पञ्चे बाजाको
सुमधुर संगीतसँगै
जब
खुशी उमङ्गका गीतहरू
जीवनका गोरेटोमा
बज्न थाले
जीवन जिउनुको
सुखानुभूतिले
उत्सर्ग चुम्न थाल्यो
आत्मीयताले
सम्बन्धलाई
माधुर्य प्रदान गर्यो
विश्वास र आस्था
जीवनरूपी रथका
दुई पाङ्ग्रा बन्न पुगे
श्रद्धा
एक अर्काको
अधरमा सिँचिरहँदा
सँगै बाँच्ने सँगै मर्ने
कसम
जग्गेलाई साक्षी राखी
जीवनको फुलबारीमा
पल्लवित हुँदै थियो
तर अफसोच
सोचेको जस्तो कहाँ हुन्छ र
देखेको जस्तो कहाँ पाइन्छ र
जीवनलाई हेर्ने, बुझ्ने अनि
अनुभूत गर्ने दृष्टिकोण
फरक भैदिएपछि
विश्वास , आस्था श्रद्धामा
धमिरा लाग्न
कतिबेर लाग्दो रहेछ र
म ठूलो कि तँ ठूलो
यो विषले
मनमस्तिष्कमा
साम्राज्य जमाएपछि
न नाता न सम्बन्ध
न लोग्ने न स्वास्नी
सब
खरानी हुँदो रहेछ
फेरि बटुलेर
आकार दिऊँ भने पनि
दिनै नसकिने
अर्कोतिर
एउटा बालकको भविष्य
यसरी
अहम्को जाँतोमा पिसिदै छ
न बाबुको मुहारमा
कर्तव्यबोध झल्किन्छ
न आमा मुहारमा
न बाबुको औलाको सहारा
न आमाको ममताको लेपन
एउटी धाई आमाको काखमा
एउटा भविष्य हुर्किदैछ
केही वर्षपछि
आज एउटा विश्वास टुट्दै छ
एउटा सम्बन्ध फुट्दै छ
अदालतको सुनसान कोठा
मानिसहरू
एउटा सम्बन्ध जलाउन
प्रतिक्षारत छन्
जब श्रीमानले
फैसला सुनाउन कलम समाते
एउटा नौजवान
नशाको सुरमा
पाइलाहरू लर्खराउँदै
न्यायाधीसका नजिक उभिन पुगे
श्रीमान्
बर्सौदेखि म मेरा बाबुआमा खोजिरहेछु
तपाईंले देख्नुभयो कि !
प्रकाशित: १५ फाल्गुन २०७७ ०९:१२ शनिबार





