ‘माउण्टेन मेलोडी’, ‘नशालु नजर’, ‘सेभेन्थ कडस’, ‘अन्जान तिर्खा’, ‘जोहो’, ‘प्रतिनाद’, ‘नजरको तीर’, ‘अनुभूतिको मझेरी’, ‘स्वर्गघर’, ‘परिष्कृत’, ‘पृथक’, ‘सहेली’, ‘सौभाग्यको सिन्दुर’, ‘अन्तराप’, ‘जखम’, ‘मायाको सागरमा’लगायतका गीति एलबम स्रोता÷दर्शकमाझ आएका छन् ।

सयौं गीत तथा ११ ओटा उपन्यास स्रोता÷दर्शक र पाठकमाझ ल्याउनुभएका डा. उपाध्याय नेपाली गीत सांगीतिक तथा साहित्य क्षेत्रको एक नक्षत्र बन्न पुग्नुभएको छ । सधैं क्रियाशील देखिने डा. उपाध्यायको सृजना शक्ति विशाल रहेको देखिन्छ ।  

उहाँका थुप्रै गीत पुराना स्रष्टाहरूदेखि नवोदित स्रष्टाहरूको स्वर संगीतमा लोकप्रिय छन् । फरक शैलीका गीतमार्फत डा. उपाध्यायले गिनिज बुक अफ वल्र्ड रेकर्डसहित गीत –संगीतका क्षेत्रमा विभिन्न ३२ विश्व रकेर्ड कायम गर्नुभएको हो । डा. उपाध्यायका गीत सबै वर्ग, पेसा र समुदायका लागि रहेका छन् । उहाँका २३ एलबममा रहेका गीतमा माया प्रेम, रोमान्स विछोड मात्र नभएर समाजका लागि लेखिएका गीत पनि रहेका छन् । उहाँका चाडपर्वका गीतदेखि लिएर छोरी बिदाइ गर्दाका गीत, पर्यटन गीत, स्वास्थ्य तथा योगसम्बन्धी गीत, महिला प्रताडनासम्बन्धी गीत, मजदुर किसान भरियासम्बन्धी गीतलगायत विभिन्न परिवेशका गीत छन् । त्यस्तै मेजर स्केलका गीत, माइनर स्केलका गीतका साथै सेभन्थ कड्सका गीतहरूरहेका छन् डा. उपाध्यायका ।

एघारौं उपन्यास कृति कफी लभमा उपाध्याय युवा भएर प्रस्तुत हुनुभएको छ । कलेज पढ्दै गरेका युवायुवतीको कफीको चुस्कीसँगै शुरू भएको प्रेम सम्बन्ध र त्यसले जीवनमा ल्याएको आरोह–अवरोहको कथामा यो उपन्यास केन्द्रित छ । यो उपन्यासमा प्रेमको परिभाषा सामाजिक मूल्य र मान्यताभन्दा फरक किसिमले प्रस्तुत गरिएको छ । उपन्यास तन्नेरी मनहरूसँग सामीप्य रहेको भए पनि यसमा सबै पुस्ता एवं वर्गको भाव समेटिएको छ । आख्यानकार डीआर उपाध्यायले यो पुस्तक लेख्दा आफू तन्नेरी भएर त्यही उमेरका युवा युवतीहरूको संगतमा रही उनीहरूको प्रेम भावलाई समेटनु भएको छ । 

उपन्यास देहरादुनका दुन विश्वविद्यालयमा भेटिएका पाँच जना नेपाली विद्यार्थीहरूबीचको कलेज अध्ययन क्रमका विभिन्न घटना र उनीहरूको आपसी प्रेममा केन्द्रित छ । उनीहरूको भारतका विभिन्न स्थान र नेपालका विभन्न स्थानमा गरेको यात्रा पृष्ठभूमि, त्यहाँको परिवेश र घटनाक्रमलाई सरल र कौतुहलतापूर्ण रुपमा पुस्तकमा समेटिएको छ । उपन्यासमा सन्तोष, रुपेश, काव्या, अर्पिता, सदीक्षा, सिविका, सर्वजित, र सुकदेवलाई प्रस्तुत गरिएको छ ।  उनीहरूको चार वर्षको समयावधधिलाई यसमा समेटिएको छ । उपन्यासमा यी पात्रहरूलाई प्रस्तुत गरेर आजको  समाज कस्तो छ भन्ने कुरा डा. उपाध्यायले यो उपन्यासमार्फत प्रस्तुत गर्ने जमर्को गर्नुभएको छ । घटना र परिघटनामा उपन्यासका कथाहरू बगेका छन्, जसमा हाम्रो समाजका आजको विविध सन्दर्भलाई उठाइएको छ । २३७ पेजको उपन्यास ५३ खण्डमा प्रस्तुत गरिएको छ । 

अहिलेका तन्नेरी पुस्ताको प्रेम एवं जीवन शैली र वर्तमान नेपाली समाजको अवस्था छर्लङ्ग छ उपन्यासमा । उपन्यासलाई सम्वाद शैलीमा प्रस्तुत गरिएको छ । उपन्यास पढ्न थालेपछि उपन्यासभित्रका पात्रहरूको यात्रा र उनीहरूबीच अब के होला भन्ने कौतुहलताले कृति पढेर सकिएको महसुस नै हुँदैन । यसमा उपन्यासका सँगै रहेका पात्रहरूबीच नै एक अर्कामा के भइरहेको छ भन्ने कुरा थाह नदिईकन प्रस्तुत गरिएको छ । पुस्तक पढ्दा एउटा चलचित्र हेरेको महसुस हुन्छ । उपन्यासमा घटना, स्थान, परिवेश र सम्बादलाई यथार्थपरक रूपमा समेटेकाले सबैलाई आफ्नो कथा हो जस्तो लाग्ने गर्छ । गीत लेखेर विश्व रेकर्ड कायम गर्नुभएका डा. उपाध्याय आख्यान लेखनमा पनि त्यत्तिकै प्रभावशाली देखिनुभएको छ यो उपन्यासमार्फत । 

शिखा बुक्सले प्रकाशन तथा ज्ञानज्योति पब्लिकेसन्सले वितरण गरेको यो उपन्यासलाई डब्बु क्षेत्रीले सम्पादन गर्नुभएको छ । दुई सय चालिस पृष्ठको यो पुस्तकको मूल्य तीन सय पचहत्तर रुपैयाँ राखिएको छ । कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. उपाध्यायका आगामी दिनमा यस्तै–यस्तै सशक्त सिर्जनाहरूको पाठक–स्रोता तथा दर्शकमाझ आइराखून्, यही गीताकामना डीआरसँग ।

प्रकाशित: १६ फाल्गुन २०७७ ०७:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App